कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले सुझबुझ एवं कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि विसं १८७२ मा विजय हासिल गरेको थियो। विश्वका धेरै भूभाग कब्जा गरेको ब्रिटीस शासकले भारतमा पनि आफ्नो अधिपत्य कायम गरेको थियो। भारतमा इष्टइन्डिया कम्पनीको रूपमा ब्रिटिसले शासन चलाएका थिए। तत्कालीन समयमा इष्टइन्डिया कम्पनीले नेपाली भूमिमा पनि अधिपत्य कायम गर्ने योजना बनायो। अंग्रेज फौजले नेपाललाई चारैतर्फबाट एकसाथ आक्रमण गर्ने योजना बनाए।
जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो। बुटवल–पाल्पा कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ आयो र कर्नेल उजिरसिंह थापाले नेतृत्व गरेको नेपाली सेनासँग घमासान युद्ध भयो। नेपाली सेनाको अगाडि उनीहरूको केही लागेन। युद्धमा अंग्रेज फौजतर्फ ठूलो क्षति भयो। जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरे। आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो। दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे। यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे। अंग्रेजतर्फ ठूलो क्षति भयो।
अंगे्रजमाथि जित हासिल गरेको स्थान भएकाले यस ठाउँलाई जितगढी भन्ने गरिएको हो । बुटवल उपमहानगरपालिका–३ तिनाउ नदी किनारमा अहिले पनि नेपाल–अंग्रेज युद्धलाई सम्झाउने जितगढी किल्ला छ। बुटवलको मुख्य बजारबाट तिनाउपारि किनारमै पूर्वपश्चिम राजमार्गसँगै जितगढी किल्ला रहेको छ। २०५ फिट लम्बाइ, ५५ फिट चौडाइ र २० फिट यसको उचाइ छ। जितगढी परिसरमा उजिरसिंह थापाको सालिक पनि बनाइएको छ। प्रचारप्रसार र उचित संरक्षणको अभावमा जितगढी किल्लाबारे अझै पनि धेरै मानिस अनभिज्ञ छन्। यद्यपि पछिल्लोपटक सञ्चारमाध्यमबाट यसको केही चर्चा हुन थालेपछि भने कतिपय मानिस जितगढीको अवलोकन गर्न आउने गरेका छन्।
जितगढी किल्लासँगै बुटवल उपमहानगरपालिका–३ को कार्यालय पनि छ। वडा सचिव विमला आचार्यले पछिल्लो समयमा जितगढीप्रति मानिसहरूको चासो केही बढेको बताइन्। 'अंग्रेजलाई नेपालीहरूले हराएको भन्ने थाहा पाएपछि यहाँ हेर्न भनेर आउनुहुन्छ। नजिकका मात्र होइन टाढाबाट पनि आउने गर्नुहुन्छ,' उनी भन्छिन्।
जितगढी किल्ला हेर्न आएका मानिसले एक छिन भए पनि नेपाली हुनुमा ठूलो गौरव गर्दछन्। जितगढी किल्लामा भेटिएका भैरहवाका गणेश पाण्डेले नेपालीले अंग्रेजलाई हराएको ठाउँ पनि रहेछ भनेर हेर्न आएको बताए। 'त्यति बेलाको समयमा पनि नेपालीहरूले ठूलो बुद्धि पुर्यानएर लडेका रहेछन्,' उनले भने। गणेशसँगै रहेका रुपन्देही फर्साटिकरका बमबहादुर घिमिरेले पनि यहाँको अवस्थाबारे थाहा पाएपछि गर्विलो महसुस गरेका छन्। 'अरू ठाउँमा पराजय हुनुपरे पनि यहाँ भने जितेका रहेछन्,' उनले भने, 'विश्वलाई जितेका अंग्रेजलाई हराउन सक्ने नेपाली साँच्चिकै बहादुर हुन्।' जितगढीको उचित संरक्षण र प्रचारप्रसार भयो भने थुप्रै पर्यटकलाई आकर्षित गर्न सकिने दुवैको भनाइ छ।
पछिल्लो समय जितगढीको परिचयलाई थप उजागर गर्न विभिन्न कार्यक्रम पनि भएका छन्। बुटवल उपमहानगरपालिकाले गत फागुनमा आफ्नो ३५औं वार्षिकोत्सव जितगढी परिसरमै मनाएको थियो। उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेजलाई हराएको सम्झनामा गत भदौ २० गते बुटवलमा विजय उत्सव पनि मनाइयो।
बुटवलमा अंग्रेजसँगको युद्ध जितेर गएपछि उजिरसिंहले पाल्पामा विजय उत्सव मनाएका थिए। दुई सय वर्षअघिदेखि अहिलेसम्म पनि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट विजयोत्वसव मनाइने गरिएको छ। जुन रणउजेश्वरी भगवती जात्राको नामले चिनिन्छ। यसवर्ष सैनिकको टुकडी र बाजगाजा सहितको र्या लीले बुटवल बजार परिक्रममा गरी जितगढीमा पुगी कर्नेल उजिरसिंहप्रति सलामी अर्पण गरेको थियो। यसको अगुवाइ बटौली संरक्षण संवर्द्धन समिति बुटवल १ देखि ४ ले गरेको हो।
जितगढीको महत्वबारे उजागर पार्नका लागि यसपटक बुटवलमा पनि विजयोत्सव मनाइएको समितिका अध्यक्ष रविन्द्रगोपाल लाकौलले जानकारी दिए। बुटवलमा लाग्ने मेला महोत्सवमा पनि जितगढी आकारको प्रवेशद्वार बनाइएको थियो।
जितगढीको प्रचारको लागि जति काम हुनुपर्ने हो त्यसको थोरै अंश पनि हुन सकेको छैन। अझै पनि बुटवलका धेरै मानिसले जितगढी भनेको एउटा टोलको नाममात्र हो भनेर बुझेका छन्। उनीहरूलाई यहाँ नेपालले अंग्रेजलाई हराएको किल्ला छ भन्ने थाहा छैन। जितगढीसँगै उजिरसिंह मावि रहेको छ। तर विद्यालयको नाम कसरी रहन गयो भन्ने धेरैलाई जानकारी छैन।
जितगढी पुग्दा कुनै सूचना केन्द्र भेटिन्न। यहाँको महत्वबारे कहीँकतै जानकारी उल्लेख गरिएको छैन। गढीको मूलढोका प्रायः बन्द नै रहन्छ। कुनै विशेष कार्यक्रम हुँदामात्र खुल्ला हुन्छ। अरू समय वडा कार्यालयको गेटबाट जानुपर्छ।
जितगढीको सुरक्षाको लागि त्यहाँ प्रहरी बिट पनि राखिएको छ। प्रहरी बिट भएकाले मूलढोका खुल्लै राखेर जितगढीको सहज अवलोकनको व्यवस्था गर्नुपर्ने स्थानीय देवेन्द्रराज शाक्य बताउँछन्। उनले भने, 'अवलोकनकर्ताहरूले जितगढीको महत्व र इतिहासबारे सजिलै जानकारी पाउन सक्नुपर्छ।'
जितगढी किल्लालाई १९आंै शताब्दीमा अंग्रेजसँगको युद्धमा प्रयोग गरिए पनि यसको निर्माण भने १६औं शताब्दीतिर सेन राजाहरूकै पालामा भएको इतिहासमा उल्लेख छ। पाल्पाका सेन राज्यहरूले सुरक्षाको लागि बुटवल र पाल्पाको नुवाकोटमा गढी स्थापना गरेको र सेनकालीन राजा मुकुन्द सेन प्रथमले यो किल्ला बनाएको बताइन्छ।
जितगढीबाट मणिमुकुन्द सेन उद्यानसम्म सुरुङ भएको कतिपय बताउँछन्। यद्यपि पुरातत्व विभागले गरेको उत्खननबाट भने अहिलेसम्म त्यसको पुष्टि गरेको छैन। आर्थिक वर्ष २०६९/७० र ०७०/७१ मा सरकारबाट बजेट विनियोजन भएपछि पुरातत्व विभागबाट दुईपटक यहाँ उत्खनन भएको थियो। उत्खननबाट जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु नभेटिएको विभागले जनाएको छ। यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो। अब उत्खननको काम सकिएको र त्यसको संरक्षणको काम गरिने विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए।
अहिले खण्डहरजस्तो देखिने जितगढी किल्लालाई व्यवस्थित बनाउने पहल भइरहेको उपमहानगरपालिकाले जनाएको छ। जितगढी नजिक रहेको तिनाउको पानीलाई जम्मा गरेर तलाउ बनाउने, डुंगा सञ्चालन गर्ने, किल्ला परिसरमा पार्क बनाउने लगायतको कल्पना गरिएको छ। उपमहानगरपालिका कार्यकारी अधिकृत धु्रवबहादुर खड्काले जितगढी किल्लाको संरक्षण र पर्यटकीय विकासको लागि स्थानीय दल, उद्योग वाणिज्य संघ र नेपाली सेनासँग पनि छलफल गरी अघि बढ्ने बताए।
प्रकाशित: ११ मंसिर २०७२ २१:०४ शुक्रबार




