
रोज डे, प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे पछि आउने भ्यालेन्टाइन डेको आकर्षण किशोरकिशोरी र युवा पिँढीमाझ विशेष देखिन्छ। विवाहित जोडीहरु खुलेआम यो दिन मनाउँछन् भने अविवाहित प्रेमीहरु लुकिछिपी यो दिनलाई विशेष बनाउन लागिपर्छन्। सधैं जसो व्यस्त रहने व्यक्तिहरु पनि यो दिन आफ्नो व्यस्त समयबाट केही पल निकालेर मायालुहरुसँग दिन बिताउँछन्।
समयक्रमसँगै भ्यालेन्टाइन डे प्रेमीप्रेमिका वा श्रीमानश्रीमतीमा मात्र सीमित हुन छाडेको छ। क्रिसमस डे, अंग्रेजी नयाँ वर्षजस्तै यो दिन पनि साथीहरु भेटघाट गरेर मनाउने दिनको रुपमा लिइन थालेको छ। काठमाडौंकी काश्मिरा गुरागाईं भ्यालेन्टाइन डेको दिनमा साथीहरुलाई घरमा बोलाएर पार्टी गर्छिन्। यसमा उनका श्रीमान सुनिल ज्ञवाली पनि सक्रिय सहभागी हुछन्।
बिहेअघि प्रेम सम्बन्धमा रहँदा यो जोडीका लागि भ्यालेन्टाइन डे दुईजनामा मात्र सीमित हुन्थ्यो। 'रेस्टुराँ गयो, गिफ्ट साटासाट गर्यो । खाजा खाएर एकछिन गफ गर्योा अनि घर फर्कियो,' गुरागाईं बिहेअघिको भ्यालेन्टाइन डे यसरी सम्भि्कन्छिन्। बिहेपछि भने घरमा सबैजनालाई बोलाएर सँगसँगै रमाइलो गर्न सुरु गरिएको उनी बताउँछिन्। यसले गर्दा एकअर्कासँग बिताउन पर्याप्त समय मिलेको उनको अनुभव छ।
काश्मिराले सुनीललाई आफ्नो एकजना साथीमार्फत भेटेकी थिइन्। त्यसपछि बिस्तारै एकअर्कालाई भेट्ने क्रम बढ्न थाल्यो। 'अनि माया बसेको थाहै भएन,' उनले हाँस्दै भनिन्। केही समयको प्रेम सम्बन्धपछि उनीहरुको बिहे भयो।
त्यसो त बिहेपछि भ्यालेन्टाइन डेको महत्व झन् धेरै बढ्दै जाने गरेको यी विवाहित जोडीहरु बताउँछन्। बिहेअघि लुकीछिपी भेट्नुपर्ने बाध्यतालाई बिहेले अन्त गरिदिने भएकाले प्रेमविवाह गरेका जोडी झन् फुरुंग हुने गरेका हुन्।
काठमाडौंकी तृप्ता पौडेल र दिनेश सापकोटा केही वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका छन्। उनीहरुका लागि पनि अन्य जोडीलाई जस्तै हरेक वर्षको भ्यालेन्टाइन डे विशेष हुने गर्छ। ६ वर्ष लामो मित्रतालाई प्रेम सम्बन्ध दिएर बिहे गरेका उनीहरुले भ्यालेन्टाइन डेकै दिन विवाह गरेका थिए। उनीहरुका लागि भ्यालेन्टाइन डे प्रणय दिवस मात्र नभएर एनिभर्सरी डेसमेत बनेको छ।

यी दुईको पहिलो भेट २०६० सालमा भयो। नेपाल टेलिभिजनको युथ फोरम भन्ने कार्यक्रममा उनीहरुको पहिलो भेट भयो। त्यसपछि बिस्तारै उनीहरुको मित्रता गाढा हुँदै गयो। त्यसपछि उनीहरु हटमेल मेसेन्जरमा कुराकानी गर्न थाले। उनीहरु मध्याह्न १२ बजेतिर अनलाइनमा आउने गर्दथे।
पहिलोपल्ट उनीहरु एनडिजमा भेट्ने भनेर योजना बनाए तर तृप्ता जान भ्याइनन्। त्यसपछि उनीहरु पशुपतिनाथ मन्दिरमा भेट्ने योजना बनाए। त्यतिबेला दिनेश डेरी मिल्क र चकलेट लिएर आएका थिए। त्यसपछि उनीहरुको भेटघाट बढ्दै गयो। चलचित्र हेर्न जान थाले। यति हुँदासम्म पनि उनीहरुको प्रेम व्यक्त भएको थिएन।
यत्तिकैमा तृप्ता उच्च शिक्षाका लागि अमेरिका जाने योजना बनाइन्। उनले अमेरिकको एउटा विश्वविद्यालयमा छात्रवृत्ति पनि पाइन्। यो कुरा दिनेशलाई सुनाउँदा उनले नजान भने। किन? तृप्ताले थाहा पाइनन्। अन्ततः दिनेशले प्रेम व्यक्त गरे। तृप्ताले दिनेशलाई आफ्नो आमाबुबालाई मनाउन भनिन्। अनि उनीहरुको बिहे भयो।
बिहेअघि नेपालमा हुँदा परिवारको आँखा छलेर भेट्ने गर्नुपरेको उनीहरुको पनि अनुभव छ। 'पहिले घरबाट विभिन्न बहाना निकालेर भेट्न निस्किनुपर्थ्यो' तृप्ता भन्छिन्, 'बिहेपछि त्यो समय अन्त भएको छ।' अघिल्ला वर्षहरुमा जस्तै यो वर्ष पनि एक अर्कालाई गिफ्ट दिएर भ्यालेन्टाइन डे मनाउने उनीहरुको योजना छ।
नेपालमा अझै पनि विवाहअघि प्रेमीप्रेमिका घुम्ने वा डुल्ने, भेट्ने कुरा सजिलै नलिइने भएकाले बिहेअघिको भ्यालेन्टाइन डे बिहेपछिको जस्तो रमाइलो नहुने गुरागाईंको अनुभव छ। 'बाहिर घुम्न जान वा लामो समय बिताउन पनि पाइँदैनथ्यो। दूई तीन घन्टामा बितायो अनि घर फर्कियो त्यति मात्र हुन्थ्यो। अहिले कुनै छेकबार छैन,' उनी भन्छिन्।
कतिपयलाई त आफ्नो जोडीलाई 'भ्यालेन्टाइन्स डे'मा के उपहार दिने भन्ने दोमन हुन्छ। यो दिउँ कि त्यो दिउँ? केटा मान्छेहरुलाई उनीहरुलाई दैनिक रुपमा प्रयोग गर्ने सामान दिन गुरागाई सुझाव दिन्छिन्। 'कपडा, सेभिङ गर्ने सामान, मोटरसाइकल सम्बन्धी सामान, उनीहरुलाई मन पर्ने सामान केटाहरुलाई गिफ्ट गर्न सकिन्छ,' उनी भन्छिन्। पहिले त्यस्तो सामान सुनिललाई गिफ्ट गर्ने गरेकोमा अहिले लुगाहरु किनिदिन्छिन्। 'पहिले पहिले कुन लुगा ठीक हुन्छ भन्ने थाहा हुँदैनथ्यो, अहिले थाहा पाएपछि लुगा दिन नै मन लाग्छ,' उनी थप्छिन्।
समय बित्दै जाँदा र बिहे भएपछि दिने गिफ्टको प्रकार पनि फरक हुन थालेको सापकोटा बताउँछन्। पहिले पहिले चकलेट, टेडी, फूललगायतका गिफ्ट दिने गरेकोमा उनले अहिले ग्याजेट र गहना समेत दिन थालेका छन्। 'अहिले आर्थिक रुपमा पनि अलि राम्रो भएकाले अलि महँगो गिफ्ट पनि दिनसक्ने भएको छु,' उनी भन्छन्, 'मैले उनलाई हरेक वर्ष सरप्राइज गिफ्ट पनि दिने गरेको छु।' यो वर्ष के गिफ्ट दिने भन्ने पनि सरप्राइज भएको सापकोटाले बताए। पौडेल भने यो वर्ष के गिफ्ट दिने भनेर सोचिरहेकी छिन्।
यस्तै अस्ट्रेलियामा बस्दै आएका अर्का जोडी हुन् सुस्मिता र विकास। काठमाडौंमा पढ्दै गरेकी सुस्मिता नेपालको विकास पोखरेलसँग २०६१ सालतिर कलेज पढ्ने बेलामा भेट भएको थियो। कलेज पढ्दै गर्दा नजिकिएका उनीहरु दुई वर्षअघि विवाह बन्धनमा बाधिए। लामो प्रेमसम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका यी जोडीको यात्रामा उतारचढाव पनि प्रशस्तै छन्।
कलेज सकिएपछि विकास उच्च शिक्षाका लागि अस्टे्रलिया गए। लामो दूरीको सम्बन्ध, त्यसमाथि फरक टाइमजोन, र एक अर्काको व्यस्तता। नजिक हुँदाजस्तो सहज भेटघाट र कुराकानी पनि नहुने भइहाल्यो। स्काइप, फेसबुक र यस्तै सामाजिक सञ्जालको माध्यमबाट उनीहरु निरन्तर सम्पर्कमा रहिरहे। पढाइ पूरा हुनासाथ नेपाल फर्किने बाचा गरेर अस्टे्रलिया गएका विकासले आफ्नो बाचा पूरा गरे र नेपाल फर्किएर सुस्मितालाई सदाका लागि आफ्नो बनाए।
अहिले दुवैजना अस्टे्रलियामा छन्। यो वर्ष अस्ट्रेलियामासँगै भ्यालेन्टाइन सप्ताह मनाइरहेका उनीहरुले अघिल्ला वर्षका भ्यालेन्टाइन सप्ताह बिर्सेका छैनन्। 'पहिलेदेखि अहिले सम्म नै भ्यालेन्टाइनको बेला पनि गिफ्ट पाउने गरेको छु। रोज डेमा रोज, टेडी डेमा टेडी, चकलेट डेमा चकलेट हुँदै भ्यालेन्टाइन डेमा सरप्राइज गिफ्ट पाउने गरेकी छु,' नेपाल भन्छिन्। उनले पनि पोखरेललाई भ्यालेन्टाइनको बेला घडी, चश्माजस्ता गिफ्ट र कार्ड दिने गर्थिन्। बिहेपछि पनि एक अर्कालाई गिफ्ट दिँदै आइरहेको उनी बताउँछिन्।
पोखरेल पनि हरेक वर्षको भ्यालेन्टाइन सप्ताह विशेष हुँदै आइरहेको बताउँछन्। पुराना दिन सम्भि्कँदै उनी भन्छन्, 'बिहेअघि दिनदिनै भेट्न नपाउँदा रोज, चकलेट, टेडी, कार्ड एकै दिन पनि दिइयो।' बिहेपछि भने सरप्राइज गिफ्टमात्र सरप्राइज भएको र बाँकी सबै सुस्मिताले सजिलै अनुमान गर्ने गरेको उनी बताउँछन्।
नेपालमा अझै पनि खुलेर भ्यालेन्टाइन डे मनाउने चलन नभएकाले आफ्नै सिमिततामा बसेर मनाउनुपरेको यो जोडीले महसुस गरेको छ। नेपालमा छँदा बिहेअघि घरमा झुटो बोलेर लुकीलुकी भेट्नुपर्ने र कुरा लुकाउनुपर्ने बाध्यता भएको उनीहरु बताउँछन् विवाह भएपछि त्यो सिमितता केही खुकुलो भएको र अहिले विदेशमा भएकाले पनि खुलेर मजाले मनाउन सकिने यी तन्नेरीहरु बताउँछन्। यो वर्ष एक अर्कासँग धेरै समय विताउने, घुम्न जाने र गिफ्ट दिने योजना यी जोडीको छ।
अस्ट्रेलियामा भ्यालेन्टाइन डेका दिन क्रुज पार्टी हुने गर्छ । सबै रेस्टुटाँहरु भरिएका हुन्छन्। हरेक गल्लीहरुमा जोडीहरु हुन्छन्। सिड्नीमा डार्लिङ हार्वर भन्ने सुन्दर ठाउँ छ। त्यहाँ अझ धेरै रमाइलो हुन्छ। पौडेल र सापकोटाको यो जोडी पनि यो सबै कुराको साक्षी बन्दैछ। यसपालि भने उनीहरु भ्यालेन्टाइन डेका दिनमा क्याम्पिङ पनि गर्दैछन्। 'यो वर्षको भ्यालेन्टाइन डे हाम्रो सातौं वैवाहिक वर्षगाँठ हो,' सापकोटा भन्छन्। अस्टे्रलियामा काठमाडौंभन्दा धेरै घुम्ने ठाउँ, समुद्र किनार भएकाले पनि ठाउँको जस्तो अभाव नहुने उनी बताउँछन्।
प्रकाशित: २९ माघ २०७२ २१:५६ शुक्रबार





