३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

'पहाड र मधेशको घनिष्ठताबारे प्रचार गर्नुपर्छ'

समाजशास्त्र अध्यापन गराउँदै आएका कल्याणभक्त माथेमा तराई–मधेश मामिलाबारे जानकार मानिन्छन्। मधेशको समाज, संस्कृति र इतिहाससम्बन्धी अध्ययनमा आफूलाई केन्द्रित गरेका उनले मधेशसम्बन्धी किताब 'मधेश अप्राइजिङः दी रिसर्जेन्स अफ एथ्निसिटी' प्रकाशित गरिसकेका छन्। मधेशको सांस्कृतिक पाटोबारे शुक्रवार साप्ताहिकका लागि सुजित मैनालीले माथेमासँग गरेको कुराकानी:



मधेशी अभियन्ताले मधेशलाई भूगोलको अर्थमा व्याख्या गर्दै आएका छन्। दोस्रो जनआन्दोलनपछि मधेशमा उठेको आन्दोलनको लहरलाई तपाईंले 'रिसर्जेन्स अफ एथ्निसिटी भन्नुभयो। किन होला?

तराई–मधेशमा पहाडी, मधेशी, थारुलगायत बस्छन्। पहाडी समुदायका मानिस पुस्तौँसम्म मधेशमा बसे पनि उनीहरूलाई मधेशी भनिँदैन, पहाडी नै भनिन्छ। त्यस्तै पहाडमा पुस्तौँदेखि बस्दै आएका मधेशीलाई पनि मधेशी नै भनिन्छ। आम रूपमा मधेशी शब्दले मधेशका मैथिली, भोजपुरी, अवधी, बजिका आदि भाषा बोल्ने मानिसलाई बुझाउँछ, न कि नेपालको दक्षिणी समथल भूमिमा बस्ने नेपालीलाई। मधेशमा उठेको जनउभारलाई मैले 'रिसर्जेन्स' किन भनेँ भने त्योभन्दा अगाडि पनि भाषा, संस्कृति, संघीयताजस्ता मुद्दाका लागि मधेशी जनताले समय–समयमा आन्दोलन गर्दैै आएका थिए।

जातीय अथवा सांस्कृतिक 'इन्टिटी' भाषा अथवा धर्मका जगमा बन्छ भन्ने आम मान्यता छ। हिन्दूत्वमा गोलबन्द हुने परिवेश मधेशमा छैन। भाषामा पनि विविधता छ। यस्तोमा मधेशको पहिचान कुन जगमा निर्मित छ?

मधेशी समुदायको ठूलो हिस्सा मैथिलीभाषीले ओगटेका छन्। मैथिली सभ्यताको गौरवशाली इतिहासले मधेशलाई धेरै हदसम्म गोलबन्द गरिदिएको छ र मधेशको पहिचान निर्माण गरिदिएको छ। मधेशमा जात (कास्ट), वर्ग, विविध भाषिक समूह आदिको उपस्थिति भए पनि मैथिली सभ्यताले 'कमन सिभिलाइजेसन' र 'कमन पास्ट'को भाव मधेशी जनतामाझ विकसित गराइदिएको छ। यही जगले मधेशमा 'कमन साइकोलोजी' निर्माण गरिदिएको छ।

मैथिली सभ्यताको बढी प्रभाव रहेको भनिएको मधेशको पहिचानले भोजपुरी, अवधी, बजिका आदि भाषिक समूहलाई कसरी गोलबन्द गर्न सक्यो?

पहाडीसँगको अन्तर्क्रियाले मधेशको पहिचानलाई विकसित र बलियो बनाइदिएको हो। तराईको जुनसुकै भाषिक समूहका मानिसलाई पहाडीले मधेशी भन्थे। पहाडीले दिएको यो पहिचानलाई उनीहरूले स्वीकार गरे।

माओवादी द्वन्द्वका क्रममा मधेशी पहिचानको राजनीतिकरण भयो। ऋत्विक रोशन काण्डमा मधेशीमाथि कुटपिट भएकोजस्ता घटनाले मधेशका जनतामाझ रहेको भाषिक सीमा भत्किँदै गयो र साझा मधेशी पहिचान निर्माण भयो। र, यसले मधेशका सबै भाषिक समूहलाई गोलबन्द गर्दै गयो। कुनै बेला पहाडसँग ज्यादै गहिरोसँग जोडिएका मधेशका बासिन्दा अलग पहिचानमा यसरी आबद्ध हुँदै गए।

इतिहासमा मधेश र पहाडबीच गहिरो सांस्कृतिक सम्बन्ध थियो?

यो कुरालाई भारतका प्रकाण्ड मैथिल विद्वान्हरूले पनि स्विकारेका छन्। यतिसम्म कि सन् १५२७ मा मिथिलाञ्चलका राजा कामसनरायको मृत्युपछि मैथिली सभ्यताको केन्द्र नै मिथिलाञ्चलबाट काठमाडौँमा सरेको थियो। त्यसअघि दिल्लीका सुल्तान गयासुद्दीन तुगलकले मिथिलाञ्चलमा हमला गरेपछि मिथिलाञ्चलको राजनीतिक सत्ता कमजोर हुँदै जान थालेको थियो। हमलापछि मैथिल राजा हरिसिंहदेवले काठमाडौँमा आश्रय लिए। अप्ठेरो परेको बेला सहयोग खोज्दै उनी दक्षिण जानुको सट्टा पहाडतिर उक्लिए। यसले पहाडसँग मैथिलीभाषीको घनिष्टता उच्च थियो भन्ने देखिएको भनेर मैथिल विद्वान्हरूले पनि लेखेका छन्। मैथिलीभाषीलाई आश्रय मात्र दिएन काठमाडौँले, मैथिली भाषा र संस्कृतिको संरक्षण गर्ने र यसलाई आत्मसात् गर्ने काम पनि गर्योम।

मैथिल राजा र मैथिली भाषा–संस्कृतिलाई काठमाडौँले स्वागत गर्नुको कारण के थियो?

मल्ल राजाहरूको दरबारमा ठूला विद्वान् र पण्डित मैथिलीभाषी हुने गर्थे। कानुन बनाउँदाखेरि उनीहरूको सहयोग लिने गरिन्थ्यो। तराईका मिश्र ब्राह्मण यस मामिलामा अगाडि थिए। ज्ञान दिने यी विद्वान् गुरुलाई काठमाडौँका राजा र व्यापारीहरूले बडो आदर गर्थे। विद्वान् तथा गुरुहरूले बोल्ने भाषा भनेर उनीहरू मैथिली भाषालाई आदरका साथ हेर्ने गर्थे र यसको सिको गर्न प्रयत्न गर्थे। जसरी पछि उर्दू भाषा दरबारमा प्रतिष्ठित हुँदै गयो, 'किताब', 'अदालत', 'हुकुम'जस्ता उर्दू शब्दले दरबारभित्र मर्यादित स्थान हासिल गर्दै गए, उसैगरी मल्लकालमा मैथिली भाषालाई सम्मानका साथ हेरिन्थ्यो।

उसो भए काठमाडौँमा मैथिली सभ्यताको प्रभाव कहिलेबाट कम हुन पुग्यो?

मल्लहरूको पालामा काठमाडौँले मैथिली भाषालाई आत्मसात् गर्न र यसलाई अझ उन्नत बनाउँदै लैजान सहयोग पुर्याूएको थियो। प्रताप मल्लको पालामा काठमाडौँमा मैथिली साहित्यको विकासले गति लियो। जगज्योति मल्लले 'हर–गौरी विवाह' र बमसमरी झाले 'गीता–दिगम्बर'जस्ता राम्रा मैथिली साहित्य मल्लकालीन काठमाडौँमा बसेर लेखे। जयस्थिति मल्लले मैथिलकन्या जजलादेवीसँग बिहे गरे।

गोरखा र काठमाडौँबीचको युद्धमा गोरखा विजयी हुँदा मैथिली सभ्यता कमजोर हुँदै गयो। गोरखाको विजयपछि यो अझ कमजोर हुन पुग्यो। यसो हुनुका अन्य कारण पनि थिए। त्यतिञ्जेलसम्म तराईका कतिपय मैथिली क्षेत्रलाई सेन राजाले आफ्नो अधिराज्यमा गाभिसकेका थिए। मल्लहरूबाट गोरखाले काठमाडौँ जितेपछि काठमाडौँमा भइरहेको मैथिली सभ्यताको पुनरोत्थान पनि अवरुद्ध हुन पुग्यो।

भावनात्मक रूपले हेर्दा यो घटना दुःखान्त देखिन्छ। तर, यसलाई इतिहासको एउटा चरणका रूपमा लिनुपर्छ। त्यतिबेला पहाडी क्षेत्रमा गोरखा राज्य बलियो हुँदै विस्तार भइरहेको थियो। नेपालको दक्षिणपट्टि मुस्लिम र ब्रिटिस राज्य फैलिँदै गएको थियो। सभ्यताका रेखालाई राजनीतिक रेखाले प्रतिस्थापन गरिरहेको उथलपुथलकारी समय थियो, त्यो।

मधेशीहरूमाथि सांस्कृतिक उत्पीडन भएजस्तो लाग्छ तपाईंलाई?

इतिहासदेखिका घटना हेरिल्याउँदा हो जस्तो पनि देखिन्छ। मिथिलाको त्यत्रो गौरवशाली अतीतबारे पहाडका नेपालीलाई धेरै कम मात्र थाहा छ। काठमाडौँको नेवार संस्कृति अथवा गोरखा संस्कृतिजस्तै गरी मैथिली संस्कृतिको पनि प्रचारप्रसार हुन सकेको भए नेपाल अझ एक ढिक्का हुने थियो।

सन् १२०० देखि १५०० को बीचमा भारतवर्षमा निस्किएका धर्मसम्बन्धी किताबमध्ये अधिकांश मैथिली भाषामा लेखिएका थिए। मैथिली सभ्यताको केन्द्र आज पनि नेपालमा छ। मैथिली सभ्यताको सांस्कृतिक केन्द्र जनकपुर र राजनीतिक केन्द्र सिम्रौनगढ नेपालभित्रै पर्छ। यति हुँदाहुँदै पनि पहाडका नेपालीलाई मैथिली संस्कृतिबारे त्यति ज्ञान नहुनुमा कतै न कतै त्रुटि अवश्यै भएको छ।

यस्तो त्रुटि किन भयो होला?

इतिहास–संस्कृतिसम्बन्धी पर्याप्त ज्ञान नभएर। भारतमा ब्रिटिस आएपछि मिथिला राज्यको एउटा भाग ब्रिटिस इन्डियामा पर्यो, अर्को नेपालमा। इतिहासको सुखद पक्ष नै मान्नुपर्छ कि जनकपुर र सिम्रौनगढ नेपाल सरहदभित्र परे। त्यसको निकैपछि सन् १९४७ मा भारत राज्य खडा भयो। अहिले मैथिलीभाषीलाई भारतीय मूलका नेपाली भनिन्छ, जुन उनीहरूको अपमान हो। भारत बन्नुभन्दा निकैअघि नेपालमा आबद्ध भएका उनीहरूलाई मैथिल मूलका नेपाली भन्नुपर्छ।

र अर्को कुरा, मैथिल सभ्यतालाई हामीले बुद्ध अथवा सगरमाथाजस्तो गौरव गर्नलायक विषय बनाएनौँ। जब कि, मैथिली सभ्यताको केन्द्र नेपालमा भएकोमा गौरव गर्नुपर्ने थुप्रै विषय हामीसँग छन्।

मैथिल कवि जयदेवाले लेखेको 'गीता–गोविन्द'लाई बंगालमा प्रचलित वैष्णव सम्प्रदायमा कृष्णका अवतार भनी पुजिएका चैतन्य महाप्रभुले गाउने गर्थे, जुन सानो कुरा होइन। यो सम्प्रदायले अहिलेसम्म जयदेवाका कविता गाइरहेको छ। १३ औँ शताब्दीका मैथिली कवि विद्यापतिले कृष्ण र राधाको प्रेमबारे लेखेका कविता बिहार, बंगाललगायत उत्तर भारतमा लोकगीतका रूपमा विकसित भएका छन्, जुन दुर्लभ कुरा हो। मल्लकालमा विद्यापतिका कवितालाई काठमाडौँमा पनि प्रवर्द्धन गरिएको थियो। मिथिलाञ्चलमा विकास भएको न्यायशास्त्र दर्शनिक इतिहासकै उल्लेख्य उपलब्धि मानिन्छ। मैथिल पण्डित गणेश उपाध्यायले न्यायशास्त्रबारे लेखेको किताब 'तत्तव चिन्तामणि'ले तीन सय वर्षको अवधिमा १० लाख पृष्ठ लामो टिप्पणी पायो भनी इतिहासकारहरूले उल्लेख गरेका छन्। यति भव्य विद्वत् परम्परा भएको मैथिल सभ्यताबारे पहाडका हामी जानकार नहुनु र यसलाई गौरवको विषय नबनाउनु कमजोरी नै मान्नुपर्छ।

मधेश र पहाडलाई सांस्कृतिक रूपमा कसरी जोड्न सकिएला?

हिन्दूत्वले सक्थ्यो होला। तर, मधेश र पहाडको हिन्दू समुदायले अभ्यास गर्ने संस्कृतिमा उल्लेख्य भिन्नता छ। त्यही भएर ऐतिहासिक, राजनीतिक र शैक्षिक रूपमा मधेश र पहाडलाई जोड्ने प्रयत्न गर्नुपर्छ।

कसरी?

इतिहासमा पहाड र मधेश कसरी घनिष्ठ थियो भन्ने कुराको प्रचारप्रसार गर्नुपर्छ। पाठ्यक्रममा मैथिली सभ्यताका गौरव गर्नलायक विषय राखी पहाडका मानिसलाई यसबारे अवगत गराउने र मैथिली संस्कृतिप्रति अपनत्व महसुस गराउने काम गर्नुपर्छ। साथै, मधेशी समुदायले एक अर्ब जनसंख्या भएको भारतबाट अथवा १० करोड जनसंख्या भएको बिहारबाट भन्दा तीन करोड जनसंख्या भएको नेपालबाट धेरै ठूलो आर्थिक तथा राजनीतिक लाभ लिन सक्छन् भन्ने बुझ्नुपर्छ। नेपालमा मधेशीको जानसांख्यिक 'स्ट्रेन्थ' जुन छ, त्यो भारतमा मधेश गाभियो भने बिलाएर जान्छ।

मधेशमा विखण्डनको आवाज पनि उठिरहेको छ नि?

मधेशीले कुनै पनि हालतमा विखण्डन चाहँदैनन्। मैथिली भाषा बोल्ने धनुषाको मान्छे नेपालको राष्ट्रपति बनेको छ। अर्को तराई ब्राह्मण उपराष्ट्रपति पदमा छन्। यस्तो शीर्षस्थानमा भारतमा कुनै मैथिलीभाषी अहिलेसम्म पुगेका छन्? मधेशीले नेपालबाट हासिल गर्न अझै धेरै बाँकी नै छ।

फेरि, नेपालको पहाड मैथिलीभाषीसँग त्यति 'डिट्याच्ड' पनि छैन। इतिहासबारे कम जानकारी भएकाले अहिलेको अवस्था सिर्जना भएको हो। यसलाई सच्याउनुपर्छ। कुनै समय काठमाडौँ मैथिली सभ्यताको केन्द्र रहेको तथ्यलाई आत्मसात् गरेर काठमाडौँमा विद्यापतिको शालिक बनाउने निर्णय सरकारले अविलम्ब गर्नुपर्छ। यसले भड्किएका मधेशी युवालाई सम्हाल्छ र मधेशलाई पहाडसँग नजिक्याउँछ। प्रजातन्त्रका लागि भएका आन्दोलनमा शहादतप्राप्त पहाडी नेताका शालिक जसरी मधेशमा ठडिएका छन्, उसैगरी प्रजातन्त्रका लागि भएको आन्दोलनमा शहीद भएका मधेशी नेताका शालिक पहाडतिर बनाउने क्रम सुरु गर्नुपर्छ।

अहिले मधेशमा विखण्डनको कुरा हिजोका दिनभन्दा बढी चर्कोसँग उठेजस्तो देखिँदै छ। यसको कारण के होला?

'बार्गेनिङ'का लागि केहीले यस्तो कुरा गरिरहेका होलान्। कसैले राजनीतिक रूपमा आफूलाई स्थापित गराउन यस्तो भनिरहेका होलान्। अथवा, सैद्धान्तिक रूपमा कमजोर र इतिहास कम बुझेका समूहले यस्तो कुरा गरिरहेका होलान्। निहित स्वार्थ राख्ने समूहलाई सीमापारिबाट यसका निम्ति उकास्ने काम पनि भइरहेको होला।

तर, मलाई के लाग्छ भने मधेशीले मात्र होइन, भारतले पनि मधेश टुक्राउन चाहँदैनन्। कथम्कदाचित मधेश टुक्रिहालेछ भने नेपालको साँधसीमाको कवच बनेर चीन चुरेसम्म आइपुग्छ। हिमालपारिको चीनबाट समेत सुरक्षा 'थ्रेट' महसुस गर्ने भारतले चुरेसम्म चीन आउने माहौल बनाउला भन्ने मलाई लाग्दैन। मधेश मामिलालाई राम्रोसँग 'ह्यान्डल' गर्न सक्यौँ भने हामी उल्टो बिहार, यूपीलगायत भारतीय राज्यलाई सांस्कृतिक रूपमा प्रभावित पार्नसक्ने हैसियतमा पुग्छौँ।

तराई–मधेशमा जारी आन्दोलन गम्भीर र जटिल बन्दै गएको छ। यसलाई कसरी सम्बोधन गर्नुपर्ला?

संविधानका अन्तरवस्तुप्रतिको असन्तुष्टिले भन्दा पनि प्रहरीको बलप्रयोगले मधेशी युवा भड्किरहेका छन्। कैलाली र जलेश्वरमा जुन दुःखद घटना घट्यो, त्यसले प्रहरीलाई आक्रोशित बनाउने काम गर्योड। यसले गर्दा प्रहरी पनि कडा रूपमा प्रस्तुत भयो। यसको बदलामा आन्दोलनकारी पनि कडा हुँदै गए र अवस्था क्रमशः बिग्रिँदै गयो।

सरकारका तर्फबाट प्रधानमन्त्रीले एमाले र एमाओवादीका शीर्ष नेतालाई छेउमा राखेर तुरुन्तै मधेशका नाममा विशेष सम्बोधन गरे भने र आन्दोलनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मी तथा आन्दोलनकारीप्रति समवेदना व्यक्त गरे भने मधेशी युवा केही हदसम्म शान्त हुन्छन्। काठमाडौँले हाम्रो चिन्ता गरिरहेको छ भन्ने महसुस उनीहरूले गर्नेछन्। विद्यापति र मधेशका शहीदहरूको शालिक पहाडी क्षेत्रमा उठाउनेजस्ता 'मुभ'ले अवस्थालाई धेरै हदसम्म मत्थर पार्न सहयोग गर्ला भन्ने लाग्छ।

रह्यो संविधानका अन्तरवस्तुका कुरा। नयाँ संविधानले मधेशीका मुख्य गुनासामध्ये अधिकांशलाई सम्बोधन गरिसकेको छ। बाँकी जुन छन्, त्यसलाई पनि प्रक्रियामा आएर सम्बोधन गर्न सकिन्छ।

प्रकाशित: १४ आश्विन २०७२ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App