ललितपुर—आफूलाई निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाको स्वकीय सचिव बसन्त गौतम त कहिले गृह मन्त्री बामदेब गौतमको भान्जा देव थापा बताउँदै सर्वसाधारणलाई सिंहदरबार भित्र बोलाएर ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
सर्वसाधारणलाई जागिर र सरकारी काम मिलाइदिने भन्दै करिब ५० लाख ठगी गरेको अरोपमा बालाजु गोलढुङगाका देव थापा बताउने राजकुमार चापागाइँलाई महानगरीय प्रहरी परिसर ललितपुरले विहिबार पक्राउ गरेको हो।पक्राउ परेका चापागाइँले सर्वसाधारणलाई आफू नेपाल सरकारको वरिष्ठ अधिकृत भएको बताउँदै अर्थ मन्त्रालय, कर सेवा कार्यालय र प्रधानन्यायाधीश कार्यालयमा आकर्षक जागिर लगाइदिने भन्दै ठग्ने गरेका थिए। परिसर प्रमुख एसएसपी पिताम्बर अधिकारीले चापागाइँले सर्वसाधारण ठग्न नेपाल सरकारको मुख्य प्रशासनिक निकाय सिंहदरबारकै उपयोग गरिएको बताए। 'मन्त्रालयमा र मन्त्री तथा सचिवसँग पहुँच रहेको देखाउन पीडितलाई त्यही बोलाउने गरेको अनुसन्धानमा पाइयो', उनले भने।
लालबाबु पण्डित र बामदेबको नाम तथा पदको दुरुपयोग
पक्राउ राजकुमार चापागाइँ
ठगीका लागि राजकुमार चापागाइँले पीडित रिना महर्जन र दिपा महर्जनलाई निवर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग पुल्चोक स्थित मन्त्री निवास र सिंहदरबारमा रहेको मन्त्रालयमा भेट गराएका थिए। असोजको पहिलो साता पीडित रिनालाई लिएर पण्डितको सराकारी निवासमा पुगेका चापागाइँले त्यसपछि जागिर पक्का भएको भन्दै उनीसँग सात लाख रुपैयाँ असुलेका थिए। 'मन्त्रीजीले सरकारी जागिरका लागि त लोकसेवा पास हुनुपर्छ मात्र भन्नुभयो', रिनाले भनिन्।
उनका अनुसार दुवैजना बाहिर निस्केपछि चापागाइँले मन्त्रीले फोन गरेको भन्दै भित्र गएर फर्केपछि काम पक्का भएको बताएका थिए। चापागाइँले रिनालाई अर्थ मन्त्रालयबाट अधिकृत तहको सरकारी परिचय पत्र र सरकारी भन्दै स्कुटर र सिमकार्ड समेत उपलब्ध गराएको थिए। 'केही दिनपछि कर्मचारी सञ्चय कोषको फर्म समेत भर्न लगाएर एउटा पत्र समेत दिए तर कार्यालयमा हाजिर गराउने दिन आनकान गरेपछि शंका लागेको हो', आफु ठगीएको बृतान्त सुनाउँदै रिनाले भनिन्।
रिनालाई जस्तै दिपालाई पनि सँगै लिएर चापागाइँ पण्डितले सम्हालेको सामान्य प्रशासन मन्त्रालय पुर्याएका थिए। मन्त्री बाहिर भएका कारण उनले कार्यालयको मन्त्रीको प्रतिक्षा कक्षसम्म दिपालाई पुर्याएर बाहिर निकालेका थिए। दुवैजना बाहिर निस्कदा भेटिएका मन्त्री पण्डितसँग हात मिलाएका चापागाइँले दिपालाई आफु गृहमन्त्री बामदेवको भान्जा भएको अब मामालाई पण्डितले खबर गरेपछि आफुलाई अप्ठयारो पर्ने बताएका थिए।
'अब मन्त्रीजीले मलाई केटी घुमाउछस भन्ने हुनुभयो मामालाई पनि भन्ने होला। अस्ती रिनालाई लिएर गएको थिएँ आज तिमिसँग देख्नुभयो', चापागाइँको भनाई उदृत गर्दै दिपाले भनिन्। 'हामी मोटरसाइकल स्टयाण्ड नपुग्दै मन्त्रीको फोन आयो भन्दै जानुभयो फर्कदा तिम्रो काम हुने भयो भन्दै बधाई दिनु भएको हो', दिपाले भनिन्। चापागाइँले दिपासँग पटक पटक गरि २५ लाख रुपैयाँ लिएका थिए। उनका अनुसार बुबा र केही आफन्तले समेत चापागाइँलाई सिंहदरबार भित्रै पटक–पटक भेटेर पैसा दिएका हुन्। भुकम्पका कारण घर गुमाएको र जग्गा मिचेको घटना समेत मिलाई दिने भन्दै चापागाईले उक्त रकम लिएको दिपाले बताइन्।
उच्च प्रहरी अधिकारी देखि अनुसन्धान अधिकारीलाई समेत फोन

प्रहरीले घटनाको अनुसन्धानमा रिनाको केही सहायक भुमिका हुनसक्ने भन्दै नियन्त्रणमा लिएपछि अपराध महाशाखाका ललितपुर निमित्त प्रमुख अजय खनाललाई फोनगर्दे आफु डिएसपी राजकुमार लम्साल भएको परिचय दिएर रिनाका बिषयमा सोधपुछ गरेका थिए। 'प्रयोगमा रहेका पाँचवटै नम्बर मसँग सुरक्षित थिए, डिएसपी सर भनेपछि सोही अनुसार कुराकानी गरेपनि बोलाएको ठाँउमा आएन', सई खनालले भने।
चापाइँबाट ठगीनेमा अधिकाश युवती

पहिले पनि जेल र जरिवाना
पक्राउ परेका चापागाइँ ६ महिना पहिले मात्र ठगी मुद्दामै पक्राउ परेर चार लाख जरिवाना बुझाएर छुटेका अभियुक्त हुन्। काठमाडौं जिल्ला अदालतले चापागाइँले ठगी गरेको ठहरगर्दै गत साल चैत ४ गते चार लाख रुपैयाँ जरिवााको फैसला सुनाएको थियो। सोही महिना १८ गते जरिवाना बुझाएर रिहा भएका चापागाइँ घटनाको ६ महिनापछि ठगी मुद्दामा पक्राउ परेका हुन्। प्रहरीअनुसार चापागाइँ यसअघि पनि ठगी मुद्दामै तीनवर्ष कारागार सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।प्रहरीले चापागाइँविरुद्ध ठगी जालासाझी तथा सरकारी छाप दस्तखत किर्तेमा कारवाही अगाडि बढाउने तयारी गरेको छ।
सम्झाएर पठाएको हुँः पूर्वमन्त्री पण्डित
पूर्वमन्त्री लालबाबु पण्डित
निवर्तमान सामान्य प्रशासन मन्त्री तथा एमाले नेता लालबाबु पंडितले चापागाईले एकजना युवतीलाई जागिर लगाइदिनु पर्यो भन्दै सरकारी निवासमा ल्याएको बताएका छन्। उनले सरकारी जागिरका लागि लोकसेवा पढ्न आफूले सुझाव दिएको बताए। 'धेरै मान्छे आउथे, सबैका लागि छुट थियो अब कसले के गर्यो जानकारी भएन। आएकालाई सुझाव दिएर पठाउथेँ', पण्डितले नागरिकन्युजसँग भने। युवती ल्याउने व्यक्तिको विषयमा थप जानकारी नभए पनि उसलाई सिंहदरबार क्षेत्रमा देख्ने गरेको उनले स्वीकारे।
प्रकाशित: २९ आश्विन २०७२ ०६:०२ शुक्रबार





