१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

स्वाभिमानका पक्षमा कविता

भक्तपुर- नेपाली हामी झुकेनौं कहिले पनि
झुक्छौं र किन अहिले पनि!
भक्तपुरको कमलविनायकस्थित रोम्बस नेसनल सेकेन्डरी स्कुलका छात्रा स्वर्णिमा श्रेष्ठले नाकाबन्दीविरुद्ध लेखेको कविताको अंश हो यो। विद्यालयले आयोजना गरेको स्वाभिमानका लागि कविता गोष्ठीमा उनले कविता सुनाउँदा तालीको पर्रा छुट्यो। नाकाबन्दीविरुद्ध उनको प्रतिबद्धतामा विद्यार्थी, अभिभावक, सहपाठी र शिक्षकशिक्षिकाले साथ दिए। उनले आफ्नो कवितामार्फत भारतले तीन महिनादेखि अघोषित रुपमा गरिरहेको नाकाबन्दीलाई केन्द्रबिन्दुमा राखेर 'नाकाबन्दी' शीर्षक कविता सुनाएकी थिइन्।

सोही विद्यालयका अर्की छात्रा मेरिट कोजुले नेपालमा संविधान जारी भएपछि बढेको भारतको हस्तक्षेपविरुद्ध लड्ने कुरा कवितामार्फत नै उठाइन्।

हे इन्डियन सरकार,

जति दुःख दिन सक्छौ देऊ अझै

जति पीडा दिन सक्छौ देऊ अझै

हामी वीरताको गीत गाउँदै लड्नेछौं

स्वाभिमानको पाठ सिक्दै भिड्नेछौं

आत्मनिर्भरताको लागि संघर्ष गर्दै जानेछौं।

त्यस्तै, श्रेया कोजुले पनि संघर्ष गर्नका लागि नेपालीहरु तयार रहेको अभिव्यक्ति दिइन्।

वीरताको गीत गाउँदै लडौंला

इतिहासको ऐना हेर्दै हामी भिडौंला

भोकभन्दा देश ठूलो हामी भनौंला

तेलभन्दा मेल ठूलो हामी भनौंला।

विद्यालय प्रांगणमा आयोजित नाकाबन्दीविरुद्ध कविता गोष्ठीमा कोही विद्यार्थीले कवितामार्फत त कोही विद्यार्थीले कवितामार्फत भारतीय स्वार्थी चरित्रको चित्रण गरेका थिए।

नाकाबन्दीको विरोध र प्रतिरोधका लागि आफूहरु तयार रहेको भावमा कविता वाचन गर्ने बाल कवि तथा कवयित्रीमा सरिता कार्की, अर्जुन बस्नेत, निर्जला कोजू, कृष्ण दाहाल, प्रकाश बडुवाल, रविना थापा, प्रियंका कुँवर, रिजा गिरी, सगुन थापा, सिर्जना बस्नेत, अभिनव ढुंगाना, विवेक उप्रेती, नन्दराज ठटाल, हरि खत्री लगायत थिए।

करिब डेढ दर्जन बालबालिकाले कवितामार्फत नै भारतीय हस्तक्षेपलाई निस्तेज बनाउन आफूहरुजस्तै देशका नेता पनि प्रतिबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। भारतीय हस्तक्षेप र नाकाबन्दी विरुद्ध नयाँ पुस्तालाई जानकारी दिन मात्र नभएर उनीहरुमा परिररहेको प्रभावलाई कवितामार्फत व्यक्त गराउने अवसरका रुपमा गरिएको कार्यक्रममा स्कुले बालबालिकाले राष्ट्रिय स्वाधीनताका पक्षमा आवाज बुलन्द गरेको विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजूले बताए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य धु्रव मधिकर्मीले नाकाबन्दीसँगै नेपालीले आत्मनिर्भरताको बाटो रोज्नुपर्ने बताए।

कार्यक्रममा हरिसुन्दर छुकां र जितेन्द्र रसिकले गजल प्रस्तुत गर्दै नेपाल परनिर्भर हुँदा, भूपरिवेष्ठित मुलुकले पाउनुपर्ने पारवहन सुविधामा छिमेकी भारतले अवरोध पुर्यािउँदा सम्पूर्ण नेपालीले समस्या भोग्नुपरेको बताए। कार्यक्रममा सोही विद्यालयका प्रिन्सिपल राजेन्द्र कोजु, शिक्षक सूर्यप्रसाद तिमल्सिना, शिक्षिका अञ्जु ग्वाछा, सर्मिन बज्राचार्य र शान्ता कर्माचार्यले पनि कविता प्रस्तुत गरेका थिए।

प्रकाशित: १२ मंसिर २०७२ २१:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App