अंगे्रजीमा स्नातकोत्तर उनमा 'आफू अंगे्रजबाज हुँ' भन्ने दम्भको लेससम्म छैन। कविताको शीर्षकलाई कसरी ताननीय बनाउन सकिन्छ? भन्ने कुरामा अत्यन्त सचेत छन्, उनी। सगरमाथाको गहिराइ, ब्रह्माजीको रजस्वला, च्याउ, पिर (ति), बा, सेल्फी उनका करिस्मेटिक कविताका कस्मेटिक नाम हुन्। यी कविताका शीर्षक मैले एकपल्ट सुन्दै वा पढ्दै मस्तिष्कमा 'स्टोरेज' भएका हुन्।
...
कथित 'ए डिभिजन'का पाठक तथा सदाबहार साहित्यिक कार्यक्रममा सहभागी भइबस्ने 'साझा अनुहार'को न्युन उपस्थितिमाझ मञ्चमा उतारिएका थिए, कवि नवराज पराजुली। साहित्यको बजारशास्त्रले भनेअनुसार कुनै सेलिब्रिटी थिएनन्, दर्शकदीर्घाको कुर्सीमा बसेका। युवा पुस्ताका नयाँ केही अनुहारबीच गतहप्ता कार्यक्रम आयोजना गरेको थियो 'साताको साहित्य डटकम'ले। केही बुज्रुक र उपबुज्रुकको औपचारिकता पूरा गर्ने तहको सामान्य तारिफगिरीपछि छ्यासमिसे दाह्रीले छोपिएका उनी कुटिल र मन्द मादक मुस्कान छदर्ैै माइकको स्पिकरपछि उभिए। आधा दर्जन केही लामो आयामका कविता सुनाए। सबै कवितामा उत्तिकै गर्जन छर्दै गुञ्जियो हल दर्शकको तालीको गडगडाहटमा। कविता सुन्दा लाग्थ्यो, उनी स्रोता र भोक्तासँग सिधै संवाद गरिरहेका छन्। उनका कविताका विम्बहरूले कविता सुनिरहेका मानिसलाई 'गोठाले' जीवनमा फर्काइदियो र सभाहलमा उपस्थित स्रोता 'सुई' र 'सिटी' बजाउन थाले।
उनका कविता सुनिसकेपछि मजैले गफिने सोच पलाइसकेको थियो। तर, 'सुरु कहाँबाट गरू' भन्नेमा म अलमलिरहेँ, रुमलिइरहेँ। उनीसँग केही अनौपचारिक बाताचितविना यो सम्भव थिएन। संयोग, भृकुटीमण्डप 'उर्फ' साहित्यिक 'तालवानी'हरूको अड्डामा भेटियांै मंसिरको अन्तिम दिन।
'जिकीय' प्रश्न गरिहालेँ, 'क्राफ्टमा सधैंभरि एकै ढंगमा बाँधिएँ जस्तो लाग्दैन?' उत्तरको पहिलो झट्कामा हिउँको सेतो दाँतशृंखला देखाइदिए, उनले।
'तपाईंले सुनेका छ वटै कविताको क्राफ्ट र टेक्निक एउटै भन्न खोज्नुभएको होला। टेक्निकको रिपिटेसन। मेरा लागि कविता गीतजस्तै हो। ठूलो गीत। र, त्यो 'टेक्निक' तबलाको तालजस्तै। सबैमा तबला बजेकै हुन्छ,' कूटनीतिक जवाफ दिए, 'तर, त्यहाँ मुरली, हार्मोनियम, सितारजस्ता अन्य वाद्यबादन पनि हुन्छन्। तबला त ब्याकग्राउन्ड म्युजिकजस्तै हो।'
यहाँ मैले भन्न खोजेको 'टेक्निक' एउटै वर्णको (विभिन्न अर्थमा) आवृत्तिद्वारा कवितामा पैदा गरिने झंकार हो। सबै कवितामा यो (वर्णको आवृत्ति) दोहोरिएको भन्ने मेरो ठाडो प्रश्नको कूटनीतिक जवाफ हो, नवराजको।
उसो त 'कविता विशृंखलित भावानुभूतिको बाँधिएको रूप हो' भन्छन् शास्त्रीय सूत्रका व्याख्याताहरू। अद्यपि उनी कवितामा 'कन्टेन्ट'मा खेल्छन्। उनका सगरमाथाको गहिराइ, ब्रह्माजीको रजस्वला, सतीदेवीको गाण्डीव, च्याउ, कविता घटनाको प्रतिविम्बन हुन्। नवराज कवितामा आएको 'वस्तु'को रचनागर्भ नै आँसुको व्यापार हो। दाइजो नल्याएको निहँुमा अग्निदान गरिएको गरिबपुत्रीहरू, 'छुई' भएका बेला भगवान्का सन्तानद्वारा बलात्कार गरिएका अक्षत यौवनाका क्षतविक्षत कौमार्यहरू, अनुहारको सौन्दर्यानुभूति गर्न नपाएका 'वृद्धयौवना'हरू र 'रूखमा फलेको पैसा टिप्न सपनाको 'द्रव्यवृक्ष'मा चढ्दा ढाड खुस्किएका नौजवानहरूको पात्रतामा विम्बको अन्तर्घुलनको वैज्ञानिक र जीवशास्त्रीय रूपान्तरणलाई कविता बनाएका छन्। नेपाली समाज, संस्कृति, सभ्यताको गर्भबाट टपक्क टिपेका विम्ब थपक्क राखिएका विचारको भित्तामा टाँसेका छन्। उनका कविता कुशल चित्रकारको कुचीले सिर्जिएका पेन्टिङजस्ता लाग्छन्।
साह्रै थोरै कविता लेख्नेभित्र पर्छन्, नवराज। लगभग एक वर्षअघि नुवाकोटबाट प्रकाशित हुने 'रूपायन'मा छापिएका 'बुबा' र 'पेटभित्र फक्रिएको सूर्य' उनका सुरुवाती चरणमा छापिएका कविता हुन्। पछि 'कान्तिपुर'मा प्रकाशित 'सगरमाथाको गहिराइ'ले उनको परिचय झन् दरियो।
उनको कविता लेख्ने शैली नै अजीबको छ। फ्रेम, थिम, इस्यु र स्ट्रक्चर पनि उनी दिमागमै तयार पार्छन्, अनि ऊर्जा पर्खेर बस्छन्। यसको अर्थ हो रोजीरोटीका लागि 'ओलम्पिया वर्ल्ड कलेज'को टिचिङबाहेक उनको सबै समय कविताकै हो। यस्तै ताल हो भने 'साहिँला बाजेको फेमिली टर्चर' यी युवा कविले पनि भोग्नुपर्ने खतरा आउन सक्छ। कविता लेखेर पाउनुभन्दा गुमाउनु बढी हो भन्ने लाग्दो हो परिवारका सदस्यलाई कविको 'अन्टसन्ट' व्यवहार झेल्नुपर्दा। उनी हरपल कवितैकविता सोच्छन्, र त जन्मिन्छन् विम्बै विम्बका ती सुन्दर र खिरिला कविता।
कवि श्यामल दाइले भनेको सम्झन्छु। 'सोझो कुरा त कहाँ कविता हुन्छ र? कविता त विश्वसनीय एक्जाक्जरेसन हो।' एक्जाक्जरेसनलाई विश्वासनीय बनाउने कवि पो कवि त। नवराज तिनै 'सुन्दर बखान वा विश्वसनीय एक्जाक्जरेसन' गर्ने कविभित्र पर्छन्। त्यसका लागि कवि चतुर हुन जरुरी छ। कवितामा उनले प्रयोग गरेका यी विम्बले उनको काव्यचातुरी दर्साउँछ।
– आकाशका हाँगाहरूमा 'लटरम्म' तारा फुलेको रात
– पिठ्युँमा बिरामी छोरो बोकेर हिँडेको बाबु
– मेरो देशको आकाशमा अझै पनि काला ताराहरू चम्किरहेछन्
– यो घडीका तीनवटै काँटाहरू सामूहिक आत्महत्या गर्दैछन्
– लाग्छ पेटभित्र आगोको तातो भुङ्ग्रो छ
– ती स्वर्गका हिरोहरू पहिरो भएर आए
– गोठभित्रै रातभरि केराका पातझैं उदारेर गए
– जसरी जूनको शीतलता शीतलतामा झरेपछि सिद्धिन्छ
– कुनै पनि छोरीको जिन्दगीको बेलुन दाइजोको काँडामा ठोकिएर झर्नु नपरोस्
...
नवराजलाई 'कविताले इन्भेन्सन खोज्छ' भन्ने लाग्छ। टेक्निक, क्राफ्ट, विचार, संगीत र शैलीको नौल्याइँ इन्भेन्सन हो उनको भाषामा। तर उनी आफ्ना लागि चुनौतीको पहाड आफैं उठाइरहेछन्।
'एउटै किसिमको टेक्निकले कविता लेखिरहँदा आफ्नो कविता र विम्ब आफैंले चोरी गरेझैं लाग्दैन?' भनी ज्यानमारा प्रश्न गर्दा पनि उनी कुटील जवाफको घुएँत्रो यसरी फ्याँक्छन्, 'एउटा कविले सबै खाले कविताको लेख्न सक्छ। तर कविताको आत्मा एउटै हुन्छ। किनभने कविको आत्मा एउटै हुन्छ।'
उनका केही विम्ब दोहोरिएझैं पनि लाग्छ। 'गोधूलि', 'गुराँस' आदि विम्बसँगको प्रेम उनलाई घातक पनि हुन सक्छ। 'साँझमा जन्मिएको हुनाले गोधूलिसँग प्रेम बस्यो। गुराँसको देशको मान्छे भएकोले गुराँससँग' भने पनि यो पाठकका लागि क्षम्य नहुन सक्छ। किनभने कविताको क्वालिटी र सफलताको एउटा 'उचाइ' निर्माण गरिसकेपछि कविहरूले 'मैले आफ्ना लागि लेखेको हुँ' भन्ने छुट पाउँदैनन्। पाठकहरूको मनोविज्ञान पनि उनीहरूसँगै जोडिएर आउनुपर्छ।
उत्तर आधुनिकतावादीहरूले भनेझैं विधाहरूको जोडजाड छ उनका कवितामा। प्रायः कविता प्लटमा उनिएका छन्। ती प्लट हाम्रै नेपाली समाजका अन्तस्करणबाट टिपिएका दुर्दान्त घटनाका साक्षीहरू हुन्। यी विषय कुनै कथाकार वा उपन्यासकारले लेख्नपर्ने विषय हुन्। यस अर्थमा 'कविहरू केवल भावनामात्रै पोख्दछन्' भन्नेहरूलाई उनले काव्यिक चेतावनी दिएका छन्। कवि सामाजिक प्राणी हो र उसले 'समाजसापेक्ष' विचार समाउनुपर्छ। नवराजले पनि समाएकै छन्, जसरी अरू कविले समाएका हुन्छन्।
उनी कविता कण्ठस्तै सुनाउँछन्। त्यसले गर्दा पनि पाठक उनको प्रारम्भिक 'फ्यान' हुन्छ। उनी 'स्लाम पोएट्री'बाट आएका हुन्। २०१४ को स्लाम पोएट्री प्रतियोगितामा प्रथम भएका थिए। उतिबेला उपस्थितमध्ये एक थिए, सञ्चारकर्मी कवि नवराज लम्साल। 'प्रतियोगितापछि आँखाभरि आँसु पारेर नवराज लम्साल दाइले हात मिलाउनुभएको थियो' भन्ने नवराज पराजुलीको कविता सुनेपछि जो कोहीको पनि आँसु झर्छ। त्यसैताका बिबिसीकर्मी रवीन्द्र मिश्रले 'तपाईं कविताप्रेमी हुनुहुन्छ भने नवराज पराजुलीले राष्ट्रकवि माधव घिमिरेलाई सुनाएका बेजोड तीन वटा कविता अवश्य सुन्नुहोला— कवितामा शक्ति र सौन्दर्य दुवैको सम्मिश्रण बिरलै भेटिन्छ। नवराज पराजुलीका कवितामा तपाईंले ती दुवै पाउनुहुनेछ। तपाईं कविताप्रेमी भईकन पनि यी कविता सुन्नुभएन भने, विश्वास गर्नोस्, तपाईंले साँच्चिकै केही गुमाउनुहुनेछ' भनी स्टाटस लेखे।
...
न साहित्यको बजारतन्त्र र गुटभित्र छन् उनी, न चर्चाको केन्द्रमा। तर पनि उनको कविता चर्चामा आइरहन्छ। युट्युबमा हेर्न सकिने 'सगरमाथाको गहिराइ' हजारौंले हेरिसकेका छन्। बिग मिडियामा 'बिग धावन्ती' नगरीकनै उनी छाइरहेका छन्। उनका कविता बिक्नेभन्दा पनि टिक्ने खालका छन्, किनकि ती हाम्रै समाजका सुखदुःखका प्रतिमा हुन्।
आज लिएरै जानेछु तिम्रो फोक्सोबाट सास
र त्यही श्वासले भर्नेछु म
सजायका नाम लेखिएका यति धेरै बेलुनहरू
कि
छोरो जन्मिएको हरेक घरको मूलढोकामा
खबरदारीको एउटा एउटा बेलुन झुन्ड्याउन पुगोस्
ताकि भविष्यमा कुनै पनि छोरीको जिन्दगीको बेलुन
दाइजोको काँडामा ठोक्किएर फुट्न नपरोस्।
—सतीदेवीको गाण्डीव
तर जाऊ आमा बालाई भन्देऊ
'पहिले हरेक महिना हजुरआमाको शरीर 'बाट' रगत बगेकाले मात्रै
अहिले हरेक पल बाको नसा 'मा' रगत बग्दैछ।'
—ब्रह्माजीको रजस्वला
तर अयोग्य घोषित भएको एउटा लडाकु
मेरा आँखामा आँखा जुधाएर भन्छ :
'तैंले मलाई बिर्सेलास् तर यो नबिर्सिनु :
यो देशको राष्ट्रिय फूल लालीगुराँस आजभोलि यति बिघ्न रातो फुल्नु
मैले यी पहाडहरूमा दस वर्ष बगाएको रातो रगतको कारणले गर्दा हो।'
— पिर(ती)
ए देश!
सगरमाथाको शिखरमा उभिएको
संसारको सबैभन्दा अग्लो मान्छे म
आज खाडीमा गाडिएको छु
कसैले बाहिर निकाल मलाई!
— सगरमाथाको गहिराइ
प्रकाशित: ३ पुस २०७२ २३:१० शुक्रबार





