खोटाङ– खोटाङमा मादक पदार्थले मातेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान जेल चलान भएका छन् । रक्सीले मातेकोबेला मुक्का प्रहार गरी ४६ वर्षीय श्रीमती बुद्धिशोभा राईको हत्या आरोपमा दिक्तेल नगरपालिका–७ बाम्राङका ५१ वर्षीय होमप्रसाद राई आईतबार कारागार चलान भएका हुन् ।मादक पदार्थ सेवन गरेर मातेका होमप्रसादको कुटपिटबाट गत कार्तिक–१० गते बिहान बुद्धिशोभाको भान्छाकोठामै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक वुद्धिशोभा घरैमा घोप्टो परेर लडिरहेको भेटिएपछि होमप्रसादलाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको थियो । श्रीमतीको शंकास्पद मृत्युपछि पक्राउ परेका राईलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षकालागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बिद्यानन्द माझीले बताए । रक्सीले मातेकोबेला भएको सामान्य भनाभनकाक्रममा श्रीमानले प्रहार गरेको मुक्काले श्रीमतीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । घरमा कोही नभएको समयमा भएको घटनाका बिषय साँझ छोराबुहारी घर आएपछि मात्र थाहा भएको स्थानीयले बताएका छन् । मातेर होस गुमेको अवस्थामा सामान्य बिवाद बढ्दैजाँदा उनीहरुबीच झगडा भएको र सोही कारण बुद्धिशोभाको मृत्यु भएको बुझिएको प्रहरीले जनाएको छ ।
यस्तै, कुटपिट मुद्धामा बतासे–३ का ६३ वर्षीय कम्पसेर राई ७ महिनाकालागि जेल चलान भएका छन् । कुटपिट गरेको भन्दै बतासे–३ कै नबिन राईको जाहेरीमा पक्राउ परेका कम्पसेरलाई अदालतले थुनामा राख्न आदेश दिएको थियो । कुटपिटपछि फरार रहेका राईलाई आईतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ७ मंसिर २०७२ ०२:५४ सोमबार