६ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्य

पेशा, पैसा र प्यास

मेरो जीवन एकदमै सरल थियो। अरूहरूले चाहिँ निकै समृद्ध देख्थे। अफिस आयो, गयो। साथीभाइ भेट्यो। परिवारसँग समय बितायो। मेरो जीवनको खास भन्नु केही थिएन। नेगेटिभ हिसाबमा पनि पोजेटिभ हिसाबमा पनि।नेगेटिभ हिसाबमा यो कारणले कि, मेरो जीवन र कामचाहि" अनिश्चिततातिर ढल्क्यो। म दश महिनाको करारका लागि हिमालयन बैंकको राम्रो जागिर छाडेर दश महिने करारमा जागिर खान नेपाल बैंक जानेबारे सोच्दै थिएँ।

सन्तोषं परमं सुखम् भन्ने जान्दाजान्दै पनि म जिन्दगीमा केही नयाँ अनुभव सँगाल्ने लालसाको पछि लागिसकेको थिएँ। यतिन्जेल म जहाँ थिएँ, अब्बल दर्जामै थिएँ। मसँगका साथीहरू, जो मसँगै बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए, एक–दुई अपवाद छोडेर म तीभन्दा अग्रपंक्तिमा थिएँ। मलाई आफू सफलताको चुचुरोमा छु भन्ने लाग्थ्यो। मनमा केही घमन्ड पनि थियो। पछि मैले बुझे"— यो त खालि जीवनको एक पाटोमात्र रहेछ। वास्तवमा मैले जिन्दगीलाई चिनेकै रहेनछु। म त भौतिकतामा रमाइरहेको रहेछु।

हो, मलाई उच्च भौतिकवादी बनाउने मेरो बैंकिङ जीवन नै थियो। तर म खुशी थिएँ र त्यसैमा हराइरहेको थिएँ।

उच्च भौतिक जीवनमा घर, गाडी, विदेश भ्रमण, विदेशका महँगा चश्मा र घडी अनिवार्य हुन्थे। त्यो बेला बैंकरहरू घडी, साडी र गाडीमा अति सौखिन थिए भनिन्थ्यो। हरेकले लाखौं मूल्य पर्ने महँगा घडी लगाएका हुन्थे। नयाँ मोडलको गाडी आउनासाथ फेर्न मन पराउँथे। विभिन्न खाले राम्राराम्रा साडी लगाउनेहरूसँग मित्रता हुन्थ्यो, अनेक प्रकारको। शायद म पनि त्यसको धेरै ठूलो अपवाद थिइनँ।

यौन सम्बन्धका मामिलामा त झनै खुला थिए बैंकरहरू। विवाह गरिसकेका कतिपय केटीहरूका पनि एक–दुई जना ब्वाइफ्रेन्ड थिए। केटाका त झन् बढी हुन्थे। ब्वाइफ्रेन्ड, गर्लफ्रेन्ड हुनुलाई प्रतिष्ठाका रूपमा हेरिन्थ्यो। जोडी लिएर स्वतन्त्र रूपमा घुम्न जानेदेखि सम्पूर्ण सम्बन्ध खुला रूपमा नै थाहा हुन्थ्यो। नगरकोट, धुलिखेलका होटलका कोठाहरू बैंकरहरूले भरिएका हुन्छन् भन्नेसम्मका हल्ला सुनिन्थ्यो। कतिसम्म सत्य हुन्थ्यो कुन्नि! तर भनाइ नै छ— हावा नचली पात हल्लँदैन।

मान्छे आफूले जस्तो संस्कार र आनीबानी भएका साथीभाइहरूसँग संगत गर्छ, ऊ पनि त्यस्तै हुन्छ। भनाइ नै छ— हरेक मान्छे आफूले नजिकबाट संगत गर्ने पाँच जना साथीभाइभन्दा कहिल्यै फरक हुन सक्दैन। आर्थिक हैसियत, आनीबानी, अध्ययनदेखि हरेक कुरामा। म पनि त्यो बेला चाहेर पनि नचाहेर पनि त्यस्तै साथीहरूको संगतमा थिएँ। रक्सीको लत अधिकांश बैंकरमा हुन्थ्यो। उनीहरू ठूला होटलका बारहरूमा बसेर महँगो रक्सी खानुलाई चरम आनन्दका रूपमा लिन्थे। बैंकिङ क्षेत्रमा केटाहरू मात्रै त्यसो गर्छन् भन्ने पनि देखिएन। केटा र केटी दुवैको लत लगभग उस्तै हुन्थ्यो। भौतिक जीवनमै सम्पूर्णता देख्ने साथीहरूसँग उठबस गरेपछि आफू पनि त्यस्तै हुन बाध्य भइँदो रहेछ। माथि उल्लेख गरिएका घडी, साडी र गाडीका कुरा सबै त नभनूँ, केहीचाहि" मेरो हकमा पनि लागू भएका थिए। रक्सी भने मैले कहिल्यै खाइनँ। तर जे गर्दा पनि मैले सामाजिक मर्यादा भने कहिल्यै नाघिनँ।

त्यो बेला धेरैजसो बैंकरको दैनिकी नै बेग्लै थियो। बिहान जुरुक्क उठ्यो। क्लब गयो। उच्च ओहदाका साथीभाइ भेट्यो। विभिन्न खेल खेल्यो। व्यायाम गर्योन। गफियो। फर्केर घर आउँदा अफिस जाने समय भइसकेको हुन्थ्यो। त्यसपछि केही बेर आफूलाई तयार पार्नमा बित्थ्यो। तयार पार्नु पनि के थियो र! पचासौं हजार पर्ने सुट लगायो। त्यहीअनुसारका जुत्ता, चश्मा, घडी पहिरियो। जीउमा महँगो सेन्ट छर्कियो। यी सब सामान्य कुरा थिए।

अफिस गएपछि पनि चासो सधैंै अरूकै कुरामा! कसले कति रकम जम्मा गर्योय, कसले कति ऋण निकाल्यो, कसले के धरौटी राख्यो, कसले कति रकमको एलसी खोल्यो आदिमात्र जिज्ञासाको विषय हुन्थ्यो। एक तवरले भनूँ न, हाम्रो काम नै त्यसकै बारेमा ध्यान पुर्याकउनुजस्तो थियो। लाग्थ्यो— सिंगो देश नै हामीकहाँ धरौटीमा छ। र, यो देश खालि हाम्रो बलबुताले मात्र चलेको छ।

यसरी सुखसुविधा र स्वप्नलोकमा चुर्लुम्म डुबेको थिएँ म। मलाई बाहिरी दुनियाँको कुनै परवाह थिएन। अफिस समयको खाना र खाजा पनि महँगा होटल र रेस्टुरेन्टमा गएर खायो। जाबो एउटा पेट भर्नका लागि पनि हजार–पन्ध्र सय खर्च गर्योख। राम्रो गाडी चढ्यो। गाडी पनि रोजेर पाँच–पाँच वर्षमा फेर्न पाइन्थ्यो। बैंकले सुविधा दिएकै थियो। कुनै समस्या थिएन। यसरी म त्यस बेला पूर्ण रूपले भौतिकवादको संसारमा रमाइरहेको थिएँ। पैसा नै सबै थोक हो भन्ने लाग्थ्यो। मेरो पेशामा पैसा प्रशस्त थियो। हातमा पैसा भएपछि अनेक खाले प्यास लाग्दा रहेछन्। मैले पनि पैसाले मेट्न सकिने प्यास मेट्दै गएको थिएँ। तर, त्यो बेला मैले सिक्काको एउटा पाटोमात्र देखेको रहेछु।

मैले छोराछोरीलाई राजधानीका राम्रै स्कुलमा पढाएको थिएँ। श्रीमतीले राम्रा लुगा र गहनाको विषयलाई लिएर दुःखी हुनुपर्दैनथ्यो। छोराछोरीलाई कुनै कुराको अभाव हुन दिएको थिइनँ। वर्षको एक–दुईपटक परिवार वा साथीहरूसँग पदयात्रामा पनि जान भ्याउँथे। ग्रामीण क्षेत्र छाडेर नेपालका प्रमुख पर्यटकीय स्थलमा सपरिवार गइयो। पोखरा, जिरी, सौराहा, लुम्बिनी आदि भ्रमणका निम्ति रोजाइमा पर्थे। विदेश यात्राको मौका पनि मिलेकै थियो। मैले त्यस बेला गाउँको दुःखलाई नजिकबाट महसुस गर्न बिर्सिसकेको थिएँ। मलाई आफू सुखी भएकोले संसार पनि सुखी छ भन्ने भान परेको थियो।

हुन पनि त्यो बेला जिम्मेवारीले पनि मलाई समाजका ठूला र प्रतिष्ठित मानिने मानिसहरूको मात्र संगत गर्ने अवस्थामा पुर्यालएको थियो। यस्तो संगतबाट मलाई पनि धेरै कुरा सिक्ने अवसर प्राप्त भयो। शिष्टाचार, संस्कारका कुरा सिके"। को मानिससँग कसरी बोल्ने, ठूला मानिसलाई कसरी प्रभावमा पारेर आफ्नो काम लिने, चिठी कसरी लेख्नेदेखि लिएर खान, लाउन, हिँड्न आदि लगायतका धेरै कुरा सिक्ने मौका पाएँ। कुन परिस्थितिमा कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा धेरै हदसम्म सिके"। यसको अर्थ म सम्पूर्ण कुरामा दक्ष छु भन्ने होइन। आखिर मान्छेले मृत्युको मुखमा पुग्दासम्म त सिकिरहेको हुन्छ भने मैले त झन् अझै धेरै कुरा सिक्न बाँकी छ।

मैले परिवर्तित जीवनशैलीलाई छिटछिटो अनुभूति गर्ने मौका पाएँ। घरमै बनेको चिउरालाई चाउचाउले विस्थापित गर्दा म पनि चाउचाउ संस्कृतिमै रमाउन थाले"। पानी खाने तामा वा पित्तलका करुवा, लोटा र ढलौटको गिलासलाई प्लास्टिकका बोतलहरूले विस्थापित गरे। घरबाहिर खाइने खाजाका शैली र मेनुहरू पूरै परिवर्तन भए। पुरी–तरकारीलाई मम, छोयला र कचिलाले विस्थापित गर्न थालेे। हामी त्यसैमा अभ्यस्त भयौं। मोटरसाइकल भित्रिए, चौबीस घन्टाको घडीलाई छत्तीस घन्टाको बनाइदिए। यी सब कुराको परिवर्तन मेरै आँखाले देखे र मैले भोगे"। परिवर्तन जीवनशैलीमा मात्रै होइन, बैंकहरूमा पनि भयो। म त्यसको पनि साक्षी बसे" र अहिले यो किताबमार्फत बयान दिएको छु। म साक्षी जीवनशैलीको मात्र होइन, प्रविधिको पनि भएँ। इमेल र मोबाइल फोनजस्ता सञ्चारका नयाँ माध्यमहरू सबैभन्दा पहिले प्रयोग गर्ने केही नेपालीको सूचीमा आफूलाई उभ्याएँ। छिटछिटो प्रविधिको विकास भएको कालखण्डलाई नियाले"।

तर, प्रविधिले सधैं सकारात्मक काममात्रै पनि गरेन। प्रविधिको विकाससँगै त्यसको दुरुपयोग हुनबाट रोक्नुलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा लिइएको छ। प्रविधिको सदुपयोग नहुँदा बैंकिङ क्षेत्रले पनि ठूल्ठुला घटनाहरू सामना गर्नुपर्योू। आफ्नै कर्मचारीहरूबाट समेत बैंकमाथिको विश्वासलाई चुनौती दिने काम भयो। त्यसैले बैंकहरूले आफ्ना कर्मचारीलाई चिनौं भन्ने नीति ल्याउन बाध्य भए। यद्यपि बैंकहरू अहिले पनि आफ्ना कर्मचारीका कारण पटकपटक अप्ठ्यारोमा पर्ने गरेका छन्। फरक यति हो- कतिले त्यस्ता घटना सार्वजनिक गर्छन् भने कतिले गर्दैनन्।

हिजोसम्म हामीलाई बैंक डुब्ने एउटै कारण ऋण हो भनेर पढाइन्थ्यो। तर, अब ऋण डुब्दैमा बैंक डुब्दैन भन्ने जमाना आइसकेको छ। जोखिमहरू परिवर्तन भएका छन्। जिम्मेवारीहरू बदलिएका छन्। हिजो लेखापालले मात्रै गल्ती पहिल्याउँछन् भन्ने थियो, तर अब त्यो पनि रहेन। नियामक निकायहरू अब नियन्त्रक बन्ने दिन गइसकेको छ। बैंकहरू आफैं यति शक्तिशाली भएका छन्, अब उनीहरूलाई कसैको भर पर्नुपर्दैन। म हिजो त्यो दिन भोगेको र आजको यो दिन देखेको मान्छे हुँ। वर्तमानलाई विगतसँग तुलना नगरी भविष्यको रेखा कोर्न सकिएला? अवश्य पनि सकिँदैन। त्यसैले बैंकिङ क्षेत्रका भावी योजनाहरू बनाउँदा पनि सहयोगी बन्न सकूँ भन्ने मेरो चाहना हो। त्यही चाहनाले आफ्ना अनुभवहरू बाँड्ने प्रेरणा दियो र ती अनुभवहरूलाई एकीकृत गरेपछि यो किताब बनेको हो।

सांग्रिला बुक्सले छापेको नेपालको 'पेशा पैसा र प्यास' संस्मरण कृति आउँदो सोमबार सार्वजनिक हुँदैछ।

प्रकाशित: १ आश्विन २०७२ २२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App