पाइलाहरू माथितिर लम्किरहँदा खुसीले गद्गद् हुन्छन्। माथिमाथि जाँदा देखिँदै जाने हिमालको दृश्यले मनलाई फुरुंग बनाउँछ। हिमाललाई साथमा राखेर फोटो खिच्न पाउँदा जीवनमा अनौठो काम गरिरहेको महसुस हुन्छ। थकाइको कुनै मतलब नै गर्दैनन्। अन्नपूर्ण क्षेत्रको पुनहिल पदयात्रामा यस्तै दृश्य देखिन्छ।
पुनहिल म्याग्दी जिल्लामा पर्छ। पोखराबाट नयाँपुलसम्म गाडीमा यात्रा गरेर तीन घन्टा हिँडेपछि तिखेढुंगा (१,१६० मिटर) पुगिन्छ। पहिलो दिन आधा गाडी र आधा पैदल यात्रा गरेपछि धेरैले आफ्नो थकान मेटाउँछन्। दोस्रो दिन तिखेढुंगाबाटै देखिने उल्लेरी (१,९६० मिटर) को उकालो मोदीखोला पुल तर्नेबित्तिकै सुरु हुन्छ। सायदै नेपालमा यस्ता नमुना उकालो कमै छन्। नाकै ठोकिने उकालो। हिँड्न सक्नेलाई छिटोमा चारदेखि ढिलोमा आठ घन्टासम्म लाग्छ। तर बाटो भने फराकिलो र ढुंगा बिछ्याएर सजिलो बनाउने काम स्थानीय पर्यटन विकास समिति तथा उपसमितिले गरेका छन्। भर्यारङजस्ता खुड्किलै–खुड्किलो बनाइएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाभित्र पर्ने पदयात्रा मार्गमा गाउँ, जंगल, खोला, पर्वत छिचोल्दै प्राकृतिसँग माया गाँस्दै जानुपर्दछ। बाटोबाटोमा होटल, लज तथा प्रसस्तै गेस्ट हाउस छन्। दाउरामा पकाएको स्थानीय स्वादको खाना खुवाइन्छ। फिस्टेल गेस्ट हाउसका प्रबन्ध निर्देशक भन्छन्, 'हामीले स्थानीय स्वादको खाना खुवाउँछौं। दालभात, गुरुङ बे्रड र सिलौटीमा बनाएको अचार धेरै पर्यटकहरूको रोजाइमा पर्दछ।'
पर्यटन विकास समितिले मेनु बनाएको छ। सामान्यतः पर्यटकका लागि दैनिक दुई हजार भए पुग्छ। पथपदर्शक र भरियाले सस्तोमा खान पाउँछन्। गजबको कुरा त गाइड पोर्टरले खाएको खानाको पैसा होटल सञ्चालकले होइन स्थानीय पर्यटन विकास उपसमितिले लिने गर्दछ। त्यो पैसाले बाटो मर्मत तथा सफाइ गरिन्छ।
अन्नपूर्ण पदयात्रा केही वर्षपहिलेसम्म पोखराबाटै सुरु हुन्थ्यो। दुई साता कस्सेर हिँडेपछि मात्रै अन्नपूर्ण आधार शिविर पुग्न सकिन्थ्यो। अन्नपूर्ण सर्किट पूरै भ्रमणको लागि भने झन्डै तीन साता लाग्थ्यो। तर अहिले मोटरबाटोले पदयात्राको समय घटाइदिएको छ। अन्नपूर्ण सर्किट यात्रामा लमजुङको बेसीसहरबाट मनाङ हुँदै थोराङ भञ्ज्याङ छिचोलेर मुक्तिनाथ जोमसोम हुँदै बेनी पुगिन्छ।
पहिला–पहिला क्याम्पिङ टे्रक चल्थ्यो। अचेल टि हाउस चल्छ। बाटोबाटोमा पर्यटकको लागि आवश्यक पर्ने सबै प्रकारका सेवा उपलब्ध छन्। जोखिम मोल्नुपर्ने कुनै त्यस्तो बाटो छैन। पाँच वर्षदेखि यसै क्षेत्रमा पथप्रर्दशकको काम गर्दै आएका छन्द गुरुङ भन्छन्, 'ट्रेकिङमध्येको सबैभन्दा सजिलो ट्रेकिङ यसैलाई मानिन्छ। बच्चा पनि यहाँ ट्रेकिङमा सामेल हुन सक्ने भएकाले गाइडको भाषामा बेबी ट्रेक पनि भन्ने गरिएको हो।'
यो क्षेत्रमा गुरुङ तथा मगर समुदायको भाषा, संस्कृति, रहनसहन र खानपानलाई सजिलै बुझ्न सकिन्छ। यात्राको सुरुदेखि अन्त्यसम्मै गुरुङहरूको बाक्लो उपस्थिति छ। 'गुरुङ ब्रेड' मेनुमा जमेको प्रसिद्ध परिकारको रूपमा गनिन्छ। अधिकांश ठाँउ कास्की जिल्लामा पर्ने यो ट्रेकिङले म्याग्दी जिल्लाको पनि घोडेपानी (२,८६० मिटर) गाविसलाई छोएको छ। यात्रा सुरु गरेको दोस्रो दिन बास बस्न पुग्न सकिने घोडेपानी अन्नपूर्ण पदयात्राकै आकर्षक बिन्दु हो। उल्लेरी, वनठाँटी, नांग्यठाँटीबाट नै देखिने अन्नपूर्णले उकालोतिर तानिरहेका पर्यटकलाई मन्त्रमुग्ध बनाइदिन्छ। घोडेपानी पुगेपछि आँखैअगाडि आउने हिमालको लस्करले ठाडै उकालो उक्लिँदा लागेको थकान कता हराउँछ कता, पत्तै हुन्न। नजिकै देखिने अन्नपूर्ण साउथ, प्रथम, धैलागिरि, माछापुच्छ्रे, निलगिरि, हिमचुली, धम्पुस पीक लगायतका हिमालको दृश्यले जो कसैको मनलाई चंगाजस्तै बनाइदिन्छ।
हिमालहरूलाई अझ नजिक बनाएर सूर्योदय हेर्नको लागि घोडेपानीमा बास बसेर बिहान चार बजेतिरै पुनहिल चढ्नेको लर्को छुट्छ। घोडेपानी पुन मगरहरूको बस्ती हो। उनीहरूकै डाँडो भएकाले त्यसले पुनहिल नाउँ पाएको। पुनहिल (३,२१० मिटर) पुग्न घोडेपानीबाट एक घन्टा उकालो चढ्नुपर्छ।
सूर्योदय अवलोकन गर्दै धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल लगायतको लामो लर्कन हेर्न पाउँदा आनन्द हुन्छ। कति पर्यटक त घोडेपानीकै होटलमा बसीबसी हिमाली दृश्य नियालेर नेपाललाई स्वर्गको नामकरण गर्दछन्। माउन्टेन भ्यु होटलका सञ्चालक राजकुमार गुरुङ भन्छन्, 'पर्यटकहरू ओछ्यानबाट हिमाल देख्दा 'नेपाल त स्वर्ग रहेछ' भन्ने प्रतिक्रिया दिन्छन्।'
चैत–वैशाखमा गुराँसले वन राताम्मे हुन्छ। चाँदीझैं टलक्क टल्किन्छन् हिमाल। सायद यसैले होला विदेशीलाई स्वर्गजस्तो लागेको।
वर्षमा दुईपटक सिजन चल्छ। सिजनका बेला सबै होटलमा पर्यटक खचाखच हुन्छन्। अहिले भूकम्प र नाकाबन्दीको असर परेको छ। अन्नपूर्ण पदयात्रामा विगतको जस्तो पर्यटकको चाप छैन। होटलहरू भरिँदैनन्, तर पनि पर्र्यटनमा मन्दी छाएको बेला यतिको संख्यामा पर्यटक आउनु सन्तोषजनक नै मानेका छन्, गुरुङले।
घोडेपानीपछि टाडापानी अर्को गन्तव्य बिन्दु हो। अन्नपूर्ण तथा माछापुच्छ्रे आधारशिविर जानेले टाडापानी, छोमरुङ, बाम्बो, देराउली, हिमालय हँुदै जानुपर्छ। आधारशिविरमै होटल छन्। फर्किंदा छोमरोङसम्म एउटै बाटो आएपछि झिनुडाँडा हुँदै घान्द्रुक, लान्द्रुकलगायत केही नमुना गुरुङ बस्ती हेरेर घान्द्रुक फेदीबाट पोखराको बस चढ्न सकिन्छ।
आधारशिविरको चिसो खाएर आएकाहरूको लागि झिनुडाँडामा रहेको तातोपानीमा डुबुल्की मार्दै गर्दा आमाको काखभन्दा पनि प्यारो लाग्छ। आफ्नै गाउँभन्दा पनि धेरै प्यारो घान्द्रुक र लान्द्रुक धेरै पर्यटकमा लाग्नु झुरुम्म परेका घरहरू, देखिने हिमालका दृश्यहरू र गुरुङ संस्कृति तथा उनीहरूको सद्भावले होला।
एकपटक घुमेर गएको पर्यटकले अर्कोपटक पनि यही क्षेत्रमा आउने इच्छा राख्दछन्। लामो तथा छोटो टे्रकहरू गरिरहेका हुन्छन्। टे्रकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका प्रथम उपाध्यक्ष तेजबहादुर गुरुङका अनुसार विदेशीको रोजाइमा सबैभन्दा बढी अन्नपूर्ण पदयात्रा नै पर्ने गरेको छ। छोटोमा पाँच दिन र लामोमा दुई हप्तासम्मको प्याकेज पाइन्छ। पदयात्रामा गाउँ हेर्न चाहनेले गाउँ, संस्कृति हेर्न चाहनेले संस्कृति, हिमाल हेर्न चाहनले हिमाल तथा पर्यटकको चाहनाअनुसारको प्राकृतिक तथा भौतिक बस्तीहरू रहेका छन्।
स्थानीयहरूले आफ्नै घरलाई चिटिक्क सजाएर होटल बनाएका छन्। आफ्नै घरका परिवार सबै जना खटेर स्वादिष्ट खाना खुवाइरहेका छन। वरिपरि फलफूल तरकारी उत्पादन गरेर व्यवसाय चलाइरहेका छन्। नयाँनयाँ र सुविधासम्पन्न होटल खुल्ने क्रम बढ्दो छ। पर्यटक पनि बढ्दै छन्। स्थानीय पनि पर्यटकलाई कसरी आकर्षण गर्न सकिन्छ भनेर लागेका छन्। पर्यटनको नयाँ आयाम खोजिरहेका छन्। तर दुःखको कुरा, गाउँमा सडक भित्रिएपछि त्यसले पदयात्रालाई बसयात्रामा रूपान्तरण गर्ने हो कि भनेर गाउँले चिन्तित छन्। उनीहरू भन्छन्, 'हामीलाई गाडीको सुविधा आवश्यक छैन। गाडी आउनेबित्तिकै हाम्रो व्यवसाय चौपट हुन्छ। सक्दो सडकलाई रोक्ने प्रयासमा छांै।'
समग्र अन्नपूर्ण क्षेत्रको पदमार्गमा तीन सयभन्दा बढीको संख्यामा होटल, गेस्ट हाउस तथा रेस्टुराँ सञ्चालनमा छन्। तीन हजारभन्दा बढीले रोजगार पाएका छन्। गाइड पोर्टरलाई हिसाब गर्ने हो भने रोजगारीको संख्या झनै बढ्न आउँछ। पर्यटन व्यवसाय सर्कलजस्तो भएको हुँदा स्थानीय गाउँले किसानदेखि सबैले पर्यटनबाट फाइदा लिइरहेका छन्।
प्रकाशित: ११ मंसिर २०७२ २१:०१ शुक्रबार




