असोजको रापिलो घाममा बसेर डा. दुलाल र थाम्सुहाङ पुष्प गफ गर्दै गरेका बेला साहित्यकार मीना राई पनि आइपुगिन्। पुष्प सर पहिलोजस्तो फरर बोल्न छाडेछन्। अघिल्लो वर्ष बेस्मारी रोगिए। उमेर ढल्किदै जाँदा, बिरामले सताएपछि धाराप्रवाह नेपाली साहित्य, विश्व साहित्य, लिम्बु साहित्यबारे बोल्ने उनले ढिलो गरी आफ्ना कुरा राखे। शब्द तौलिएर लिम्बु लबजमा मिठो बोल्ने पुष्प सर झन्डै सात महिनापछि फिदिम ओर्लिएका थिए, एउटा सम्मान थाप्न। एक रात बसे र भोलिपल्ट फर्किहाले।
साहित्यमा उत्तरवर्ती सोचको अगुवाइ गरेका थाम्सुहाङ आफ्नो लेखनमा स्थानीय रङ र विश्व परिवेशसमेतलाई उत्तरआधुनिक दृष्टिकोणबाट प्रस्तुत गर्न खप्पिस छन्। शब्द निर्माणमा केही खँदिलो प्रस्तुति हुने हुँदा उनको लेखन त्यति सहजै भने बुझिन्न। परम्परागत मूल्यमान्यता र आधुनिकताको संयोजनबाटै उत्तरआधुनिक सोचको निर्माण गर्नु उत्तरवर्ती सोचको ध्येय हो।
विसं २०६० कात्तिक २१ गते पाँचथरको राँके भञ्ज्याङमा सृजनशील साहित्यकारहरूको भेलाले उत्तरवर्ती सोच अभियानको घोषणा गर्योि। यसका व्याख्याता, विश्लेषणकर्ता र समालोचक उनै हुन्। भवानी तावा, सगुन सुसारा, राज माङ्लाकजस्ता युवाहरू यही अभियानमा जोडिएर लेखिरहेकै छन्। थाम्सुहाङका अनुसार सत्ता, शक्तिद्वारा दमित, आफ्नै ऐतिहासिक प्रस्तावनावाट लखेटिएका, भाषिक र सांस्कृतिक सम्पदाबाट विस्थापित, शोषण, दमन र निरीहताले कुण्ठित आदिवासी, जनजाति र सीमान्तकृत जनजातिहरूको अस्तित्वबोधको आन्दोलन एवम् अधिकार प्राप्तिको मार्ग हो, उत्तरवर्ती सोच।
देशमा एकल भाषा, संस्कृतिको नाममा एकल वैश्विकरणको शुलभता लाद्दै असत्य र पहिचानरहित दिग्भ्रमित यथार्थमा अन्योलताको पिङ खेलाइराख्न चाहने उत्पीडकहरूको दिवास्वप्नबाट मुक्ति पाउन यसलाई आन्दोलनकै रूपमा आरम्भ गरिएको उनी बताउँछन्। यो आन्दोलनमा लाग्नेले किराती भाषा, कथा तथा मिथकलाई नवीन रूपमा साहित्यमा उतारेका छन्। 'उत्तरवर्ती सोचले सात वटा बुँदालाई आफ्नो प्रमुख आधार बनाएको छ,' थाम्सुहाङले बुँदा फरर बताए, 'तथाकथित भूमण्डलीकरणको अस्वीकार, समग्रतावादी सार्वभौमिक सत्यको अस्वीकार, स्व–स्वायत्तता र आत्मनिर्णयको अधिकारको दाबी, बहुलवादी नेपाली साहित्यमा नयाँ अस्तित्वको दाबी, नेपाली साहित्यमा समग्र राष्ट्रिय साहित्यको समान मान्यताको दाबी, उत्तरआधुनिक साहित्य निर्माणमा पूर्वीय चिन्तनको सैद्धान्तिक खोज र सत्ताशक्ति निर्मित इतिहासको अस्विकार।'
साहित्यमा उत्तरआधुनिकताबारेको बहसलाई उत्तरवर्ती सोचले साथ दिएको छ। पुराना मान्यता र नवीन चिन्तनको संयोजित रूपबाटै यो सोचको निर्माण गरिएको थाम्सुहाङ बताउँछन् । खासगरी पूर्वीय लिम्बू मिथक, कथावस्तु, यहाँको प्राकृतिक स्वरूप, परम्परागत सांस्कृतिक मूल्य र भोगाइका अन्तरवस्तुमा टेकेर आधुनिक प्रविधि, मान्यतालाई साहित्यमा मिसाउँदै लैजानु पर्ने यो मान्यताको अर्थ रहन्छ।
गाउँमा बस्ने तर देश देशान्तरको तस्बिर सहित्यमा खिच्ने, विचार दिने र सार्वजनिक बहसमा रुचाउने थाम्सुहाङले आफ्नो लेखनलाई दोहोर्यासएर पढ्न बाध्य तुल्याउँछन्। 'जीवन जटिल छ। समाज जटिल छन। भोगाइहरू जटिल छन्। हामीले देखाउने र हिँड्ने बाटो जटिल छ,' उनी प्रस्ट्याउँछन्, 'सिर्जना गर्नु आफंैमा जटिल विषय हो। भोगाइ, अनुभूति र कल्पनाको सत्यता भएकाले साहित्य लेख्नेलाई होइन पढ्नेलाई जटिल बन्दिछ। पाठकले पनि दिमाखलाई क्रियाशील त बनाउनैपर्छ।'
उनको जीवन नै आफंैमा जटिल र संघर्षपूर्ण छ। साहित्य, राजनीति र सामाजिक अगुवा उनका जीवनका मुख्य पाटा हुन्। सक्रिय राजनीति गरे। प्रजातन्त्र प्राप्तिका लागि निर्वासन बसे। बिपी कोइरालालगायत धेरै नेतासँग संगत गरे। तर, उनको साहित्यमा राजनीतिको गन्ध कतै पाइँदैन। निर्वासित भएका बेला दार्जिलिङ रहँदा नै उनले धेरै पढ्न र लेख्न पाए।
समय र प्रविधिलाई बु‰न सक्नुपर्ने बताउने उत्तरवर्ती सोचका यी अगुवाका हस्तलिखित अक्षर भने कुँदिएका झैं सुन्दर लाग्छन्। सामान्य जीवनशैली रुचाउने उनीसँग पूर्वीय र पश्चिमेली साहित्यको ठूलो ज्ञान छ। हजारौं पुस्तक छिचोलका उनले सिर्जनाका समेत थाक बनाएका छन्। पाँचथर लगायतका छिमेकी जिल्लामा हुने गरेका बाक्लै साहित्यिक निम्तोमा भने उनी कम उपस्थित हुन्छन्।
गाँउमै रहे तर लेखिरहे उनले। प्रचार खोजेनन्, केवल चिन्तन गरे। 'मलाई प्रचारमा रुचि जाँदै गएन। भिडभाडको नाराबाजीले साहित्य गहकिलो बन्दैन,' उनी ढुक्क छन्, 'एक्लै भएर केही फरक पर्दैन किनकि निरन्तर साधान नै जीवन हो। मलाई प्राप्तिभन्दा कर्म नै महत्वपूर्ण लाग्छ।'
मन मिल्यो भने घन्टौंसम्म साहित्यिक छलफल र विचार सप्रेषण गर्ने काममा उनी संलग्न हुन्छन्। हेर्दा, बु‰दा जटिल लागे पनि भोग्दा गहिकला तर्कका ज्ञाता र आत्मीय छन्। लिम्बु भाषा, लिपि र साहित्यका अध्येता उनी लामो लेखनमा रुचि राख्छन्। मोहन कोइराला, वैरागी काइँलाहरूको प्रभाव उनका कवितामा देखिन्छ। लिम्बु र नेपाली भाषामा कलम चलाएका उनले दुई भाषाबीच अनुवाद गरिरहेका छन्। लिम्बु भाषाका पत्रिका सम्पादन र खोज अनुसन्धानका पुस्तक प्रकाशनमा लामो अनुभव छ उनको। २०२६ सालदेखि नै लिम्बु भाषा र लिपिको संरक्षण, संवर्द्धनमा सक्रिय उनले ०४३ सालदेखि लिम्बु लिपिमै बढी कलम चलाए। अहिले सिर्जनाभन्दा पनि अनुवादकर्मले व्यस्त बनाएको छ, उनलाई। 'लिम्बु साहित्यमा धेरै विधाका पुस्तक लेखेँ। अब त मातृभाषा नै खस्कँदो अवस्थामा भएकाले साहित्य रचना गर्नुभन्दा लेखिएका पुस्तकलाई नेपालीमा अनुवाद गर्नुपर्ने अनुभूत भएको छ,' उनी भन्छन्। आफ्नो भाषा, लिपि नहराओस् भनेरै लिम्बु भाषालाई समय दिइएको बताउँछन्, उनी।
सिरिजंगा, नागबेली, निलीमाजस्ता पत्रिका सम्पादनको अनुभव छ उनीसँग। सिरिजंगालाई लिम्बु साहित्यको सुरुवाती पत्रिका मान्ने गरिन्छ।
धेरैजसो कविता र समालोचनामा कलम चलाएका थाम्सुहाङका १८ वटा पुस्तक प्रकाशित छन्। यसका अलावा उपन्यास, खण्डकाव्य, महाकाव्य, निबन्धमा उनको कलम चलेको छ। ११ वटा त लिम्बु भाषासँग सम्बन्धित छन्। सामाजिक परिर्वतन, नवीन सोच, जीवनदृष्टि उनका लेखनका विशेषता हुन्।
२००५ सालमा याङनाममा जन्मिएका उनले १४ वर्षको उमेरमै पहिलो कविता लेखे। २०२९ सालमा पहिलो कविता संग्रह 'इन्द्रकिलको एकतारा' निकाले। आठ वर्षजति शिक्षण सेवा गरेका उनी पञ्चायतविरुद्ध प्रजातन्त्रका लागि राजनीतिक मैदानमा उत्रिए। भूमिगत भए। 'त्यही पार्टीलाई अझै समर्थन गर्छु तर साहित्यमा राजनीति देखिनुहुन्न,' उनको तर्क छ, 'स्वतन्त्र हुनुपर्छ साहित्य। त्यसमा राजनीति होइन सामाजिक रंग देखिनुपर्छ।'
उमेर ढल्किँदो छ। रोगले च्यापेको छ। सिर्जनाका लागि सोच्ने दिमाग थाकिसकेका छन् तर अनुवादमा अझै समय निकालेकै छन्, उनले।
समकालीन सर्जकहरू चर्चामा रहेकोमा उनलाई गुनासो छैन। बरु गुनासो छ— प्रज्ञा प्रतिष्ठानले आफ्नो समालोचना कृति नछापेकोमा। उनले आफ्ना पुस्तक छाप्नका लागि नाम चलेका ठूलो प्रकाशन गृह चाहरेनन्। व्यक्तिगत सम्बन्धका आधारमा प्रकाशक खोज्ने र छाप्ने गरे।
आफैं लुकेर बसेजस्तो भएकाले अरूले चिनेनन्, खोजेनन्। सुविधा, अवसरले साहित्यकारलाई फरक पार्छ भन्ने अनुभूति त उनीसँग छ तर चर्चाको लोभ कहिले रहेन। लामो विश्व साहित्यमा नेपाली साहित्य पुग्न सक्नेमा ढुक्क छन् उनी। भन्छन्, 'प्रभाव पार्ने साहित्य हामीकहाँ प्रशस्तै छन्, तर साहित्यमा शैली महत्वपूर्ण हुन्छ यसलाई लेखकले ख्याल गर्न जरुरी छ।'
१४ वर्षको उमेरदेखि कवितामा कलम चलाउँदा लेखक साथी कोही थिएनन्। गाउँमै बसेका उनीसँग न साहित्यिक सर्कल बाक्लो छ न त कुनै घेरोभित्र सीमित छन् उनी। आफ्नै हिसाबले कलम घोटिरहे। सामान्य किसिमले जीवन बिताइरहेका उनी दुःख र सुख महसुस गर्नुपर्ने कथा नै नभएको बताउँछन्।
जीवनदेखि कतिको सन्तुष्टि मिल्दो हो त उनलाई?
'अहिले पनि लेखेकै भरमा सन्तुष्टि त छैन। चित्त कहाँ बु‰छ र? उमेर र स्वास्थ्यले साथ दिएन,' उनी भन्छन्, 'जीवनको अन्तिम समयमा पनि कुनै न कुनै चाह त बाँकी नै रहन्छ नि, होइन र?
बैंसालु परिवेशहरू
त्यति छिट्टो नबद्लिए हुन्थ्यो
तर औंसी–पूर्णिमा झैं
मान्छेको जुनीमा– सपना जस्तै
शून्य आकाशमाथि
कल्पित फटफटाहट माथि–माथि
अँध्यारो फूलको थुंगाझैं त्यतिकै खेलिरहन्छ
मायालु हजुर! सपना जस्तो
जुनी कहिले फेरिन्छ?
(कविता : जिन्दगीको गीत)
प्रकाशित: २० कार्तिक २०७२ २२:५० शुक्रबार





