४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

नेपाली ब्याड्मिन्टनलाई डेढ करोड

काठमाडौं- तल्लो स्तरबाट नेपालको ब्याडमिन्टन विकास गर्ने लक्ष्यका साथ ब्याडमिन्टन अस्ट्रेलियाले २ लाख अस्ट्रेलियन डलर (डेढ करोड रुपैयाँ भन्दा बढी) सहयोग गरेको छ। ब्याडमिन्टन अस्ट्रेलियाले नेपाली ब्याडमिन्टनको विकासका लागि सटल टाइम नेपाल नाम दिइएको कार्यक्रम नेपाल ब्याडमिन्टन संघसँगको सहकार्यमा गर्नेछ। विश्व ब्याडमिन्टन महासंघ (बिडब्यूएफ), एसियाली ब्याडमिन्टन महासंघ (बिएसी) र स्पोर्टस म्याटर्सले कार्यक्रममा प्राविधक सहयोग गर्ने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी दिए।


सटल टाइम नेपाल कार्यक्रमअन्तर्गत पहिलो चरणमा २५ प्रशिक्षक तयार पारिने श्रेष्ठले बताए। '६ महिलासहित २५ जना प्रशिक्षक तयार पार्न प्रशिक्षण दिइरहेका छौं,' श्रेष्ठले भने, 'अप्रिलबाट १२ साता भित्र उनीहरुले देशभरका ५ सय शिक्षकलाई तालिम दिनेछन्। जसले आफ्नो विद्यालयमा विधार्थीहरुलाई प्रशिक्षण दिनेछन्।'

सामाजिक समावेशीतालाई प्राथमिकतामा राख्ने क्रममा महिला, छात्रा र अपांगता भएकालाई पनि कार्यक्रम भित्र समेट्नुपर्ने नेपाल ब्याड्मिन्टन संघका उपाध्यक्ष विश्वेश श्रेष्ठले विज्ञप्तिमार्फत जनाएका छन्। खेलकुदमार्फत स्कुले विधार्थीबीच भातृत्व विकास, शान्ति स्थापना र शारीरिक ब्यायामलाई प्राथमिकतामा राख्न कार्यक्रममार्फत प्रयास गरिने विज्ञप्तिमा जनाइएको छ। २ लाख मध्ये संघले नगद ७२ हजार अस्ट्रेलियन डलर प्राप्त गर्नेछ भने अन्य खेलसामग्री, ह्विलचियरलगायतका सामग्री पाउनेछ।

आठ महिनासम्म चल्ने कार्यक्रम दौरान २ सय ५० विद्यालयका झन्डै २० हजार प्राथामिक स्तरका विधार्थीलाई ब्याडमिन्टन प्रशिक्षण दिइनेछ। सोही क्रममा ब्याडमिन्टन सामाग्री पनि उलब्ध गराइने महासचिव श्रेष्ठले बताए। विश्वमा सटल टाइम सय देशमा सम्पन्न भइसकेको उनले बताए। 'यो मुख्यतः ब्याडमिन्टन विकासका लागि लक्षित गरेर तयार कार्यक्रम हो,' श्रेष्ठले भने,' पहिलो पटक हामीले यस्तो कार्यक्रम पाएका छौं। यसले भविष्यमा खेलाडी तयार पार्न मद्दत पुग्नेछ।'

प्रकाशित: १६ फाल्गुन २०७२ २२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App