३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

काठमाडौंको बदलिँदो अनुहार

करिब ६ दशकदेखि काठमाडौंको बदलिँदो अनुहार हेरिरहेको छु। विसं २००७ को क्रान्ति र त्यसले ल्याएका परिवर्तन पनि सम्झेको छु। यस्ता परिवर्तन सबै नकारात्मक छैनन्। आजकाल मोबाइलको प्रयोग व्यापक छ। धेरै घरमा टेलिभिजन जडान भएको छ। पचास वर्षअगाडि एउटा टेलिफोन लाइन लिन धेरै दौडधूप गर्नुपर्थ्यो। सन् १९७३ मा पर्यटनसम्बन्धी मेरो पहिलो पुस्तक नेपालमा छापियो, हातले अक्षर जोडेर। अहिले त्यो काम कम्प्युटरले गर्छ।करिब चार दशकसम्म नेपाल आउने पर्यटकका निमित्त 'टुरिस्ट गाइड' अंग्रेजीमा लेखेँ जसलाई अस्ट्रेलियाको 'लोन्ली प्लानेट' नामक प्रकाशन संस्थाले प्रकाशित गर्यो', पाँच संस्करणसम्म। यो पुस्तक लेख्ने सिलसिलामा हजारौं पर्यटकसँग अन्तर्वार्ता लिएको थिएँ, काठमाडौं र नेपाल कस्तो लाग्यो भनेर। मैले पर्यटकलाई भेट्ने ठाउँ थियो– झोछें जसलाई त्यसैताका नामकरण गरिएको थियो, 'फ्रिक स्ट्रिट'। युरोपबाट एसिया जमिनको बाटोबाट यात्रा गर्ने युवा पर्यटकका निमित्त नेपाल कथै कथाको देश हुन पुगेको थियो। त्यसै बेला फ्रेन्च भाषामा कसैले काठमाडौंका सडक भनी गाना पनि बनाएको थियो, जुन लोकप्रिय भएको थियो। झोछेंमा त्यसैबेला केही रेस्टुराँ खुल्न थाले जहाँ सस्तो खाना पाइन्थ्यो र केहीमा त गाँजा र चरेस पनि भेटिन्थ्यो।

म थिएँ तीस वर्षको युवक जो पाँच वर्ष अमेरिका बसिसकेको थियो र काठमाडौंकै विश्व भाषा विद्यालयमा फ्रेन्च र जर्मन भाषा पढेको थियो। 'फ्रिक स्ट्रिट' को रेस्टुराँका अतिरिक्त पर्यटक जम्मा हुने ठाउँ थियो मरुटोल जहाँ त्यसताका नाम चलेको क्याम्प होटेल थियो। त्यहाँ विष्णुमति नदी किनारामा तीनवटा 'पाई सप' खुलेका थिए। त्यस टोललाई पहिले सुँगुरहरूको सडक भनिन्थ्यो र केही वर्षपछि पाई एली भन्ने अनौपचारिक नामकरण भएको थियो। मैले पुस्तकमा पनि लेखेको छु। त्यसताका अहिलेजस्तो विष्णुमतिको पानी गनाउँदैनथ्यो। यो सन् १९७२ (विसं २०२८ साल) को कुरा हो।

ती 'पाई सप' खोल्नेहरूले काठमाडौंमा युएसएडमा काम गर्दा पाई बनाउन सिकेका थिए। तत्काल मुलुकी ऐन लागू भइसके पनि दलितप्रति भेदभाव गरिन्थ्यो। ती रेस्टुराँमा स्वादिष्ट पाई खान पाइन्थ्यो र त्यहाँ खान अमेरिकी पिस्कोरका स्वयंसेवक र युरोपका अनेक देशबाट आएका युवा पर्यटक हुन्थे। नेपालीमध्ये म एक्लो हुन्थँे। मेरो बोल्ने अंग्रेजी राम्रो थियो। म झोछें र मरुको नजिक बस्थेँ र मलाई सामग्री चाहिएको थियो, गाइड बुक लेख्न। हरेक दिन बेलुका म त्यहीँ पुग्थेँ। सन् १९७५ मा अस्ट्रेलियाबाट मेरो गाइड बुकको पहिलो संस्करण निस्केको थियो, यसै परिश्रमको फलस्वरूप।

त्यसबेला काठमाडौंको पर्यटक केन्द्रका रूपमा ठमेलको विकास भइसकेको थिएन। मैले आफ्नो पुस्तकमा एक जना पर्यटकले भनेर लेखेको सम्झन्छु, 'काठमाडौंमा घुम्ने सबभन्दा सजिलो उपाय साइकलबाट हो।' त्यसताका काठमाडौंमा अहिले जति धेरै गाडी र मोटरसाइकल थिएनन्। अहिलेको जस्तो 'ट्राफिक जाम' पनि हुँदैनथ्यो। वायुप्रदूषण अहिले जति धेरै थिएन। वर्षभरि मनसुनको समयमा बादलले ढाकेका बेलाबाहेक हिमालय पहाडको दृश्य देखिन्थ्यो। मैले पढेको स्कुल ठमेलको जेपी हाइस्कुल थियो जहाँ मेरा सहपाठीमध्ये हाल नाम चलेका पर्यटन व्यवसायी कर्ण शाक्यसमेत थिए। ठमेलमा कर्णले 'काठमाडौं गेस्ट हाउस' खोलेपछि ठमेल काठमाडौंको पर्यटक केन्द्र बन्न थाल्यो।

सन् १९७०, ८० र ९० को दशकमा काठमाडौं आउने अधिकांश पर्यटक फेरि पनि काठमाडौं आएका छन्। तर अहिलको रूप देखेर सन्तुष्ट छैनन्। त्यसबेला अहिलेको जस्तो वायुप्रदूषण र ट्राफिक जाम कहाँ थियो र? त्यसबेला अहिलेको जस्तो घन्टौंसम्म बत्ती निभ्ने लोडसेडिङ पनि कहाँ थियो र? यसरी आफू पुगेको पुरानो ठाउँमा पहिलेजस्तो होला भनी सोच्नेलाई नोस्टाल्जिया भनिन्छ।

बिसौं शताब्दीको मध्यतिर काठमाडौं आउने फ्रान्सका लेखक मिसेल पेसेलले यसको तुलना इटलीको पुनर्जागरण नगरी फ्लोरेन्ससँग गरेका छन्। दुवैको हृदयभूमि 'म्युजियम' जस्ता छन्, जहाँ कलात्मक मन्दिर, चर्च, भवन छन्। उनले काठमाडौंको एक विशेषता बयान गरेका थिए– 'यस्तो ठाउँ जहाँ मध्यकाल अर्थात् पाँच सय वर्षअगाडिको युरोप हेर्न पाइन्छ।' अहिले आधुनिकीकरण र

विसं २०७२ सालको भूकम्पले हनुमानढोका दरबार क्षेत्रको कायापलट भएको छ। प्राचीन काष्ठमण्डपको मन्दिर धराशयी भयो। यीमध्ये केही मन्दिर पुनर्निर्माण हुन सक्लान् तर पहिलेजस्तो होला कि नहोला भन्न सकिँदैन। मैले पलोरेन्स पनि भ्रमण गरेको छु। अहिलेको काठमाडौंसँग यसको समानता घटिरहेको पाएको थिएँ एक दशकअगाडिसम्म। अहिले भूकम्प, गाडीहरू र मोटरसाइकल र धुँवा प्रदूषणले झन् फरक भयो होला। काठमाडौं उपत्यकामा युनेस्कोले मान्यता दिएको सांस्कृतिक सम्पदामध्ये काठमाडौं, पाटन र भक्तपुरका दरबार क्षेत्र, पहाडको टुप्पोमा रहेका एक हिन्दु र एक बौद्ध मन्दिर (चाँगुनारायण र स्वयम्भू) तल्लो तहमा रहेका अर्को हिन्दु र एक बौद्ध मन्दिर

(पशुपतिनाथ र बौद्ध) छन्। अहिले बढ्दो मात्राको वायु प्रदूषण, ध्वनि प्रदूषण र बढ्दो निर्माण गतिविधिले यिनको अस्तित्व संकटमा पर्न लागेको देखिन्छ।

उपत्यकाको खेतीयोग्य भूमि पनि आजभन्दा ५० वर्षअघिको तुलनामा धेरै घटेको देखिन्छ। यस्ता खेतीयोग्य भूमिमा घर बनिसकेका छन्। नेपालका ७५ वटै जिल्लाबाट काठमाडौंमा काम गर्न आउने सरकारी जागिरे, व्यापारी, गैरसरकारी संस्थाका कर्मचारी सबैको इच्छा छ, काठमाडौंमा जग्गा किन्ने र घर बनाउने। यसले गर्दा जमिनको भाउ अकासिएको छ र जमिनमा जनसंख्याको चाप बढेको छ। विसं २०७२ को संविधानले नेपाललाई संघीय राज्य घोषणा गरेको छ। यसबाट सात राज्यमा विकेन्द्रीकरण हुने देखिन्छ। यसका साथै काठमाडौंलाई नेपालको सांस्कृतिक राजधानी कायम गरी चितवन अथवा दाङ उपत्यकामा राजधानी सार्नुपर्ने दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ। चितवनमा राजधानी सारिए चितवन राष्ट्रिय निकुञ्जलाई प्रभावित पार्न सक्छ भने नारायणी नदीनजिक हुनाले पानीको समस्या धेरै नहुन सक्छ। दाङ उपत्यकामा पानीको समस्या हुन सक्छ। स्मरण रहोस्, चितवन राष्ट्रिय निकुञ्ज पनि युनेस्कोको प्राकृतिक सम्पदा सूचीमा परेको छ। यसरी नयाँ राजधानी बनाएको उदाहरण अस्ट्रेलियाको क्यानबरा, ब्राजिलको ब्राजिलिया, पाकिस्तानको इस्लामाबाद र भारतीय पन्जाबको चन्डीगढमा देखिएको छ। चाँडो गरे पनि ढिलो गरे पनि यो विकल्पबारे विचार गर्नुपर्ने भइसकेको छ।

प्रकाशित: १४ फाल्गुन २०७२ २२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App