५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

आर्चरी टोली थाइल्यान्ड जाने

काठमाडौं- नेपाली आर्चरी टोलीले यसै महिना थाइल्यान्डको बैंककमा हुने १९ औं एसियाली आर्चरी च्याम्पियनसिप तथा एसियन ओलम्पिक कन्टिनेन्टल छनोट प्रतियोगितामा सहभागिता जनाउने भएका छन्। सात खेलाडीसहित ९ सदस्यीय नेपाली टोलीलाई सोमबार राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पाले विदाई गरे।नेपालका तर्फबाट प्रतियोगिताको महिला रिकर्भमा कृष्णमाया स्याङतानले सहभागिता जनाउने छिन भने पुरुष रिकर्भमा जित मोक्तान, प्रेम पुन र असिम शेरचनको सहभागिता रहनेछ। यसैगरी पुरुष कम्पाउन्डमा किशोरकुमार गुरुङ, लक्ष्मण पुन र विवेकसेन गुरुङले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। नेपाली टिमको प्रशिषकमा दक्षिण कोरियाका लि चुङ उन छन् भने संघका महासचिव दीपकराज गुरुङले व्यवस्थापकको रुपमा नेतृत्व गर्ने परिषदले जनाएको छ।

कात्तिक १५ देखि २३ गते सम्म हुने प्रतियोगितामा छनोट हुने खेलाडीले ब्राजिलको रियो द जेनेरियोमा अर्को वर्ष हुने रियो ओलम्पिकमा सहभागिता जनाउन पाउने छन्। ओलम्पिक छनोटको समेत हैसियत बोकेको प्रतियोगितामा सहभागिताका लागि आर्चरी टोलीलाई परिषदले २ लाख ७५ हजार रुपैयाँ प्रदान गरेको छ। विदाई कार्यक्रममै मुख्य अतिथि शेर्पाले एसियाली आर्चरी महासंघबाट प्राप्त धनु नेपाल आर्चरी संघको अधिनमा रहने गरी खेलाडीलाई प्रदान गरे।

बिहीबार थाइल्यान्ड जाने टोलीका जित मोक्तान र कृष्णमाया स्याङतान तथा प्रशिक्षक ली ले एसियाली आर्चरी महासंघको प्रशिक्षण सिविरमा सहभागिता जनाउने बताइएको छ। सिविर शुक्रबार सुरु भएर कात्तिक १४ गतेसम्म चल्नेछ।

प्रकाशित: २ कार्तिक २०७२ २३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App