१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्य

पुरस्कार

पारिजातलाई 'शिरीषको फूल' उपन्यासका लागि मदन पुरस्कार दिइएपछि त्यो पुरस्कार मूलतः शंकर लामिछानेको भूमिकाले पाएको हल्ला थियो। हुन पनि लामिछानेले त्यो पुस्तकमा निकै गतिलो र लामै भूमिका लेखेका थिए। उनले उपन्यासलाई प्रसिद्ध जापानी उपन्यासकार ओसामू दजाइको 'द सेटिङ सन' (डुबिरहेको घाम) सँग दाँजेका थिए। उपन्यासले देखाउन खोजेको निस्सारताको दर्शनलाई बुद्धको खास गरेर नागार्जुनको 'शून्यवाद'मा लगेर जोडेका थिए।त्यसमा लामिछानेको शून्यवादसम्बन्धी विस्तृत अध्ययन रहेछ भन्ने कुराको प्रत्यक्ष जानकारी हुन्छ। उनका पेय–मित्र तुलसीनाथ ढुंगेलको भनाइका लामिछाने त्यसताका 'शून्यवाद'बारे औधी कुरा गर्न रुचाउँथे। ढुंगेलजस्तो बुद्धिजीवीले पछि एक्कासि काठमाडौं छाडेर सुदूरपश्चिमतिर लागेकाले लामिछाने निकै आहतसमेत भएका थिए। पछि ढुंगेल अशिक्षित एउटी गरिब केटीसँग घरजम गरेर डडेलधुरा, डोटीतिरै बसेको कुरा गर्थे, लामिछाने। कहिलेकाहीँ गोपालप्रसाद रिमालको पागलपनको कुरा पनि उनी उठाउँथे। रिमालसित कविताका बारे चर्चा गर्दै काठमाडौं उपत्यकाका धेरै काँठहरू घुमेको प्रसंगलाई बारम्बार उठाइरहन्थे। त्यही काँठ घुम्दाका कैयौं संस्मरणहरू उनले शंकर मार्गेम नाममा लेखेका पनि थिए, जुन लेख पछि 'धरती' नामक पत्रिकामा प्रकाशित भएको थियो।

'धरती'का सम्पादक थिए, भवानी भिक्षु र प्रकाशक नारायण बाँस्कोटा। बाँस्कोटा 'प्रगति' पत्रिका बन्द भएपछि 'धरती' पत्रिका निकाल्न थालेका थिए।

यस्तैयस्तै हल्ला र यथार्थले काठमाडौंलाई तताइरह्यो— खासगरी साहित्य जगत्लाई। त्यस बेला मदन पुरस्कारको राशी चार हजार रुपैयाँमात्र थियो। समय बित्दै गयो, राशीमा परिवर्तन भएन। त्यही पुरस्कार 'एब्सट्र्याक्ट चिन्तन प्याज'का लागि शंकर लामिछानेलाई पनि प्रदान गरियो। पुरस्कार प्राप्त भएको खबर सुनेर म बधाई दिन उनको घर ताहाचलको उकालोतिर गएँ। मैले 'बधाई दाइ' भनेर शुभेच्छा प्रकट गरेपछि उनले जे भने, त्यो सम्झेर मलाई अहिले पनि मुटुमा भक्कानो पर्छ।

उनले भनेका थिए, 'भाइ, जम्मा पुरस्कारको रकम रहेछ चार हजार। त्यति पैसाले मेरा चिताको लागि दाउरा त किन्न पुग्छ हगि?'

म केही नबोली फर्किएँ।

उनको पुरस्कार वितरण समारोहमा समेत म सामेल भइनँ। उनले मलाई 'आउनू है' भनेर बोलाएका थिए। त्यसपछि नै पुरस्कारको राशी अलि बढाइयो। तर लामिछानेलाई दिइसकेपछि मात्र। उनलाई पुरानै रकम दिइयो।

अब पुरस्कारकै बारे एक–दुई कुरो उठाऊँ। सन् १९०१ मा पहिलोपटक नोवेल पुरस्कार प्रदान गरिने कुरा विश्वसाहित्यमा चर्चित भयो। त्यो बेला संसारभरबाट चर्चित लेखकहरूको बारे विविध टिप्पणीहरू प्रकाशित भए। सबैले त्यस बेला अत्यन्त चर्चित महान् उपन्यासकार काउन्ट लियो टल्सटायको नाम समितिमा पठाए। हुन पनि त्यस बेला उनीजति सर्वाधिक चर्चित साहित्यकार संसारमै थिएन। उनको 'अन्ना करेनिना' र 'वार एन्ड पिस'जस्तो उपन्यासलाई 'न भूतोः न भविष्यतिः' पनि भनिन्छ। पुरस्कार भनेको यस्तै रहेछ। त्यो पुरस्कार पहिलोपल्ट प्रदान गरियो— फ्रान्सेली उपन्यासकार सल्ली प्रुधोंलाई।

लियो टल्सटायलाई पुरस्कार दिइएन।

टल्सटायको प्रतिक्रिया थियो— भगवान्ले मलाई त्यो रकम खर्च गर्नुपर्ने जिम्मेवारीबाट अलग राखे। मलाई त त्यत्रो राशी कसरी सही काममा खर्च गर्ने भन्ने कुराले नै 'तनाव' भएको थियो।

महान् अस्तित्ववादी–विसंगतिवादी उपन्यासकार, नाटककार र चिन्तक जीन पाल सार्त्रले यस्तैयस्तै सोचेर होला, नोवेल पुरस्कारलाई 'आलुको बोरा घरभित्र मलाई भिœयाउनुछैन' भनेर पुरस्कार बहिस्कार गरिदिए।

त्यो एउटा इतिहास हो। त्यस्तो इतिहास जसले पुरस्कारको सार्थकतामाथि बहस र प्रश्नहरू उत्पन्न गराउँछन्। पुरस्कारको गरिमा घट्दै गएको र पुरस्कार पनि भ्रष्टाचार साबित हुँदै गएको आजको सन्दर्भमा यो यथार्थ घटनाको प्रचार होस् भन्ने मेरो आन्तरिक इच्छा रहिआएको छ।

प्रकाशित: १८ मंसिर २०७२ २२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App