४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

काव्य आन्दोलन वरिपरि

नागरिकताको नाम- शालिग्राम खतिवडा। साहित्यिक नाम- गण्डकीपुत्र। पश्चिम गण्डक क्षेत्रमा भेटिनुपर्ने यी कवि कोसीमा भेटिन्छन्। पूर्वी विराटनगरदेखि करिब नौ किलोमिटर दुरीमा रहेको झोराहट गाविसका रैथाने बासिन्दा हुन्, उनी।

उतिबेलै उनका बाबु ४० माउ भैंसी र ३० माउ गाईका धनी थिए। कविताको मोर्चामा निस्कुनअघि गण्डकी गाई–भैंसी र खेतीपातीको मोर्चा सम्हाल्थे।

शालिग्राम कसरी गण्डकीपुत्रमा रूपान्तरण भए त?

२०४८ तिर उनी काठमान्डू लागे। त्यस बेला प्रकाश सायमी रेडियो सगरमाथामा साहित्यिक कार्यक्रम चलाउँथे। गण्डकी त्यसको नियमित स्रोता। एक दिन उनले पनि सायमीको कार्यक्रममा कविता पठाउने भए। तर, नामुद कवि उता गएर नाथु रेडियोको स्रोता पो भएछ भनेर साथीभाइले खिसीटिउरी गर्लान् भनेर कसैले नचिनून् भन्नका लागि कवितामा नयाँ नाम लेखेर पठाए।

यसरी पण्डितले राखिदिएको नामलाई रिप्लेस गरिदिए, र २९ वर्षपछि आफ्नो न्वारन आफैंले गरे— गण्डकीपुत्र।

गण्डकीले घर नजिकैको स्कुल पढेनन्। पढ्न झोराहटबाट उर्लाबारी निस्किए। कारण थियो— आन्दोलन। उर्लाबारी पञ्चहरूको दबदबा क्षेत्र, आन्दोलनको केन्द्र। ०३६ सालतिरको कुरा हो, उनी जीवनको पहिलो कविता लेखेर सडकमा उत्रिए। पञ्चायत र बहुदलबीच आन्दोलन चर्किंदै थियो। उनलाई लाग्यो— अब शासन व्यवस्था बदल्नुपर्छ। हो न हो, उनले आन्दोलनमा कविता सुनाएरै पञ्चायत ढाल्ने संकल्प गरे। 'एउटै कविता चार महिनासम्म आन्दोलनमा पढ्दै हिँडेँ,' उनी सम्झन्छन्, 'अनि त म आन्दोलनको हिरो भइहालेँ।'

आन्दोलनको मोर्चामा जहिल्यै अगाडि हुने गण्डकी पढाइमा भने लद्दू परेछन्। कक्षामा जहिल्यै अन्तिम बेन्चमा बस्ने। रिजल्ट आउँदा पनि उनको नाम अन्तिमतिरै हुन्थ्यो, झुन्डिएर पास गर्थे। कविता लेख्ने र सुनाउने नाममा उनी स्कुलबाटै पञ्चायतविरुद्ध भित्रभित्रै चर्को राजनीति गर्थे।

०३८ सालतिर गण्डकीको भेट मधुसुदन न्यौपानेसँग भयो। वाम आन्दोलनका अगुवा न्यौपाने उनका राजनीतिक गुरु थिए। आन्दोलनमा कविता सुनाउँदै हिँड्ने कविलाई न्यौपानेसँगको भेट फाप्यो। न्यौपाने काठमान्डू ओहोरदोहोर गरिरहन्थे। उताबाट आउँदा 'संकल्प', 'झिसमिसे'जस्ता पत्रिका ल्याइदिन्थे। ती गण्डकीका लागि मालका खुराक हुन्थे। त्यसैताका गण्डकीले प्रकाश कोवित र सुवास घिसिङका आन्दोलनका पक्षमा लेखिएका उपन्यास पढिभ्याए। तर, उनको त्यो पठन साथी–साथीमा कसले धेरै किताब पढ्ने प्रतिस्पर्धानिम्ति हुन्थ्यो।

गण्डकीपुत्र सानैदेखि विद्रोही स्वभावका परेछन्। आठ कक्षा पढ्दैखेरि स्कुलमा झन्डा गाड्न भ्याएका थिए। आन्दोलनप्रति ऊर्जा जगाउन आन्दोलनका पक्षमा लेखिएका पुस्तक पढ्थे। कतिसम्म भने, शंकर लामिछानेको 'गौंथलीको गुँड' पढेपछि उनी सोचीसम्झी आन्दोलनमा लागे। नेपालीमा अनूदित रसियन लेखकका पुस्तक पढेपछि त उनी आन्दोलनप्रति झन् प्रतिबद्ध भए। माक्सिम गोर्कीको 'आमा' उपन्यास धेरैपल्ट पढे। निकोलाई आस्त्रोवस्कीको 'अग्निदीक्षा' पढेर त उनी आन्दोलन कसरी गर्ने भन्ने टिप्स निकाल्थे। 'खै! कसरी–कसरी मुभमेन्टमा लागियो,' उनी सम्झन्छन्, 'त्यस बेला दुई–चार थान किताब पढेकै भरमा त्यो बाटो रोजिएछ।'

स्कुले जीवनबाटै काव्य आन्दोलनमा होमिएका गण्डकी कुनै राजनीतिक संगठनमा आबद्ध थिएनन्, न कुनै पार्टीको सदस्यता नै लिएका थिए। उनी सबैका साझा कवि थिए, कविता सुनाउन जहाँ पनि पुग्ने। गाउँमा उनलाई पञ्चहरूले 'वामे' भन्थे। कविभन्दा पनि 'आन्दोलन गर्ने मान्छे'का रूपमा उनी चिनिन्थे। पञ्चहरूले त्यहीअनुसार निगरानी राख्थे। त्यही भएर होला, परिवारले छोरो आन्दोलनमा हिँडेको रुचाएका थिएनन्। बुबाआमा छोरो कविता पढ्न जान्छ भन्ने बुझ्दैनथे, आन्दोलनमा हिँड्छ भन्ने बुझ्थे। 'म पढेलेखेर सरकारी जागिर बनूँ भन्ने बुबाआमाको चाहना थियो,' उनी भन्छन्, 'तर, मेरो ध्यान कहिल्यै पढाइ र जागिरतर्फ गएन।'

०४४ साल। गाउँले नेता पर्शुराम खापुङ मन्त्री थिए। आन्दोलनको पृष्ठभूमिबाट चुनाव जितेर गएका उनले पञ्चायतको टीका लगाएर मन्त्री पद हत्याएका थिए। काठमान्डू गएका बेला केही साथीभाइ लिएर उनी गाउँले मन्त्री भेट्न जाने भए। कारण, उनलाई 'वाम पृष्ठभूमिबाट चुनाव जितेर किन पञ्चायतको अबिर लाएर मन्त्री भएको?' भनेर मन्त्रीलाई थर्काउनु थियो।

मन्त्री भेटेपछि भने कथाले नसोचेको मोड लियो। थर्काउन नपाई मन्त्री खापुङले 'जागिर खाने हो?' भनेर सोधिहाले, गण्डकी अक्क न बक्क भए। अन्ततः मन्त्रीले १५ दिनमा हाजिर हुनू भन्दै खानेपानीअन्तर्गत खरदार तहको नियुक्तिपत्र हातमा थमाइदिए। मन्त्रीलाई गाली गरेर मन शान्त पारूँला भनेर मन्त्री क्वार्टर छिरेका उनको हातमा निस्कँदा जागिरको नियुक्तिपत्र थियो। उनको मनमा घ्युको लड्डु फुट्यो। अनि त चिठ्ठामा परेको सरकारी जागिरको नियुक्तिपत्र बोकेर उनी सोझै घर हानिए।

बुबाआमा छोरो सरकारी जागिर भएकोमा कम्ता मक्ख परेनन्। कहिल्यै पहाड नटेकेको छोरो हिँडेर जान सक्दैन भनेर बुबाआमाले विराटनगरबाट खोटाङ लामीडाँडाम्म हवाईजहाजको टिकट काटेर पठाएदिए। नौ महिनापछि गण्डकी दसैं बिदामा घर आए। त्यस बेला पञ्चायतविरुद्ध कांग्रेसले आन्दोलन थालेको थियो। गाउँ पुग्नासाथ आन्दोलनताका पुराना साथीभाइले 'जागिर खाएर हुन्छ? आन्दोलन कसले गर्छ?' भनेर र्या खर्याुख्ती पारेपछि विद्रोही स्वभावका गण्डकीले जागिरलाई ठाउँको ठाउँ टाटा–बाइबाई गरिदिए। आन्दोलनमा हाम फाले।

'

०३६ सालको आन्दोलनमा खुब सक्रिय रहे उनी। त्यस बेला उनी उर्लाबारी बसेर स्कुल पढ्दै थिए। आन्दोलनमा खर्च जुटाउन उनीहरू गाउँमा पाटा बटुल्थे र चिनीसँग साट्थे। खेम नेपालीसँग उनको आन्दोलनमै चिनजान भएको थियो। आन्दोलन चर्किंदै जाँदा पुलिस–प्रशासनले 'वामे'हरूलाई समात्न थाल्यो। थुप्रै साथीभाइ पक्राउ परे, उनी भाग्न सफल भए। अर्को दिन इन्सपेक्टरले भेटेर उनलाई 'आन्दोलनमा नहिँड्नू, पढ्नू' भन्दै सम्झाए। 'त्यस बेला मभित्र आन्दोलनको आँधीबेरी थियो,' उनी सम्भि्कन्छन्, 'म भइनँ भने आन्दोलनै तुहिन्छ जस्तो लाग्थ्यो।'

०३८ सालमा भर्खर नेपाल शिक्षक संघले आन्दोलन थालेको थियो। एक दिन उनलाई शिक्षकहरूको सभामा भाषण गर्नुपर्ने भयो। थरथर काम्दै ठोकेको भाषण यति चर्चित भयो कि, उनी त्यहीबाट 'क्लिक' भए। अनि त जताततै उनको माग बढ्न थाल्यो। आज कसले भाषण गर्छ भन्दा पनि गण्डकी (शालिग्राम) ले कविता सुनाउँछ कि सुनाउँदैन भन्ने प्रतीक्षा हुन्थ्यो मानिसमा।

एकपटक भएछ के भने, सुनसरीको तरहरामा उनी कविता पढ्न गए। कविता सुनाइसकेपछि दुइटी केटी छेउमा आएर उनको अटोग्राफ मागे। एउटीले डायरीमा, अर्कीले कपडामा। गण्डकीले सोधे, 'कपडामा लिएर के गर्छौ? धुँदा गाइहाल्छ नि!' केटीले जवाफ दिई, 'म यसलाई नधोई राख्छु नि!'

त्यस बेला गण्डकीलाई 'अबचाहिँ कवि भइएछ' भन्ने अनुभूत भयो।

आन्दोलनमा गण्डकीपुत्रको एकबुँदे जिम्मेवारी हुन्थ्यो— सडकमा कविता पढ्ने। जसले जहाँ बोलाओस्, उनी त्यहाँ पुग्नैपर्ने। त्यस बेला उनको क्रेज यतिसम्म थियो कि, कुनै सभामा आज शालिकरामले कविता पढ्दैछ भनेपछि दुई/चार सय मान्छे भेला भइहाल्थे। ०४६ सालको आन्दोलनले उनलाई 'सेलिब्रिटी' कवि नै बनाइदियो। त्यसताका उनले मोरङका गाउँ–गाउँ पुगेर कविता सुनाए। त्यतिखेरै उनी भित्तेपत्रिका चलाउँथे, पञ्चायतविरुद्ध माहोल बनाउन।

आन्दोलनको समयमा गण्डकी कवितामात्रै सुनाउँदैनथे। गीत लेख्थे, अरूले गाउँथे। उनी आफैं नाटक लेख्थे, खेल्थे पनि। ०४६ पछि उनले आठ वटा नाटक मञ्चन गरे। पहिलो नाटक 'नआएको प्रजातन्त्र' खुबै चर्चित भयो। जनआन्दोलनपछि बहुदल स्थापना भए पनि पुलिस–प्रशासनले 'वामे'हरूमाथि कडा निगरानी राख्थ्यो। गण्डकीहरू प्रशासनका आँखा छलेर रातिराति नाटक देखाउँथे। पम्प्लेट टाँस्दै हिँड्थे। गाउँमा पुलिसको रेखदेख गर्न केटाहरू खटिन्थे। उनको सक्रियता तुहाउन पञ्चले सरकारी जागिरको अफर पनि दिए, तर उनले लत्याइदिए। 'त्यस बेला घरमा सुताइ हुँदैनथ्यो,' उनी सुनाउँछन्, 'पुलिस–प्रशासनबाट बच्न अनेक जुक्ति लाउनुपर्थ्यो।'

दोस्रो जनआन्दोलनताका गण्डकी विराटनगर क्षेत्रका एक कमान्डरजस्तै थिए। चोक–चोकमा गणतन्त्रका पक्षमा कविता पढ्दै हिँड्थे। घरबाट नौ किलोमिटर दुरी साइकल पेलेर विराटनगर कविता पढ्न जानु उनको ड्युटीजस्तै थियो। एक दिन कविता पढ्ने सभामा उनका साहिँला दाइ पुगेछन्। कसैले उनलाई गण्डकीको दाइ भनेर बोलाएछ, उसले दाइसँग गण्डकीको खुबै प्रशंसा गरेछ। दाइ भाइको लोकप्रियता देखेर छक्क! बेलुका घर पुगेर भाइलाई कवि भएकोमा मन खोलेर स्याबासी दिए।

जीवनमा योजना बनाएर जागिरै खान्छु भनेर कहिल्यै नहिँडेका गण्डकी दोस्रो जनआन्दोलनताका दोस्रोपटक सरकारी जागिरे थिए। त्यो जागिर पनि उही चिठ्ठैमा हात परेको। विराटनगरका गजलकार मधु पोखरेल नापी कार्यालयका हाकिम थिए, उनैले मोरङ जिविसअन्तर्गत प्राविधिक सहयोगीको पोस्टमा जागिर लगाइदिएका थिए। तर, उनकोे जागिरको रेल धेरै दिन गुड्न पाएन। छ महिना नभई आन्दोलन सुरु भयो। उनले पोखरेललार्ई नै जागिर फिर्ता गरे। र, झोलामा कविता बोकेर आन्दोलनमा हिँडे। त्यसै बेला मोदनाथ प्रश्रित जेलबाट छुटेर विराटनगर आएका थिए। गण्डकीले प्रश्रितसँग मञ्चमा उभिएर पहिलो कविता सुनाए।

साहित्यको बजारमा हजारौं ओहोरदोहोर गरिरहेछन् एकसाथ। कोही खल्तीमा कविता बोकेर एकसुरले हिँडिरहेछन्, कोही झोलामा उपन्यासका ठेली बोकेर हस्याङफस्याङ गर्दै प्रकाशन गृहतिर लागिरहेछन्, कोही ठेगाना हराएको बटुवाजस्तो अलमल गरिरहेछन्, प्रकाशकहरू व्यापार उँभो लाउने सेलिब्रिटी (जो खेताला लेखक प्रयोग गर्छन्) खोजिरहेछन्। यस्तो बेला असल साहित्य जबर्जस्त छेलिएको छ। कवि र कविता किनारातिर धकेलिएका छन्। सट्टामा, अकविताले बजार पिटिरहेछन्। तर, गण्डकी नेपाली कविताको अवस्थाप्रति उति निराश छैनन्। कविताको राजमार्ग उज्यालै देख्छन् उनी। 'कविता स्थायी प्रतिपक्षी हो,' उनी भन्छन्, 'कविता सधैं अप्ठ्यारो बाटो हिँड्छ, तर यसको ल्यान्डिङ आकर्षक हुन्छ।'

मोफसलमा रहने कवि–लेखकको केन्द्रप्रति भद्र आरोप छ— काठमान्डू ठालु छ। हुन पनि हो, काठमान्डूमा बस्नेहरू बाहिरकालाई साना आँखाले हेरिदिन्छन्, केही हुन् जस्तै नठान्ने। यहीबीचको खाडलले मोफसल र केन्द्र जोडिन सकिरहेको छैन। जसको असर स्रष्टाहरूको रचनाकर्म र मिडियामा हुने उनीहरूको उपस्थितिमा परिरहेको हुन्छ। 'केन्द्र आफैंमा केन्द्र होइन, त्यो त थुपै्र मोफसल–मोफसल मिलेर बनेको हुन्छ,' ५२ वर्षे कविको वजनदार टिप्पणी छ, 'तर, उसैले हामीलाई शासन गरिदिन्छ।'

०६२/६३ को जनआन्दोलनमा पनि गण्डकी उस्तै सक्रिय रहे। 'लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च'सँग जोडिएर सडकमा कविता पढ्न हिँडे। काठमान्डूबाट कृष्ण पहाडी विराटनगर आएका बेला उनकै आग्रहमा गण्डकीले कविता पढेका थिए—

वनको राजाभन्दा पनि जाली भयौ माइला

आफ्नै फूलबारी फाँड्ने माली भयौ माइला।

जनआन्दोलन सफल हुनुमा कवि–लेखकको ठूलो हात छ। सुरुमा आन्दोलनको आगो झोस्ने कवि–लेखकै थिए। त्यही मोर्चामा गण्डकी पनि लामबद्ध थिए, विराटनगरबाट। उनले आन्दोलनलाई आफ्नो तर्फबाट सकेको योगदान दिए। अन्ततः आन्दोलन सफल भयो, गण्डकी पनि किनारा लागे। एक प्रकारले भन्ने हो भने, उनी फुर्सदिला भए। त्यसपछि केही रेडियो/एफएमहरूले उनलाई 'लोकतान्त्रिक स्रष्टा' भनेर बोलाए, खोजे। लोकल पत्रिकाहरूले उनीबारे लेखे। तर, अहिले त्यस्तो छैन। गण्डकी कतै पर 'छेलिए'जस्तै छन्। 'एक समय थियो– म सबैको थिएँ, अहिले आफ्नै मात्र छु,' उनी कता–कता विस्मात् पोख्छन्, 'समय सधैं एउटैको नहुँदो रहेछ।'

उनका 'आन्दोलनका १९ दिन' (०६३) र 'मूर्च्छनाभित्र' (०६९) गरी दुई थान कवितासंग्रह प्रकाशित छन्। पछिल्लोपटक उनले केही नयाँ नाटक लेखेका छन्। अर्को सालतिर देश शान्ति प्रक्रियामा आइसकेपछिको राजनीतिक घटनाक्रमलाई समेटेर राजनीतिक उपन्यास लेख्ने योजना बुन्दैछन्। यसबाहेक उनी खेती–किसानी गर्छन्। आफ्नै बारीमा तरकारी फलाउँछन्। श्रीमतीसँग साँझ–बिहानको भान्सा आलोपालो गर्छन्।

गण्डकीपुत्र काव्य आन्दोलनबाट उठेका कवि हुन्। उनको काव्यिक प्रवृत्ति स्वभावैले विद्रोही हुने भइहाल्यो। उनका प्रकाशित कवितासंग्रहमा आन्दोलनका पक्षमा लेखिएका कवितै ज्यादा छन्। पहिलो कवितासंग्रह 'आन्दोलनका १९ दिन' मूलतः तात्कालीन राजतन्त्रको विरुद्धमा र गणतन्त्रका पक्षमा लेखिएका कविताको प्याकेज हो, एक प्रकारले कविताको राजनीतिक दस्तावेज। दोस्रो कवितासंग्रह 'मूर्च्छनाभित्र' गण्डकीका राम्रा कविताहरूको संग्रह हो। तर, ती कविताको उति चर्चा भएन। समयको लगानीका हिसाबले हेर्ने हो भने, ५० कै दशकमा स्थापित भइसक्नुपर्ने गण्डकी जनआन्दोलनपछि उनको भूमिका घटेर हुन सक्छ, कविताको बजारमा उति छाएनन्। अहिले उनी 'हराएजस्तो' लाग्ने तर खोज्दा भेटिने अवस्थामा छन्।
'

गण्डकीपुत्रको प्रेम र बिहेको सन्दर्भ रमाइलो छ। भएछ के भने, ०४० सालतिर उर्लाबारी बस्दै गर्दा उनी एउटी केटीसँग प्रेम गर्थे। गण्डकीले त्यही केटीसँग घरजम होला भन्ने सोचेका थिए। र, एकदिन उनले बिहेका लागि प्रस्ताव गरे। तर, प्रेमिकाले 'अहिले पढ्नुछ, बिहे गर्दिनँ' भनेर भाका सारिदिइछन्। त्यो दिन गण्डकी प्रेमिकाकै छिमेकीकहाँ बास बस्ने भए। उक्त घरमा एउटी राम्री केटी देखे, पहिलो नजरमै उनका आँखा त्यो केटीमा गाडिहाले। प्रेमिकाले बिहे गर्न नमानेको झोँकमा उनले तुरुन्तै बिहेका लागि साथीलाई कुरा गर्न लगाए। हो न हो, ख्यालख्यालमै निर्मला खतिवडासँग लगनगाँठो कस्सियो। बिहेपछि गण्डकीले पूर्वप्रेमिकाका नाममा ११ पेज लामो प्रेमपत्र लेखे। र, प्रेम सम्बन्ध विघटनको घोषणा गरे।

प्रकाशित: ११ मंसिर २०७२ २१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App