५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

८६ बर्षीय बृद्धलाई जलाएर हत्या गरेको आरोपमा छिमेकी पक्राउ

चितवन-मकवानपुर प्रहरीले एकजना वृद्धलाई घरभित्रै आगो लगाएर हत्या गरेको आरोपमा मृतकका छिमेकीलाई गिरफ्तार गरेको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. ८ कमानेका ६४ वर्षीय कृष्णबहादुर आले मगरलाई प्रहरीले समाएको हो ।उनीमाथि कमानेकै ८६ वर्षीय हस्तबहादुर कालिकोटे मगरलाई आगोमा जलाएर मारेको प्रहरीको आरोप छ ।

गत पुस ३० गते हस्तबहादुर भित्र सुतेका बेलामा आगो लागेर घर ध्वस्त भएको थियो । आगोले जलेर हस्तबहादुरको ज्यान गएपछि मृतकका छोरा बिरबहादुर मगरले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले कृष्णबहादुरलाई समाएको हो । अनुसन्धान गर्दा मृतक र कृष्णबीच पुरानो रिसइबी रहेको पत्ता लागेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

कृष्णबहादुरले चार वर्षअघि २०६८ सालमा बिरबहादुरलाई पनि पेट्रोल छर्केर जलाउने प्रयास गरेको गाउँलेहरुले जानकारी दिएको प्रहरी भनाइ छ । कृष्णबहादुरले बाबु छोरा दुबैलाई मार्छु भन्दै हिँड्ने गरेको र उनीहरुबीच बेलाबेलामा आपसमा झगडा हुनेगरेको गाउँलेले बताएपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो ।

प्रहरीसामु आरोपि कृष्णबहादुरले दिएको बयानमा आफूले बिहान चारबजे घर वरपर पेट्रोल छर्केर आगो लगाएको स्वीकार गरेका छन् । आरोपिको शरीरमा चारवर्षदेखि अरिङ्गालले टोकेको जसरी दुख्ने र चिलाउने गर्दथ्यो । उपचार र झारफुक गर्दासमेत निको नभएपछि हस्तबहादुरले तन्त्रमन्त्र गरेर दुख दिएको निचोडमा कृष्णबहादुर पुगेको प्रहरीले बताएको छ ।

मकवानपुर सिस्नेरीमा अस्थायिरुपमा बस्ने कृष्ण पुस २९ गते कमानेको घरमा आएका थिए । राती सुत्न थालेपछि फेरि शरीर चिलाउने र दुख्ने भएपछि हस्तबहादुरलाई अब सधैका लागि ठिक पार्नु पर्यो भनेर बिहान चार बजे छाप्रो बरपर पेट्रोल छर्केर आगो लगाएको प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।

चिलाउन र दुख्न थालेपछि निन्द्रा पनि नलागेर साह्रै हैरानी हुने गरेको कृष्णबहादुरले बयान दिएका छन् । झारफुक गर्न जाँदा झाँक्रिले नजिकको मान्छेले यसरी दुख दिएको छ भनेपछि हस्तबहादुरले नै यसो गरेको हो भन्ने ठानेर बोलचालसमेत बन्द गरेको बयान आरोपि कृष्णबहादुरले दिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २८ माघ २०७२ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App