८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्य

अक्षर अंकुराएको बेला

वास्तवमा ती अक्षरहरू नै थिए, मसिना फन्टमा उतारिएका । जसले मानिसको दिमागमा बिस्तारै कम्पन पैदा गथ्र्यो । समाज र जीवनप्रति अति सामान्य सोच, जीर्ण पोस्चरमा निरीह बाँचिरहेका ग्रामीण हृदय झंकृत हुन थाल्थ्यो । त्यो झंकार सारंगी, मुर्चुंगाको भन्दा भिन्न तर गाढा थियो, किनभने त्यहाँ अक्षरहरू थिए ।


मानिसहरू महसुस गर्दै थिए, अँध्यारो गुफाजस्तो जीवनमा पिन–प्वाइन्ट उज्यालो कहीँबाट चुहिरहेछ । ती साँच्चै आह्लादित थिए । जस–जसले पहिलोपल्ट शीत टल्किरहेको धानको बिउभन्दा नरम अक्षरलाई बिस्तारै सुमसुम्याएका थिए । जीवनमै पहिलोपटक सबभन्दा प्रिय वस्तु हात परेकोमा सानो बालकझैं मुस्कुराएका थिए । पटपटी चिरिएका खस्रा हातले टलक्क टल्किएका ग्लसी पानाहरू ओल्टाइपल्टाई गर्थे । चित्र र तस्बिरहरू हेर्थे । अनि सशंकित आँखाहरू चारैतिर डुलाएर हतारहतार बुइँगलमा लुकाउँथे र खेततिर दौडिन्थे । दिनभरि तिनको मन एकतमास भइरहन्थ्यो । कसैले घरको बुइँगलसम्म आँखा उठाएर त हेरेन होला । त्यसपछि अँध्यारोको काखमा फलामको टुकीको सलेदो छोट्याएर धिपधिप प्रकाशमा किताबका अक्षर खुट्याउन थाल्थे । टुकीमा धुवाँका ऐँजेरु परिसक्थे । मट्टितेल सकिन्थ्यो अनि किताब फेरि बुइँगलमा धुसार्थे र सुत्थे ।

यसरी उज्यालोको किरण बिस्तारै पस्यो गाउँका मानिसहरूमा ।

स्कुलमा महेन्द्रमाला पढाइ हुने त्यो बेला समाजमा अत्यन्त सीमित रामायण हुन्थ्यो होला । त्यसबाहेक पढ्नलाई संसारमा अन्य किताब वा सामग्री होलान् ? यो कुराको ज्ञान कसैलाई थिएन । खासमा स्कुल पढ्ने नै कति नै पो हुन्थे र । 'कालो अक्षर भैंसी बराबर भएको समाजमा तब कसरी हुनु पठन संस्कृति ?' बुबा भन्नुहुन्थ्यो । राणा जुगमै जीवन खोपेको हुजरबाहरू थोरै धुलो र खरीपाटीमा के कसो गरी अवसर पाएका हुन् कुन्नि ? लेखापढी गर्नुहुन्थ्यो । छरछिमेकका मलाया भर्ती भएका छोराहरूको चिठीचपेटा पढिदिने, जवाफ लेखिदिने महाजनकोमा पच्चिसा उपलब्ध गराइदिने, गाउँका दुःखीयाहरूका लागि हस्ते लेखिदिने यस्तै केही काम गर्नुहुन्थ्यो हजुरबाहरू । सिवाय, साराका सारा गाउँ औंठाछाप । निरक्षर गाउँलेहरू चण्डाल महाजनहरूको जालमा फस्नु औंठाछाप काण्ड काफी हुन्थ्यो । १० पाथी कुहिएको कोदोमा घरबारी बन्धकी लेखेको पत्तो नपाई ती उखेलिन्थे आफ्नो जराबाट । त्यो वर्गको दबेको आवाज हमेसा सुनिँदैनथ्यो । बरु ती भासिन्थे भारतको कोइला खानी वा कतै कालापानी हेलिन्थे । ती कि त फर्कन्थे काँधमा सन्तोष रेडियो भिरेर कि उतै हराउँथे । अनि भित्रभित्रै शोकले धमिरा लाग्थ्यो तिनका आमाका छाती । दांैतरीमाझ कथाका हराएका पात्र हुनेहरू बढ्दै जान्थे गाउँमा । होइन, गाउँ नछाड्नेहरू जोतिरहन्थे हलो अरूको टारीखेतमा । झारिरहन्थे पसिना अरूकै भागमा र भर्थे माना–मुरी अरूको ढुकुटीमा । उमेरभन्दा निकै चाँडै चाउरिएका ती जवानहरू बाउ, बाजेको जुनी देखेर विरक्तिन्थे र भन्थे, 'गरिबको जुनी साह्रै नहुनी...' मात्र सुस्केरा काढ्नुबाहेक विकल्प थिएन तिनीहरूसँग । उनीहरूको सपना अलिअलि माथि उठ्थ्यो— मलाया भर्ती हुन पाए...! त्यस्तो अवसर सबैका निम्ति कहाँ थियो र !

ती किताबका अक्षरहरू नै थिए जसले मानिसहरूमा नयाँ सपनाको अंकुरण गरेको थियो ।

कोल्टिएको पिँढीबाट मानिसका सपना बिस्तारै चौडा आँगनमा फैलिँदै थिए । यसरी गाउँका जनतालाई चेतना प्रवाह गर्नुपर्छ, जीवन र समाजप्रतिको दृष्टिकोण बनाउने आधारका लागि राजनीतिक संगठन र ज्ञान दिनुपर्छ भन्ने मेरो बुबाको विचार थियो । बुबाले त्यसैको पहिलो माध्यम किताबलाई बनाउनुभयो । देशमा प्रजातन्त्र आएको झन्डै एक दशकपछि जन्मनुभएका उहाँले राणाशासन भोग्न पाउनुभएन । तर भुक्तभोगी पिताजी (हजुरबा) को मुखबाट त्यो समयकालको दमन, शोषणका बारे धेरै कुरा सुन्नुभएको थियो । पञ्चायतकालीन आफ्नो समयमा पनि राणाशैलीको व्यवहार हुने गरेको थियो । सामान्य साक्षर हजुरबा भनिरहनुहुन्थ्यो, 'एउटा भाको छोरा अरूको रगडगमा नपरोस् भनेर दुःखमा पनि पढ्न पठाएँ ।' विद्यार्थीकालमै जम्मा १७ वर्षे उमेरमा महेन्द्रमालाभन्दा अघि बढेर पहिलोपल्ट ती अक्षरहरू पढ्न पाउनुभएथ्यो । तिनै अक्षरहरूले बुबामा वर्गीयचेत भरिदियो ।

जंगलको बाटो हुँदै

२०३३ सालको कुरा थियो त्यो । उत्साहले भरिएका चम्किला आँखाहरू लिएर एक युवा पहाडी गाउँतिर छिरे । तल झापातिरबाट पाँचथरकै लिम्बा गाविसको लेकगाउँ हुँदै उनी मौवा (मेरो गाउँ) पुगेका थिए । त्यहाँको हावामा पहिलोपल्ट परिवर्तनको नौलो सुवास पुर्याएका थिए, उनले । झापाको कम्युनिस्ट मुभमेन्टसँग बुबा जोडिनुमा तिनै युवा माध्यम बने । त्यो बेला अखिल नेपाल कम्युनिस्ट (को–अर्डिनेसन कमिटी) को सदस्य बन्नु भो । त्यो क्षेत्रमै सर्वप्रथम बुबासहित जम्मा तीन जनाले मुक्तिको सपना देख्दै जोखिमपूर्ण बाटोमा पाइला राख्नुभएथ्यो । त्यसपछि पार्टीका दस्तावेज, आधारभूत पाठ्य सामग्रीहरूबाट आफूले पढ्न थाल्नुभयो । माक्र्सवादको अध्ययन गर्दै जाँदा समाजमा वर्गसंघर्ष अपरिहार्य भएको निष्कर्ष निकाल्दै उहाँ कम्युनिस्ट राजनीतिमा होमिनुभयो । बुबा प्राथमिक विद्यालय र पछि निमाविका प्रअ हुनुहुन्थो । पेसागत हिसाबले उहाँलाई जनतमाझ केही सहज थियो । जिल्लामा संगठन विस्तारको महत्वपूर्ण जिम्मेवारी त छँदै थियो । इलाम र धनकु्टाका केही इलाकासम्म पनि पुग्नुहुन्थ्यो । किताब, दस्तावेजलगायत पाठ्यसामग्री पढाउन अहोरात्र जनतामाझ खटिनुभयो उहाँ । त्यो बेला आजको जस्तो न प्रशस्त छापाखाना थियो न त फोटोकपी गर्ने सुविधा । उहाँहरू ससाना हाते पुस्तक, पार्टीको सर्कुलरलगायत दस्तावेज कार्बन राखेर रातरातभर हातले सार्नुहुन्थ्यो र जनतामाझ पुर्याउनुहुन्थ्यो । निर्दलीय पञ्चायती शासनका गुप्तचरहरूको आँखा छलेर भूमिगत संगठन विस्तार गर्नु र जनता जगाउनु चानचुने चुनौती थिएन उहाँहरूका लागि । तर 'एक जुगमा एक दिन जनताको दिन आउने छ' भन्दै उन्मुक्तिको नशा चढिसकेको उहाँ झोलाभरि किताब बोकेर जंगलै जंगलको बाटो भीरमा अडिएको झुपडीसम्म पुग्नुहुन्थ्यो ।

जनतामाझ गइरहँदा बुबालाई लाग्यो— रातभरि जाग्राम बसेर 'कन्भिन्स' गरेको भन्दा एउटा किताब पढ्न दिँदा जनतामा माक्र्सवादको दिगो प्रभाव रहन्छ । त्यसपछि तलब आएपछि बुबा धरानतिर झर्नुहुन्थ्यो । हजुरबाको पसलका सामान लैजाने बहानामा उहाँ धरान छाता चोकको पूर्वक्षितिज पुस्तक पसलबाट किताब किनेर लानुहुन्थ्यो । हाल पूर्वाञ्चलको चर्चित दैनिक 'ब्लाष्ट टाइम्स'का सम्पादक राजकुमार कार्कीहरूको थियो, पूर्वक्षितिज । केही पुस्तक दमकको प्रगति पुस्तक पसलमा पाइन्थे भने पञ्चायती शासनमा प्रतिबन्धित अत्यधिक पुस्तक विराटनगरस्थित बाजेको पुस्तक पसलबाट उपलब्ध हुन्थे ।

पोल्टाभरि किताब

पुस्तक पसलहरूबाट बुबाले लेनिन र माओका संकलित रचनाका सबै भाग, कार्लमाक्र्सको पुँजी, एंगेल्सको परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति लगायतका महत्वपूर्ण पुस्तक किनेर गाउँगाउँ पुर्याउनुभयो । सोभियत संघ विघटन हुनुअघिसम्म रादुगा प्रकाशन, मस्को तथा चिनियाँ संस्करणहरू, माओको सांस्कृतिक क्रान्ति, बोल्सेभिक क्रान्ति, फ्रान्सको अक्टोबर क्रान्ति, प्रथम तथा द्वितीय विश्व युद्धदेखि संसारभर भएका परिवर्तनकामी मुभमेन्टबारे लेखिएका इतिहासका किताब उहाँका संकलनमा थिए । विश्वभरका परिवर्तनकामी तिनै समयमाथि लेखिएका कविता, कथा तथा विशेषतः उपन्यासहरू खोजीखोजी किन्नुहुन्थ्यो । 'जनताबाट सियो पनि सित्तैमा लिनु हुँदैन' भन्ने माओको आदर्श विचारका फलोअर उहाँ बिस्तारै ऋण काढेर पनि किताब किनेर जनतालाई पढाउने ध्याउन्नमा जुट्नु भो ।

उः बेला गाडीको बाटो थिएन । दमक, धरान, धनकुटा वा इलाम जहाँको यात्रा पनि पैदल छिचोल्नुपथ्र्यो । आज उमेरले पचासको दशकबाट उकालो लाग्दासम्म हिँड्नुमा कति पनि अल्छ्याइँ नगर्ने मेरा बुबाका खुट्टा ऊ बेला मेसिनजसरी चलिरहन्थे । पातलो खिरिलो शरीर लिएर उहाँ हमेसा उस्तै जाँगर लिएर जनताको झुपडीसम्म पुग्नुहुन्थ्यो । हजुरबाले पसल बन्द गर्नु भएपछि पनि बुबालाई पुस्तक किन्न मधेस झर्नुपर्ने बहानाको कमी रहेन । अत्यधिक शारीरिक श्रमकै कारण हाम्री आमा कलिलो उमेरमै रोगी बन्नुपर्यो । ०४३ सालदेखि स्त्री रोगको समस्याले थलिनुभएपछि पटकपटक आमालाई धरान र विराटनगरका अस्पताल ल्याइरहनुपथ्र्यो । बुबा टन्न किताब किनेर बिरामीका पोल्टापोल्टा किताब लुकाएर ल्याउनुहुन्थ्यो । निकोलाई आस्त्रोभ्स्कीको अग्निदीक्षा, याङ मोको युवाहरूको गीत त्यसरी नै ढुवानी भएका थिए । ०४२ सालमा पञ्चायती शासनको प्रतिरोधमा राजधानीमा राम राजासिंहहरूले बम पड्काएको दिन बुबा धनकुटाको भेडेटारमा किताबको झोला निकै मुस्किलले पुलिसको हातबाट उम्काएर भाग्न सफल हुनुभएथ्यो ।

अनि उहाँ रुनुभयो

विश्वविख्यात आख्यानकार अर्नेस्ट हेमिङ्वेले भनेका थिए, 'किताबजति इमानदार साथी कोही हुँदैन ।' किताबविनाको कोठा आत्माविनाको शरीरजस्तै हुने कुरा पनि उहिल्यै सिसेरोले बताएका थिए । मेरा बुबाको पनि किताबप्रतिको प्रेम यस्तै अगाध थियो । उहाँले जीवनभरको कमाइ किताब किन्नमै खर्चिनुभयो । किताबमात्र किन्नकै लागि पनि पहाडी खोँचबाट धाएर सहर पुग्नुहुन्थ्यो । हजुरबाले दुःखजिलो गरेर दुई छाकको जोहो गरेको पारिवारिक हैसियतले बारम्बार किताब किन्ने पैसा जुटाउन बुबालाई सजिलो थिएन । प्राथमिक विद्यालयको शिक्षकको तलब पो कति नै हुन्थ्यो र । १ हजार ५ सय थानभन्दा बढी किताब किन्न उहाँले वर्षौंको तलब खर्चिनुभएको थियो । बरु उहाँ ब्यागका फिता चुडिएँ सिएर बोक्नुहुन्थ्यो, च्यातिएको प्यान्ट रफु गरेर लगाउनुहुन्थ्यो । फाटेको तलुवामै जुत्ता घिसारिरहनुहुन्थ्यो । तर, उहाँको ब्यागमा सधैं नयाँ किताब हुन्थे । एकपटक गाउँका एक साहु महाजनले भनेछन्, 'घुँडा टालेको प्यान्ट लाएर के फुर्ती गर्छौ जोशी ?' तर ती महोदयलाई के थाहा— संसार बदल्न टल्किने नयाँ प्यान्ट होइन विचारले भरिएको किताब काफी छ ।

त्यो बेला त्यो कुनै भेगमा सार्वजनिक पुस्तकालयको अवधारणा थिएन । तर, बुबाले निजी पुस्तकालयमा जम्मा गरेका किताब आफैं घर घरमा पुर्याएर पढाउनुहुन्थ्यो । परिवर्तनका उज्यालोले भरिएका ती किताब लुकाएरै पढ्नुपथ्र्यो । पढिसकेका किताब अरूलाई हस्तान्तरण गर्ने इमानदारी गाउँलेमा त्यो बेला थियो । पञ्चायती शासनका कारिन्दा वा गुप्तचरहरूको फेला परे कालकोठरीमा जाकिन कुनै किताबको एउटा पन्नामात्र पनि काफी थियो । निकै होसियारीपूर्वक किताब पढ्ने र आदानप्रदान गर्नुपथ्र्यो । बुबा अरूमा पनि आफूमा जस्तै इमानदारी देख्नुहुन्थ्यो । फेरि संगठनका जिम्मेवार व्यक्ति तथा कार्यकर्तालाई विश्वास नगर्ने पनि कुरा भएन । आफ्नो गाउँ छाडेर हांगुम, वलने, लिम्बा, दुर्दिम्मा, यासोक, रानीगाउँ जस्ता जिल्लाका विभिन्न क्षेत्रमा किताब पुग्थे ती किताब । भूमिगत कालको मध्यसम्म किताबहरू इमानदारपूर्वक नै जनताको हातहातमा पुगे । तर, बहुदल आउने बेला र जनयुद्ध कालमा बुबाका किताब कता पुगे कता ।

बुबाको पुस्तकालयमा पर्ल एस बकको पुलित्जर पुरस्कारद्वारा सम्मानित उपन्यास द गुड अर्थ, बीसौं शताब्दीका विख्यात लेखक लु सुनका कथाहरू, तुर्गिनेभको पिता और पुत्र, दोस्तोएब्स्कीको अपराध और दण्डलगायत किताबका हिन्दी संस्करण थिए । हिन्दी संस्करण अलिक कमले मात्र पढ्थे । लु सुनका कथाहरू, गोर्कीको आमा सबैभन्दा धेरैले पढेको बुबाको सम्झना छ । 'वामधारको विद्यार्थी राजनीतिमा आबद्ध युवाहरूले अग्निदीक्षा पढिसकेर पनि आफ्नै बुइँगलतिर लुकाउने रहर गर्थे । त्यसो हुँदा त्यसको तेस्रोपटकसम्म किनेँ होला,' बुबा सम्झनुहुन्छ । उहाँको सम्झनामा तोल्सतोयका पनि केही किताब थिए होला । नौ कक्षातिर पढ्दा सेल्फबाट झिकेर तीनपटक झम्टा मार्दा पनि मैले अपराध और दण्ड छिचोल्न नसकेर थन्क्याएकी थिएँ ।

संसारमा आज पनि निर्धाहरूमाथि शक्तिशालीहरूले युद्ध आतंक जारी छ । हाम्रा बुबाहरूले तीन दशकअघि नै 'यो अन्तिम युद्ध हो' जस्ता अन्तर्राष्ट्रिय गीत गाएर परिवर्तनको शंखघोष गर्नुभएथ्यो । त्यस्ता गीत गाउने योद्धाहरूसँग पक्कै पनि सत्ताभक्तिका गाथा हुँदैनथे । मोदनाथ प्रश्रितका देवासुर संग्रामदेखि, सञ्जय थापाका सुर्जेमानका कथाहरू, विश्वयुद्धको चित्र उतारिएको दौलतविक्रम विष्टको चपाइएका अनुहारसम्म संकलित थिए । सातकाँटी सलाइदेखि रुसी साहित्यका धेरै पुस्तक उहाँको पुस्तकालयमा थिए । उहाँसँग नभएका धेरै पुस्तकको नाम अब उहाँले भुली पनि सक्नुभयो ।

अहिले बुबाको पुस्तकालयमा मुस्किलले चार सयजति पुस्तक बचेका होलान् । पुँजी'को हिन्दी संस्करण, 'लेनिनका संकलित रचना'लगायत बचेका होलान् । पछिल्लोपटक लगेका माओका भोल्युमहरू धेरै नष्ट भएर गए ।

कहाँ गए त किताब ?

माक्र्सवाद राजनीतिक र आर्थिक रूपान्तरणको दर्शन हो । जीवनमा लागू नगरेसम्म माक्र्सवाद पढ्दैमा वा माक्र्सवादी पार्टीमा हुँदैमा कोही रूपान्तरित भएको मान्न सकिन्न । किनभने समाज रूपान्तरणका लागि पहिले आफू रूपान्तरण हुनुपर्छ । हिजोदेखि आजसम्म पनि माक्र्सवादको खोल ओढेर रातो झन्डा बोक्दैमा मानिस रूपान्तरण हुन्छ भन्ने छैन । यसरी रूपान्तरणको नाम भजाएर राजनीतिलाई व्यक्तिगत स्वार्थपूर्तिका भर्याङ बनाउनेहरू, पदलिप्सा र पैसा कमाउने भाँडो बनाउने तत्वमा हिजो पनि कम्युनिस्ट पार्टीमा हाबी थिए । सोही प्रवृत्तिका पार्टीका गैरजिम्मेवार व्यक्तिहरूको कारण बुबाका करिब सात सय वटा किताब फिर्ता भएनन् । त्यसपछि द्वन्द्वकालमै तत्कालीन नेकपा माओवादीका एक जिल्ला नेताले लगेका ३० पुस्तकमध्ये चार वटामात्र फिर्ता गरे । माक्र्स, माओ, लेनिनबारे महत्वपूर्ण किताब फिर्ता भएन भने अन्य कार्यकर्ताले लगेका सय पुस्तक पनि कसकसका हातमा पुगे पत्तो भएन । द्वन्द्वकालमा ०६९ तिर देउवा सरकारले सेना परिचालन गरेपछि सामान्य सेल्टरदातादेखि निरीह जनतासम्म सेनाको ज्यादतीमा परे । पुरानो क्रान्तिकारी भनेर चिनिनुभएका बुबालाई सेनाले 'रेड लिस्ट'मा राखेपछि उहाँलगायत गाउँका धेरै जनालाई भूमिगत हुन बाध्य पार्यो । सेनाले जुनकुनै बेला छापा मारे सिंगो परिवारलाई एकै चिहान बनाउन सक्थ्यो । त्यही जोखिमबाट बच्न हजुरबाहरूले ग्वालीमुनि खाल्डो खनेर पुरेको एक हजार थानमध्ये साउनको झरीले पाँच सय थान किताब कुहिएर गयो । जोखिमकै बीच घर फर्केर खाल्डोबाट झिकेर बचेका किताब रुँदै छानाभरि सुकाउनुभएको आमा आज पनि सम्झनुहुन्छ । 'मेरो जिन्दगीको सबभन्दा अमूल्य केही थियो भने तिनै किताब थिए,' बुबा बचेका किताब सुमसुम्याउँदै भन्नुहुन्छ ।

प्रकाशित: २९ आश्विन २०७२ २०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App