२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

पोखराका शक्तिपीठहरू

फेवातालले माछापुच्छ्रेको प्रतिविम्बलाई मात्रै आफूतिर तान्दैन। हजारौं पर्यटकलाई दिनदिनै आकर्षित गरिरहन्छ। पोखरा घुम्न निस्कने जोकोहीको पहिलो पाइला फेवातालतिरै सोझिन्छ। धेरै पर्यटक जहाँबाट फेवा हेर्न पुग्छन्, त्यहाँबाट माछापुच्छ्रेको छायाँ देखिन्न। तर पनि पर्यटकलाई विस्मयकारी अनुभव दिने एउटा दृश्य भने देखिन्छ। त्यो वाराही मन्दिर हो। ताल बीचमा एउटा टापु। त्यही टापुमा मन्दिर।

पूरै ताल घुमे पनि वा नघुमे पनि फेवा हेर्न पुग्ने पर्यटक तालवाराही मन्दिर भने पुग्छन्। किनारबाट डुंगाको सुविधा छ। पाँच मिनेटमै पुगिन्छ मन्दिर। डुंगाबाट टापु फन्को मार्दा माछा सलबलाएको देखिन्छ। टापु पुग्नासाथै परेवाका हुलको स्वागत पाइन्छ। बोट बिरुवाको शीतलाताले स्पर्श गरिहाल्छ। माछापुच्छ्रे र अन्नपूर्ण हिमाल, पोखराको पर्यटकीय केन्द्र लेकसाइड एकैपटक देखिन्छन्। यी प्राकृतिक छटा त छँदै छन्, टापुको मुख्य विशेषता र आकर्षण त मन्दिर नै हो। तालवाराही देवीको मन्दिर पोखराका प्रमुख शक्तिपीठमध्येको एक हो।

तालबीचमा कसरी टापु बन्यो होला भन्ने जिज्ञासा मेटाउने मन्दिर स्थापनाको इतिहास बुझनै पर्छ। वाराही देवीको शक्तिबाटै टापु बनेको भन्ने किंवदन्ती रहेको बताउँछन्, मन्दिरबारेको पुस्तकका लेखक रवीन्द्र माकाजु। भन्छन्, 'देवीको शक्तिले नै अरू ठाउँ जलमग्न भएर यो टापु रहेको हो।'

माकाजुले उल्लेख गरेको किंवदन्तीअनुसार देवी रातको समय गाउँ पुग्दा कसैले पनि बास दिएनन्। बूढीआमैले भने बास दिइन्। भोलिपल्ट देवीले तिमी त्यहाँ गएर बस भनेर बूढीआमैलाई एउटा ठाउँ देखाइन्। ती बूढीआमै बसेको बाहेक ठाउँ जलमग्न भयो र ताल बन्यो। बूढीआमै बसेको ठाउँमा पूजाआजा हुन थाल्यो र तालवाराही भन्न थालियो। २०१८ सालअघिसम्म खरको छाप्रोमुनिको मन्दिरमा पूजा हुँदै आएकोमा त्यसपछि राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गराएको माकाजु बताउँछन्। बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमामा विशेष मेला लाग्ने यो मन्दिरमा दिनहुँ भक्तजनको ओइरो लागिरहन्छ। मन्दिरमा विवाह गर्ने चलन छ। 'यहाँ विवाह गर्नाले दाम्पत्य जीवन सुखी हुने विश्वास छ,' माकाजु भन्छन्।

तालको सतहभन्दा अग्लो थुम्कोमा तालवाराही मन्दिर भएजस्तै पोखराका अरू प्रमुख शक्तिपीठ पनि सामान्य जमिनको सतहभन्दा अग्लै ठाउँमा छन्। विन्ध्यवासिनी र भद्रकाली मन्दिर समतल जमिन बीचमा उठेका डाँडाका मन्दिर हुन्। विन्ध्यवासिनी नेपालकै पुराना मन्दिरमध्येमा गणना हुन्छ। पुराताŒिवक महŒवको विन्ध्यवासिनीसँग तीन सय वर्षको इतिहास छ। कास्कीका अन्तिम राजा सिद्धनारायण शाहका पालामा मन्दिर स्थापना भएको स्थानीय बताउँछन्। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठका अनुसार विक्रम संवत् १८४२ मा राजा सिद्धिनारायण शाहले पुजारीलाई दिएको भनिएको लालमोहर नै यो मन्दिर स्थापनाको इतिहास बताउने प्रामाणिक वस्तु हो। 'पहिला मन्दिर भएर नै लालमोहर दिइएको हुनुपर्छ, त्यसैले विन्ध्यवासिनी २८४२ भन्दा पुरानो हो,' श्रेष्ठले भने।

विन्ध्यवासिनी मन्दिर ढुंगा र माटोले बनेको छ। तीन सय वर्षअघि बनेको यो मन्दिरको स्वरूप आठकोणे छ। आठ वटा हात भएकी विन्ध्यवासिनी देवीको प्रतिमा भारतको विन्ध्याञ्चलबाट ल्याइएको श्रेष्ठ बताउँछन्। उनका अनुसार राजा सिद्धिनारायण शाहलाई सपनामा विन्ध्यवासिनीले आफूलाई स्थापना गर्न भनेका आधारमा विन्ध्याञ्चलबाट मुख्य प्रतिमा ल्याइएको हो। 'बोकेर ल्याउने क्रममा पोखरामा बिसाइसकेपछि भरियाले बोक्न सकेनन्,' उनले किंवदन्ती सुनाए, 'त्यो दिनको रातमा पनि देवीले सपनामा आएर राजालाई यहीँ प्रतिस्थापन गर्नु भनेकाले अहिलेको ठाउँमा राखिएको हो।'

विन्ध्यवासिनी पर्यटकीय र पुरातत्व दृष्टिले पनि महत्वपूर्ण छ। 'विन्ध्यवासिनीको जस्तो वास्तुकला नेपालका अरू मन्दिरमा भेटिन्न,' उनले भने। विन्ध्यवासिनीको पूजाआजा गर्दा निसन्तानहरू सन्तान प्राप्त हुने विश्वास गर्छन्। मनोकांक्षा पूरा हुने विश्वासमा बेलाबखत हुने पूजाबाहेक दसैंका नवरात्रभर विन्ध्यवासिनीमा नगरा बजाइन्छ। कुनै बेला पोखरामा हैजा फैलँदा विन्ध्यवासिनीको शक्तिले रोकेको विश्वास स्थानीय बासिन्दा गर्छन्। देवी मन्दिरमा हवन गर्दा भएको गल्तीका कारण पोखरामा ठूलो आगलागी भएको कारण पनि विन्ध्यवासिनीको शक्तिलाई स्थानीयले थप विश्वास गर्दै आएको श्रेष्ठ बताउँछन्।

विन्ध्यवासिनी पोखराको उत्तरमा पर्छ भने अर्काे शक्तिपीठ भद्रकाली पूर्वी दिशामा। समतल जमिनभन्दा ४५ मिटर अग्लो डाँडामा छ यो मन्दिर। घना जंगलको उकालो काट्दै पुगिने डाँडामा भद्रकालीसँग गणेश मन्दिर पनि छ। गणेश भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्र श्रेष्ठका अनुसार भद्रकालीभन्दा पनि गणेश मन्दिर जेठो हो। १९०१ मा गणेश मन्दिर स्थापना भएको स्थानीय बताउँछन्। गणेश मन्दिरको पूजाआजामा सक्रिय स्थानीय ढेवाजु परिवारका सदस्यलाई सपनामा भद्रकाली आएर मन्दिर स्थापनाको आदेश दिएको श्रेष्ठले जानकारी दिए। 'म पनि यहीँ छु, गणेशको मात्रै पूजा हुन्छ, मेरो हुँदैन भनेर देवीले सपनामा भन्नुभएछ,' श्रेष्ठले सुनाए, 'जंगलमा खोज्दा कालो ढुंगा भेटियो र उहाँलाई नै देवी मानियो। पछि काठमाडौंबाट अष्ठभुजा भएको प्रतिमा ल्याएर पूजा हुन थाल्यो।'

भद्रकाली डाँडामा सय–दुई सय वर्षका पुराना रूख थुप्रै छन्। समितिले पछिल्लो समय यसलाई जैविक विविधतायुक्त बनाइरहेको छ। वर, पीपल, समी, पाखुरी, डुम्रीलगायत धार्मिक महत्वका रूख रोपिएको छ। रुद्राक्षका मात्रै पाँच सय बोट समितिले रोपेको थियो। तीमध्ये केहीले फल दिन थालेका छन्। अरू थुप्रै धार्मिक र पवित्र वनस्पति १५ सय हाराहारीमा रोपिएको जानकारी श्रेष्ठले दिए। वैवाहिक स्थलका निम्ति धेरै जोडीले भद्रकाली मन्दिर रोज्छन्।

दुभार्ग्यचाहिँ के भने पर्यटन बोर्डले तयार पारेको प्रचार सामग्रीमा पोखराका यी शक्तिपीठ उल्लेख गरिएको छैन। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठ पोखरा आउँदा यी मन्दिर भ्रमण गर्न छुटाउँदा धेरै कुरा छुट्छ भन्छन्।

प्रकाशित: ४ मंसिर २०७२ २२:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App