हजुरबाले दैनिक पाठ गर्ने रामायण र महाभारतका शब्दले भन्दा बढि पाठको बीच बिचमा राखिएका चित्रले उनको ध्यान खिच्थ्यो। त्यस्तै वर्षमा एकपटक पाठ गरिने स्वस्थानी ब्रत कथा पुस्तकका चित्र र नागपञ्चमीमा पण्डितले ल्याइदिने नाग चित्र देखेर मोहित हुन्थे। विद्यालयमा पाठ भन्दा बढि चित्र हेरेर नक्कल गरि समय विताउँथे। बेलाबखत हजुरबा बाँसको कलमले लोक्ता कागजमा कोर्थे। त्यसले उनमा चित्रप्रति झन् आकर्षण बढायो। यसै क्रममा ग्राफ मेथडबाट मुहार चित्र बनाउन आफ्नै दाइबाट सिके।
आज उनी राम्रा कलाकार भैसके। पानी रंग, चारकोल हुँदै तैल र एक्रेलिक रंग प्रयोग मार्फत चित्रकलामा जमेका छन्। उनको कलामा राष्ट्रिय भाव हुन्छ। चन्द्र र सूर्य साक्षी राखि द्वन्दको अवशान खोज्दै गरेका उनको कलामा प्रष्ट देखिन्छ। कहिले चराबीचको द्वन्द त कहिले मानिसबीचको झल्काउँछन् उनी। यसमा बालबालिका पिडित हुने यथार्थ पस्कन्छन्। महिला चित्कार देखिन्छ। र कला मार्फत घाउमा मलहम लगाउने प्रयास पनि गर्छन उनी।
अष्ट्रियाको मालिन्जमा प्रर्दशनी तयारीमा जुटेका श्रेष्ठकोे कलामा प्रायः खैरोे, ध्वाँसे पहेलो, कलेजी रातो, गाढा निलो, सिंदुरे रातो, गाढा हरियो र सेता रंग वढी देखिन्छ। भाव स्पष्ट देखिने उनका कलाकृति हेर्दा आनन्द हुन्छ। आध्यात्मिक चेतना र बोध भएर होला हरेक आकृतिमा ज्योतीको विम्व देखिन्छ। कतै कतै टेक्सचर प्रयोग गरि चित्रको मुख्य भागलाई प्रकाश र छायाँमा वढि केन्दित गर्छन। कहिले ध्यान मग्न वुद्ध, कहिले भिक्षु, कहिले मठ र मन्दिर बनाउँछन्।
अमर चित्रकार, रेब्रान्ट, भ्यानगग, लियोनार्दो दा भिन्ची, पिकासो, कास्मीर मालेविच र गोग्यका यर्थाथवादी र बस्तुवादी चित्रण शैैलीको प्रभाव परेको छ उनमा।
उनका कलामा नेपाली माटोको सुगन्ध पाइन्छ। त्यसैले उनका कलामा राष्ट्रिय झण्डाको चन्द्र सूर्य, सगरमाथा, मठमन्दिर आदि पाइन्छ। उनको कला यात्रा संघर्षपूर्ण छ। एसएलसी परिक्षापछि उच्च शिक्षा पढ्न उनी काठमाडौं आए। राम्रोसँग कला नबुझेकै अबस्थामा कलाकार बन्ने मोहले तान्यो उनलाई। त्यसैले ललितकला क्याम्पसमा चित्रकला पढ्न थाले।
त्यसपछिका दिन सहज भएनन्। संघर्षका पापड बेल्नु पर्योल। परिवारको चाहना विपरित आफ्नो बाटो हिँडेकामा घर बेखुस। आफ्नै राजधानी हो तर विरानो। कलाकार बन्ने सपना साकार बनाउन धेरैतिर पार्ट टाइम जब गरे।
एक दिन कला प्रदर्शनी हेरेर फर्किएपछि अभिप्रेरित भई कला सामाग्री किन्दा सबै रकम सिध्दियो। घर पुग्दा एक बट्टा सलाई किन्न नसकि त्यो रात भोकै सुत्नु परेको घटना कसरी भुल्न सक्छन् उनी? मार्सल आर्टका किङ्ग ब्रुस् लिको जीवनगाथाबाट प्रभावित भई उनी दुइ वर्ष भन्दा बढि सेन्ट्रल डोजो, त्रिपुरेश्वर पुगे। खेलमा अव्वल हुँदाहुँदै पनि चित्र र खेल मध्य खेेललाई थाति राख्नु पर्दा दुःख लाग्यो उनलाई।
स्कुले जीवनमा एक दिन खोला किनारमा थिग्रिएका बालुमा उनी चित्रा कृति बनाउन थाले। त्यहिबेला बाढी आएर बगायो। परसम्म बगेपछि किनारामा निस्कन सफल भए।
हरेक मान्छेसँग सपना हुन्छ। भौतिक सुखका साथै आत्मिक आनन्दका लागि उनी कलामा होमिएका छन्। चित्रकलामा एमए प्रथम श्रेणीमा उतिर्ण भएसँगै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको स्टुडियो नं. १० मा कला साधना र सृजनामा लागिरहेका थिए। बिडम्बना वैशाख १२ को भूकम्पले स्टुडियो क्षतिग्रस्त बन्यो। त्यस्तै जन्मघर पनि भत्कियो।
यसले केहि महिनासम्म सृजनामा रोकावट ल्यायो। पुनः उनी कला सृजनामा जुटिसकेका छन्। जहाँ कलाकारको कल्पना र जीवन भोगाइबाट उब्जिएका हजारौं प्रश्नहरुको जवाफ क्यान्भासमा खोजिरहेछन्। पस्किरहेछन्।
स्वदेश तथा विदेशमा धेरैपटक प्रदर्शनी र कला कार्यशालामा सहभागिता जनाइसकेका छन् उनले। उनको शैली र विषयले युरोप र सार्कमा राम्रो प्रतिक्रिया पाएको छ। त्यसले नेपालकै इज्जत बढाएको छ। उनले २०१२ मा पेरिसको लुभ्र म्युजियम र जर्मनीमा भएको प्रदर्शनीमा दर्शकको सकारात्मक प्रतिकृया पाए। त्यसैले उत्साहित छन्।
समग्रमा भन्नु पर्दा उनको कलामा नेपाली माटोको सुगन्ध भेटिन्छ।
प्रकाशित: १४ फाल्गुन २०७२ २१:२२ शुक्रबार





