१. तातो पेय पदार्थ पिउनुहोस्
तातो पेय पदार्थ पिउनाले पूरै शरीरको तापक्रम बढ्छ। त्यसैले, चिया, कफी, दूध वा तातो पानी जस्तो तातो पेय पदार्थ नियमित रूपमा पिइरहनुपर्छ। तातो पेय पदार्थले पसिना निकाल्न सहयोग गर्छ। यदि त्यो पसिना वाष्पीकरण भयो भने झन् जाडो बनाउन सक्छ। त्यसैले, शरीरलाई न्यानो राख्न तातो पेय पदार्थसँग न्यानो कपडा पनि लगाइरहनुपर्छ। मद्यपानले भने सुरुमा न्यानो महसुस गराएपनि शरीरको तापक्रम घटाउँछ।
२. भान्सामा काम गर्नुहोस्
भान्सामा खाना पकाउने वा अन्य काम गर्दा उत्पन्न हुने तापले शरीरलाई न्यानो रहन सहयोग गर्छ। अझ अहिले ग्यासको अभावपछि खाना पकाउन दाउरा वा ब्रिकेट प्रयोग भएकाले त्यसले शरीरलाई न्यानो बनाउन सहयोग गर्छ।
३. आगो ताप्नुहोस्
आगा ताप्नु न्यानो रहनका लागि उत्तम उपाय हो। यसका लागि भान्सा वा सुरक्षित स्थानमा आगो बालेर ताप्न सकिन्छ। त्यसबाहेक, काम गर्ने स्थान वा डिनर टेबलमा केही मैनबत्ती बाल्नाले पनि न्यानो महसुस गर्न सकिन्छ।
४. हट वाटर बोटल वा ब्याग प्रयोग गर्नुहोस्
यो जाडो मौसममा शरीर न्यानो राख्न हट वाटर बोटल वा हट वाटर ब्याग प्रयोग गर्न सकिन्छ।
५. भुइँ छोप्नुहोस्
यो जाडो महिनामा चिसो भुइँमा हिँड्नु सजिलो हुँदैन। खुट्टामा मोजा लगाउनाले अलिकति राहत मिल्न सक्छ। तर, खुला भुइँमा कार्पेट, गलैंचा वा बोरामात्र राख्ने हो भने पनि भुइँको चिसोबाट जोगिन सहयोग पुग्छ।
६. व्यायाम गरिरहनुहोस् वा डुलिरहनुहोस्
व्यायाम गर्ने वा यता उता हिँडडुल गरिरहनाले पनि शरीरमा ताप उत्पन्न हुन्छ। शारीरिक क्रियाकलापले मुटुको धड्कन बढाउँछ, रगतको पम्पिङ गराउँछ र शरीरको समग्र तापक्रम बढाउँछ। दैनिक २० मिनेटमात्र भए पनि शारीरिक व्यायाम गर्नाले शरीरलाई न्यानो राख्न सकिन्छ। व्यायाम गर्न रुचि नभएमा गीत बजाएर एक छिन नाच्दा पनि शरीर न्यानो हुन्छ। बिदामा रहनु वा विश्राम लिनु भन्नाले मूर्तिजस्तो भएर बसिरहनुपर्छ भन्ने छैन। हिँड्नुहोस्, शारीरिक भार पर्ने केही काम गर्नुहोस् नत्र कोठा वा घर सफा गर्नुहोस्। यता उतामात्र चल्दा पनि शरीरमा ताप उत्पन्न हुन्छ। यो न्यानो हुनमात्र नभई शरीर स्वस्थ राख्न पनि सहयोगी उपाय हो।
७. घाम वा उज्यालो भित्र छिर्न दिनुहोस्
घाम पर्ने कोठामा दिनभर पर्दा हटाएर घाम छिर्न दिनुहोस्। यसले गर्दा पर्याप्त उज्यालो मात्र नभई कोठा न्यानो पनि हुन्छ। साँझ पर्दै गएपछि पर्दा बन्द गर्नुहोस्। कोठाको पर्दा जति धेरै बाक्लो हुन्छ, त्यति नै मात्रामा कोठाबाट ताप बाहिर जाने सम्भावना कम हुन्छ।
८. टाउको छोप्नुहोस्
टाउकोमा टोपी लगाउनाले वा न्यानो कपडाले छोप्नाले टाउको न्यानो राख्नुका साथै शरीरको तापक्रम स्वात्तै घट्नबाट जोगाउँछ।
९. न्यानो लगाउनुहोस्
ऊनीको कपडा लगाउनाले शरीरलाई न्यानो रहन सहयोग गर्छ। त्यसैले, शरीरलाई न्यानो राख्न बुनेको लुगा लगाउने गर्नुहोस्। बाहिर निस्कँदा वा मोटरसाइकल, स्कुटर चलाउँदा हावा नछिर्ने खालको ज्याकेट लगाउनुहोस्। खुट्टामा मोजा लगाउने, हातमा पञ्जा लगाउने वा हातलाई कोट वा ज्याकेटको खल्तीमा राख्नाले पनि न्यानो हुन सहयोग गर्छ।
१०. सकारात्मक सोच्नुहोस्
अध्ययनहरूले शरीरको पूरै तापक्रम मस्तिष्कले नियन्त्रण गर्न सकिने पत्ता लागेको छ। त्यसैले, न्यानो महसुस गर्नका लागि न्यानो सोच राखिरहन जरुरी हुन्छ। सकारात्मक कुरा सोच्ने र घाम वा यस्तै न्यानो कुराहरू मस्तिष्कमा राख्नाले शरीर न्यानो राख्न सहयोग गर्छ।
प्रकाशित: १७ पुस २०७२ २३:१० शुक्रबार





