११ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

गोयाङको तिख्खर राग

'गोयाङ' (किनामा) किरात खाद्य परिकार हो। यसैको मौलिक सुगन्धलाई पहिचानको अस्त्र बनाउँदै कविता–यात्रामा निस्किएका छन्, अर्जुन खालिङ। संग्रहको आवरणमा पोतिएको रातो, निलो र पहेँलो प्राथमिक रङजस्तै अर्गानिक हो 'गोयाङ'।कविता लेखनलाई आक्रोश, सत्ता सराप, कुण्ठा, आग्रह र शक्तिको उपासनामा सीमित नराखी समस्या समाधानको सूत्रको रूपमा प्रयोग गर्न चाहन्छन्, उनी। आफ्नै भूगोल, संस्कृति, भाषा, घटना, पात्र र उम्दा अनुभवहरूलाई कविताको विषयवस्तु बनाउँदै खालिङ राई संस्कृतिका शब्दहरूलाई नेपाली शब्द भण्डारमा तत्सम् शब्दको रूपमा प्रक्षेपण गरेका छन्।

संग्रहका २५ कवितामध्ये पहिलो कविता 'एकलव्य' अर्जुनको सेल्फ पोट्रेट हो। आफू धनुर्धारी भए पनि महाभारतको 'अर्जुन'जस्तो होइन दाबी गर्छन्। बरु आधुनिक द्रोणाचार्य र अर्जुनहरूका विरुद्ध विचारको तीर चलाउने विद्रोही 'एकलव्य' भएको घोषणा गर्छन्। 'समय–सिली' कविताको 'हुँ˜˜ हुँ˜˜˜ झ्याम्–झ्याम्'लाई मौलिक किराती लय र तालका आधारमा संयोजन गरेका छन्। बिजुवालाई कचुर ताछ्न लगाउँदै अन्नबाली मात्रै होइन उत्पीडितको भविष्य पनि हेरिदिन आग्रह गर्छन्, कवि।

सीमान्तकृत, उपेक्षित र उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको अजेन्डा पुरातन दलद्वारा अस्वीकृत भएपछि 'अर्गानिक चुनाव चिह्न' खोज्नचाहिँ कवि 'छिप्पिएको तोङ्बा' पिउन पुग्छन्। वैरागी काइँलाले आधा रातमा मात्नुपर्ने, श्रवण मुकारुङको 'बिसे नगर्ची'ले बौलाउनुपर्ने र रावतले आफ्नो पनि राजधानी छ भन्न 'कीरा परेको छ्याङ' नै खानुपर्ने जस्ता रक्षात्मक कवि–कर्मबाट मुक्त हुन नसकेरै तोङ्बाको रस तान्दै 'मुक्ति' खोज्छन्, अर्जुन पनि।

उपनामबाट बोलाइने बिजमफूल, निजम, बिजमलाल, मजमलाल, गौनसे, रिजमे र ऐनेजस्ता पात्र विभिन्न सन्दर्भमा आफ्नो कथा भन्न आफैं टुप्लुक्क आइपुग्छन्। सोलुखुम्बुको जुभिङबाट 'सांस्कृतिक आत्मासातिकरण'को केन्द्र काठमाडौं आइपुग्दा 'गौनसे' उपनामबाट अर्जुन हुन पुगेका कवि भौतिक र मानसिक दुवै रूपमा बेनाम, नांगो र भोको भइसकेको पीडा बोध गर्छन्। मूल थातथलो छाडी स्थायी/अस्थायी बसाइँ सरिजानेहरूको मनोदशा उतार्न उनी समर्थ छन्।

आफ्नै छेमा (सानी आमा) 'बिजमफूल'को कारुणिक चित्रण हो, 'दुःख' शीर्षकको कविता। छेमाको टाक्सिन्डो सतगाउँलाई भीरको गौथली गुँडजस्तो देख्छन्। बालटुहुरा बिजमफूलको पति दमले, माइली छोरी र जेठो छोरो अकालमा बिते। भाइ दूधकोसीले बगायो। माइलो छोरो अरबमा 'हल्लुड'जस्तै जोतिँदैछ। 'बिजमफूल'लाई प्रतिनिधि बनाएर असंख्य दुखियाहरूको कहरपूर्ण गौथली जिन्दगीलाई कविले सार्वजनिक गरेका छन्।

'आग्रह' कवितामा किरात सौन्दर्यको वकालत गर्दै मौजुद विम्ब भण्डारमा 'सुँगुरको फिलाजस्तो गाला ताछिएर स्याप्पै भएछ' जस्ता विद्युतीय झड्कासहितको नयाँ प्रयोग थपेका छन्। प्रचलित सौन्दर्यशास्त्रको विपक्षमा चिम्सो आँखा, अर्गानिक आँखीभौं, भर्जिन परेलाको बखान गर्दै उनले 'सौन्दर्य' स्थान, समुदाय, संस्कृति र समाजसापेक्ष हुन्छ भन्ने जिकिर गरेका छन्।

'नागीजाँड', 'पर्मजाँड'को मनोवैज्ञानिक शक्तिलाई सम्झेर मासिँदै गइरहेको ऐचोपैंचोको ग्रामीण अर्थतन्त्र र संस्कृतिलाई काव्यिक स्वरूपमा पस्केका छन्। सुँगुरको मुत्रथैली 'स्याप'को बल खेलेको सुदूर विगतलाई सम्झेर बेग्लै मज्जा लिन्छन्, उनी । मलाई पनि ईर्ष्या नै लाग्छ, नोस्टाल्जिक हुनु त 'सम्झना' कवितामा जस्तो पो त हाउ गाँठे!!

बसाइँसराइँको 'घचेट्ने' तत्वले घचेटिएका पात्रहरूमा खाडीमा हातका औंला काटिएका वीरमान छन्। खरको छानोलाई 'चेदर'मा फेरे पनि गरिबीको दुश्चक्रबाट निस्कन नसकेर विदेश पठाउन छोरोको समेत पासपोर्ट बनाइदिने बिजमलाल छन्। नाबालक छोरो र ऋण छाडिजाने जीवनसंगी बिजमफूलको कठोर निर्णयमार्फत वैदेशिक रोजगारले ल्याइरहेको पारिवारिक विगठनको डरलाग्दो यथार्थ पस्केका छन्। रुखो/उदासीन/तितो/नीरस/खल्लो/नमिठो भनी हेपिएको ग्रामीण माटोलाई मोहबस पौरखले मलिलो बनाएर 'तान्ने' तŒवमा रूपान्तरण गर्ने कविको संकल्प छ।

चर्चा, पुस्तक समीक्षा, गोष्ठी र आख्यान आयोजक हुनुको प्रायोजित 'बलेसीको पानीफोके हर्कत' अर्जुनका रुचिकर विषय होइनन्। उनका कविताहरू सोलुखुम्बु वाकु गाउँमुन्तिर समथर भएर बग्ने दूधकोसीजस्तो सतहमाथि शान्त तर भित्रभित्रै बेगवान छन्। बेग पत्ता लगाउन सतहमा होइन, दरो आँटका साथ कविताको दूधकोसीभित्र पस्नैपर्छ।

पहिचान, संघीयता, स्वायत्तताको पक्षमा चोटिलो कविता बुन्नेे अर्जुन गोयाङको पनि तिख्खरै गन्ध मन पराउँछन्। संग्रहको भूमिकामा आफैंले गरेको 'दाबी'झैं पारखीका लागि 'सुगन्ध' र अरूका लागि 'दुर्गन्ध' हुन्छ, गोयाङ। 'मन नपर्नेलाई पनि एक–दुई छाक किनामा खुवाएपछि खोजीखोजी खाने बानी पर्छ।' बसन्त थापाले हिमालको पुराना कुनै अंकमा लेखेका छन्।

'गोयाङको सुगन्ध' सबैलाई मन पर्छ नै। मन पनि पर्नुपर्छ। सशक्त आर्थिक शक्ति बन्दै गरेको चीनमा करोडौं मानिस अनिकालले मरेपछि मात्रै चिनियाँको खाद्यसूचीमा हामीले अखाद्य मानेका हजारौं मेनु सूचीकृत छन्। साहित्य, कला, संस्कृति, चिन्तनजस्ता अभौतिक सम्पत्तिलाई पनि आफ्नो खाद्य मेनुभित्र ल्याउनु आजको समावेशिता र पहिचानको मर्म हो। आखिर पर्खाल लगाएपछि धेरै कुरा पर्खालबाहिरै रहन्छ नि। होइन र?

कवितामा प्रयुक्त कतिपय शब्दका फुटनोट पढेर मात्रै सिंगो कविताको मर्म बुझ्न सकिन्छ। पुस्तक आकार र कविता क्रम सानो कोठेबारी जस्तै चिटिक्कको छ। 'आग्रह' कविता भने काठमाडांैका निर्माणधीन घरजस्ता अधुरा लाग्दछन्। प्राविधिक कारणले केही कविताका हरफ छुटेको स्वीकार्छन्, अर्जुन।

पहिलो संविधानसभाले खोलेको पहिचानसहितको संघीयताको ट्र्याक भत्किएको छ। आन्दोलित छ, मधेस। केन्द्रीकृत काठमाडौं रत्नपार्कको करामत देखिसकेका अर्जुन जिरीको घुमाउरो बाटोबाट पैदल नभई जयरामघाट खण्डको छोटो सडक यात्रा हुँदै 'किरात एक्सप्रेस' चढेर छिट्टै 'किरात प्रदेश' पुग्न चाहन्छन्। भारतीय कवि अवतार पाशले भनेका छन् नि— सबैभन्दा खतरा हो सपनाको मृत्यु। अर्जुन यो खतराबाट जोगिँदै आफ्नो साझा सपनालाई मृत्युबाट बचाउन चाहन्छन्।

कृति : कविता

लेखक : अर्जुन खालिङ

प्रकाशक : चिन्डो बुक्स

पृष्ठ : ७२, मूल्य : १७५/–

प्रकाशित: २२ आश्विन २०७२ २२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App