कपिलवस्तु– ट्याङकरमा आएको डिजेलको कालोबजारीमा संलग्न पेट्रोल पम्म र सिमेन्ट उद्योगका मालिकसहित ४ जना बिहीबार पक्राउ परेका छन्।

प्रहरीले नियन्त्रणमा लिएको आयल निगमको ट्यांकर। तस्बिरः किरणमान बज्राचार्य
पम्पकालागि आएको तेल सिमेन्ट उद्योगमा बिक्री भएको सुराकी पाएपछि प्रहरीले सिमेन्ट राति नै छापा हानेको थियो। ट्याङ्करका चालकलको बयानका आधारमा पम्प र मिलका सञ्चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नमराज भट्टराईले जानकारी दिए। प्रहरी टोली सिमेन्ट उद्योगमा पुग्दा पम्पका लागि आएको कोटाको ३ हजार लिटर तेल उद्योगमा खन्याइ सकिएको थियो।
कृष्णनगरका ३ र चन्द्रौटाका १ पेट्रोल पम्पलाई ३ हजार लिटरका दरले तेल दिन भलवारीबाट टयाङ्कर पठाइएको थियो । ट्याङ्करले चन्द्रौटास्थित लोकप्रिया पेट्रोल पम्पलाई ३ हजार लिटर तेल दिएपछि सिमेन्ट उद्योगमा गएको थियो।
ट्याङ्कर राती एघार बजे एकाएक गायब भएपछि प्रहरी सक्रिय भएको थियो। कृष्णनगरका प्रहरी निरीक्षक नमराज भट्टराईको टोलीले राती १२ बजे सिमेन्ट उद्योगभित्र तेल झारिरहेको अवस्थामा ट्याङ्कर पक्राउ गरेको थियो। झारिएको तेल, ट्याङ्कर र चालकलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो। ब्यापारी स्रोतअनुसार उक्त पेट्रोलपम्पका सञ्चालकले १ सय २० रुपैयाँ प्रतिलिटरका दरले सिमेन्ट उद्योगलाई तेल बेचेका थिए । तर सिमेन्टका सञ्चालक कनौडियाले आफूलाई त्यसबारे कुनै जानकारी नभएको त्यसमा आफ्ना कर्मचारीहरुले बदमासी गरेको दाबी गरे। ट्याङ्करमा कृष्णनगरका बुद्ध र राजेन्द्र पेट्रोल पम्पको ६ हजार लिटर कोटाको तेल रहेको छ।
घटनापछि उद्योगमा सील गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए। अभियुक्तमाथि कालोबजारी ऐन २०३१ अन्र्तगत मुद्दा चलाई अदातबाट ७ दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाईएको प्रहरी उपरीक्षक बिष्णु केसीले बताए।
प्रकाशित: २३ पुस २०७२ ०८:०२ बिहीबार





