निराश हुँदै उनी जापानबाट स्वदेश फर्किए।
सोच्नुहोला, जापान जाने लोभमा वाग्लेले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए। होइन, यसमा उनको कुनै गल्ती थिएन न छलछामै गरेर उनी जापान पुगेका थिए।
यो गल्ती थियो– त्रिभुवन विश्वविद्यालयको। देशकै ठूलो र भरपर्दाे सरकारी विश्वविद्यालय त्रिविले दिएको आफ्नो प्रमाणपत्रमा त्यति ठूलो गल्ती होला भन्ने उनले कहिल्यै सोचेका थिएनन्। कल्पनै नगरेको विषय राम्ररी ननियाली देखिने पनि कुरै भएन।
वाग्लेले त्रिविबाट पाएको विभूषण प्रमाणपत्रमा रहेको विश्वविद्यालयकै लोगो गलत रहेछ। यही आधारमा उनलाई जापानको विश्वविद्यालयले नक्कली भनेर फर्काइदियो।
'विभूषण प्रमाणपत्र (त्रिविको भाषामा ओरिजिनल प्रमाणपत्र) मा लोगो नै गलत रहेछ,' त्रिवि परिसरमा भेटिएका वाग्लेले नागरिकसँग भने, 'इन्कर्पोरेटेड (आइएनसिओआरपीओआरएटिइडी) हुनुपर्नेमा इन्क्रपोरेटेड (आइएनसिआरओपिओआरएटिइडी) भएकैले मलाई किर्ते प्रमाणपत्र पेस गरेको, अयोग्य भन्दै फर्काइदियो।'
समयमै प्रमाणपत्रमा राम्ररी आँखा नलाउँदाको परिणाम गालामा हात लाउँदै स्वदेश फर्केका उनी अहिले 'योग्य प्रमाणपत्र पाउँ्क' भन्दै त्रिवि धाइरहेका छन्। त्यसमा पनि विश्वविद्यालय सहयोगी नबनेकोमा भने उनी निकै दुःखी छन्।
'टियु आफैंले यस्तो गम्भीर गल्ती गर्छ, अनि उल्टै हामीलाई दुःख दिइरहेको छ,' प्रमोदले दुखेसो पोखे, 'सच्याउन फेरि पैसा तिर्नुपर्ने भन्दैछन् कर्मचारी। पैसा तिरेपछि पनि सर्टिफिकेट बन्न अरू १५–२९ दिन लाग्छ रे।'
जापान जाँदा र रित्तो हात फर्कंदाको सबै खर्च क्षतिपूर्तिस्वरुप त्रिविले भराउनुपर्ने उनको माग छ।
प्रमोदको मात्र होइन, हजारौं विद्यार्थीका प्रमाणपत्रमा यस्ता कैयन् त्रुटि पाइन्छन् जसलाई कसैले नियालेर हेरेका हुँदैनन्।
साथीले दुःख पाएको देखेर बेलैमा प्रमाणपत्र सच्याउन आए ओशन श्रेष्ठ। सेन्टजेभियर्स कलेजबाट बिएससी गरेका उनी पनि कर्मचारीका व्यवहारले हैरान छन्।
'कति दुःख गरेर यो प्रमाणपत्र पाइयो, त्यही पनि गलत रहेछ,' उनी भन्छन्, 'गलत भएको थाहा पाएपछि टियु धाउन लागेको आज तीन दिन भइसक्यो। उल्टै थर्काइरहेका छन्।'
उनले धेरैपटक जागिरका लागि आवेदन दिँदा यही प्रमाणपत्र प्रयोग गरिसके। भाग्यले साथ दिएकाले कसैले चाल पाएनन् र उनीमाथि 'किर्ते' आरोप लागेन।
'नेपालमा गलत–सही थाहै नपाउँदा रहेछन् भन्ने प्रमाण हुँ म,' ओशन भन्छन्, 'गलत भन्ने थाहा पाउनेबित्तिकै यो प्रमाणपत्र बोक्नै मन लागेन।' बेलैमा आफूले साथीबाट थाहा पाएर सम्भावित तनाबबाट जोगिएको उनले बताए। 'मेरा कैयौँ साथी विदेशबाट फर्केर अर्को प्रमाणपत्रका लागि धाइरहेका छन्,' उनले भने, 'टियुको यो गम्भीर अपराध हो। यसबाट धेरै विद्यार्थीले दुःख पाउनेवाला छन्।'
उनको प्रमाणपत्र ८ जुलाई २०१२ मा जारी भएको छ।
त्रिविको यो गम्भीर लापरबाहीलाई त्यहाँका कर्मचारी सामान्य मान्छन्। भन्छन्– 'यो सामान्य गल्ती हो, सच्याइदिइहाल्छौं नि!'
'३८, ३९ र ४० औँ कन्भोकेसनसम्मका विद्यार्थीमा यस्तो समस्या पाइयो,' त्रिविका एक कर्मचारीले नागरिकसँग भने, 'गल्ती त गम्भीरै हो तर हामीलाई पनि माथिबाट जे आदेश भयो, त्यही गर्ने हो।'
हजारौँ विद्यार्थीको प्रमाणपत्रमा गलत लोगो हुन सक्ने आँकलन गर्दै उनले अहिलेसम्म सय हाराहारी विद्यार्थीले मात्र गलत लोगोको समस्या लिएर कार्यालयमा आएको उनले बताए।
त्रिवि परीक्षा सहनियन्त्रक विष्णुहरि शर्मा पनि यस्तो त्रुटिलाई 'सामान्य' भन्दै पन्छिन खोजे। 'पुरानो प्रिन्टमा समस्या थियो,' उनले भने, 'अहिले नयाँमा छैन। समस्या भएका प्रमाणपत्र यहाँ आएका विद्यार्थीलाई सच्याएर दिएका छौँ।'
शर्माले प्राज्ञिक बोर्डबाट फाइनल भएर आफ्नै छापाखानामा लोगो र प्रमाणपत्र बन्ने गरेको जानकारी दिए।
प्रमाणपत्रमा त्रुटि रहेको जानकारी पाए पनि त्रिविले सार्वजनिक सूचना जारी गरी सच्याउन आग्रह गरेको छैन।
'यसमा सार्वजनिक सूचना जारी गर्नु जरुरी नै छैन नि,' अर्का परीक्षा सहनियन्त्रक शंकर भण्डारी भन्छन्, 'गल्ती भएकै रहेछ भने पनि सच्चिइहाल्छ नि!'
विश्वविद्यालयको नामै फरक
त्रिविको आफ्नै अंग्रेजी नामसमेत एकरुपता देखिँदैन लोगो र प्रमाणपत्रमा। कहीँ 'त्रिभुभन युनिभर्सिर्टी' छ भने कतै 'त्रिभुबन युनिबर्सिटी'। यसले पनि विदेशमा विद्यार्थीलाई 'किर्ते' को लान्छना लाग्ने गरेको छ। केही विद्यार्थीको ट्रान्सक्रिप्ट अंग्रेजीमा 'त्रिभुभन युनिभर्सिटी' उल्लेख छ भने ओरिजिनल सर्टिफिकेटमा 'त्रिभुबन युनिबर्सिटी' छ। जब कि सोही ओरिजिनल सर्टिफिकेटको लोगोमा 'त्रिभुभन युनिभर्सिटी' उल्लेख छ।
'सानातिना मिस्टेक त ल सामान्य भए अरे,' गलत सर्टिफिकेट फिर्ता गरेर नयाँ लिन आएका सञ्जोग सापकोटा भन्छन्, 'विश्वविद्यालयको लोगो गलत र नामै फरक देख्दा हरेक नयाँ मान्छेले यसलाई किर्ते भनिहाल्छ नि!' त्रिविका यस्ता लापरबाहीले विद्यार्थीलाई हरेक 'स्टेप' मा समस्या परिरहेको उनी बताउँछन्।
'कस्तो अनपढ प्राज्ञिक जमात भरिएको होला टियुमा,' सञ्जोग आक्रोशित छन्, 'यहाँको कर्मचारी प्रशासनको चरम लापरबाहीविरुद्ध कसैले बोल्न सकेकै छैन। अझ मलाई त चिठी मात्र दिने भन्छन्। मलाई त नयाँ नै चाहिन्छ भनेको छु।'
गैरजिम्मेवार कर्मचारी प्रशासन
प्रमाणपत्रमा आफ्नो नामै गलत आएका कारण सास्ती झेलिरहेका सुजन विश्वकर्मा परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीसँग विवाद गर्दै गरेका भेटिए। 'जो चोर उसकै ठूलो स्वर,' उनी कराउँदै थिए, 'प्रक्रिया सबै पुर्यामउँदा पनि दुःख पाउनुपर्ने कहाँको व्यवस्था हो यो?'
पछिल्लोपटक सम्पन्न ४१ औँ दीक्षान्त समारोहमा उनले पाएका प्रमाणपत्रमा जारी मिति नै छैन। 'सुजन' नामका उनी प्रमाणपत्रमा 'सजल' भएका छन्। '१८ औँ शताब्दीका जस्ता लाग्ने कर्मचारीबाट कसरी चल्छ देशको प्रमुख प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलो?' उनी प्रश्न गर्छन्, 'टियुमा कर्मचारी प्रशासन सुधार कसैको मुद्दा बन्दैन, कसरी फेरिन्छन् यिनका मानसिकता र काम गर्ने तरिका?'
त्रिवि उपकुलपति प्राडा. तीर्थ खनियाँ सुरुमा यसबारे बुझेर तत्काल निर्णय गर्ने भन्दै पन्छिए। उनकै आग्रहअनुसार केही घन्टापछि फोन गर्दा उनले 'समस्या समाधानका लागि आवश्यक निर्देश गरिसकेको' जानकारी दिए।
'हरेकले आफूअनुकूल प्रमाणपत्रको डिजाइन बनाउने चलनले विद्यार्थीले दुःख पाएका छन्। यसलाई समाधान गर्ने काम मेरो प्राथमिकतामा छ,' खनियाँले भने। यस्ता समस्या लिएर आउने विद्यार्थीलाई बिनाअवरोध नयाँ प्रमाणपत्र दिने वा सच्याएको चिठी दिने, प्रमाणपत्रको भाषा र डिजाइनमा एकरुपता ल्याउने गरी तयारी गर्न निर्देशन दिएको उनले जानकारी दिए।
कर्मचारी प्रशासन र प्राध्यापन क्षेत्रमा आवश्यक परिवर्तन गर्न आफू लागिपरेको जनाउँदै उनले थपे, 'हेर्दै जानुस्, केही परिवर्तन देख्नुहुनेछ।'
यस्ता गल्तीबारे सार्वजनिक सूचना नै गरेर सच्याउन बोलाउनु नपर्ने उनको तर्क छ। 'यसलाई टेरोरिजम गरियो भने झन् ठूलो समस्या आउँछ, किनकि लाखौँ विद्यार्थीले त्यस्तो प्रमाणपत्र लिएका हुन सक्छन्,' उनले भने, 'बरु जसलाई जहिले आवश्यक पर्छ आउँछन्, सच्याउँछन्।'
विद्यार्थी नेता र शिक्षाविद नै पीडित
त्रिवि प्राध्यापकसमेत रहेका शिक्षाविद प्राडा. विद्यानाथ कोइराला आफ्नो शैक्षिक प्रमाणपत्रमा त्रिविले फरकफरक नाम लेखिदिँदा जीवनभर सास्ती खेपिरहेको बताउँछन्।
'कतै भिद्यानाथ छ, कतै विद्यानाथ,' उनले भने, 'यो दुवै एकै व्यक्ति हो भन्दै जीवन बित्ने भो,' कोइरालाले भने।
अनेरास्ववियुका नेता दिनेश आचार्यले आफूहरु पनि त्रिवि प्रशासनबाट पीडित भएको बताए। 'हामी नेताले दुःख पाइरहेका छौँ, विद्यार्थीले त पाउने नै भए,' उनले भने, 'कर्मचारी प्रशासनविरुद्ध नबोल्नु र यो मुद्दा उठाउन नसक्नु हाम्रै कमजोरी हो।'
अनेरास्ववियुकी सचिव भक्तकुमारी लामा र दिनेश आचार्य प्रमाणपत्रकै त्रुटि सच्याउन परीक्षा नियन्त्रण कार्यालय धाउँदै गरेका भेटिएका थिए।
त्रिविको कर्मचारी प्रशासन सुधारका लागि आफूहरुले पनि केही बोल्न नसक्नु गम्भीर कमजोरी भएको कोइराला स्विकार्छन्। 'हामी शिक्षाविद भनिनेहरुको गालामै हान्दा हुन्छ,' कोइरालाले भने, 'विद्यार्थीले कर्मचारी प्रशासनबाट पाएको सास्ती हाम्रो पनि मुद्दा बन्न सक्नुपर्थ्यो।'
प्रकाशित: ३ पुस २०७२ २०:११ शुक्रबार





