२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

प्रतिरोधको मौसममा एक कवि

'प्रश्नहरूको कारखाना' किताबको नाम फाइनल भएको थियो । अलि लामो भूमिकासहित कुल ३३ थान कविता बुझाएकी थिएँ, केही दिनअघि । यसको फाइनल काम हेरूँ र दसैंअघि नै विमोचन गर्ने गरी काम सकूँ; यस्तै ठानेर काठमाडांै गएकी थिएँ । मधेसमा चलिरहेको आन्दोलन र सिमानामा भइरहेको नाकाबन्दी त्यति लामो नजाला भन्ने झिनो आशाले ।


आन्दोलनको मौसम चलिरहँदा किताबको मामलामा भने म मौसमविरुद्ध थिएँ । भूकम्पका कारण पछाएको किताब आन्दोलन र नाकाबन्दीले फेरि नपछाओस् । मनसा यत्ति थियो ।

२१ गतेदेखि काठमाडौंमा हुने भनिएको 'बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव'को छेकमा किताब विमोचन गर्ने सोच थियो । यद्यपि यो सोच पूरापूर 'फ्लप' भएर थान्को लाग्न पुग्यो । त्यो बेग्लै कुरा भयो ।

सांग्रिला बुक्सको बिक्री कक्षअगाडि सँगै चिया पिएर मणि शर्मा, सङ्गीत श्रोता र हरि रोकासित छुट्टिएपछि म नारानघाट फर्किने हतारमा थिएँ । साथमा हुनुहुन्थ्यो रेशम विरही ।

रेशम सरसित गफिँदै रत्नपार्क आइपुग्दा श्यामल दाजुसित भेट भयो ।

'गणेशमानको सालिकनेरै मणि थापाहरूको कार्यक्रम भैराछ, पाँच मिनेट त्यहाँ सहभागी हुनु नि !' उहाँले यसो भनेपछि कलंकीतिर लाग्नुअघि त्यतै सोझिएँ ।

हातमा मार्कर र भित्तामा टाँगेको सेतो ब्यानरका साथ साथीहरू उभिरहेका थिए । नेपालमाथि भइरहेको भारतीय हस्तक्षेपको विरुद्ध ब्यानरमा कविता लेख्ने कार्यक्रम ! बडा रोचक लाग्यो यो तरिका । मधेसको मुद्दा लिएर चलिरहेको आन्दोलनमा भारत अनपेक्षित रौद्र मुद्रामा प्रकट हुनु नेपालीहरूलाई मन पर्ने कुरो थिएन । सो, म पनि भारतीय रवैयाको विरोधी थिएँ, अझै छु । त्यसो त नेपालप्रति भारतको मिचाहा व्यवहार अहिलेमात्र होइन पटकपटक सतहमा देखिने गरेको हो । आज र अहिले देखिएका चुनौतीको जिम्मेवार ठानेर भारतको एकोहोरो विरोध गर्नुमा मेरो रुचि होइन । हाम्रो प्रतिरोध सिमानामा भएको नाकाबन्दीसित मात्र जोडिएर आउनु केवल आलंकारिक विरोध हो । मलाई लाग्छ, हाम्रो विरोध सबै असमान सन्धि र सम्झौताको जरासम्म पुगेको हुनुपर्छ । नेपालको अर्थतन्त्र र संस्कृतिमाथि हुँदै आएको भारतीय निर्भरता र अतिक्रमणको शिर पुछारसम्म पुगेको हुनुपर्छ ।

मणि थापा, नाम सुनेका तर अहिलेसम्म नभेटिएका पात्र । यिनलाई नदेखे पनि यिनका रगत उमाल्ने रचनासित म सानैदेखि परिचित छु ।

कुरा गरेर अलमलिने समय थिएन । उनैसित मार्कर मागेर फटाफट लेख्न थालेँ—

'यो मुलुक

तिम्रा स्वार्थहरू बुर्कुसी मार्ने मैदान होइन

हाम्रा सपनाहरूको फसल पकाउने

स्वर्णभूमि हो ।'

लेखिसकेपछि देखेँ, मेरो लेखोटको बायाँपट्टि कवि श्यामलका सुन्दर अक्षरहरू । त्यहाँ लेखिएको थियो—

'सानै भए पनि

आमा आमा नै हो

बुझ् मेरो हिमालयले सिँचेको छ

तेरो विशालतालाई ।'

ब्यानर करिबकरिब भरिएको थियो । मेरो कविताको ठिक मास्तिर कथाकार मातृका पोखरेलको हस्ताक्षर देखेँ । अरू थुप्रै छोटाछोटा अभिव्यक्ति र हस्ताक्षरहरू थिए । उभिएर पढ्न भ्याइन, चलेँ ।

कलंकी आइपुग्दा धनगढीको बस भेटियो । हिँड्ने बेला सानो साँझ पर्दै थियो । बसको हुडमाथि बसेर नारानघाट आउँदै गर्दा सोचिरहेँ— चितवनमा पनि यस्तै केही गर्न पाए !

२०५८ सालदेखि लगातार चितवनमा छु । यहाँको साहित्यिक गतिविधिमा घुलमिल भएर चितौनिया भइसकेको नै एक जुग भइसक्यो । आजको वैश्विक माहोलमा सारै घरेलु भएर सोच्नु सायद आफैंलाई घेरो लगाएर भित्र पार्नु हो । तर घेराहरू जरुरी पनि रहेछन्, केही निश्चित प्रकारका काम निप्ट्याउन । स्थानको घेरो, विचारको घेरो अथवा मित्रजनहरूको घेरो । म पनि हुन्छु यस्ता घेराभित्र । किनभने सबै त म होइन ! हुन सक्दिनँ । म निश्चित केही हुँ । निश्चित केही गर्न सक्छु ।

व्यक्ति, पहिले आफू उभिएकै परिवेशमा सोच्छ, आफूले लिएकै विचारमा सोच्छ । स्वाभाविक हो, म पनि त्यसरी नै सोच्छु ।

...

चौबीस कोठीस्थित चार वटा गैंडाका टाउकाको ट्राफिक आइल्यान्डलाई हाफ सर्कलमा फनक्क घुमेर कलेज पुग्दा स्थिति केही अप्रिय थियो । कलेजको 'वर्किङ डे'मा अनुपस्थित भएको भन्दै प्रशासनले मेरो तलब काट्ने भनेको रहेछ । एकाउन्ट सेक्सनकी साथीले भनिन्, 'तपाईं विनासूचना जान नहुने !' मैले गरेको सूचना एसएमएसमा थियो । शनिबारै फर्किन्छु भन्ने आशयको । तर भ्याइएन । आइतबार राति बल्ल फर्किएँ । सोमबार जितिया पर्वको बिदा भइगो । र, पुगेँ मंगलबार ।

परीक्षाको लागि भनिएको घोषित छुट्टी ब्रेक गर्दै कलेजले बोलाएको थियो हामीलाई । परीक्षा सरेको भन्दै । र, परीक्षा नदीईकनै उपल्लो कक्षाको कोर्स पढाउन भनिएको थियो । विद्यार्थी पासै नभई नयाँ कक्षामा पढिरहेका थिए । यो आफैंमा अचम्मलाग्दो लाग्थ्यो ।

सात वर्षदेखि कार्यरत रहेको संस्थाले जम्मा चार दिनको अनुपस्थितिमा मेरो 'हैसियत' देखाइदिएको थियो । धिक्कारै हो यो पनि ! बडो नमज्जा लागेको थियो । चार दिनको तलब त के ठूलो कुरा थियो र ? प्रश्न एउटा निजी संस्थामा व्यक्तिको आत्मसम्मानको थियो । त्यस्तो कुनै लिखित वा मौखिक आधारविना साँधिएको पूर्वाग्रहको थियो ।

भनेँ, 'आजसम्म न नियुक्तिपत्र, न कुनै लिखित, मौखिक जानकारी । न बिदाको, न बिदा नबसे प्राप्त हुने भत्ताको स्पष्ट व्यवस्था । केको आधारमा काट्ने तलब ? आधार खोइ ?'

यहाँ पनि प्रतिरोधमै रहेछु म । सोचेँ, प्रशासनको आवेशको भनाइ होला यो । एक्सनमै जाने भएछ भने लडौंला आत्मसम्मानको लडाइँ । त्यतिन्जेल धैर्य लिऊँ !

मुखले धैर्यको गान्धिपाठ गरे पनि मनमा आन्दोलन कायम थियो । तीन सय पचास रुपियाँ तिरेर राखेको पेट्रोलको किफायत गर्दै अन्त कतै नलागी घर फर्कें । अब व्यक्तिगत आत्मसंघर्षको तापले काठमाडौंदेखि सोच्दै आएको कविताको आन्दोलनलाई दोस्रो प्राथमिकतामा राख्दिएको थियो ।

भोलिपल्ट । असोज २० गते ।

फेसबुकका वालमा आक्रोश पोख्ने र कविता पोस्ट गर्ने काममा चितवनका साथीहरू पनि अगाडि नै थिए । तर भारतीय हस्तक्षेपविरुद्ध प्रकटमै कुनै प्रतिरोध सभा गर्ने कुरा कतै देखिएन । आफैंलाई हे¥यो, तलब काट्ने धम्की दिइरहेको कलेज प्रशासन नै हाबी भएको रै'छ दिमागमा । थेत् ! के भा'हो मलाई ?

लक्ष्मीप्रसाद देवकोटाको 'वीरहरू' निबन्धको एउटा वाक्य सम्झिएँ । 'सत्तरी रुपियाँको जागिर जाला भन्नेमा सत्तरी हजार नसा काँप्तछन् ।' नसा कँपाउने मान्छे त होइन म !

आऽऽ जे त होला ! अब कविताले प्रतिरोध नगरी हुन्न । त्यो पनि सडकमा । निश्चय आयो ।

आगोमा खाना पकाउन थालेको तेस्रो दिन । आँखाभरि पिरो ठोसिएको थियो धुवाँको । मधेसमा आन्दोलनको राप कति होला, जति मेरो भान्सामा थियो ! केटाकेटीलाई समयमै स्कुल पठाउन पनि आत्थुआत्थु भइरहेको थियो । आन्दोलनलाई अस्त्र बनाउनेहरूको मुखौटो हेर्न बाँकी भए पनि मधेसका जनसाधारणको मानव साङ्लोलाई माखे साङ्लो भनी उपेक्षा गर्ने मनोदशामा चाहिँ म थिइनँ । स्रष्टा हुनुका नाताले मात्र होइन साहित्यिक संगठकसमेत भएकाले भारतीय हस्तक्षेपको प्रतिरोधमा कवितामार्फत सडकमा ओर्लने कुरा मेरो निकट कार्यसूचीमा थियो ।

चल भाइ, अब ढिलो भइसक्यो ! मनले भन्यो । र, कवि सुमनराज श्रेष्ठसित सल्लाह गरेँ, 'प्रलेसको ब्यानरमा सडक कविता कार्यक्रम गर्ने कि ?'

कविले उत्साह थपिदिए, 'सकिन्छ । तर तयारीको समय राख्नुपर्छ ।'

राष्ट्रिय राजनीतिको मदानी अर्कै स्वरले गडगडाउन थालेको स्पष्ट भएपछि म झन् आत्तिएँ, 'हैन, कार्जे त छिट्टै निप्ट्याउन परो !'

...

विगत अढाइ वर्षदेखि प्रगतिशील लेखक संघ, शाखाको नेतृत्व गरिरहेछु । स्वाभाविक थियो, यसैको ब्यानरमा कार्यक्रम गरौं भन्ने । तर फेरि लाग्यो, उस्तै प्रकृतिको अर्को संस्था छ साहित्य संगम चितवन । संयुक्त कार्यक्रम गर्दा प्रभाव फरक हुन सक्छ, तरंग अलि ठूलो र व्यापक हुन सक्छ । संगमका अध्यक्ष द्वारिका नेपाललाई फोन गरेँ । उनले सहजतापूर्वक सहमति जनाए ।

हामीले एक बुँदे सहमति ग¥यौं— २४ गते, ४ बजे, नारानघाटको लायन्सचोकमा सडक कविता कार्यक्रम गर्ने ।

डन !

सुमनराज श्रेष्ठ ब्यानर डिजाइनर पनि हुनुको सजिलो, तु उनलाई अनुरोध गरियो । यता फेसबुकमा मैले सार्वजनिक निमन्त्रणा गर्दै स्ट्याटस राखेँ, 'प्रलेस र संगमको संयुक्त आयोजनामा सडक कविता पर्सि आइतबार ।' उत्तिखेरै कवि भूपिनले कमेन्ट लेखे, 'राम्रो, तर अक्षर समूहसित पनि सल्लाह ग¥या भए !'

कसैलाई अलग्याउने सोच पटक्कै थिएन । सामान्यतया प्रतिरोधको संस्कारमा वामपन्थीहरू अघि हुनुको परिणाम थियो यो । तर साथीहरूले अलग पारिएको महसुस गरे । मलाई झन्डै अपराधबोध भयो । सबैथरीले मिसाउने स्वरमा आग्रह अलगअलग होलान् तर तत्कालको एकताको पनि त आफ्नै मूल्य हुन्छ ! मैले ०६२÷६३ को सडक कविता सम्झेँ । रिगल हाउसको अघिल्तिर पुल्चोकमा गरिएको कार्यक्रम । चितवनका सबै प्रकारका साहित्यिक संस्थाहरूको राजतन्त्रविरुद्धको साझा मञ्च । गणतन्त्र कविता उत्सव पनि सम्झेँ । ०६५ जेठ ३२ गते गणतन्त्रको स्वागतमा गरिएको त्यो कार्यक्रम नारानघाटको सहिदचोकमा भएको थियो, कवि प्रकाश चापागाईंको नेतृत्वमा ।

आन्दोलन र प्रतिरोधात्मक अभियानहरूमा कविताले कसरी काम गर्छ ? नेपाली कविताको इतिहासले साबित गरिसकेको छ । ०३६ सालको सडक कविता क्रान्ति, ०४६ सालको आन्दोलन कविता, त्यसपछि ०६० को आसपासबाट थालिएको प्रतिगमनविरुद्ध स्रष्टाहरूको संघर्ष हुँदै गणतन्त्र कविता आन्दोलनलाई उल्लेख्य घटना मान्नुपर्छ । सशस्त्र युद्धका क्रममा लेखिएका कविता र तिनका कवि त बन्दुकको नोक र खुकुरीको धारमै थिए । तिनले मसीले होइन आफ्नै रगतले कविता लेखे ।

सानो र सीमित गतिविधि हुने ठाउँ । कतिपय साझा स्पिरिटका कार्यक्रम साथीहरूको ऐक्यबद्धतासहित गर्नुले विशिष्ट अर्थ राख्छ । खासमा कला–साहित्यसम्बन्धी आधारभूत दृष्टिकोण नै भिन्न भएकाले साहित्यिक संस्थाहरू पनि अलगअलग रूपले स्थापित हुने हुन् । तर साझा बन्न सक्ने मुद्दामा ऐक्यबद्ध हुनुले एक–अर्काप्रतिको सम्मान र सहकारीताको भाव विकास गर्छ । यस्तो वातावरण पनि हुनुपर्छ साहित्यमा । म यसको विपक्षमा हुने कुरै थिएन ।

द्वारिकाजीको पहलमा भएको छलफलपछि दुईबाट सात हुँदै अन्ततः २० वटा संस्था आयोजक हुने भए ।

मलाई संयोजक भनिएको थियो । द्वारिका र चिसापका सुरेन्द्र अस्तफल सहसंयोजक ।

असोज २४ गते चार बज्दा नबज्दै लायन्सचोकमा भरिएका कविहरू तीन घन्टासम्मै कटिबद्ध भएर उभिए । गीतकार प्रेमविनोद नन्दनलाई सभाध्यक्ष राखियो । सञ्चालन मैले गरेँ । गोविन्दराज विनोदी, इन्द्र रेग्मीदेखि कपिल अज्ञात, खनाल रेवतीरमण, भूपिन, प्रकाश चापागाईं, प्रभाकर पण्डित, सुमनराज श्रेष्ठ, सुदेश सत्याल, पुष्प अधिकारी, गोर्खे साइँलो, अजिता अधिकारी, लेखराम सापकोटा, हीरा लामा, उषा तिवारी, गंगा लामिछाने, आदर्श सुशील, विमर्श कँडेल, सुमन मुस्कान, मीनराज बसन्त, मुक्त उदाससम्मका सिर्जनाले नेपालको स्वाधीनता र सार्वभौमसत्तामाथिको भारतीय हस्तक्षेपको विरोधमा स्वर दिए । बहराइनमा बस्ने कवि चन्द्र गुरुङ र भारत, सिलिगुडीका कवि राजा पुनियानीका कविता पनि पढिए । राजेन्द्र घायलको गीतले सडकको घनत्वलाई एकाएक ध्यानाकर्षण गराउन र ताली बजाउन बाध्य तुल्यायो । नमुना शर्मा अलि ढिलो आइन्, नभए गीतको तातो माहोल बनाउन उनी पनि कम होइनन् । रमेश प्रभात हतारैमा फर्किएछन् र फेसबुकको वालमा राखेछन् 'गजल सडकमा वाचन गर्न नपाएको' भन्दै ।

गोर्खे साइँलोको प्राविधिक सहयोगका कारण कार्यक्रम बीचैमा अवरुद्ध हुन पाएन । टेन्ट हाउसका सञ्चालकसमेत रहेका प्रभाकर पण्डितले पनि उसैगरी आभारी बनाए ।

यद्यपि, आन्दोलनका कविता कलाले कमजोर पनि हुन सक्छन् । ती ठाडा र आक्रोशसहितका बढी हुन्छन् । तर तिनमा शब्दको मिहिन सौन्दर्य र लिपपोत खोज्नु ठिक लाग्दैन । सामान्यतः तिनमा जनमानससम्म पुगेर निश्चित काम गरेर फर्कने शक्ति हुनुपर्छ । त्यस अर्थले पनि 'सडकमा कविता' एउटा सफल कार्यक्रम भयो भन्ने ठान्छु । सहभागिता र ऐक्यबद्धताका हिसाबले यसको आफ्नै ऐतिहासिकता रहनेछ ।

प्रतिरोध निश्चित दिनको या समयको कुरामात्रै होइन । जीवनमा होस् या लेखनमा, प्रतिरोधको चेतना जहिल्यै जरुरी छ । यसले आँखालाई चनाखो र विवेकलाई जागै राखिरहन्छ । 'सडकमा कविता' सकिँदा नसकिँदै देशको राजनीतिले अलिकति 'ट्विस्ट' गरिसकेको थियो । हामी सबै छुट्टिएर घर फर्कियौं । नवनिर्वाचित प्रधानमन्त्रीलाई दक्षिणी छिमेकीले उत्तिखेरै बधाई दियो रे । भ्रमणको निम्तो पनि दियो रे । पछि सुनियो ।

प्रतिरोधको चेतना जागै छ । सकिएको छैन यसको मौसम ! जीवनमा पनि । कवितामा पनि ।

प्रकाशित: २९ आश्विन २०७२ २१:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App