जबजब उत्सव मनाउने तयारी हुन्छ
ऊ आफ्नो स्पिकरको भोलुम बढाउँदै
शोकधुनहरू बजाउन थाल्छ
जब म हरियो चउर ओछ्याएर ध्यानमा बस्छु
ऊ मेरै घर–सीमानामा आउँछ
र, धुपौरोमा खुर्सानी पोलेर
मेरो घरतिर फुक्दै रमाउन थाल्छ
ऊ मेरो छिमेकी हो
हिउँदमा ऊ मेरो आँगनको घाम छेक्ने उपाय खोज्छ
बर्खामा पानी थुन्ने अभियानमा जुट्छ
अर्काको घर भाँडेर
आफू आनन्दित हुने
खै ! कुन रोगले गाँजेको छ उसलाई
सबै छिमेकीसँग वैरभाव बढाएकै छ
निहुँ खोजीखोजी सबैलाई सताएकै छ
आफ्नो अभीष्ट पूरा गर्न
केमात्रै गर्दैन उसले ?
कहिलेकाहीँ
मेरो झड्केलो छोरोलाई
मताउँछ रक्सीले बेस्सरी
र उसकै हातबाट
मेरो घरका झ्यालहरूमा ढुंगा प्रहार गराउँछ
उसको घरछेउबाटै जान्छ
मेरो घर पुग्ने बाटो
जब निरर्थक हुन्छन्
मलाई झुकाउने उसका यावत् प्रयासहरू
म हिँड्ने बाटोमा
कहिले काँडा छर्छ
कहिले खाडल खन्छ
बुझेकै छैन कि बुझ्दैन पनि
एकिनसाथ भन्न सक्तिनँ म
उसले नबुझेको एउटा सत्यचाहिँ के हो भने
आवश्यकताले बनाउने हो— बाटो
अहिले उसले छेक्ने गरेको यो बाटो
भोलि काँडाघारीमा परिणत हुन पनि सक्छ
आजित त भएकै छु
फेरि पनि रिस उठ्नुको साटो
आजकल
मलाई उसका प्रति टीठ लाग्न थालेको छ
यस्तै चाला रहिरहने हो भने
खै ! कस्तो होला उसको भविष्य ?
बिहावारीमा थपडी बजाउन
उसले कोही पनि छिमेकी नपाउन सक्छ
विपत्तिले चारैतिरबाट घेरेको बेला
गुहार दिन कोही पनि छिमेकी नआउन सक्छ
छिमेकी फेर्न सकिँदैन
यो सत्य हो
र, यो सत्य
मलाई जस्तै
समान रूपमा उसलाई पनि लागू हुन्छ
बेलैमा बुझेन भने उसले यो वास्तविकता
निश्चित छ, उसकै पनि जिन्दगी धराप हुन्छ
प्रकाशित: २९ आश्विन २०७२ २०:३७ शुक्रबार





