७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

सेल्लुलोइड इराको समाधि

काठमाडौं खाल्डोमा ह्वात्तै चिसो बढेको थियो। सपनाहरूको बिस्कुन सुकाएर साँझतिर डेरामा फर्किएँ सधैंजसो। सधैंजसो आज पनि बिजुली थिएन। कोठामा धमिलो उज्यालो छर्दै थियो— एउटा सानो क्यान्डल। ओछ्यानमा पल्टिएर जुकरबर्गको भित्तो चियाउन थालेँ। भित्तोमा एउटा विद्यार्थीले लेखेको भित्ते खबर देखेँ, 'वरिष्ठ छायाँकार दीपक ढकाल सरको असामयिक निधनले स्तब्ध भएको छु। उहाँको आत्मालाई स्वर्गमा बास मिलोस्, भगवान्सँग यही प्रार्थना गर्दछु। शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु। हार्दिक श्रद्धाञ्जली।'नमिठो हुण्डरी मनभित्र चल्न थालिगो... एकतमाश। अँध्यारोमा छिमेकमा कोही बोलेको सुनिँदै थियो, 'यो वर्ष पोहोरभन्दा बढी जाडो होलाजस्तो छ। मंसिरमै यस्तो छ...।'

दिनभर घाम नलागेकोले होला, साँझ चिस्सिएको थियो। म धुमधुम्ती त्यहीँ बसिराखेँ— एउटा सेलाएको तातो अगुल्टो सम्झेर! ओहो... सरको तस्बिर छाप अलप भएछ।

रक्सीको ह्याङओभरले फुस्स फुलेको अनुहार, हाई बल्ड प्रेसरले रात्तै छ। निधारमा छुटेको पसिना ह्यान्कीले पुछ्दै हातमा अफिस ब्याग बोकेर, त्यो अनुहार बोकेको आकृति मेरो नजिक–नजिक आउँछ। छेउमै आएर, ऊ 'सारंगी' फिल्म खिच्दाका अनुभव सुनाउन थाल्छ। कुनै मदारीले चटक देखाउन लागेझैं एउटा कालो कपडाको अगाडि सबैलाई जम्मा गर्छ। कालो कपडाले केही जिनिस छोपेर राखेको छ। आकृति कालो कपडा हटाउँछ। एउटा थोत्रो, रङ खुइलिएको एरिफ्लेक्स–क्यामेरा प्रकट हुन्छ। आकृति कुनै सैनिक कमान्डरजस्तो सबैलाई लस्करमा उभ्याउँछ। र, पालैपालो क्यामेराको आइपिस धकेल्दै फ्रेम हेर्न सिकाउँछ। क्यामेराको आइपिसलाई आँखाको डाँडीले धकेलेर हेर्दामात्रै ब्रह्माण्ड देखिँदो रैछ। यो नौलो जुक्ति थाहा पाएर हामी तीनछक पर्छौं। अनि त्यसपछि आकृति सुरु गर्छ, सेल्लुलोइड क्यामेराको महापुराण!

आकृतिले आफ्नो जिन्दगी घोलेर मिसाएको यो प्रविधिको महापुराण हामी कुनै मिथकजसरी सुन्छौं। चिटचिट पसिना काढ्दै आकृति चर्कोचर्को आवाजमा महापुराण सुनाइरहन्छ। र, यो दृश्य मनमा खेलाइरहेको यतिखेर म सोच्छु— छिट्टै आफैं मिथक बन्न लागेको यो प्रविधिको भविष्यबारे, आकृतिलाई त्यति बेला आभाससम्म थिएन सायद।

यो क्यामेरा र क्यामेरा बोक्ने ऊ, दुवै एक दिन गुमनाम हुनेछन् र म्युजियममा थन्किनेछन् कहिल्यै नफर्किने गरी; आकृतिलाई यो कुराको पूर्वसंकेत कत्ति पनि थिएन। ह्यान्कीले पसिना पुछ्दै, आकृति महापुराण यसरी सुनाइरहेको थियो, मानौं यो पुराना, रङ खुइलिएको, कालो जिनिस, एकमात्र निर्विकल्प प्रविधि हो।

साँझ अलिकति ढल्किसकेको छ। सहरमा ‰याप्प बिजुली बल्छ। बच्चाहरू कराउन थाल्छन्। छिमेकका कुकुरहरू भुक्न थाल्छन्। लाग्छ, यो सहरमा बिजुली आउनु एउटा आकस्मिक घटना हो। बत्तीहरू धमिलो बलेका छन्। हाफ लाइन! भर्खर किनेर ल्याएको इन्डक्सन चुलोमा भात पाकेन रे।

'गर्नु गर्योब यो मोदीले पनि।'

भान्साबाट आएको आवाज सुन्छु। जुकरबर्गको भित्तो समवेदना सन्देशहरूले भरिएका छन्।

— रिप दीपक सर।

— नेपाली चलचित्र उद्योगका लागि अपुरणीय क्षति।

— चलचित्र उद्योगले वहाँको योगदान कहिल्यै भुल्नेछैन।

— दीपक सर सधैं अमर हुनुहुन्छ।

यस्तै... यस्तै...!

१२ वर्षअघिको कुरा हो— एउटा ठिहिरिलो बिहान, एउटा छुट्टै सपना देख्दै, हामी ३३ जनाको हुल सानो गौचरणको एउटा सत्तलमा जम्मा भएका थियौं। 'कलेज अफ फिल्म स्टडिज' नाम थियो त्यसको। सर्लक्क इस्त्री गरिएको, कटन कपडा, हातमा अफिस ब्याग झुन्ड्याएर टकटक बुट बजाउँदै दीपक सर क्लासमा छिर्नुभो। अनि ब्यागबाट नोटकपी निकालेर बोर्डमा लेख्नुभो—

'लिस्ट अफ फिल्म फरम्याट्स।'

एक जना जिज्ञासु मित्रले प्रश्न गरिहाले, 'मान्छेको फरम्याटचाहिँ कति प्रकारको हुन्छ सर?'

यति भएपछि झोँक्की बूढालाई के चाहियो। पड्किन थालिहाले। र, त्यो पूरै क्लास सरको पड्काइमै बित्यो। हामी चुपचाप मूर्तिवत् बसेका थियौं। सरको पड्काइको प्रभाव यस्तो परेछ कि उहाँ गइसकेपछि पनि धेरै बेरसम्म कोही बोलेन। केही बेरपछि उही जिज्ञासु मित्रको आवाज आयो—

'कास्टिङ नै झुर भयो केटा हो!'

अनि बल्ल हामी हाँस्न थाल्यौं।

त्यहाँबाट सुरु भएको सिलसिला तीन वर्षसम्म जारी रह्यो। सरको हप्काइ र पड्काइ खाँदै हामीले सिनेमा प्रविधिको ज्ञान प्राप्त गर्यौंम। बूढाले जे भने पनि सहनु थियो, किनकि हामीलाई सिक्नु थियो। र, बूढाबाहेक हामीलाई प्रविधिको गहिरो ज्ञान दिन सक्ने कोही थिएन। बूढा महाभारतको एकलव्यजस्तो एक्लो खडा थियो।

हामी नोट लिएर, क्लास सकेपछि, नबुझेका कुरा सरलाई सोध्न जान्थ्यौं। उहाँ आफ्ना ओठ कपाउँदै, धेरै बेरसम्म धाराप्रवाह बोल्नुहुन्थ्यो। कुनै प्रश्न चित्त बुझेन भने सर पड्किन थालिहाल्नुहुन्थ्यो। पड्किँदा पनि उहाँ धाराप्रवाह नै पड्किनुहुन्थ्यो। हामी चुपचाप सुनिबस्थ्यौं।

सरको मुखबाट ठ्वास्स रक्सीको गन्ध आउँथ्यो।

'बूढाले त बिहानै चढाएछन् कि के हो?'

'हैन! बिहान चट्ट एक पेग लगायो भने, रातको ह्याङओभर चट् हुन्छ,' एउटा साथीले आफ्नो अनुभवबाट प्राप्त आत्मज्ञान शेयर गर्यो । सिसा काट्ने सिसैमा राखेर... भनेझैं रक्सीलाई पनि रक्सीले नै काट्नुपर्ने रैछ, अचम्म!

भोगाइको एउटा तŒवज्ञान पाएको थिएँ, मैले त्यो बेला।

असीको दशकमा दीपक सर भारतको पुना इन्स्टिच्युट पुग्नुभो रे! र, सेल्लुलोइडको शिल्प बोकेर नेपाल फिर्नुभो रे!! नेपाली सिनेमा उद्योगको लागि त्यो एउटा सुनौलो समय हुन पुगेछ। नेपाली दक्ष प्राविधिकबाट नै नेपाली सिनेमा छायांकन हुन पाउनु, एउटा सुखद् सुरुवात थियो। त्यो दीपक सरको बेला थियो। सरले धमाधम, विनाफुर्सद छाप्नुभयो— सेल्लुलोइडको स्ट्रिपमा दृश्यहरू। दिनरात गरेर सबैतिर सरले नै भ्याउनुभयो। अरू कोही त थिएन।

दिनहरू बित्दै गए। अलिअलि सिकेका आलाकाँचा प्राविधिकहरू सिनेमामा आउन थाले। सरलाई केही फुर्सद मिल्न थाल्यो। सायद फुर्सदलाई सदुपयोग गर्दा उहाँले रक्सी पिउन थाल्नुभो होला। अनि यो रक्सी पिउने आदतले फुर्सद झन् बढाउँदै लग्यो होला। लामो समयान्तरपछि दृश्यलाई फेरि हेर्दा यति बेला सर मज्जाले फुर्सदमा हुनुहुन्थ्यो। र, सिनेमा उद्योग सबै आलाकाँचा ठेट्नाहरूले भरिएको थियो।

किन सिनेमा उद्योगले सरलाई यसरी विस्थापित गर्योा होला? हाम्रो उद्योग, सरको प्राविधिक महासागरलाई धान्न सक्ने अवस्थामै थिएन कि? यसलाई टापटिपे प्राविधिक चाहिएको थियो। जोगडा जो गर्नु थियो। मुख्य कारण यही होला जस्तो लाग्छ। अर्को, सरको अभिमान! अभिमानले नै खायो कि जस्तो पनि लाग्छ, दीपक सरलाई। अरू पनि होलान्, कारणहरू। कलेजमा क्लास लिन आउँदा सरका राता अनुहारमा, आफूले मन फुकाएर काम गर्न नपाएका आक्रोशहरू प्रस्ट देखिन्थे।

रात छिप्पिसकेको छ। सहरमा फेरि बत्ती गएको छ। ओछ्यानमा पल्टेको छु। निद्रा लाग्ने संकेत छैन। दिनको कुनै नमिठो क्षण याद बनेर खेल्न थाल्छ, निदाउनुभन्दा अघि। कुनै क्षणहरू यति नमिठा हुन्छन् कि त्यसले त्यति सजिलोगरी निदाउन दिँदैन। आफूलाई पढाएका गुरुबाको निधनको खबर निद्रा रोक्नको लागि पर्याप्त थियो। ओहो! मृत्यु, कस्तो रहस्यात्मक र डरलाग्दो जिनिस!!

बिहानको आठ बजिसक्दा पनि घाम देखिएको छैन। सहर डम्म ढाकेको छ हुस्सुले। मोबाइल फोनमा कलेजमा श्रद्धाञ्जली सभा गर्न लागेको खबर आउँछ र त्यता जाने तयारी गर्न थाल्छु।

दस वर्षअघिको कुरा, कलेज पासआउट भएपछि सबै आफ्नो सपनाको दुनो सो‰याउँदै कताकता लागे। लामो समयसम्म दीपक सरसँग भेट भएन। बेला बेलामा केही नमिठा खबर आइरहे।

— दीपक सरलाई प्यारालाइसिस भएछ।

— दीपक सर त घर छोडेर संन्यासी बन्नुभो रे।

समयक्रममा त्यही कलेजमा म शिक्षक बन्न पुगेँ र 'कालाकुर्थैले, व्यवस्थापनको छ महिने जागिरै खायाँ। काला कुर्थैले।'

कलेजबाट अग्रज शिक्षकहरूलाई सम्मान कार्यक्रम राखिएको थियो। धेरै वर्षपछि मैले दीपक सरलाई त्यहीँ देखेको थिएँ। र, कुनै सिनेमाको यू–टर्नजस्तो उहाँलाई यो रूपमा देखेर विचलित भएको थिएँ। दुब्लो, कान्ति हराएको अनुहार, सेतै फुलेका लामो दाह्री, स्याप्पै बसेको शरीर र शान्त मुद्रा। कसैले उहाँ नै हो दीपक सर भनेपछि मात्र चिनिने अवस्था थियो। 'सर नमस्ते' भनेँ। सरले मधुर आवाजमा नमस्ते फर्काउनुभो। अनुहारमा पुरानो जोस, आक्रोश केही बाँकी थिएन। नीर शाह सरले माहोललाई रमाइलो बनाउन खोज्दै जोक गर्नुभो।

'दीपकजी, अबचाहिँ बल्ल तपाईं सिनेमा खेल्नेजस्तो देखियो है। तपाईंलाई हेरेर एउटा सिनेमा लेख्नुपर्ला जस्तो छ।'

दीपक सर फिस्स हाँस्नुभो। उहाँको मुख थोरै बांगिएको रहेछ। साँच्चै उहाँ एउटा अर्कै चरित्र देखिँदै हुनुहुन्थ्यो। रंगमञ्चको विदूषक पात्रजस्तो वा भनौं गौतम घोषको बंगाली सिनेमामा गाउँदै हिँड्ने लालन फकीरजस्तो। मैले त्यहीँ खबर पाएँ— छ महिनाअघि सरले घरबार त्यागेर आश्रमको जीवन रोज्नुभो रे।

केही दिनपछि दीपक सर कलेज आउनुभो। उहाँ फकीर भेषमै हुनुहुुन्थ्यो। केही भन्न खोज्दै हुनुहुन्थ्यो। तर प्यारालाइसिसले स्वर नबुझिने बनाइएको रहेछ। लडपडिएको आवाजमा केही कुरा सञ्चार गर्नुभो। दीपक सर पढाउनको लागि क्लास मागिरहनुभएको थियो। उहाँले क्लास माग्नुमा दुई वटा तत्व हाबी थिए जस्तो लाग्छ। एक त जिन्दगीको यो क्षणमा पनि उहाँ आफ्नो ज्ञान बाँड्न चाहनुहुन्थ्यो। अर्को, उहाँलाई जिन्दगी गुजारा गर्न अलिकति पैसा चाहिएको थियो।

जिन्दगी सिनेमालाई बुझाएर, प्यारालाइसिसले कुँजिएको एउटा वृद्ध फकीर, जिन्दगी गुजारा गर्न पढाउन पाए हुन्थ्यो भनेर बिन्ती गर्दैछ, जबकि उसले बोलेको आवाजसम्म बुझिँदैन। कुनै मेलोड्रामाटिक सिनेमाको लागि तयार पारिएको, दृश्य विदारक, भावोत्तेजक दृश्यजस्तो। जसले केही मूल्यमाथि प्रश्न गरेजस्तो लाग्छ।

सतहमा रङरोगनले पोतिएको सिने क्षेत्र, भित्र भने ब्ल्याकहोल जस्तो अँध्यारो सन्नाटाले भरिएको छ। यो यथार्थ हो, किन लुकाउने?

म कहिलेकाहीँ मेटाफोरहरू खोजिबस्छु। जस्तो कि— घरको बार्दलीमा बत्ती बलेको देखेर पुतलीहरू टाढाबाट उड्दै–उड्दै आउँछन्। तर बत्तीको नजिक पुगेपछि बत्तीमै झोसिएर मर्छन्। वा शिशिर–वसन्तको कथामा, जहाँ कतै डाँडामा आगो बलिरहेको देखिन्छ। आगो खोज्दै शिशिर डाँडातर्फ लाग्छन्। तर जति जाँदा पनि आगो टाढा नै देखिन्छ। वास्तवमा डाँडामा आगो नै हुँदैन। दैत्यहरूले इन्द्रजाल फिँजाएका मात्र हुन्छन्।

यसरी नै बत्ती खोज्ने वा आगो खोज्ने बहानामा, झोसिएकाहरू दुखेर बाँच्दछन्, दुखेर मर्दैछन्। एउटा प्रश्न खेल्छ— जिन्दगीभर सिनेमा संस्कृतिका लागि योगदान गरेर कुँजिएका दुःखी आत्माहरूलाई टेको दिने दायित्व कसको हो? कसैको त पक्कै होला नि!

दिन ढल्किसकेको छ। घाम अझै देखिएको छैन। कलेज पुग्छु। श्रद्धाञ्जली कार्यक्रमको तयारी हुँदैछ। टेबलमाथि एउटा माला टाँगिएको फोटो छ। ‰याप्प सेता दाह्री र दुब्लो अनुहार! त्यही फकीर स्वरूपको फोटो देख्छु।

'हर्ट अट्याक भएर एक हप्तादेखि कोमामा हुनुहुन्थ्यो रे,' एक साथी भन्छ।

श्रद्धाञ्जली कार्यक्रम सुरु हुन्छ। उहाँले पढाएका विद्यार्थीहरू भावुक हुँदै सम्झनामा केही बोलिरहेका छन्। सरले एक दिन 'डिजिटल प्रविधि कहाँ सिक्न पाइन्छ? म पनि सिक्छु' भनेको कुरा नरेन्द्रले शेयर गर्दा मनमा चिसो पस्छ। अनि किरणले सम्झाउँछ, 'सरले सधैं आफ्नो अफिस ब्यागमा बोकेर हिँड्ने एउटा स्त्रि्कप्ट छ। जसमा सिनेमा बनाउने सरले सधैं सपना देख्नुहुन्थ्यो। तर त्यसभित्र के छ, त्यो सरले कहिल्यै, कसैलाई भन्नुभएन। अहिले त्यो स्त्रि्कप्ट कहाँ गयो होला? सरसँगै चितामा पो जल्यो कि...!'

सरको सम्मानमा सरले पढाउनुभएका नोटहरू जम्मा गरेर किताब प्रकाशित गर्ने संकल्प गर्दै श्रद्धाञ्जलीको औपचारिकता सकिन्छ।

सर केही समयदेखि शान्त हुनुहुन्थ्यो। उहाँको आक्रोश धेरैपहिले नै हराइसकेको थियो। अन्ततः चुपचाप समाधि लिनुभएछ दीपक सरले! रंगरसको यो दुनियाँमा जिन्दगीभर ओझेलमा बाँचेको एउटा सर्जक पनि मृत्युपछि चर्चाको विषय बन्ने गर्छ। संस्कार त्यस्तै छ। तर दीपक सरको मृत्युको चर्चा उति साह्रो भएन क्यारे! सधैं छायाँमा बसेको एउटा छायाँकारको चिताअगाडि त्यति धेरै पापाराजी क्यारामेहरू धुइरिएनन् क्यारे। सर, चुपचाप लाग्नुभो अनन्तताको बाटो। अनि सरसँगै पूरै सेल्लुलोइड इराले नै समाधि लियो भन्दा हुन्छ होला।

साँझ पर्दैछ, सहरमा। बस चढ्छु। बसमा बस्ने त परै जाओस्, उभिन पनि हम्मेहम्मे छ। गुन्दु्रक जसरी कोचिएका छन् मान्छेहरू र छतमा भारतीय प्रधानमन्त्री मोदीविरुद्ध नाराबाजी हुँदैछ। गंगा हलको अगाडि बस रोकिन्छ। मेरो आँखा गंगा हलमा टाँसिएका पोस्टरतर्फ घुम्न थाल्छ। एउटी उमेर ढल्कँदै गएकी नायिका हातमा धनुकाँड बोकेर ताक्दै गरेको दृश्य देख्छु। बस रोकिन्जेल त्यता हेरिरहन्छु। भित्ताको अर्को छेउमा एउटा धमिलो पोस्टर टाँसिएझैं लाग्छ।

दाह्री सेतै फुलेको, एउटा बूढो फकीर, काँधमा एरिफ्लेक्स क्यामेरा बोकेर अनन्ततर्फ हेर्दैछ। उसको एउटा हातमा निभेको अगुल्टो छ। काखीमुनि धमिराले खाएको एउटा पुरानो स्त्रि्कप्ट चेपेको छ। एउटा भ्यांग्लो झोला भिरेको छ, जहाँबाट गोमन सापजसरी सेल्लुलोइडका स्ट्रिपहरू बाहिर निक्लँदैछन् र फणा फिजाउँदैछन्।

हेर्दाहेर्दै पोस्टरको बूढो फकीर चलायमान हुन्छ। ऊ निभेको अगुल्टो तेर्स्याएर हिँड्न थाल्छ। हिँड्दै ऊ अनन्तमा पुगेर हराउँछ। अगुल्टोबाट चलेको पिरो धुवाँले ब्रह्माण्ड ढाकेको छ यति बेला।

प्रकाशित: ३ पुस २०७२ २३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App