तानाशाहविरुद्ध नाइजेरियाली लेखक वोले सोइन्का यसरी गर्जिएका थिए।
फ्रान्सका विद्यालयमा बुर्कामाथि लगाइएको बन्देज होस् या सुडानको डार्फर संकट। अमेरिकामाथिको तालिवानी आक्रमण या रुवाण्डाको नरसंहार।भारतको बाबरी मस्जिदको घटना या युगान्डाको इदी अमिनको सैनिक सरकार या अन्य विषय; सोइन्काले विगतदेखि नै आफ्ना तर्कहरू स्पष्ट र दृढतासाथ राखेका छन्, यस्ता थुप्रै सन्दर्भमा। उनले पछिल्ला लेक्चर सिरिजमा बोकोहरामका अमानवीय व्यवहारको कडा भर्त्सना गरेका छन्। निर्भीक सामाजिक अभियन्ताको पहिचान बनिसकेको छ, उनको।
नाइजेरियाको इबादान विश्वविद्यालयबाट ग्र्याजुएशन सकेका सोइन्काले बेलायतबाट नाटक विधामा उच्च शिक्षा हासिल गरे। पछि आफ्नै देश फर्केर अफ्रिकी नाटकको अध्ययन र मञ्चनमा लागे। १९६० मा बेलायती उपनिवेशबाट नाइजेरिया मुक्त बन्यो। स्वाधीनताको यही मर्म उने उनले 'डान्स अफ द फरेस्ट' नाटकमा। यो नाटक नाइजेरियाको पहिलो स्वतन्त्रता दिवसको उत्सवमा मञ्चन गरिएको थियो। तर यो उल्लासको वातावरण लामो रहेन। १९६६ मा इबो समुदायको बाहुल्य रहेको वाइर्फा प्रान्तले नाइजेरियाबाट अलग भएको घोषणा गर्योक। गृहयुद्ध मच्चियो। सोइन्काका समकालीन चिनुवा अचेबेले धाराप्रवाह उक्त कदमको समर्थनमा लेख्दै गरे, बोल्दै गरे। अचेबेसँग धेरै कुरामा विमति राखे पनि राज्यपक्षले वाइर्फावासीमाथि गरेको दमनको विरोध गरे सोइन्काले। यही विरोधका कारण झन्डै दुई वर्ष जेलमा जाकिए। नाइजेरियामा व्याप्त राजनीतिक भ्रष्टाचार, सैनिक शासनका ज्यादती आदिविरुद्ध उनले आफ्ना कृतिहरूमार्फत चुनौती दिइरहे। सानी आवाचाको सैनिक सरकारको त खोइरो नै खने। ज्यानकै असुरक्षा भएपछि बाध्य भएर केही वर्ष देश छोडेर अमेरिका बस्न बाध्य भएका उनले विभिन्न विश्वविद्यालयमा पनि पढाउन भ्याए।
योरुबा संस्कृतिका अनुयायीहरू पितापुर्खा, जीवित मान्छे र नजन्मेकाहरू गरी तीन तहको जीवनको अस्तित्व स्वीकार्छन्। ओगु यो जातिको इष्टदेव। ओगुले निकै जोखिम मोलेर यी तीन फरक अस्तित्वलाई जोडेको विश्वास गर्छन्, उनीहरू। सोइन्का पनि योरुबा जातिकै हुन्। त्यसैले उनका लेख र अभिव्यक्तिमा ओगुसम्बन्धी यस्ता मिथक प्रायः छुट्दैनन्। सँगसँगै बेलायती शिक्षाले उनलाई पश्चिमा संस्कृति, खासगरी ग्रिक मिथकहरूको नजिक ल्यायो। कालान्तरमा अफ्रिकी र ग्रिसेली मिथकहरूको अन्तर्घुलनसमेत गर्न सके उनले। नाइजेरियाको राजनीतिक उतारचढाव त उनका लेखनका मुख्य कच्चापदार्थ हुने नै भए। उनका सुरुका नाटकहरू हुन्, 'द स्वाम्प ड्येलर', 'द लायन एन्ड द ज्येवेल', 'म्याडमेन एन्ड स्पेसलिस्टस्' आदि। चर्चित नाटक 'डेथ एन्ड किङ्ग्स होर्समेन'मा राजाको मृत्युपछि योरुबा परम्पराअनुसार उनको घोडचढीले पनि आत्महत्या गर्नुपर्ने हुन्छ, राजाको आत्माको शान्तिका लागि। तर बेलायती उपनिवेशका प्रतिनिधि साइमनले आत्महत्याको विरोध गर्छ। पछि बेलायतबाट उच्च शिक्षा लिइफर्केको घोडचढीको छोराको प्रवेशसँगै आदिम परम्परा र पश्चिमी संस्कृतिको द्वन्द्व सतहमा आउँछ।
नाटकमा गरेको योगदानको उच्च कदर गर्दै १९८६ मा सोइन्कालाई नोबेल पुरस्कार दिइयो। नोबेल पुरस्कार पाउने अफ्रिकी मूलका पहिलो लेखक भए उनी। 'सघन सांस्कृतिक दृष्टिकोणसहित काव्यिक बान्कीमा उनी जीवन्त नाटक लेख्छन्' भनिएको थियो नोबेल कमिटीको वक्तव्यमा। यथार्थमा योरुबा संस्कृति, काव्यिक रस र नाट्यकला एकै ठाउँ मिसिएर त्रिवेणी बन्छन् उनका कृतिमा।
सन् असीको मध्यकाल। दक्षिण अफ्रिकाको रंगभेदी नीतिको सर्वत्र विरोध भइरहेको थियो। नेल्सन मन्डेलाको मुक्तिको लागि विश्वभर आवाज उठिरहेको थियो। संसार हल्लाइरहेको यो विषयले सोइन्कालाई नछुने कुरै भएन। उनले अफ्रिकी इतिहास केलाउँदै दक्षिण अफ्रिकाको रंगभेदी नीतिको विरोध र मन्डेलाको रिहाइको माग गरे नोबेल मन्तव्यमार्फत। 'दिस पास्ट मस्ट अड्रेस इट्स् पे्रजेन्ट (विगतले वर्तमानलाई सम्बोधन गर्र्नैपर्छ)' शीर्षकको त्यो भाषणको असर व्यापक रह्यो। कलामार्फत व्यक्त विचारले राजनीतिक वृत्तमा समेत चर्चा पायो केही समय।
कला र साहित्यका धेरै विधामा छरिएका छन्, सोइन्का। नाटककार तथा नाट्यकर्मी, कवि, अनुवादक, संस्मरण लेखक, सम्पादक, सिनेकर्मी आदि फराकिलो सिर्जना–वृत्त छ, उनको। संख्या थोरै भए पनि उत्कृष्ट कथा, उपन्यास र निबन्ध लेखेका छन्। 'इन्टरप्रिटर्स' उनको चर्चित उपन्यास हो। त्यसो त उनी आफूलाई उपन्यासकारका रूपमा मान्दैनन्। दुई वटा उपन्यास लेखिनुलाई उनी मात्र दुर्घटना भनी ठान्छन्। 'फरेस्ट अफ अ थाउजेन्ड डिमोन्स् : अ हन्टरस सागा' उनको अनुवाद कृति हो। 'कोंगिज हार्भेस्ट'लगायत केही सिनेमा उनकै मानसिक उपज हुन्। सोइन्काको जीवनमाथि समेत एउटा डकुमेन्ट्री बनेको छ— वोले सोयन्का : चाइल्ड अव द फरेस्ट। रेडियोका लागि नाटकसमेत लेख्न भ्याए उनले। जेपी क्लार्क, क्रिस्टोफर ओकिग्बो, चिनुवा अचेबे र सोइन्का समकालीन र नाइजेरियनका उत्कृष्ट सर्जक मानिन्छन्। 'पायोनियर क्वार्टेट' उपनामले समेत चिनिन्छन् उनीहरू। तर सोइन्का र अचेबेको प्रसिद्धि बढी छ, अन्य दुईको तुलनामा। यी दुईबीच विचारको जुहारी भने लामै चलिरह्यो। अचेबेको निधनपछिका ओविच्योरीमा उनलाई 'अफ्रिकी साहित्यका पिता' भनिएको प्रतिसमेत सोइन्काको चर्कै असहमति रह्यो। सोइन्काले नोबेल पुरस्कार पाएपछि उनीहरूबीचको असमझदारी अरू बढेको बुझिन्छ। सोइन्का भने अचेबेसँगको सम्बन्ध बिग्रनुमा नाइजेरियाकै केही साहित्यिक चाटुकारहरूको विशेष भूमिका देख्छन्।
सानो छँदा सोइन्कालाई आफन्तहरू 'एके' नामले बोलाउँथे। आफ्नो बाल्यकालबारे उनले 'एके : द इयर्स अव चाइल्डहुड' मेमोइर नै लेखेका छन्। आफ्ना बाबुका विषयमा केन्द्रित उनको अर्को मेमोइर हो, 'इसारा : द भोयाज अराउन्ड एस्से'। इसारा उनको पैतृकभूमि। योरुबा समुदायको स–सानो म्युजिम नै भन्दा हुन्छ। तीनपटक बिहे गरे उनले, कैयौं केटाकेटीका बाबु बने। तर सार्वजनिक अभिव्यक्तिमा होस् या आफ्ना कृतिमा, उनी श्रीमती र सन्तानहरूका सन्दर्भ कमै निकाल्छन्। 'यु मस्ट सेट फोर्थ एट डन'मा उनको जेलजीवनका अनुभव लिपिबद्ध छ। राजनीतिका खेलाडीहरूमाथि गरिएको चोटिलो प्रहारको एउटा नमुना यसै मेमोइरबाट—
'भर्खरै स्वतन्त्र भएको यो देशका कथित राष्ट्रवादीहरू, पाका नेताहरू र सांसदहरू सबैको धुइरो लागेको छ बेलायततिर। उनीहरूकै फूर्तिफार्ती, आडम्बरी खर्च, आयातित ढर्रा हेरीबस्न बाध्य छन्, आम जनताहरू। विडम्बना, तिनै जनताका प्रतिनिधि मान्छन्, आफूलाई। कतिले विद्यार्थीहरूलाई कोठीका दलाल बनाइसके, केही आकर्षक उपहार वा पश्चिमी छात्रवृत्तिको लोभमा। यी फिरन्ते राजनीतिज्ञहरू विशाल पार्टी आयोजना गर्छन्। उद्देश्य एउटामात्र हुन्छ— गोरी आइमाईहरूसँग समय बिताउने। अर्को विडम्बना, निरन्तर घटिरहने यस्ता अफवाहहरू गुपचुप बनाइदिन्छ बेलायती सरकार सधैं।'
बेलायती उपनिवेशबाट नाइजेरिया स्वतन्त्र भएर लामो कालखण्ड बितिसक्यो तर त्यहाँको राजनीतिक नेतृत्वका यस्तो लज्जास्पद व्यवहार भोग्न नाइजेरियालीहरू विवश छन्। अर्काको वैशाखी टेकेर लाभ लिन पल्केको हाम्रो राजनीतिक वृत्तको हकमा पनि सटीक बनिदिन्छ, सोइन्काको यो खरो टिप्पणी। भलै हाम्रा नेताहरू राजनीति सौदाबाजीका लागि बेलायतको सट्टा छिमेकी चीन र भारतको तीर्थाटन गर्छन्।
कृत्रिम कपाल अर्थात् वीग लगाएर मिलाएझैं लाग्ने घुमि्रएको, घना केशराशि अनि कपालसँगै मिल्दोजुल्दो च्युँडोभसर झांगिएको दाह्री सोइन्काको अलग पहिचान हो। जीवनका असी साउने झरी झेलिसके उनले। तर व्यस्त बाँचिरहेछन्, सिर्जनाकर्ममा। विश्वभरका विश्वविद्यालयबाट प्रवचनका लागि गरिएको अनुरोधलाई पनि उनी समय छुट्याउन भ्याउँछन्। राजधानी अवुजाको भिडभाडबाट निस्केर कहिलेकाहीँ उनी हराउँछन्, गाउँको आफ्नै भिलामा। त्यही भिलामा बसेर नाटक लेख्छन्, खेल्छन्, खेलाउँछन्। संख्याको हिसाबमा उनका नाटक धेरै छन्। तर नाटककारजत्तिकै माथि छ उनको कवि परिचय। उनका कवितामा पनि अफ्रिकी पहिचान र समाज राम्ररी झल्किन्छ। 'पोएम्स् फ्रम प्रिजन' संग्रह यसको प्रमाण हो। 'सोल्जर एन्ड सिभिलियन' उनको विद्रोही चेत उजागर गर्ने प्रतिनिधि कविता मानिन्छ। त्यसो त 'योर लजिक फ्राइटन्स् मी, मन्डेला' शीर्षकको उनको लामो कवितामा पनि मन्डेलाको योगदान र साहसको सराहना गर्दै आम मान्छेलाई रंगभेदी शासनविरुद्ध उठ्न आह्वान गरेका छन् । पहिलो प्रकाशित कविता भने 'टेलिफोन कन्भर्सेसन' हो। संवादको बाक्लो प्रयोग र नाटकीयता यो कविताका वजनदार पक्ष हो। यही कविताको जगमा उभिएर दक्षिण भारतको मलायालम भाषामा 'रेभन ब्ल्याक' शीर्षकमा लघुसिनेमा समेत बनेको छ। रंगभेदी चिन्तन बोक्नेहरू विरुद्ध गजबको व्यंग्य गरिएको यसै कविताको एक अंश यस्तो छ—
'निख्खर कालो छौ तिमी, होइन त?' उनी च्याँठ्ठिइन्
'बिल्कुलै होइन, मेरो मुखमण्डल त चकलेटी रङको छ
तर म्याडम, तपाईंले मेरो बाँकी अंग पनि हेर्नुपर्योङे नि?
हातको पन्जा, खुट्टाका कुुर्कुच्चा रसायनझैं खैरा छन्।
लामो समय भुइँमा रगडिएर होला म्याडम
मेरो चाक त कागको जस्तै कालो पो भइसकेको छ त
एकैछिन है म्याडम,'
गर्जिएको ध्वनि सुन्न उनको रिसिभर व्यग्र रहेको महसुस गर्छन् मेरा कानले।
मैले विन्ती बिसाएँ, 'म्याडम,
बरु तपाईं आफैं पो हेर्नुहुन्छ कि मेरो चाक?'
प्रकाशित: २२ आश्विन २०७२ २२:१४ शुक्रबार





