स्वर्णधारी सुनीलको तयारी आसन्न १२ औं दक्षिण एसियाली खेलकुदका लागि थियो। तर, स्वर्ण जित्ने आफ्नो अभीष्टलाई उनले १२ औं सागमा पूरा गर्न नपाउने भएका छन्। छिमेकी मुलुक भारतको गुवहाटी र सिलोङमा फेबु्रअरीमा हुने १२ औं सागमा कराते खेल समावेश नगरिने भएको छ। दक्षिण एसियाली ओलम्पिक काउन्सिलको आइतबार चेन्नईमा बसेको बैठकले २३ खेलको निर्णय गर्दा कराते परेन।
पदक जित्ने हिसाबले साग खेलकुद नेपाली खेलाडीका लागि 'ओलम्पिकसरह' नै हो। त्यसमा पनि तेक्वान्दो र कराते नेपाली खेलाडीले मुख्य पदक जित्ने खेलमा पर्दछ। कराते हटाइनु नेपाली खेलकुदकै लागि ठूलो घाटा भएको सम्बन्धित खेलकर्मीहरू बताउँछन्।
'सागमा कराते हटाइने खबरबाट हामी प्रताडित छौं। खेलाडीका लागि यो ठूलो घाटा हो,' निराशा व्यक्त गर्दै २०१० को ढाका सागका स्वर्णधारी सुनीलले भने, 'देशका लागि लगातार सागको स्वर्ण जित्ने चाहना थियो। त्यसैअनुरुप धेरै मिहिनेत गरेको थिएँ। त्यो पूरा नहुने भएको छ।' उनले झन्डै ५ वर्षपछि साग हुने खबरबाट उत्साहित भइरहेका आफूहरू एकाएक निराश हुनुपरेको सुनाए।
उनीसहित करातेका २२ खेलाडी राष्ट्रिय टिममा रहेर तयारी गर्दैथिए। अघिल्लो दिनसम्म कराते टोलीमा जुन उत्साह थियो, सोमबार दशरथ रंगशालाको ट्र्याकमा भेटिएका उनीहरूमा त्यो जोश थिएन। चरम निराशामा घेरिएका थिए। सधैं रंगशालाको ट्र्याकमा ८–१० राउन्ड जगिङ गर्ने उनीहरू २–३ राउन्ड गर्न पनि हिच्किचाए।
'हामीहरू एकदमै निराश छौं,' राष्ट्रिय टोलीका प्रशिक्षक तथा दोहोरो सागका स्वर्णधारी दीपक श्रेष्ठले भने, 'जुन उत्साह थियौं, आज त्यो छैन।'
दिल्लीमा गत असारमा भएको काउन्सिलको बैठकमा आयोजकको हैसियतमा भारतले २२ खेल प्रस्ताव गर्दा नै कराते समावेश थिएन। दक्षिण एसियाकै लोकप्रिय क्रिकेट हटाउनुका साथै बास्केटबल, साइक्लिङ, फुटबल, तेक्वान्दो, भलिबल, भारोत्तोलन र उसुबाट महिला इभेन्ट हटाउने प्रस्ताव राखेको थियो। नेपाललगायत अन्य राष्ट्रले कराते अनिवार्य समावेश गर्नुपर्ने र अन्यमा महिला सहभागिता हुनुपर्ने अडान राखेपछि प्राविधिक समितिले निर्णय गर्ने गरी बैठक टुंगिएको थियो। आइतबारको बैठकमा थपिएको लनटेनिससहित २३ खेल महिला/पुरुष दुवैमा हुने निर्णय भए पनि कराते समावेश भएन।
असारमै आफ्नो खेल समावेश नहुने जस्तो भएपछि करातेका खेलाडी तथा प्रशिक्षकहरूले अन्तर्राष्ट्रिय खेलकुदको समन्वयकर्ता नेपाल ओलम्पिक कमिटीमा ज्ञापनपत्र बुझाएर लविङ गर्न दबाब दिएका थिए। 'हामीलाई त्यतिखेरै चिन्तित तुल्याएको थियो। तर, तयारी बिगारेका थिएनौं। समावेश हुन्छ भन्नेमा आश्वस्त थियौं,' प्रशिक्षक श्रेष्ठले भने।
सबै देशको चर्को दबाबबीच पनि कराते समावेश नहुनु भारतीय करातेको आन्तरिक किचलो रहेको बुझिएको छ। आयोजकको आन्तरिक किचलो कारण कराते समावेश नहुँदा नेपालले भने पदक तालिकामा ठूलो हिस्सा गुमाउनुपर्ने हुन्छ।
दक्षिण एसियाली खेलकुदको ठूलो खेलमेला साग १९९९ मा काठमाडौंमा हुँदादेखि कराते समावेश थियो। आठौं साग (तत्कालीन साफ) मा नेपालले ऐतिहासिक रूपमा दोस्रो स्थान पाउँदा करातेको भूमिका महŒवपूर्ण थियो। नेपालले जितेको ३१ स्वर्णमध्ये १४ स्वर्ण करातेको थियो। तेक्वान्दोले १४ तथा बक्सिङले दुई र पौडीले एक स्वर्ण जितेका थिए। करातेमा कुल १६ इभेन्ट समावेश हुँदा नेपालले १४ स्वर्ण तथा १ रजत र १ कांस्य जितेको थियो।
सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको नवौं साफमा नेपालले करातेबाट १ स्वर्ण, २ रजत र १ कांस्य जित्यो। सन् २००६ मा श्रीलंकामा सम्पन्न १० औं सागमा करातेबाट नेपालले २ स्वर्ण, ३ रजत र ४ कांस्य भिœयायो। यसै संस्करणदेखि दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को नाम परिवर्तन गरेर दक्षिण एसियाली खेलकुद (साग) बनाइएको थियो। बंगलादेशमा २०१० मा सम्पन्न ११ औं ढाका सागमा कराते खेलाडीले सर्वाधिक ३ स्वर्ण, २ रजत र २ कांस्य जितेका थिए।
सुनील ढाका सागका तीन स्वर्णधारीमध्येका एक थिए। २८ वर्ष लागिसकेका उनी निरास हुँदै भन्छन्, 'अर्को साग हुँदासम्म यो जोश कहाँ रहला र? यो साग आउन त ५ वर्ष लाग्यो। त्यसमा पनि अर्को सागमा पनि कराते समावेश हुन्छ हुँदैन के थाहा।' उनी जस्तै सागका रजत र कांस्य पदकधारी पनि त्यही जोशका साथ राष्ट्रिय टिममा प्रशिक्षणरत थिए। तत्कालीन राखेप सदस्यसचिव युवराज लामाले कराते लगायत अन्य केही खेललाई सम्भावित पदक खेलमा राखेर निरन्तर प्रशिक्षणमा राखेका थिए। २०६८ मा भएको छैटौं राष्ट्रिय खेलकुदसँगै खेलाडीहरू राष्ट्रिय टिममा थिए।
'लामो समयदेखि राष्ट्रिय टिममा रहेकाले खेलाडीहरू खारिएका थिए। बीच–बीच उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि अनुभव बटुलेका थिए। त्यसले गर्दा यसपालि हामीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका थियौं,' प्रशिक्षक श्रेष्ठले भन्छन्, 'त्यो आशा यतिखेर निराशामा परिणत भएको अवस्था छ।' उनी आठौं र नवौंका स्वर्ण विजेता हुन्। उनी लगायत मुख्य प्रशिक्षक महेशकुमार श्रेष्ठको निगरानीमा अकबर शाह, दीपक श्रेष्ठ, छोरी डंगोल, गंगाराम महर्जन, कुशल श्रेष्ठ, किरण लामाको टोलीले झन्डै दुई दर्जन खेलाडीलाई प्रशिक्षित गराएका थिए।
गत वर्षको इन्चोन एसियाडमा नेपालको साख करातेले बचाएकाले थियो। त्यसले पनि करातेमा थप उत्साह थियो। नेपालले जितेको एक्लो कांस्य पदक करातेबाट विमला तामाङले भिœयाएकी थिइन्। उनी पनि साग खेलकुदमा स्वर्ण जित्ने अभिलाषासहित प्रशिक्षणमा थिइन्।
आफूहरूको वर्षौंको मिहिनेतलाई राज्य र सम्बन्धित निकायले खेर जान दिन नहुने बताउँछन् खेलाडीहरू। 'सागमा हामीले खेल्न नपाउने निश्चितै भयो। तर, हाम्रो मिहिनेतलाई राज्यले खेर जान नदिइयोस् भन्ने अपेक्षा गरेका छौं,' स्वर्णधारी सुनीलले भने, 'हाम्रो मिहिनेतलाई अरु अन्तर्राष्ट्रिय गेम्समा लगाइयोस्।'
प्रशिक्षक श्रेष्ठ पनि सागका लागि भनेर गरेको तयारीलाई निरन्तरता दिनुपर्ने आवश्यकता देख्छन्। त्यसले एकातिर खेलाडीलाई निराश नपार्ने र अर्कोतिर एसियाड जस्ता ठूला खेलकुदका लागि फाइदा पुग्ने उनको बुझाइ छ। भन्छन्, 'खेलाडीलाई अन्य अन्तर्राष्ट्रिय स्पर्धाहरूमा एक्सपोजर दिँदै अगाडि बढ्न सकियो भने १३ औं सागदेखि एसियाडसम्म फाइदा पुग्छ भने खेलाडीहरू पनि निराश हुन पाउँदैनन्।'
प्रकाशित: २५ आश्विन २०७२ २१:३२ सोमबार





