त्यस्तै, सभापति कोइरालाले रूपान्तरित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने ३० वटै राजनीतिक दललाई पत्र लेखी राष्ट्रपति निर्वाचनमा पार्टीका पूर्व महामन्त्री गुरुङको पक्षमा मतदान गर्न आग्रह गरेका छन्। कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनले सबै दललाई पत्र लेख्दै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि दलीय एकता अझ मजबुत बनाउनुपर्ने उल्लेख गरेका छन्।
लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि सक्रिय रहेका पार्टीका वरिष्ठ नेता गुरुङलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको उल्लेख गर्दै कांग्रेसले सबै राजनीतिक दलको सहयोग र समर्थनको आशा पनि गरेको छ।
त्यसअघि बसेको कांग्रेस केन्द्रीय समिति बैठकले गुरुङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। संसद भवन नयाँ बानेश्वरमा मंगलबार बिहान बसेको बैठकले पूर्वमहामन्त्री गुरुङलाई राष्ट्रपति र अमियकुमार यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय हो।
पूर्वर्निधारित समयभन्दा दुई घन्टा ढिला ११ बजे सुरु भएको बैठकमा सभापति कोइरालाले राष्ट्रपतिमा दलीय सहमतिको प्रयास जारी रहेको बताएका थिए। 'राष्ट्रपतिमा सहमतिको प्रयास जारी छ,' कोइरालालाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'हाम्रो उम्मेदवारको पक्षमा सहमतिको प्रयासमा छौं अन्यथा उम्मेदवारी कायमै रहन्छ।'
पार्टी पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको टुंगो लगाएको जानकारी दिँदै केन्द्रीय समिति बैठकमा कोइरालाले भनेका थिए, 'पहिला (प्रधानमन्त्री निर्वाचनमा) उम्मेदवारीबारे जानकारी नदिएको तपाईंहरूबाट गुनासो आएकाले अनुमोदन गराउन आएका हांै।'
त्यसलगत्तै उपसभापति पौडेलले पदाधिकारीको निर्णय भन्दै राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा यादवलाई उम्मेदवार बनाउने निर्णय सुनाएका थिए।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गोप्य मतदान हुने बैठकलाई जानकारी गराउँदै पौडेलले सबैलाई मत माग्न आग्रह गरेका थिए। 'सहमतिको सम्भावना झिनो छ,' पौडेलले भने, 'हामी आफ्नै बलमा चुनाव लड्नु छ, सबैले मत मागौं, एक–एक मत जोडौं।'
पार्टीले राष्ट्रपतिमा अघि सारेपछि गुरुङले भने, '२०३३ सालमा पार्टीको आदेश पालना गरेर बिपी कोइरालाभन्दा पहिला नै स्वदेश फर्केको थिएँ। अहिले पनि पार्टीको आदेश पालना गर्छु।'
कांग्रेस शीर्ष नेताहरूले केन्द्रीय समिति बैठकअघि नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए। उनीहरूले राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए, तर दाहालले राष्ट्रपतिमा उम्मेदवारी दर्तापछि पनि सहमतिको प्रयास जारी रहने आश्वासन दिए। 'उम्मेदवारी दर्ता गराउनुस्, कुरा हुँदै गर्छ,' दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो।
को हुन गुरुङ?
१९९२ मंसिर ८ गते पहलबहादुर र पूर्णकुमारीको कोखबाट इलाममा जन्मेका गुरुङ २००५ सालदेखि नै राजनीतिमा सक्रिय छन्। २०१० मै विद्यार्थी आन्दोलन इलामको संयोजक भएका गुरुङ उनी ०१४ को भद्र अवज्ञा आन्दोलनमा जेल परेका थिए।
२०१८ सालमा पब्लिक आदर्श हाईस्कुल इलामबाट अध्यापन सुरु गरेका गुरुङ २०२९ सालमा पढाइरहेका बेला तत्कालीन सरकारले अराष्ट्रिय तत्व भनेर पक्राउ पुर्जी जारी गरेपछि भूमिगत भई बनारस गएका थिए। बनारसमा बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमसेर सहितका नेतासँग मिलेर उनी प्रजातन्त्र स्थापनाका लागि सक्रिय भएका थिए।
उनी ०३३ कात्तिक २ गते धर्म गौतम, बासु कोइरालासहित स्वदेश फर्केका थिए। नेपाल आएलगत्तै पक्राउ परेका गुरुङ २०३६ पछि मात्र रिहा भएका थिए। त्यसपछि पनि पटक–पटक जेल परेका गुरुङ २०४७ पछि कांग्रेस केन्द्रीय सदस्य छन् भने ११ आंै महाधिवेशनपछि उनले पार्टी महामन्त्रीको जिम्मेवारी निर्वाह गरेका थिए।
२०५१ को मध्यावधि निर्वाचनमा इलाम–२ बाट निर्वाचित भएका गुरुङ शिक्षा, स्वास्थ्य, बालबालिका तथा समाजकल्याण मन्त्री भएका थिए। त्यस्तै, २०६२/०६३ को जनआन्दोलनपछि पुनर्स्थापित प्रतिनिधिसभामा उनी मनोनीत सांसद थिए। पहिलो संविधानसभामा इलाम–३ बाट सभासदमा निर्वाचित भएका गुरुङले ज्येष्ठ सदस्यको हैसियतले अध्यक्षता गर्दै २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेका थिए। गुरुङ कांग्रेसभित्र मात्र होइन नेपालको राजनीतिमै इमानदार छविका नेताका रूपमा परिचित छन्।
प्रकाशित: १० कार्तिक २०७२ २०:११ मंगलबार





