इन्द्रले बिहे प्रस्ताव अस्वीकार गरेकाले ताराको हत्या गरेको स्विकारेका छन्। पति छमबहादुर थापासँग सम्बन्ध अघि बढ्न नसकेपछि सर्वोदय उच्चमावि, बरेङकी शिक्षिका तारा हुग्दीशिर–६ स्थित रनबहादुर पुनको घरमा डेरा बसेकी थिइन्। सोही क्रममा घरबेटीका छोरा इन्द्रले उनलाई पछ्याउन थालेका थिए।
केही महिनापहिले मात्र उनी स्थानीय पतिक शर्माको घरमा डेरा सरेकी थिइन्। पतिकको मोबाइलमा गत असोज ४ गते ताराको मोबाइलबाट 'दाइ म बिहे गरी गएँ, दुई–चार दिनमा आउँछु' भन्ने मेसेज आएको थियो। त्यसको केही दिनमै उनको शव भेटिएपछि प्रहरीले उक्त मेसेज र ताराको फोन रेकर्डका आधारमा पछ्याउँदै जाँदा इन्द्रलाई पर्वतको फलेबासबाट पक्राउ गरेको हो। हत्यापछि ताराको मोबाइलबाट आफैंले मेसेज टाइप गरेर पतिकलाई पठाएको इन्द्रले बयान दिएका छन्।
इन्द्रले तारालाई छलफलका लागि बोलाएर हत्या गरी भागेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरीक्षक चक्रबहादुर सिंहले बताए। 'बिहे प्रस्ताव नमान्दा हत्या गरेको स्विकारेको छ,' उनले भने, 'मोबाइल संवाद र एसएमएसका आधारमा इन्द्रको संलग्नता हुन सक्ने देखेपछि अनुसन्धान त्यतै केन्द्रित गरेका थियौं।' इन्द्रलाई कर्तव्य ज्यान मुद्दा चलाइने अञ्चल प्रहरी कार्यालय, बागलुङका प्रमुख एसएसपी सुवासचन्द्र चौधरीले बताए।
प्रकाशित: १६ आश्विन २०७२ २०:११ शनिबार




