यही वर्षको सुरुवातमा आर्मोस मायामीकै रौं प्रत्यारोपण सर्जन डा. जेफ्री एस एप्स्टिनको क्लिनिकमा गए। उनले आफूलाई दरिलो मर्द देखिनुपरेको बताए। त्यसपछि उनले आफ्नो अनुहारमा ७ हजार डलर खर्च गरेर दाह्री प्रत्यारोण गराए। एक हजारभन्दा बढी कपालको कोष उनको टाउको पछाडिबाट झिकेर अनुहारमा प्रत्यारोपण गरिएको थियो।
'दाह्रीले परिपक्क देखिन मद्दत गर्छ,' उनले भने, 'परिपक्क देखिएपछि मानिसबाट सम्मानपूर्ण व्यवहार पनि पाइन्छ।'
एक दशकअघि मायामी र म्यानह्याटनमा क्लिनिक भएका डा. एप्स्टिनले वर्षको ३ देखि ४ वटा यस्ता प्रत्यारोपण गर्थे। हाल उनी औसतमा हप्ताकै ३ वटा प्रत्यारोपण गर्छन्। गैर नाफामूलक संस्था अन्तर्राष्ट्रिय रौं प्रत्यारोपण सर्जरी समाजको तथ्यांकअनुसार विश्वभरमा दाह्री प्रत्यारोपण सन् २०१२ मा १.५ प्रतिशतबाट २०१४ मा ३.७ प्रतिशतले बढेको छ। दशकअघि रौं प्रत्यारोपण गर्दा अहिलेको जस्तो बाक्लो कपाल वा दाह्री पाउन सम्भव थिएन। पुतलीको टाउकोमा हुने कपालजस्तै देखिन्थ्यो। त्यसैले पनि दाह्री प्रत्यारोपण उति बेला सम्भव थिएन। त्यसले बिरामीलाई झनै कुरूप देखाउँथ्यो।
आज भने सर्जनहरूले बढी प्राकृतिक देखिन मिल्ने गरी प्रत्यारोपण गर्न सक्षम भएका छन्। प्रत्यारोपण गरिएका कपाल वा दाह्री यति प्राकृतिक हुन्छन् कि दैनिक सेभ गर्दा पनि फेरि उम्रन्छन्।
'कसैले पनि मैले प्रत्यारोपण गराएको हुँ भनेर शंकै गर्दैनन्,' टोरोन्टो निवासी ३० वर्षीया जेफले भने। उनको दाह्री प्रत्यारोपण टोरोन्टोमा डा. जमिल असारियाले १० हजार डलरमा गरको हुन्। 'मेरो कहिल्यै दाह्री नै आउँदैन थियो, अहिले आउँछ,' उनले भने, 'त्यसैले यो निकै राम्रो उपचार हो।'
हिजोआज अमेरिकामा दाह्री प्रत्यारोपण गराउनेको संख्यामा यति धेरै वृद्धि भएको छ कि केही समयअघिसम्म कुनै पनि बेला उपलब्ध हुने डाक्टरहरूसँग अहिले भेट्न प्रतीक्षा नै गर्नुपर्छ। धेरै अमेरिकीलाई दाह्री प्रत्यारोपण गर्दा कति लाग्छ भन्दा पनि कसरी राम्रो देखिने भन्ने ठूरो विषय हुन्छ। त्यसैले पनि ठूला–साना दुवै सहरमा दाह्री प्रत्यारोपणको व्यापार वा उपचार राम्रोसँग फस्टाइरहेको छ।
प्रकाशित: १० पुस २०७२ २२:५१ शुक्रबार





