चुरे क्षेत्रको बीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको इतिहास खोज्ने काम सुरु गरिएको छ। यसअघि तीन जना विदेशी नागरिकले अनुसन्धान गरिसकेको उक्त क्षेत्रलाई पर्यटकीय दृष्टिले पनि अगाडि बढाउन सकिने सम्भावना देखिएकाले इतिहास खोज्न थालिएको हो।
धेरै वर्षअघि मानिसले चुरे क्षेत्रलाई बासस्थान रोजेकाले विदेशीहरूले दाङको चुरे क्षेत्रमा मानव इतिहास खोजेका थिए। सोही आधारमा तुलसीपुर उपमहानगरपालिकाले पनि तुई उपत्यकामा मानव इतिहास खोज्न थालेको हो। यस क्रममा उपमहानगरपालिकाले तुई उपत्यकाको सांस्कृतिक र पुरातात्विक प्रारम्भिक सर्वेक्षण गरेको छ। सर्वेक्षणका क्रममा त्यतिबेला प्रयोग गरिएका माटाका भाँडाका टुक्रा फेला परेका छन्।
अनुसन्धानकर्ता डा. डिल्लीराज शर्मा र अशोक थारुले अनुसन्धानका क्रममा यस्ता सामग्री फेला पारेका हुन्। जुम्लिकोट, खुनखुने, नौखाने तालको डाँडो, गिढन्यासहितका स्थानबाट सामग्री संकलन गरिएको डा. शर्माले जानकारी दिए। अनुसन्धानका क्रममा प्रस्तरका टुक्रा र माटाका भाँडाका टुक्रा भेटिएकाले यो क्षेत्र ढुङ्गे युगका मानिसको बासस्थान रहेको अनुमान गर्न सकिने बताइएको छ।
गिधनिया, मझकटुवा, रनियापुर, झाँक्री ढुङ्गा, जन्ती ढुङ्गा, सीता डेहरी, जुम्लिकोट, विगुले ढुङ्गा र राजाकोट क्षेत्रमा अनुसन्धान गरिएको थियो। पूर्वी रनियापुरको देवली पुज्ने डाँडोमा प्रस्तरका तथा माटाका भाँडाका टुक्रासँगै शत्रुलाई प्रहार गर्न सकिने अग्रभाग तिखो भएका औजारसमेत भेटिएका छन्। साना चेप्टा आकारका औजारमा पनि अगाडि तिखो धार रहेको पाइएको छ।
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा अध्ययन प्रतिवेदन तयार गरिएको हो। यसअघि सन् १९७८ मा रोबर्ट एम वेस्ट, सन् १९८२ देखि १९९२ सम्म गुडरन कर्भिनस र सन् १९९२ देखि १९९५ सम्म र्याण्डी हलेण्डले यही क्षेत्रमा अध्ययन गरेका थिए। एक हप्ताको स्थलगत अध्ययनपछि प्रतिवेदन तयार गरिएको डा. शर्माले जानकारी दिए। उनका अनुसार व्यापक अतिक्रमण र प्राकृतिक प्रकोपका कारण पुर्खाले प्रयोग गरेका ढुङ्गाका सामग्री दिनानुदिन लोप हुँदै गएका छन्।
कहाँ के भेटिए ?
विदेशीहरूले विगतमा गरेको अनुसन्धानका क्रममा बराखुट्टीबाट कर्भिनसले पालिसदार प्रस्तर औजार र माटाका भाँडाकुँडा फेला पारेका थिए। यसले पछिल्लो ढुङ्गे युगको अन्तिम चरणमा मानवले माटाका भाँडा निर्माण गर्न थालेको हुन सक्ने अनुमान गरिएको छ। मझघट्वाको खुनखुन्याडाँडामा स्थानीयले भुर्की र ढुङ्गाको सिलौटो फेला पारेका थिए भने यसपटक पनि त्यहाँ खस्रो माटोका भाँडा भेटिएका छन्।
गिधन्यामा भेटिएका प्राग्ऐतिहासिक उपकरण हाल राष्ट्रिय सङ्ग्रहालयमा राखिएका छन्। त्यहाँ र्याण्डी हलेण्डले अनुसन्धान गर्दा नवपाषाणकालीन औजार फेला परेका थिए। मध्ययुगीन र पछिल्लो ढुङ्गे युगका प्रस्तर औजार पनि त्यहाँ भेटिएका थिए। पूर्वी रनियापुरको देवली पुज्ने डाँडोमा पूर्व र मध्यपाषाणकालीन औजार भेटिएको प्रतिवेदनमा उल्लेख छ। त्यहाँ कोतर्ने, छेड्ने र कलकबाट बनेका औजार फेला परेका थिए।
बराखुट्टीमा सन् १९९३ मा प्रस्तरका औजार भेटिएको उल्लेख छ। त्यहाँ नवपाषाणकाल अघिका बञ्चरा र स्टोनका औजार फेला परेका थिए। जन्ती ढुङ्गा क्षेत्र अहिले पनि देख्न सकिन्छ। प्राग्ऐतिहासिककालमा दाङ र तुई उपत्यका ताल रहेको र त्यही तालको पानीका कारण ढुङ्गा खिइएर अनौठो आकार बनेको मान्न सकिने उल्लेख गरिएको छ।
सन् १९७८ मा चुरे क्षेत्रको अध्ययन गर्दा माछा, गोही, कछुवालगायतका जलप्राणीका अवशेष फेला परेका थिए। यसले दाङ उपत्यकामा पहिले ताल रहेको पुष्टि गर्छ। चुरे क्षेत्र करिब दुई किलोमिटर चौडाइमा फैलिएको छ र दाङ उपत्यकाका चुरे शृङ्खलालाई ४० लाखदेखि एक करोड २० लाख वर्ष पुरानो मानिन्छ।
प्रचार नहुनु दुःखद्
तुई उपत्यकामा यति महत्वपूर्ण ऐतिहासिक स्थल भए पनि प्रचारप्रसार नहुनु दुःखद् भएको अनुसन्धानकर्ता अशोक थारुले बताए। ऐतिहासिक स्थल अतिक्रमणमा परे इतिहास नै मेटिने खतरा रहेकाले सरकार सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ। यस्ता स्थललाई पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव पनि दिइएको छ।
यसअघि भएका अनुसन्धानका आधारमा थप अध्ययन गरी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ। ऐतिहासिक वस्तु भेटिएका स्थानको छनोट र संरक्षणका लागि अध्ययन गरिएको र संरक्षण भए नयाँ पुस्ताले पनि अध्ययन गर्न सक्ने विश्वास लिइएको छ। तुई उपत्यकाको सभ्यता र इतिहास जोगाउन सके पर्यटकीय विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
तुई उपत्यका बबई नदीदेखि दक्षिणतर्फ पर्छ। फुलवारी क्षेत्रमा तुईखोला र आमखोली रहेका छन्। बराखुट्टी र गिधनियामा पहेँलो ग्राबेल माटो छ भने अन्य स्थानमा खुकुलो माटो पाइन्छ, जुन खेतीका लागि उपयुक्त मानिन्छ। रासस
प्रकाशित: ८ माघ २०८२ १४:४२ बिहीबार





