घनचक्करमा परेपछि समस्याको समाधान हुन सक्दैन। युगौंदेखि चल्दै आएको नेपाल–भारत सम्बन्ध अहिले आएर घनचक्करमा पर्दैछ। आम नरनारीले युगौंदेखि बचाएर राखेको दुई देशबीच विद्यमान धर्म संस्कृतिको नातासँग खेल्ने नेताहरू आफंै घनचक्करमा परिरहेका छन्। राजनीति, व्यापार, कलाकारिता र अरू पेसा घनचक्करमा पर्दै जान्छन्। मधेस आन्दोलनलाई जानी–नजानी घनचक्करमा हालिँदै छ। मधेसीहरू पहाडीजत्तिकै नेपाली हुन्, यो सत्यलाई किन सहजै स्विकार्दैन राज्य?
थिएटर भिलेजबाट निस्केको केही समयमात्र भएको छ। यो दर्शकको मथिंगलमा प्रश्नहरू बबन्डर मच्चाएर नाच्न थाल्छन्। पुसको जाडो छ। ऊ भित्रको पारो चढ्न थाल्छ।
'मकैको अर्कै खेती'ले दिएको केही राप लिएर हिँड्दै जाँदा उसलाई थप खुल्दै जान्छ। यो देशको बौद्धिक वर्ग बिस्तारै घनचक्करमा हराउँदै गइरहेको छ। विश्वविद्यालयदेखि विभिन्न प्राज्ञिक संस्था दलीयकरण भइरहेका छन्। प्राध्यापन पेसामा संलग्न व्यक्तिहरू जानीनजानी दलीय भागबन्डाको घनचक्करमा पिसिएका छन्। प्राज्ञिक उन्नयन केवल एउटा नारा भएको छ। प्रकाशन गृह अनि पुरस्कार दिन स्थापना भएका संघसंस्था, लेखक, कलाकारलाई घनचक्करमा पारिरहेका छन्। तिनका लागि लेखक भनेको नाफा आर्जनका लागि चाहिने प्रमुख माध्यममात्र भएको छ। न्याय र आम नागरिकलाई सेवा दिन स्थापना भएका सरकारी संस्था भ्रष्टचारमा यति गाँजिएका छन् कि न्याममूर्तिहरू स्वयं कुहिरोका काग भएका छन्। समालोचकहरू अर्थ र अनर्थबीचको धारमा चिप्लिरहेका भेटिन्छन्। आत्मरतिको बादलले तिनलाई पनि घनचक्करमा पारिरहेको छ। धर्मभीरुहरू यस धर्तीको बोझभन्दा बढी केहि लाग्दैनन्। अधिकारकर्मीहरू नाराबाजीमा व्यस्त छन्। दाता संस्थाका उद्देश्य, पैसा र आफ्नै लोभ अनि भ्रमबाट निस्केका नाराले सिर्जना गरेको घनचक्करमा स्वयं अधिकारकर्मी पनि पर्दै गइरहेका छन्।
'मकैको अर्कै खेती' हेरेर निस्केको दर्शक देशभरि अर्कैअर्कै मकैको खेती चलिरहेको अनुभव गर्छ। उसलाई लाग्छ— नेपालमा समय अगाडि बढ्दै गरेको भन्दा पनि घनचक्करमा पर्दै गइरहेछ।
'मकैको खेती' सानो पुस्तिका लेखेबापत कृष्णलाल अधिकारीले आफ्नो जीवन विनाकारण जेलमा बिसाउनुपर्योछ। किसानहरू बडो मेहनत गरेर मकैको खेती गर्छन्। तर यसमा राता र सेता किराहरू लाग्छन्। सबै स्वाहा हुन्छ। अधिकारीले यस्तै साधारण विषयमाथि केही लेखेका थिए। तर उनले भनेका किरामाथि अनर्थका खेल भए। यो देशमा 'मकैको खेती' प्रतीक भएर आयो। आम नरनारी कृष्णलाल अधिकारी भए। तिनले रगत र पसिना बगाएर बुनेको सपना मकैको खेती भयो। राता र सेता किरा साँच्चिकै शासन व्यवस्था चलाउन जिम्मा पाएका व्यक्तिहरू भए। त्यसो त राणाकालीन शासकले चलाएको घनचक्कर फरक स्वभावको थियो। त्यो घनचक्करको बादल यति बाक्लो थियो कि स्वतन्त्र नामको अक्षरको तेज त्यसमाथि पर्दा चट्याङजस्तो आवाज निस्किन्थ्यो। सबै थर्कमान हुन्थे। कृष्णलालका अक्षरहरूले त्यही काम गरे।
समय अहिले फेरिएको छ। मञ्चमा देखिएको अदालत न्याय र अन्यायको चिरफार गरिने स्वतन्त्र र स्वाभिमानी संरचनाजस्तो कतै पनि लाग्दैन। न्यायमूर्ति स्वयं न्यायमूर्ति जस्ता छैनन्। वकिल सबभन्दा वकवास लाग्छ। लेखक पनि लेखकझैं छैन, ऊ देशको आम निमुखा जनताजस्तो छ। समालोचक एउटा विश्लेषकभन्दा पनि दिग्भ्रमित मनुवाजस्तो सुनिन्छ र देखिन्छ। जोजो देखिन्छन् मञ्चमा सबै विसंगत लाग्छन्।
स्वैरकल्पना र यथार्थको मिश्रण गर्न खप्पिस सञ्जीव उप्रेतीको लेखन शैलीलाई निर्देशक विमल सुवेदीले सहजै बुझेका छन्। मञ्च सज्जा र प्रकाशको संयोजन उचित ढंगमा भएको छ। लेखक र निर्देशकद्वयको अब्बल दर्जाको काम यो हो कि होइन आउने यिनका अरू कामले देखाउनेछ। तर थिएटर भिलेजको सत्यमोहन जोशी हलमा भएको यो प्रस्तुतिले नेपाली रंगमञ्चलाई विचारप्रधान बनाउने काम गरेको छ। आफ्नो कृति पाठकको हातमा परेपछि उक्त कृतिको व्याख्यामाथि लेखकको वर्चस्व सिद्धिन्छ। यो साधारण बौद्धिक तर्कलाई तोडमोड गरेर लेखकको आवश्यकतालाई स्विकार नगर्ने गैरप्रजातान्त्रिक बौद्धिक संस्कारलाई व्यंग्य गर्न सफल छ नाटक।
प्रस्तुतिमा संलग्न अधिकांश कलाकार युवा पुस्ताका छन्। सरोज अर्यालको अभिनयमा जीवन्तता देखिन्छ। समालोचक र ज्योतिषिको भूमिकामा उत्रिएका अर्यालको अभिनयले दर्शकलाई छुन्छ। विभिन्न जटिल पात्रको भूमिकालाई सहजै निर्वाह गर्न खप्पिस लेखक उप्रेती आमदर्शकको मनमा बसिसकेका कलाकार हुन्। 'न्यायप्रेमी', 'सपनाको साविती' र भर्खरै मञ्चन सकिएको अभि सुवेदीद्वारा लिखित 'सान्दाजुको माहाभारत'मा बिपी कोइरालाको भूमिकामा खरो उत्रिएका उप्रेतीको अभिनयका खास विशेषता छन्। विचारका केस्राकेस्रा छोडाएर उनि संवादलाई सहज ढंगमा प्रवाह गर्न सक्छन्। बौद्धिकता उप्रेतीको अभिनय र जीवनको अभिन्न अंग हो। लेखक पात्रको भूमिकामा आफंै उत्रेका उनको अभिनय अन्य पात्रजस्तो बहुआयामिक नहोला तर अभिनयमा बलियो पकड छ। 'मकैको अर्कै खेती' अभिनय–प्रधानभन्दा पनि विचारप्रधान नाटक हो। लेखककी श्रीमती र प्रकाशन गृह चलाउने बाठी व्यवसायीको भूमिकामा उत्रिएकी अर्चना थापाको अभिनय पनि सराहनीय छ।
नाटक हेर्दै गर्दा ठाउँठाउँमा हाँस्दै गरेको यो दर्शकलाई खुल्छ- आम नेपालीको मनमा पीडा छ। त्यो कतै लुकेको छ। नाटकले लुकेर बसेको त्यो पीडालाई साझा बनाइदिन्छ। दर्शकलाई नाटकले निराशभन्दा पनि चिन्तनशील बनाउँछ।
प्रकाशित: १० पुस २०७२ २३:३८ शुक्रबार





