आफू भनसुन र दवाबले चल्ने प्रहरी अधिकृत नभएको बताउँदै उनले सुनाए, 'विक्रम थापा बोल्ने मात्र प्रहरी अधिकारी हैन, बोलेका कुरा गरेरै देखाउने प्रहरी हो। म कानुन र पेशागत कर्तव्यप्रति जिम्मेवार हुने व्यक्ति हुँ। भनसुनको भरमा काम गराउन नसोचे हुन्छ।'
काठमाडौंको अपराध नियन्त्रणका लागि उनले तीन 'एस'को रणनीति समेत सार्वजनिक गरे। पहिलो चरणमा 'स्वीप' अर्थात् अपराधीलाई नियन्त्रणमा लिने, दोस्रो 'स्क्रिनिङ' अर्थात् अपराधको पृष्ठभूमि केलाउने, अपराधिक गतिविधि त्याग्न सचेत गराउने। यी दुई चरणमा पनि गुण्डाहरु नसुध्रिई सर्वसाधारणलाई दुःख दिने र अशान्ति मच्चाउन नछोडे अन्तिममा तेस्रो 'एस' प्रयोग गर्ने उनले बताए। एसएसपी थापाले तेस्रो 'एस'मा 'सुटआउट'लाई राखेका छन्।
'गुण्डा शब्द समाजमा मात्र होइन शब्दकोषमा पनि रहँदैन', उनले भने, 'अहिले नाम चलेका कोही पनि गुन्डा हैनन् सबै लुटेरा हुन्।'
रात्रीकालीन व्यवसाय खुला राखिने
काठमाडौंका मुख्य व्यापारिक स्थल २४ घन्टै खुलाउने योजना उनले सुनाए। 'चाँडै सहर बन्द गराएर शान्ति सुरक्षा हुन्छ भन्नु पाखण्ड हो। काठमाडौं अन्तर्राष्ट्रिय स्तरको सहर हो। यो २४ घन्टै खुल्नु पर्छ', एसएसपी थापाले भने।दरबारमार्ग २४ घन्टा खुलाउने प्रक्रिया अघि बढिसकेको सुनाउँदै उनले २४ घन्टै व्यवसाय सञ्चालन गर्दा प्रहरीले सुरक्षा दिने बताए। 'ढोका बन्द गराएर शान्ति बनाउने होइन ढोका खुलै राखेर शान्ति सुरक्षा दिन प्रहरी तयार छ। ९ बजे सटर बन्द गराएर शान्ति सुरक्षा कायम गरौं भन्दिनँ। रातभरि सटर खोल्नुहोस् प्रहरीले सुरक्षा दिन्छ।'
प्रकाशित: १ कार्तिक २०७२ ०३:५७ आइतबार





