२० पुस २०८२ आइतबार
image/svg+xml
अन्य

समीक्षाको लोकतन्त्र

लोकतन्त्रबारे अब्राहम लिंकनको उहिल्यैको तर बहुचर्चित परिभाषा छ, जसमा उनले लोकतन्त्रलाई 'जनताको, जनताद्वारा, जनताका लागि' शासन भनेर अर्थ्याएका थिए। समीक्षाका क्षेत्रमा लोकतन्त्रको कुरा गर्दा लिंकनीय परिभाषालाई यसरी भन्न सकिएला- 'पाठकको, पाठकद्वारा, पाठकका लागि' गर्ने मूल्यांकन नै समीक्षाको लोकतन्त्र हो।यसमा सामान्य प्रतिक्रियादेखि टीकाटिप्पणी, आलोचना वा प्रशंसासमेत पर्न सक्छ। सामान्यतः समीक्षक वा समालोचक भनेको पाठकभन्दा माथिल्लो हैसियतको अर्थात् प्राध्यापक, वरिष्ठतम, विद्वानतमलाई मान्ने परम्परा छ। यस्तो अवधारणाले आम पाठकलाई समीक्षकको मान्यता दिँदैन। तर अब समय यस्तो आइसक्यो, पाठकका प्रतिक्रियाहरूलाई समीक्षाको व्यापक फलकभित्र स्वीकृति नदिई सुखै छैन। यसले व्यवहारमा पनि केही छनक दिइसकेको छ। पुस्तकले बोकेको संज्ञान, विचार वा सौन्दर्य पक्षको बोध जसरी हरेक पाठकले आफ्नै टाउकोले गर्छ, त्यसरी नै आफ्नै औंला चलाएर आजको पाठकले आफ्नो पुस्तक–मत सार्वजनिक गरिरहेको हुन्छ। प्रविधिको सुलभताले यसलाई झन्झन् सहज बनाउँदै लगेको छ।

नेपालमा अहिले पनि बहुसंख्यक पाठकहरू पाठक हुने अवसरबाटै वञ्चित छन्। जनसंख्याको ठूलो हिस्सा औपचारिक शिक्षाको उकालोमा नपुग्दै निर्दयी श्रम–बजारतिर धकेलिन पुग्छ। उनीहरूको पहुँचमा राजधानी वा मुख्य सहरहरूमा छापिने पुस्तक पुग्नै सक्दैनन्। बजारले होर्डिङ बोर्ड वा टेलिभिजन दृश्यमा विज्ञापन गरेर पुस्तक बेच्न गरेको अनेक प्रयास जारी त छ तर त्यस्ता पुस्तकभित्रको अन्तर्वस्तुले ठूलो संख्याका पाठकको सरोकारलाई बेवास्ता गरिरहेको हुन्छ। यस्तो तीतो यथार्थ हुँदाहुँदै पनि केही हजार पाठकबीच पुस्तक पुग्नु आजको सुखद समाचार हो। नाम चलेका वा चलाइएका लेखकका पुस्तक एकैपटक हजारौं मान्छेबीच पुग्दा त्यसले पार्ने प्रभाव एकै किसिमको हुँदैन। पाठकको रुचि, वैचारिक अवस्थिति, उसको सामाजिक–सांस्कृतिक चेतना आदिले गर्दा एउटै पुस्तकले फरक–फरक सन्देश दिइरहेको हुन्छ। पाठकअनुसार पुस्तक सम्प्रेषणीय र अबोधगम्य दुवै हुन्छ। अहिलेको समयमा हरेक स्वतन्त्र पाठक स्वतन्त्र समीक्षक हो। पुस्तक पढेपछि विद्वानतम वा वरिष्ठतमले जसरी अनेक अर्थमा त्यसलाई घुमाउन सक्छन्, त्यो 'खुबीलिटी' सबै स्तरका पाठकमा नहुन सक्छ। तर आफ्नो समझअनुसारको मूल्यांकन प्रत्येक पाठकले गरिरहेकै हुन्छ। हरेक पाठकको मतलाई समान मान्यता दिनु नै समीक्षाको लोकतन्त्र हो। मत बाझिन्छ भने त्यो कुन जमिनका आधारमा बाझिन्छ? खोजी हुनुपर्ने विषय यो हो। कसैले पुस्तक पढ्नै पाएका छैनन् वा पढ्ने सुविधाबाटै वञ्चित छन् भने त्यसको जडी कहाँ छ? समीक्षाको लोकतन्त्रलाई त्यही जडीले कमजोर पारिरहेको छ।

एक समय थियो, साहित्यिक पत्रिकामा प्रकाशित भएपछि मात्रै समीक्षाले मान्यता पाउँथ्यो। पुस्तक त छापियो तर समीक्षा कसले गरिदेला भनेर लेखक चिन्तामा डुब्थ्यो। छाप्नुअघि नै भूमिका लेखिमाग्न हातमा पाण्डुलिपि बोकेर कीर्तिपुरको टियु–गेट पार गर्नुपर्ने बाध्यतामा अहिलेका युवा लेखकहरू छैनन्। न त समीक्षाका लागि उपाधियुक्त विद्वानको घर धाइरहनुपर्ने परिवेश बाँकी छ। कुनै विद्वानतम व्यक्तिको भूमिका वा मन्तव्यविना पुस्तकले चर्चा नपाउला कि भनेर उदीयमान लेखकले आज चिन्तामा परिरहनु पर्दैन। अब हरेक पाठकले आफ्नो पाठकीय समीक्षा वा टिप्पणी फेसबुक–ट्वीटर वा ब्लगबाट सार्वजनिक गर्छन्। स्वतन्त्र पाठकहरू प्रायोजित रूपमा लेखिएका 'आधिकारिक' समीक्षाको समेत प्रतिवाद गरिरहेका हुन्छन्। त्यस्ता धेरै उदाहरण नेपाली साहित्यमा नयाँ हुन छाडिसके, जसमा लेखक वा स्थापित भनिने समीक्षकको 'आग्रह'लाई सामाजिक सञ्जालबाट अवज्ञा गरिएको हुन्छ। अन्य कतिपय साहित्यिक विषय पनि यतिखेर सामाजिक सञ्जालमा चर्चा बटुलिसकेपछि मात्रै प्रिन्ट मिडियामा स्थान लिन पुगेका देखिन्छन्।

केही दशकअघिसम्म शंकर लामिछानेले कसको नक्कल गरे भन्ने तथ्य थाहा पाउन पाठकले वर्षौं कुर्नुपर्थ्यो, जति बेलासम्म उनी स्थापित र मानक लेखक भइसकेका हुन्थे। देवकोटाको 'मुनामदन' नेवारी लोकगाथाबाट प्रेरित र प्रभावित रचना थियो भन्ने तथ्य बाहिर आउने बेला उनको व्यक्तित्व प्रश्न गर्नै 'डर लाग्ने' गरी अग्लो भइसकेको थियो। महेन्द्रका एकल सांस्कृतिक राष्ट्रवादयुक्त विचारलाई लोकलय दिने कविहरूमाथि समीक्षकको आँखा त्यति नै बेला पुगेन, जति बेला त्यसले आम पाठकलाई दिग्भ्रमित पारिरहेको थियो। अहिले भने तत्कालको तत्काल पाठकहरूले नै लेखकका कमीकमजोरी र शक्ति पहिल्याएका छन्। आज अखबारमा प्रकाशित भएको रचना कुन पुरानो रचनाकारबाट प्रभावित छ भन्ने कुरा पाठकले २४ घन्टा नबित्दै सार्वजनिक गरिहाल्छन्। पुस्तकको अन्तर्वस्तु मात्रै होइन, त्यसको साजसज्जाको सक्कल–नक्कलबारे पनि फेसबुक–ट्वीटरमा बहस हुन थालेको छ। समीक्षाको सत्तामा स्वतन्त्र पाठकको पनि पहुँच हुँदैनथ्यो भने यस प्रकारको बहस दुई–चार जना 'ज्ञानी' वा 'विद्वान्' समीक्षकहरूबाट मात्रै चल्न सम्भव हुँदैनथ्यो।

आज लेखकलाई प्रश्न गर्नुपर्योर भने पाठकले तुरुन्तै र दुनियाँले थाहा पाउने गरी 'मेन्सन' गर्न सक्छ। लेखकको प्रशंसा–आलोचना गर्नेहरू फेसबुक–ट्वीटरमा उसैको फलोअर्स हुन्छन्। मन पर्योी भने पर्योा, परेन भने पनि उनीहरूले त्यहीँ आलोचना लेखिदिन्छन्। आलोचना नसही लेखक हुन खोज्नेहरूको स्पेस समीक्षाको लोकतन्त्रले क्रमशः खुम्चाउँदै लगेको छ। अनि समयले समीक्षकहरूको ठूलो पंक्ति खोजिरहेको छ। फेसबुकमा हरेक दिनजसो अपलोड हुने कवितामाथि कसले टिप्पणी लेख्ने? ब्लग वा अनलाइन माध्यमहरूमा फुटकर रूपमा छापिएका साहित्यिक निबन्ध र कथाको समीक्षा कसले गर्ने? हरेक साता विमोचन भइरहेका साना–साना प्रकाशकका पुस्तक वा व्यक्तिगत प्रयासमा बजारमा पठाइएका पुस्तकको चर्चा कसले गर्ने? जिल्ला–जिल्लामा भइरहेका साहित्यिक गतिविधिको विवेचना कुन समीक्षकले गर्ने? चितवनमा पोतिएका भित्तेचित्रको सामाजिक महत्वको कसले चर्चा गर्ने? मधेसका कुना–कुनामा देखाइएका भिडियो–चित्रहरूको समीक्षा कसले गर्ने? स्कुल–स्कुलमा बच्चाहरूलाई सिकाइएका बालगीतभित्रको राजनीतिको चिरफार कसले गर्ने? कसले गर्ने? कसले गर्ने? यो कुनै एक–दुई जना समीक्षकले मात्रै गर्न सक्ने काम होइन। एक–दुई जनामा काम केन्द्रित हुनु कुुनै लोकतन्त्र पनि होइन।

हेटौंडामा बसेर लेखिरहेका गिरिजाका लम्बरी कविताको रोल–लम्बर कति हो? पुरुषोत्तम आचार्यको वाचनशीलता र विचारशीलताको मूल्य कति हो? चितवनका कवि सुमनको कवितामा घुलेको भविष्यचेतको भाउ कति हो? झापाका युवाहरूको सिर्जनशीलताको स्थान कहाँनिर छ? पोखराको दोहोरो संसारको परिभाषा गर्ने कसरी? पुरुषलाई धक्कामक्का दिइरहेका महिला कवि वा मूलधारलाई चुनौती खडा गरिरहेका उत्पीडित राष्ट्रचेती कविको दिशा कुन हो? कुनै राजकीय अनुमति नपर्खी कविताको सत्ताभित्र प्रवेश गरिरहेका दर्जनौं युवाका काव्य आवेगको व्यवस्थापन गर्ने कता हो? यस्ता प्रश्नको उत्तर न समीक्षक–समालोचक कहलिइसकेको पाको उमेरका अग्रजहरूले दिइरहेका छन्, न समीक्षाको जाँतो घुमाइरहेका आजका युवा समीक्षकले नै यसको जिम्मा लिइरहेका छन्। यतिखेर समीक्षकका रूपमा स्थापित देखिन्छन् दुई–चार जना, सिर्जनाको मूलखेत खन्नेहरू छन् सयौं! अनि एकादुई समीक्षकमा जब मूल्यांकनको सबै जिम्मा (शक्ति) थुप्रिन्छ, समीक्षक निरंकुश र आग्रही हुने सम्भावना बढ्छ, जुन अहिले भइरहेको छ। अहिले अखबारमा त्यस्ता समीक्षक सबैभन्दा बढी चल्तीमा छन्, जो नाम चलिसकेका लेखक/प्रकाशकका पुस्तकको परिचय वा विज्ञापन जस्तो केही लेखिरहेका हुन्छन्। यो समीक्षाको लोकतन्त्रको ठूलो संकट हो।

एक महिनाअघि कवि स्वप्निल स्मृतिले 'काठमाडौं र नयाँ पासवर्ड' शीर्षकको आफ्नो नयाँ कविता फेसबुकमा राख्दै त्यसमा 'कुनै प्रकाशन गृहमा दारीजुँगा फुलाएर बसेको' कविता भनेर छोटो टिप्पणी थपेका थिए। अर्थात् ठूला प्रकाशन गृहको पालो–प्रतीक्षा वा योग्यतामा नपरे पनि मुखरित हुने विकल्पहरू मान्छेले हात–हातमा लिएर बसेका छन्। यो आजको प्रविधिले उपलब्ध गराएको सुविधा हो। यसरी अभिव्यक्त हुने बानी बसिसकेको पाठक–समीक्षक वा लेखक भोलि प्रविधिलाई कसैले आफ्नै हातमा पूरै लिए पनि विकल्पका लागि संघर्ष गर्न निस्कन्छन्। केही समयअघि प्रलेस पर्वतले आयोजना गरेको कार्यक्रममा खगेन्द्र संग्रौलाले भनेका थिए, 'ठूला मिडियाले हामीलाई त्यति बेलासम्म मात्रै स्थान दिन्छन्, जति बेलासम्म हाम्रो अभिव्यक्ति स्वतन्त्रताले उनीहरूको स्वार्थमा चोट पुर्यायउँदैन। अन्यथा हाम्रो स्वर मिडियाबाट बाहिर हुन सक्छ। त्यस्तो बेला हामीले आफ्ना विचारलाई कागजमा लेखेर गोबरले भित्ता–भित्तामा टाँस्नुपर्ने हुन्छ।' अहिले नै भित्तामा गोबरले कागज टाँस्दै हिँड्नुपर्ने बेला आएको छैन। बरु सामाजिक सञ्जालका भित्तामा आफूलाई लागेका विचार टाँस्दै हिँड्ने अवसरचाहिँ उपलब्ध छ। हरेक पाठक स्वतन्त्र समीक्षक हो, हरेक समीक्षक सर्जक पनि हो। समीक्षाको लोकतन्त्र पनि यही हो र यसैलाई आत्मसात गरेर हरेक पाठकले आफूलाई समीक्षाको संसारमा हेल्नु आवश्यक छ।

हिजोजस्तो स्वनामधन्य समीक्षकको आधिकारिक निष्कर्ष पर्खेर वर्षौं बस्नुपर्ने बेला अहिले छैन। सामाजिक सञ्जालले सूचना र अभिव्यक्तिको नयाँ गणतान्त्रिक दुनियाँ सिर्जना गरेको छ। यसको सबैभन्दा शक्तिशाली चरित्र सामूहिक संवाद हो। चिठी, टेलिफोन वा इमेलभन्दा एक कदमअघि बढेर यसले एकैचोटि समूहमा विचार प्रवाह गर्छ। संसारभरि छरिएर रहेका व्यक्तिहरूबीच सूचना वा विचारलाई सम्प्रेषण गर्न सक्छ। फेसनका रूपमा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने वा आत्मप्रशंसा र व्यक्तिगत रोइलाले मात्रै ट्वीटर र फेसबुक भर्ने प्रयोगकर्ताहरू पनि नहुने होइनन्। तर पुस्तक पढ्ने प्रत्येक पाठकका लागि सामाजिक सञ्जालको प्रयोग एउटा महत्वपूर्ण माध्यम हो। आजभोलि सचेत पाठकले समीक्षाको सबैभन्दा ठूलो अधिकारको प्रयोग सामाजिक सञ्जालकै माध्यमबाट गरिरहेका हुन्छन्। समीक्षाको लोकतन्त्रलाई यतिखेर सबैभन्दा ठूलो बल सामाजिक सञ्जालले नै दिइरहेको छ।

प्रकाशित: २२ आश्विन २०७२ २२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App