भण्डारीको उम्मेदवारीमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित दर्जन दलको समर्थन छ। भण्डारीको पक्षमा मधेसी जनधिकार फोरम नेपाल लोकतान्त्रिक, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाल परिवार दल, जनमुक्ति पार्टी लोकतान्त्रिक, बहुजन समता पार्टी, समाजवादी जनता पार्टी, नेपा पार्टी, मधेस समता पार्टीको समर्थन रहेको छ।
केन्द्रीय सदस्य भट्टराईले भण्डारीलाई समर्थन गर्ने दलहरू बाहिरबाट पनि मत पर्ने अपेक्षा लिएको बताए। 'सहमतिको राजनीतिबाट बाहिरिएका कारण कांग्रेसले अन्य दलहरूसँग आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न सकेको छैन,' भट्टराईले भने, 'त्यसैले भण्डारीको अहिले समर्थनमा रहेका बाहेकबाट पनि मत आउँछ। पार्टीले सबै राजनीतिक दलसँग यस विषयमा छलफल गरेको छ।'
कांग्रेसले पार्टीका पाका नेता तथा पूर्व महामन्त्री केबी गुरुङलाई राष्ट्रपतिमा उम्मेदवार बनाएको छ। सत्तारूढ गठबन्धनबीच एमालेको राष्ट्रपति र एकीकृत नेकपा माओवादीको उपराष्ट्रपति उम्मेदवारलाई सघाउने सहमति छ।
को हुन् भण्डारी?
विद्या भण्डारी पति नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको मृत्युपछि राजनीतिमा पुनः सक्रिय भएकी हुन्।मदनको निधनपछि रिक्त भएको काठमाडौं क्षेत्र नम्बर १ को उपनिर्वाचनमा विद्याले कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले पराजित गरेकी थिइन्। २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा उनले तत्कालीन सभामुख दमननाथ ढुंगानालाई पराजित गरिन्।
पतिको निधनपछि मात्रै राजनीतिमा आएको देखिए पनि भण्डारीको पार्टीसँगको आबद्धता निकै पुरानो हो। उनी २०१८ सालमा भोजपुरको मानेभञ्ज्याङको पाण्डे परिवारमा जन्मेकी हुन्। २०३५ सालमा भोजपुर क्याम्पसमा अध्ययन गर्दा नेकपा मालेको सम्पर्कमा आएकी उनी युवा लिगकी संगठित हुन्। मालेको भ्रातृ संगठन अनेरास्ववियु पाँचांैबाट राजनीति गरेकी विद्याको २०३९ सालमा मदनसँग विवाह भएको थियो।
भण्डारी २०५४ सालमा नेपालगन्जमा भएको एमालेको छैटौं महाधिवेशनदेखि एमालेको केन्द्रीय कमिटीमा रहेर काम गरेकी छन्। करिब २ दशकदेखि उनी पार्टीको भ्रातृ संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष छिन्।
२०६५ सालमा बुटवलमा भएको आठौं र काठमाडौंमा भएको नवौं महाधिवेशनबाट भण्डारी पार्टी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनी हाल समानुपातिकबाट संसद छिन्। भण्डारी २०५४ सालमा महिला बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी थिइन् भने पछि रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिन्।
पार्टी राजनीतिमा लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीनिकट रहेकी भण्डारी समाकालीन नेपाली नेत्रीहरूमा सबैभन्दा शक्तिशाली मानिन्छिन्। भण्डारीका २ छोरी छन्।
प्रकाशित: १० कार्तिक २०७२ २१:०३ मंगलबार



-600x400.jpg)

