ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङतेपमा माघ ९ देखि १३ गतेसम्म प्रथम लिङतेप आमन्त्रित गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रगतिशील युवा क्लबद्वारा बसन्त पञ्चमीको अवसरमा आयोजना हुने प्रतियोगितामा ८ टिम सहभागी हुनेछन्।
शनिबार फुङलिङमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो। उद्घाटन खेल माघ ९ गते आयोजक प्रगतिशील युवा क्लब र लालीमा युवा क्लब ढुङ्गेसाँघुबीच हुनेछ। माघ १० गते आयोजकको दोस्रो टिम र मानाभारा युवा क्लब खेजेनिम खेल्नेछन् भने माघ ११ गते दुई खेल सञ्चालन हुनेछन्।
प्रतियोगिताको विजेताले ३ लाख २ हजार ८२ र उपविजेताले १ लाख ५२ हजार ८२ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई २ हजार रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई जनही ४ हजार तथा सर्वोत्कृष्ट खेलाडीलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
पर्यटन र खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको अनुमानित खर्च ११ लाख रुपैयाँ रहेको छ। मेरिङदेन गाउँपालिका–४ मुख्य प्रायोजक रहनेछ। उद्घाटन दिन मौलिक सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ।
प्रकाशित: ३ माघ २०८२ १७:१२ शनिबार




-600x400.jpg)
