हेटौडाबाट सर्लाहीको लालबन्दी तर्फ गइरहेका बा.३ प. २०३३ नम्बरको यात्रुबाहक बसमा हेटौडा काउण्टरबाट टिकट लिएर चढेका यात्रु निजगढमा ओर्लिन लाग्दा झोला हराएको हल्ला गरेपछि बस भित्रै बेवारिसे अवस्थामा एउटा झोला फेला परेको थियो।
बसका चालक भक्तपुर जिल्ला सुडाल गाविस वडा नम्बर १ का राजु बुढाथोकीले झोलामा रहेको पाँच किलो प्रतिबन्धित चरेश इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरमा बुझाएका हुन्।
हेठौडाबाट यात्रु बोकेर छुटेको बस बाराको निजगढ पुगेपछि चरेशका कारोबारीले झोला हरायो भनेर गाडीमा हल्ला फिजाएपछि चालकले गाडी रोकेर खोजतलास गर्दा वेवारिसे झोला फेला परेको थियो।
फेला परेको झोला चालकले कसको हो? भनेर सोधपुछ गर्दा मेरो झोला भनेर एक व्यक्तिले दावी गरेपछि यात्रुहरुको रोहवरमा झोला जिम्मा लगाउनकालागि चेकजाँच गर्ने क्रममा चरेश फेला परेको र झोला दावी गरेका व्यक्ति फरार भएपछि चालक र बसमा रहेका यात्रुहरुले झोलामा रहेको चरेश इलाका प्रहरी कार्याल चन्द्रनिगापुरमा बुझाएको डिएसपि मनोज यादवले बताए। बरामद भएको चरेशको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको डिएसपि यादवले बताए।
प्रकाशित: ११ फाल्गुन २०७२ ०५:४१ मंगलबार





