१९ पुस २०८२ शनिबार
image/svg+xml
अन्य

भोको पेटलाई धर्मको चास्नी

टिस्टा र काँगडाबाट छिर्दैन अहिलेको 'साम्राज्यवाद'। बारुदी तोप–गोला पड्काउँदै नालापानी घेराउ पनि गर्दैन। बरु 'धर्म'को हतियार भिरेर सिधै विकट कन्दरातिर पस्छ। हिजो बाइबल अघि लगाएर बन्दुक भिरेको व्यापारी साम्राज्यवाद छिर्ने गर्थ्यो। आज ऊ गरिबी र उत्पीडनलाई बाइबलसँग साटफेर गर्दै छ।

नेपाली मर्ममाथि धावा बोलिरहेको धार्मिक जत्था 'शिव'लाई पुजेकै कारण गरिब भएको भान पारिदिन थालेको छ। 'बुद्ध'लाई पछ्याएकै कारण अथवा मुन्धुमप्रति आस्था राखेकै कारण अज्ञानमा बाँच्नुपरेको पाठ पढाउन थालेको छ। सँगसँगै भन्न थालेको छ, 'जिससलाई पूज, खाना पाउँछौ, घर पाउँछौ, जागिर पाउँछौ, जीवनभर सुख पाउँछौ। हाम्रो धर्ममा आऊ, तिम्रो धर्म र संस्कृतिले गरेका सबै उत्पीडनबाट मुक्ति पाउँछौ!'

यो मार्गबाट गुजि्रँदा रामराज्यमा किमार्थ पुगिँदैन। उल्टो लेबनान, दक्षिण कोरिया, र फिलिपिन्सजस्ता स्थानीय संस्कृति गुम भइसकेका देशहरूको अवस्थामा पुगिन्छ। इस्ट टिमोर गुमाएको इन्डोनेसिया अथवा दक्षिणी सुडान गुमाएको सुडानको मर्मान्त र क्षतविक्षत नियति भोगिन्छ। 'वसुधैव कुटुम्बकम्' बिर्सिइएको र पारुहाङ–सुम्निमा ओझेल परेको अवस्थामा पुगिन्छ। मिथिला संस्कृति, माघी, कौरानाच र सोरठी इतिहास टकटक्याउँदा पनि नभेटिन सक्छन्। मुलुकको नसानसामा युगौंदेखि रक्तसञ्चार बनिरहेका यी सभ्यता र संस्कारलाई आयातित संस्कृतिले प्रतिस्थापित गरेको नेपाल नालापानी किल्लामा भोकैप्यासै थुनिएको नेपाली फौजजस्तो हुन पुग्छ। यसको कल्पनामात्रै पनि कुनै पनि सचेत नेपालीका लागि कहालीलाग्दो छ।

यो यथार्थप्रति सचेत र चिन्तित देखिएका छन्, विद्वान् राप्रउ पोखरेल। आफ्नो नयाँ पुस्तक 'धर्मनिरपेक्षता कि धार्मिक विस्तारवाद' मा उनले यही आशय प्रकट गरेका छन्। किताबमा उनले नेपालमा बढ्दो इसाईकरणप्रति गहिरो चिन्ता दर्साएका छन्। र, यो धार्मिक विस्तार पश्चिमी साम्राज्यवादकै एउटा अंग रहेको तर्फ सजग गराउने प्रयास गरेका छन्। त्यसका लागि उनले इसाई धर्मको उद्भव, विस्तार, संघर्ष, राजनीतिमा त्यसको हस्तक्षेप, अर्को धर्मप्रतिको दृष्टिकोणजस्ता इतिहासदेखिका फेहरिस्त चिरफार गरेका छन्।

पुस्तकको आयतन ठूलो नभए पनि ठिक ठाउँमा ठिक प्रसंग र तर्कका कारण यो चुस्त बनेको छ। पाना बढाउनकै लागि ‰याउलाग्दा गन्थन समेटिएका पुस्तकमा झैं 'ऐँजेरु' शैलीका प्रसंग र वाक्य कतै छैनन्।

नेपालमा धर्मनिरपेक्षताको निर्णय हतारमा गरिएको लाग्छ, राप्रउलाई। यो अन्तरधर्म समभाव र अवसरगत समानताका उद्देश्यले भन्दा पनि 'इसाईकरण मिसन' लाई सघाउ पुर्या्उने प्रपञ्चकै एउटा संस्करणका रूपमा आएको प्रति उनी आशंकित छन्। नेपालमा खुलेका अनगिन्ती एनजिओ, आइएनजिओ रूपमा 'समाजसेवी' देखिए पनि अन्तर्यमा 'इसाई विस्तार' अभियानकै हतियार रहेको पुस्तकमा उल्लेख छ। तिनैमार्फत किनिएका पदधारीहरूका बलमा कसैले आवश्यकताबोधै नगरी विनाबहस र छलफल धर्मनिरपेक्षता घोषणा गरिएको प्रति असन्तुष्टि पोखिएको छ।

यो निर्णयले 'विश्वको एकमात्र हिन्दुराष्ट्र' नेपाल '१६औं धर्मनिरपेक्ष राष्ट्र' बन्दा खर्बौं र युगौं खर्चेर पनि हात नपर्ने अन्तर्राष्ट्रिय पहिचान एक पलमा गुमेको अनुभूति पोखरेलले गरेका रहेछन्। धर्मका नाममा बढ्दो विदेशी प्रभुत्व अब नेपालमा संविधान निर्माणमै हस्तक्षेप गर्ने तहमा पुगेको भन्दै उनी लेख्छन्, 'भर्खरैजसो संविधानसभाका सभासद्लाई 'हामी धर्म परिवर्तनको अधिकार सुनिश्चित गर्न तपाईंहरूलाई प्रोत्साहित गछर्ौं' भनी बेलायती राजदूतको सार्वजनिक उद्घोषलाई त्यसैको कडीका रूपमा लिनुपर्छ।'

पश्चिममा कुनै बेला राज्य सञ्चालनलगायत राजनीतिको समग्र लगाम पोपको हातमा हुन्थ्यो। एउटा समय थियो, रोमका शक्तिशाली सम्राट पोपको 'दर्शन' पाउन चिसो ठिही झेल्दै उनको ढोकासामु रातभर नांगै खुट्टा जाग्राम बस्थे (हेर्नुस्, नेहरूको ग्लिम्प्सेज अफ वर्ल्ड हिस्ट्री)। अर्थात्, धर्मले राजनीतिलाई अँठ्याएर राखेको थियो। धर्मले राजनीतिक आकांक्षा पूरा गर्न सक्ने कुरै थिएन। त्यही भएर धर्मविरुद्ध राजनीतिले विद्रोह गर्योथ। पोपलाई चर्चमा थन्क्याएर राजनीतिलाई धर्मबाट मुक्त गरिदियो। तर, नेपालमा कहिल्यै धर्मले राजनीतिलाई कज्याएन। यहाँ क्षत्रीय राजाभन्दा ब्राह्मण गुरु कहिल्यै शक्तिशाली भएनन्।

पोखरेलका अनुसार क्रिस्चियन देशमा सरकार सञ्चालनमा चर्च (पोप) ले सिधै हस्तक्षेप गरेपछि त्यसलाई अलग्याउन ल्याइएको 'धर्मनिरपेक्षता' नेपालमा जबर्जस्ती लादिएको मात्र हो। जबकि नेपालको सरकार सञ्चालनमा धर्मको कुनै हस्तक्षेप नै छैन। उनीहरूका देशमा लगाइएको धर्मनिरपेक्षताको सुविधा पनि क्रिस्चियनकै तीन सम्प्रदाय (अर्थोडक्स, प्रोटेस्टेन्ट र क्याथोलिक) ले मात्र उपभोग गर्ने हुन्। त्यसइतरका धर्मप्रतिको उनीहरूको दृष्टि र व्यवहार वक्र नै छ।

धार्मिक स्वतन्त्रताका नारा लगाउने उनीहरू आफैंचाहिँ धर्मको 'सिन्डिकेट'भित्र कतिसम्म जकडिएका छन् भने बेलायतका क्याथोलिक सम्प्रदायका टोनी ब्लेयरले प्रोटेस्टेन्ट भएपछि मात्र प्रधानमन्त्री पदको शपथ लिन पाए। त्यस्तै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि बाराक हुसेन ओबामाले आफ्नो पूरा नाम भनेर शपथ लिँदा उनलाई मुस्लिम भएको आरोप लाग्यो। दोस्रोचोटि 'हुसेन' हटाएर फेरि शपथ लिनुपर्योन। जबकि बहुमत हिन्दुधर्मी रहँदा पनि राज्य सञ्चालन व्यवस्थामा त्यसको हस्तक्षेप बढ्न नदिन नेपालमा उहिल्यैदेखि पूर्वचेतना पाइन्छ। २०१५ सालको आमनिर्वाचनको एउटा प्रसंग, जति बेला योगी नरहरिनाथको दल 'कर्मवीर महामण्डल'को आवेदनलाई हिन्दुधर्मवादी भएकै कारण निर्वाचन आयोगले अस्वीकार गरिदिएको थियो।

यसबाट युगौंदेखि व्याप्त गरिबी र अभावको कमजोरीमा टेकेर नेपाली स्रोतसाधन र अर्थव्यवस्थामा कब्जा जमाउने उद्देश्यले मात्रै साम्राज्यवादले धर्मको पगरी गुथेको प्रस्टै बुझिन्छ। नेपालको कानुनले सबैलाई आआफ्नो मौलिक र रुचिका धर्म मान्न छुट दिएको छ। लोभलालच वा दबाबमा धर्म परिवर्तन गराउने कार्यलाई भने पूर्णतः प्रतिबन्ध लगाएको छ। तर, मुलुक धर्ममार्फत राष्ट्रियता अतिक्रमणको विदेशी दलदलमा भासिँदै जाँदा पनि कानुन कार्यान्वयन गराउने निकायका हर्ताकर्ता अवसर र पैसाको चास्नीले लट्ठिँदै उल्टै त्यसैलाई सघाउन उद्यत रहेको पोखरेल ठहर्या उँछन्।

पुस्तकमा उल्लेख भएअनुसार नेपालमा खुलेका दुई सयभन्दा बढी आइएनजिओमध्ये १५ प्रतिशतले प्रत्यक्ष इसाई धर्मको प्रचारप्रसार गर्ने गरेका छन्। इसाईकरणको प्रहारले हिन्दु–इतरका अन्य मौलिक धर्मलाई अझ बढी चोट दिएको छ। पछिल्लो जनगणनामा बौद्ध र किरातको संख्या १.७० र ०.५६ प्रतिशतले घटेको देखिन्छ। तिनको ठाउँ क्रिस्चियनले लिएका छन्। पुस्तकमा पादरी डा. कालीबहादुर रोकायाको एउटा भनाइ छ— 'नेपाललाई धर्मनिरपेक्ष बनाउन इसाईभन्दा बढी दलित र जनजातिको हात छ। तिनीहरू आइएनजिओमा बढी आबद्ध छन्। अमेरिका, बेलायत, नर्वे, जर्मनी, फिनल्यान्डलगायत देशसँग नजिक सम्बन्ध भएका माओवादीको मुख्य एजेन्डा हो यो।' राष्ट्रिय मण्डली परिषद्का महासचिव डा. रोकायाको उपर्युक्त कथन केही समययता विकसित घटनाक्रमले पुष्टि हुन आएको पनि देखिन्छ।

यो अवस्था निम्तिनुमा हिन्दुधर्मका नाममा युगौंदेखि व्याप्त कुरीति र असंगति पनि उत्तिकै दोषी देख्छन् पोखरेल। छाउपडी, छुवाछुतलगायत कुप्रथाले सनातन धर्मपरम्परालाई धमिराले झैं खोक््रयाइरहेको आशय प्रकट गर्छन्।

आफूलाई हिन्दुवादी भन्दै हिँड्ने संगठन नै सबैभन्दा बढी हिन्दुविरोधी लाग्छन्। हिन्दु–दर्शनले विश्वभरिकै मानिसलाई कुटुम्ब मान्छ। उनीहरू भने नेपालीबीच नै कित्ताकाट गर्ने प्रतिशोधी नारा र ब्यानर बोक्न उद्यत छन्। आफूलाई हिन्दुवादी ठान्ने संस्थाहरूले गरिबलाई अर्को धर्मका विरुद्ध उक्साउनेभन्दा पनि उनीहरूका अभाव टार्ने संयन्त्र निर्माणतिर लाग्नुपर्छ। जातीय वा अवसरगत विभेद र कुप्रथा हटाउने अभियान चलाएर उनीहरूलाई राष्ट्रिय, आर्थिक, सामाजिक, सांस्कृतिक, व्यावहारिक सबै पक्षमा आत्मीयता र सुरक्षा अनुभूति गराउन सक्नुपर्छ। मेचीदेखि महाकालीसम्मको रथयात्राले गरिबको गर्जाे टारिदिन सक्दैन। संविधानसभा भवनबाहिर फर्फराउने हिन्दुवादी ब्यानर नांगाको आङ ढाक्ने सामर्थ्य राख्दैनन्।

विभेद अन्त्यको एउटै उपाय, कुनै समयको स्वार्थले हिन्दुधर्मीका नश्लमै लगाएका थुप्रै विभेद र असमानताका खिया चेतनाको मस्कोले मस्काउनै पर्छ। हिन्दुधर्मको वैदिक मर्म तबसम्म दुःखी नै रहनेछ, जबसम्म एउटा 'उपाध्याय' मन खोलेर अर्को 'दलित'का साथ सहभोज गर्न तयार हुँदैन। भोको पेटमा रोयो भन्दैमा कसैलाई गाली गर्ने अधिकार हिन्दुधर्मका ठेकेदारलाई किमार्थ छैन। उनीहरूजस्तैका व्यवहार पनि कारण छ, नेपालीलाई नेपालीसँग टाढा बनाउन। साम्राज्यवादलाई हामीमाथि खेल्ने वातावरण सहज पारिदिन।

सेवाका नाममा गरिबको झुपडी पस्नु साम्राज्यवादको कुटिल चाल रहेको र एक दिन त्यही झुपडी खोसेर त्यहाँ आफ्नो उन्मादको महल ठड्याई रजाइँ गर्नु नै त्यसको गुह्य कपट रहेको प्रस्ट्याउन पुस्तकमा अफ्रिकी राष्ट्र केन्याका प्रथम राष्ट्रपति जोमो केन्याटाको एउटा उद्धरण समेटिएको छ- 'इसाई मिसनरी यस देशमा आउँदा अफ्रिकीहरूसँग जग्गाजमिन लगायत सबै कुरा थियो र उनीहरूसँग बाइबल। उनीहरूले हामीलाई आँखा चिम्लेर प्रार्थना गर्न सिकाए। जब हामीले आँखा खोल्यौं अनि के देख्यौं भने उनीहरूसँग जग्गाजमिन छ, हामीसँग बाइबल मात्र।'

कृति : धर्म–राजनीति

लेखक : राप्रउ पोखरेल

वितरक : अर्किड बुक्स

पृष्ठ : १२३

मूल्य : रु. १५०।–

प्रकाशित: १८ भाद्र २०७२ २३:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App