खोटाङ—ड्रोन क्यामेरा प्रयोगगरी भिडियो खिच्दै गरेको अवस्थामा ह्वाईट हिमाल टेलिभिजन नेटवर्कका क्यामेराम्यान खोटाङमा पक्राउ परेका छन्। म्याग्दी जिल्लाको दग्नाम–९ स्थायी घर भइ हाल अमेरिकाको ह्वाईट हिमाल टेलिभिजन नेटवर्कमा कार्यरत धनमान थापालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।सदरमुकाम दिक्तेलस्थित हाटडाँडामा बुधबार बिहान भिडियो खिच्दै गरेका थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए। 'अनुमती नलिइ ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन', उनले भने, 'थापाले बिनाअनुमती खिचिरहेको भेटेपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।'
पक्राउ परेका थापालाई अहिले जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ। थापाको साथमा रहेको ड्रोन क्यामेरा, क्यामेराको स्ट्याण्ड, रिमोट, मोवाइल लगायतका सामग्री नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट मङ्गलबार दिक्तेल आएका थापा जिल्लाको पश्चिमी गाविस नुनथलास्थित जालपा माविमा भूकम्पले पुराएको क्षतिको भिडियो खिच्न आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरी नियन्त्रणमा रहेका थापालाई कुन मुद्दा चलाउने भन्ने बारेमा भने यकिन भएको छैन। रासस
प्रकाशित: २ मंसिर २०७२ ०६:३९ बुधबार