२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

पर्साको बिन्दवासिनी गाउँपालिका–१ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन तेस्रो पटक निर्वाचन प्रहरी बन्ने अभिलासासहित वीरगञ्जस्थित नारायणी रङ्गशालामा शारीरिक अभ्यासमा जुटिरहेकी छन्। ५३ वर्ष उमेर पार गरेकी तीन सन्तानकी आमा विनिन रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण निर्वाचन प्रहरी बन्न लागेको बताउँछिन्।

परिवारको बिहान–साँझको गुजारा चलाउनका लागि निर्वाचन प्रहरीमा सहभागी हुनुपरेको उनको भनाइ छ। अघिल्ला दुई निर्वाचनमा म्यादी प्रहरीको अनुभव रहेकाले यसपटक पनि छनोट हुने आशा लिएको बताइन्।

उनका तीन सन्तानमध्ये एक छोरा कक्षा ९ र एक छोरी कक्षा ५ मा अध्ययनरत छन्। अर्का छोरा सवारी दुर्घटनामा परेर ढाड नचल्ने समस्याबाट पीडित छन्। उनका पति खेतीपाती गर्दै आएका छन्। घाइते छोराको उपचारका लागि केही रकम जोहो गर्नकै लागि भए पनि निर्वाचन प्रहरी बन्न लागेको विनिनले बताइन्।

पर्सा जिल्लामा निर्वाचन प्रहरी बन्ने दौडमा विनिन मात्र होइन, ३२ वर्षीया दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि शारीरिक अभ्यासमा व्यस्त छिन्। पर्साको पोखरिया नगरपालिका स्थायी घर भएकी चमार जसरी पनि निर्वाचन प्रहरी बन्ने लक्ष्यका साथ सहभागी भएको बताउँछिन्। निर्वाचन प्रहरी बनेर देशको सेवा गर्नुका साथै केही आम्दानी हुने भएकाले सहभागी भएको उनको भनाइ छ। यसले छोराछोरीको पढाइ खर्च जुटाउन सहयोग पुग्ने अपेक्षा पनि उनले व्यक्त गरिन्।

वीरगञ्जको नारायणी रङ्गशालामा विनिन र तेतरीदेवीसँगै पर्साको बहुदरमाई नगरपालिका–९ मा बसोबास गर्ने दुई छोराकी आमा चन्द्रमादेवी पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर अभ्यासमा सहभागी छिन्। आर्थिक अवस्था कमजोर भएकाले नर्सरीमा पढ्ने छोरालाई घरमै छाडेर निर्वाचन प्रहरी बन्ने दौडमा लागेको उनले बताइन्। उनका एक छोरा कक्षा ८ र अर्का नर्सरीमा अध्ययनरत छन्। उनका पति फोहरमैला व्यवस्थापनसम्बन्धी काम गर्दै आएका छन्।

नारायणी रङ्गशालामा विभिन्न उमेर समूहका महिला तथा पुरुष निर्वाचन प्रहरी बन्ने उद्देश्यले शारीरिक अभ्यासमा सहभागी भएका छन्। तिनैमध्ये १९ वर्षीया युवती कुशुकुमारी पनि निर्वाचन प्रहरी बन्न अभ्यास गरिरहेकी छन्। फागुन २१ गतेदेखि हुने निर्वाचन सफल बनाउन र केही आम्दानी गर्न निर्वाचन प्रहरी बन्न लागेको उनले बताइन्। जेन–जी पुस्ताले निर्वाचन सफल गराउने जिम्मेवारी पूरा गर्न सहभागी भएको उनको भनाइ छ।

पर्साको बहुदरमाई नगरपालिका–७ विश्रामपुरका २४ वर्षे युवा अमृत महतो पनि निर्वाचन प्रहरी बन्ने चाहनासहित शारीरिक छनोटमा जुटिरहेका छन्। यसअघि वनरक्षक, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा जवान बन्न पटक–पटक प्रतिस्पर्धा गरे पनि सफलता नपाएको उनले बताए। एकपटक निर्वाचन प्रहरी बनेर देशको सेवा गर्ने चाहनाले सहभागी भएको र यसले भविष्यमा प्रहरी सेवामा सहयोग पुग्ने अपेक्षा रहेको उनको भनाइ छ। निर्वाचन प्रहरी बनेर स्वच्छ र पारदर्शी निर्वाचन गराउन प्रयास गर्ने उनको लक्ष्य रहेको छ।

पर्साको छिमेकी जिल्ला बाराको परवानीपुर गाउँपालिकास्थित राजपुरका १८ वर्षे विदेशप्रसाद यादव पनि फुर्सदको समय सदुपयोग गर्न निर्वाचन प्रहरीमा सहभागी भएको बताउँछन्। घरमै बस्नुभन्दा अनुभव बटुल्न र केही आम्दानी गर्न निर्वाचन प्रहरीमा लागेको उनको भनाइ छ।

सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा प्रबन्धका उद्देश्यले निर्वाचन प्रहरीका लागि आवेदन खुलाएपछि पर्सामा ठूलो संख्यामा आवेदन परेका छन्। पर्सा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ गरी २ हजार ८ सय ५२ जनाको माग गरिएकोमा नेपाल प्रहरीतर्फ ५ हजार ३ सय ९९ र सशस्त्र प्रहरीतर्फ ५ सय ७१ जनाको आवेदन परेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति उपसमितिका संयोजक सुमनकुमार कार्कीका अनुसार निर्वाचन प्रहरीमा विभिन्न उमेर समूहका महिला र पुरुषको उत्साहजनक सहभागिता देखिएको छ। छोटो अवधिका लागि भए पनि रोजगारीको अवसर सिर्जना हुने भएकाले सहभागिता बढेको उनको भनाइ छ। मधेसी समुदायका महिलाहरू पनि अवसर पाएमा जिम्मेवारी वहन गर्न सक्षम हुने उदाहरणका रूपमा यसलाई लिन सकिने उनले बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी, चारवटै सुरक्षा निकायका प्रमुखले निर्वाचन प्रहरी छनोट प्रक्रिया पारदर्शी बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएका छन्। पर्सा प्रहरीका अनुसार निर्वाचन प्रहरीमा महिला र पुरुष दुवैको सहभागिता उल्लेखनीय छ। आवेदन दिने सङ्ख्या मागभन्दा दोब्बरभन्दा बढी रहेको जनाइएको छ।

पर्सा प्रहरीका तथ्याङ्कअनुसार पहिलोपटक आवेदन दिने पुरुष ३ हजार १ सय ४७ र महिला ६ सय ३ जना छन्। यसअघि म्यादी प्रहरीको अनुभव भएका पुरुष ६ सय ८७ र महिला १ सय ५३ जनाले आवेदन दिएका छन्। पूर्व सुरक्षाकर्मीका तर्फबाट १२ जना पुरुष र विदेशी सैनिक सेवाबाट अवकाश प्राप्त १ जनाको पनि आवेदन परेको छ। सशस्त्र प्रहरी बल पर्साले पनि निर्वाचन प्रहरीमा युवादेखि अन्य उमेर समूहसम्मको आकर्षण बढेको जनाएको छ। रासस

प्रकाशित: ८ माघ २०८२ १४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App