११ पुस २०८२ शुक्रबार
image/svg+xml
अन्य

म नारीवादीमात्र नभई मानवतावादी पनि हुँ

दुई दशकभन्दा बढी समयदेखि कविता लेखनमा सक्रिय दीपा एवाई राई हाल हङकङ बस्छिन्, त्यहीँ रहेर उनी 'समुच्च विचार' नामक काव्यिक आन्दोलनको नेतृत्व गरिरहेकी छिन्। २०६६ सालमा 'अर्धवृत्त' र ०७१ मा 'श्वेत आकाङ्क्षा' कविता संग्रह प्रकाशन गरिसकेकी उनले अघिल्लो वर्ष 'हङकङमा समकालीन नेपाली कविता'को सम्पादन पनि गरिन्। उनीसँग काव्यिक आन्दोलन र नारी लेखनको सेरोफेरोमा फणीन्द्र संगमले गरेको वार्ता।

हङकङमा रहेर समुच्च विचार नामक काव्यिक आन्दोलन चलाउनुको ध्येयचाहिँ के हो?

यहाँ हङकङ सरकारले महिलालाई सबै प्रकारको न्याय दिलाउने र संरक्षण गर्ने काम गरेको छ। मलाई यसैले ब्युँताएको हुनुपर्छ। त्यही चेतनाबोध, अस्तित्वबोधको कारण पुनः म साहित्यमा फर्किएकी हुँ। परम्परावादी सोच भएको समाजमा मैले विचारको सम्प्रेषण गर्न कविता लेख्न थालेँ। मलाई थोरै शब्दमा धेरै कुरा भन्नु थियो र कविता लेख्दै अनलाइन र यहाँको लोकल नेपाली पत्रिकामा फाल्न थालँे। पछि गएर लाग्यो, महिलाका पक्षमा जे जति बोलिए पनि यो समाज महिलाका लागिमात्र परिकल्पना गर्नु ठिक होइन। मैले यसो गरेँ भने यहीँ पुरुषवादी सोचबाट पर नरहनु हो। यसैले पुरुष आफैंमा नराम्रा होइनन्, हामीले उसका नराम्रा पक्षलाई मात्र विनिर्माण गर्ने र राम्रा गुण यथावत् राखी संरक्षण गर्दै लानुपर्छ भन्ने मनसायले समुच्च विचारको अवधारण लिएकी हुँ।

पवित्र हिन्दु धर्मग्रन्थभित्र अनेक महिला पात्र छन्, प्रथम त म त्यहाँको मूल पात्रसँग गएकी छु। रामायणमा सीतालाई उसको चरित्रमाथि औंल्याउदै अग्निपरीक्षा दिन लगाइएको छ र धर्ती, माटोभित्र पसाइएको छ। महाभारतमा द्रौपदीलाई वस्तुजस्तो ठानी दाउमा राखेर नंग्याइएको छ। दूधको साँची बिरालोझंै कृष्णले वस्त्रहरण हुन नदिएको कहानी छ। यदि त्यसै दिन द्रौपदी नांगिएको भए आज हामी सारा आइमाई शरीरको अंगबाट त्यति धेरै त्रसित हुनुपर्ने थिएन ना नै बलात्कारको सिकार।

आदिवासी, जनजाति केही लेखकहरू भन्छन्- 'हिन्दु सौदर्यशास्त्रले हामीलाई थिचिरह्यो, अब लेखनमा आफ्नै सांस्कृतिक मिथक, विम्बको भरपुर प्रयोग गर्नुपर्छ।' तर तपाईंका कवितामा रामायण–महाभारतका मिथक र त्यहाँका पात्रहरूकै हाबी छ। यस्तो विरोधाभास किन?

सर्वप्रथम म महिला हुँ। यसमा म गर्व गर्छु। त्यसपछि मात्र म आदिवासी–जनजाति किराती महिला हुँ। र, यो सत्य हो हिन्दु सौन्दर्यशास्त्रले नेपालका अन्य संस्कृतिमाथि थिचोमिचो गरेको थियो। यसैको उदाहरण म हँु जस्तो लाग्छ। मलाई किराती संस्कारबारे धेरै ज्ञान छैन यद्यपि म मेरो राई बान्तावा भाषा राम्ररी बुझन सक्छु, ८० प्रतिशत बोल्न सक्छु। मेरो लागि किराती धर्म–संस्कृतिको खोज र अध्ययन एकातिर छ भने अर्कोतिर हिन्दु धर्म संस्कारबाट प्रताडित महिला पात्रहरूमाथि न्यायको उजागर कवितामार्फत गरिरहेकी छु। यसो गर्नुको कारण— हिन्दु संस्कार–संस्कृतिको छाप अन्य संस्कृतिका परिवारमा पनि केही हाबी रहनुले हो। मेरी आमा मुन्धुम फलाक्दै हिन्दु देवताको पूजापाठ गर्छिन्, यो त सानो उदाहरण मात्र हो। मै पनि वैष्णवी धर्मावलम्बी हुँ, यद्यपि यसमा किराती मान्यता अनुकूल पूजापाठ गरिन्छ।

नेपालीहरू संसारको जुनसुकै ठाउँमा रहे पनि हाम्रो मानसिकता रामायण र महाभारतबाट शिक्षित र लक्षित भइरहेको छ। द्वापर र त्रेतायुगको रामायणका महिला पात्र सीता र द्रौपादीहरू २१ औं शताब्दीमा खोजेर कहाँ हुन्छ र? अहिलेको जमाना भनेको पुरुषमात्र होइन महिला पनि आफैं सक्षम हुने जमाना हो।

पुरुष एकल सत्ता भत्काएर महिलाहरू अगाडि आउनुपर्छ भन्ने बुझिन्छ, अन्दोलनको अवधारणामा। पुरुषलाई बहिष्कार गरेर कसरी समुच्च विचार निर्माण हुन सक्ला?

पुरुषको एकलवादी श्री सत्तालाई भत्काएर विनाश गरी महिलाको हाबीमात्र रहोस् भन्ने मेरो सोच भएको भए किन समुच्च विचारको कुरा गर्थें/भन्थे होला? समको कुरा नै आउँदैनथ्यो। पुरुष भन्नासाथ सबै बलवान् हुन्छन् भन्ने हुन्न। पुरुषले निर्माण गरेका सबै संरचना ठिक हुन्छन् भन्नु गलत हो। त्यसैले ती गलत सोच र संरचनालाई भत्काएर पुनर्निर्माण गरौं भनी मैले महिलाको मात्र होइन पुरुषको अस्तित्वलाई पनि संरक्षण गर्नुपर्छ भनेर समुच्च विचारको प्रतिपादन गरेकी हुँ। मैले 'श्वेत आकाङ्क्षा'मै बोलेकी छु—

म भाले होइन

म पोथी पनि होइन

तर

जब दिनलाई रातमा बदल्न

आँधीबेरी आउन थाल्छन्

तब

म खबरदार भन्दै

सबैलाई सर्तक गराउँछु

हो!

म प्रत्येकपल्ट

एउटा स्वच्छ बिहानी ल्याउन

रातैपिच्छे बास्छु

निरन्तर...

तपार्इंले यी कविताका हरफबाट म नारीवादी मात्र नभई मानवतावादी हो भन्ने पनि थाहा पाउन सक्नुहुन्छ।

एकातिर कवितामा आइमाईलाई खरानी र कोइलाजतिको पनि अस्तित्व नभएको शून्यवादी कुरा गर्नुहुन्छ, अर्कोतिर विद्रोह र अस्तित्वबोधको कुरा पनि गर्नुहुन्छ। तपार्इं आफै स्पष्ट हुनुहुन्न नि?

शून्य आफैंमा केही पनि होइन भन्नु ठूलो भुल हो बरु यो पूर्णताको जग हो। यसले विनिर्माण गरिरहेको हुन्छ भन्ने मान्यता समुच्च विचारले राख्दछ। यो व्यंग्यात्मक कविता हो। यहाँ प्रश्न गरिएको छ—

के आइमाई

शून्यदेखि महाशून्य

शून्यताको विम्बमात्र हो?

आफूलाई नारीवादी लेखक दाबी गर्नुहुन्छ। नेपाली साहित्यमा नारीवादी लेखन कुन रूपमा आइरहेको छ? के हो नारीवाद?
एउटी महिलालाई महिला भएकै कारण मान्छेको दर्जा दिइन्न, परिवारिक, सामाजिक उत्पीडन र शोषणको सिकार बनाइन्छ; त्यसविरुद्ध बोल्नेहरूलाई हामीले महिलावादी/नारीवादी मान्दै आएका छौं। त्यसमा महिलामात्र होइन पुरुष पनि हुन सक्छन्। महिलाका अनेक अन्यायविरुद्ध आवाज उठाएर न्यायको माग राख्दा जसले परिवार–समाजसँग पौंठेजोरी खेल्न हिचकिचाहट गर्दैन, निर्धक्क भएर व्यक्ति स्वतन्त्रताको उपभोग गर्दै न्यायसंगत बाँच्न र बाँच्ने अभिव्यक्तिमात्र होइन साहसका साथ बाँचेर देखाउँछ भने यस अर्थमा आफूलाई गर्वका साथ नारीवादी हुँ भन्छु। नारीवादी भन्नु मात्र नारीका पक्षमा बोल्ने अधिकारकर्मी नभएर सबै पिछडिएको वर्ग र वर्णका पक्षमा बोल्नु पनि हो।

नेपाली साहित्यमा नारी लेखनको अवस्था नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहको पालादेखि देखा पर्छ। नेपालको राजनीतिक परिवर्तन सँगसँग्ौ विश्वमा आएको साइबरको चमत्कारले हामी धैरै फराकिलो विचारबाट अगाडि बढिरहेका छौं, जसले साहित्यमा पनि असर पारेको छ । काव्यिक क्षेत्रमा कुन्ता शर्माको 'पोथी बास्न हुन्न'ले नै धेरैपहिले तरंग ल्याइसकेको हो। त्यसयता नेपाली महिला साहित्यकार विचारले निकै परिष्कृत र अग्रगामी देखिँदै आएका छन्। पद्मावती सिंहको 'समानान्तर आकाश' र झमक घिमिरेको 'जीवन काँडा कि फूल'मा कत्रो भिन्नता छ। समानान्तर आकाश नारीको काल्पनिक जीवन संघर्षको विचार, चेतना छ भने जीवन काँडा कि फूलमा एउटी नारीको वास्तविक साहसपछिको समाजमा स्थापित जीवनको कथा छ। त्यसरी नै पारिजात, वानिरा गिरी, इन्दीरा प्रसार्इं, माया ठाकुरीका कथा, शर्मिला खड्का दाहाल, प्रभा कैनीहरूको लेखन पनि उत्तिकै सशक्त छ। अर्चना थापाको 'अस्तित्वको खोज', उषा शेरचनको 'तेस्रो रंग'सँगसँगै समालोचनमा गार्गी शर्मा, लीला लुइँटेल, सुधा त्रिपाठी, ज्ञानु पाण्डे, रजनी ढकालजस्ता साहित्यकारले महिलाका अनेक पक्षलाई उजागर गरिरहेका छन्। साहित्यको मिहिन अध्ययन गर्नेले सजिलै अनुमान लगाउन सक्छन् कि वर्तमान नेपाली महिला साहित्यकारका सिर्जनाहरू निकै चेतनामय भई प्रगतिपथमा लम्किरहेका छन्।

नेपालमै बसेर लेख्नु र फरक भूगोल, परिवेशमा रहरले लेख्नुको अनुुभूति कस्तो हुँदो रहेछ?
यो रहरले लेख्ने भन्ने कुरोमा चाहिँ म अलि फरक स्वभावको मान्छे हुँ कि! प्रायः म लेख लेख्दा सत्य केन्द्रित भई लेख्ने गर्छु। मेरा लेख विशेष प्रकारको घटनामा आधारित मनमा परेपछि चोट, पीडा, अन्याय र अत्याचारको विरुद्धमा लेखिनुपर्छ भन्ने मान्यतामा झुकाव राख्दछ। मेरा लेख कुनै पनि प्रकारको रहरले लेखिएका होइनन्। भूगोलको जुन कुरा छ, आजको साइबर संसारमा सीमित भूगोलको परिवेशमात्र लेखिन्छ र लेख्नुपर्छ भन्ने मान्यता म राख्दिनँ।

प्रकाशित: ४ मंसिर २०७२ २२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App