२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

शरणार्थीको कथा उत्कृष्ट

ललितपुर- ललितपुरमा आइतबार सम्पन्न दक्षिण एसियाली डकुमेन्ट्री फेस्टिभल फिल्म साउथ एसियामा पाकिस्तानको अमर अजिजले तयार पारेको 'अ वालनट ट्री' सर्वोत्कृष्ट भएको छ। फिल्मलाई रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलरको पुरस्कार प्रदान गरियो।

पाकिस्तानी सेना र तालिबानको युद्धका कारण शरणार्थी जीवन बिताएकाहरुको भोगाइमा आधारित उक्त डकुमेन्ट्री एउटा परिवारको मिठो विगत, असुरक्षित वर्तमान र अन्धकार भविष्यको दस्तावेज हो। भारतीय फिल्म निर्देशक अदूर गोपालकृष्णनले उक्त अवार्ड प्रदान गरे।

महोत्सवमा इफात फातिमाको 'ब्लड लिभ्स इट्स ट्रेल'ले एक हजार अमेरिकी डलरसहितको दोस्रो पुरस्कार हात पारेको छ। भारतीय राज्यले कास्मिरमा गरिरहेको दमनमा आधारित उक्त डकुमेन्ट्री त्यसै भेगकी फातिमाले नौ वर्ष लगाएर तयार पारेकी हुन्।

नेपाली विषयवस्तुमा तयार भएको 'ड्रइङ द टाइगर'ले भने यस वर्षको युनिसेफ अवार्ड जित्न सफल भएको छ। रामेछापको एक दलित परिवारको भोगाइमा आधारित उक्त डकुमेन्ट्री एमी बेनसन र रम्यता लिम्बुले संयुक्त रुपमा तयार पारेका हुन्। लिम्बु र बेनसनले एक हजार डलरको यो अवार्ड ग्रहण गरेका थिए।

बंगलादेशका दिवंगत फिल्मकर्मी तारिक मसुदको नाममा राखिएको डेब्यु अवार्ड भने एक हजार अमेरिकी डलर राशीसहित प्रतीक विश्वासको 'अन एन्ड अफ दि रेकर्ड्स'ले जित्न सफल भएको छ। भारतीय शास्त्रीय संगीतको अभ्यास र समयसँगै प्रविधिमा आएका परिवर्तनले यो संगीतमा पार्दैगएको प्रभावलाई डकुमेन्ट्रीले देखाएको छ।

फिल्म साउथ एसियाले यसै वर्षदेखि सिनेमाका विद्यार्थीहरुले तयार पारेका डकुमेन्ट्री प्रदर्शन पनि सुरु गर्यो्। यस वर्ष यो विधाअन्तर्गत आठ वटा फिल्म प्रस्तुत भएका थिए। काठमाडौं पोस्टका तर्फबाट प्रदान गरिएको ५ सय अमेरिकी डलरको सर्वोत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड म्यानमारका क्याउ म्यो ल्वीनले तयार पारेको 'टायर्स'ले जितेको छ। रंगुन फिल्म स्कुलका विद्यार्थी ल्वीनले थोत्रा टायरलाई कसरी म्यानमारमा एउटा कारखानाले पुनः प्रयोग गर्न मिल्ने वस्तुमा परिणत गर्छन् भन्ने विषयलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन्।

भारतका पत्रकार एएस पनिरसिल्भन, श्रीलंकाकी फिल्मकर्मी अनोमा राजकरुना र नेपालका पत्रकार नारायण वाग्लेको निर्णायक टोलीले छनोट गरेका उत्कृष्ट फिल्मलाई अवार्ड वितरण गर्दै महोत्सवको दसौं शृंखला सम्पन्न भएको छ। महोत्सव निर्देशक मितु वर्माका अनुसार पहिलो अवार्ड जित्ने 'अ वालनट ट्री' र उत्कृष्ट विद्यार्थी फिल्मको अवार्ड जित्ने 'टायर्स'लाई क्रमशः सोमबार र मंगलबार बेलुकी ६ बजे महोत्सव आयोजनास्थलमै पुनः प्रदर्शनको कार्यक्रम छ।

जम्मा ४ सय वटा फिल्म प्राप्त भएकोमा ४३ वटा छानिएका थिए। यीमध्ये १२ वटा छानेर छिट्टै नै 'ट्राभलिङ फिल्म साउथ एसिया'को पनि घोषणा गरिने जानकारी महोत्सव उपनिर्देशक निविदा लामिछानेले दिइन्।

प्रकाशित: ७ मंसिर २०७२ २०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App