५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

'छिद्र क्यानभास'मा पोतिएकी यौनकर्मी

काठमाडौं- संसारभर विभिन्न प्रकारका प्रेमीहरु भेटिन्छन्। दुई प्रेमीको विश्वासमा अडि्कएको सम्बन्धमा विश्वासघात भएपछि माया कुरुप हुन्छ। कहिले पुरुष त कहिले महिलाले मायाको नाममा एक अर्कामाथि विश्वासघात गरिरहन्छन्। तर पुरुषप्रधान नेपाली समाजमा महिलाले भन्दा पुरुषले महिलाको विश्वास तोडेका उदाहरण ज्यादा छन्।राजधानीमा चलिरहेको एउटा नाटकले पुरुषले महिलामाथि गर्ने यस्तै विश्वासघातलाई कथ्यमा उनेर नाटकको रुपमा प्रस्तुत गरेको छ। राजधानीको काठमाडौं मलस्थित थिएटर मलमा 'छिद्र क्यानभास' शीर्षकमा चलिरहेको नाटकले महिला पुरुषको सदाकालदेखि चलिरहेको यस्तै सन्दर्भलाई मञ्चन गरिरहेको छ। नाटकले यौनकर्मी महिलाको आँखाबाट पुरुष कृत्यलाई उधिन्ने प्रयत्न गरेको छ।

नाटकले महिला संवेदना र यौनकर्मीको मुद्धालाई मञ्चमा उतारेको छ। बाँच्नको लागि संघर्ष गरिरहेकी युवतीले सहरिया युवकको प्रेममा वास्तविक प्रेम भन्दा पनि वासनाले महत्व राखेपछि उनले चालेको कदममा नाटक केन्द्रित रहेको छ। यौनकर्मीको बाध्यतलाई समाजले बुझ्न नसक्दा स्थापना भएको परिस्थितिलाई नाटकमा देख्न पाइनेछ। महिलामाथि हुने विभेदले गर्दा उनीहरुको जीवन कसरी असुरक्षित छ भन्ने कुरालाई नाटकले प्रष्टसँग देखाएको छ। यौनकर्मीको समस्या माथि केन्द्रित नाटकले उनीहरुको भत्किएका सपना मात्र भन्दैन, देशको अवस्था पनि चित्रण गर्छ।

राजनीति, धर्म र बौद्धिकताको आडमा देश बेच्नेहरुलाई समेत नाटकले घुमाएर व्यंग्य गरेको छ।

नाटकलाई टीकाभक्त जिरेलले निर्देशन गरेका हुन्। यौन र यौनिकताका विषयमा हाम्रो परिवार, समाज र राज्य खुल्न नसकेको नाटकको माध्यमबाट निर्देशक जिरेलले प्रष्ट पारेका छन्। नाटकमा नेहा पोखरेलले यौनकर्मी महिलाको रुपमा मन छुने अभिनय गरेकी छिन्। नेहाले केही तयारीका साथ काम गरेको बताइन्। बारको छनक दिन तयार गरिएको आधुनिक सेटले नाटकलाई न्याय गरेको छ। त्यस्तै सेटलाई आकर्षक पार्न प्रयोग गरिएको लाइटको डिजाइनले नाटकलाई सशक्त बनाएको छ।

निर्देशक टिकाभक्त जिरेलले नाटकले यौनकर्मीहरुको मुद्धालाई न्याय गरेको दावी गर्छन्। 'यौनका विषयमा हाम्रो समाज खुलेर बोल्न चाहदैन्। यसले गर्दा यौनकर्मीहरुको पीडा अझ ठूलो हुँदै गएको छ। यौन र यौनकर्मीहरुको कुरा समाजले बुझ्नुपर्छ भनेर छिद्र क्यानभास तयार गरेको हुँ,'उनले भने, 'नाटक देशप्रतिको आस्था र मानवतालाई लिलामीमा राख्ने राजनीतिज्ञ, धर्म गुरु र बौद्धिक वर्गलाई सावधान गराउने कुरामा पनि केन्द्रित छ।'

नाटकलाई टिबिजे क्रियशन र थिएटर मलले संयुक्त रुपमा तयार गरेको हो। करिव एक महिनाको रिहर्सलपछि नाटक तयार भएको हो।

करिब सवा एक घन्टा लामो नाटकमा नेहा पोखरेल, राम केसी, अंकित खडका, महावीर विश्वकर्मा, अस्मिता तिमल्सिना, सिमन खडका, प्रिया पाण्डे, राजिनश्री आचार्य, प्रभास लिम्बू, केशवप्रसाद रिजाल, सीता राना, विनिता थापा, शंकर पराजुली लगायतले अभिनय गरेका छन्। नाटक आगामी असोज ९ सम्म मञ्चन हुनेछ।

प्रकाशित: २८ भाद्र २०७२ २१:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App