शताब्दीऔं पुरानो अप्ठेरो यात्रा हिँडेपछि
आफ्नो मरुभूमिको जस्तो आँखा बोकेको
अनुहार चाटेर
चुपचाप चुपचाप बसिरहेको छु म
भोलिको बाटोको प्रतीक्षामा,
कहिल्यै साथ छाडिन मैले
हिमालमा, पहाडमा, बेँसीमा, तराईमा
प्रेम, युद्घ, प्राप्तिमा,
एकनास
आफ्नो थाप्लोलाई
साइज साइजको पैताला बनाएर हिँडिरहेँ म,
हिँडिरहेँ म
सडकदेखि सदनसम्म
घरबारदेखि दरबारसम्म,
यति लामो यात्रा हिँडिसक्दा पनि
कहिल्यै भनिन मैले
आज म थाकेको छु,
उमेरभन्दा लामो यो यात्राबाट
म उपेक्षाको अग्निले पाकेको छु,
याद गर
तिम्रो प्रत्येक यात्रालाई मैले
आफू खिइनुको दुःख
च्यातिनुको पीडा
दुख्नुको व्याकरण भुलेरै
प्राप्ति प्रिय सफलताको
आँखाको ढोकामै पु¥याएको छु,
ए मेरो मान्छे !
कहाँ पुगेर टुंगिन्छ खै तिम्रो यात्रा !
भन
म तिम्रो यात्रालाई सफल बनाएर मात्रै
फुकाल्छु आफ्नो शिर
पैतालाको पहाड जस्तो बोझबाट,
र, पर्खिरहन्छु
एउटा यस्तो पर्खाइ
मानिसले जित्ने सपनाहरूको जंगलमा
घाम हराएझैं
चुपचाप बसिरहन्छु
जिजीविषाको मेलामा,
तयार गर्छु म आफ्नो थाप्लोलाई
अहंकार जस्तो मानिसका खुट्टाहरूका लागि,
किनकि
देखाउनु छ मैले हिँड्ने बाटोकै आँखामा उभिएर
भोलिको प्रिय यात्राका लागि
मेरै प्रतीक्षामा बसेको
लोभी मानिसको
मौसमी अनुहारलाई ।
प्रकाशित: २९ आश्विन २०७२ २०:३४ शुक्रबार




-600x400.jpg)
