५ माघ २०८२ सोमबार
image/svg+xml
अन्य

भीडभन्दा पर एउटा कवि

हल्लाको बजारबाट टाढा बसेर राष्ट्रका निम्ति कविताका बलिया सिँढी थप्दै गरेका, कविहरूको भिडमा लरतर नभेटिने, चलनचल्तीका मिडियाले फुर्सद मिलाएर नदेख्ने–नभेट्ने, पूर्वी पडाड खोटाङको एक विकट गाउँमा बसेर कविता कोलाजमा अलिकति जीवन र अलिकति यो देशको रङ भरिरहेका एक थान कवि– जसराज किराती।पहिलोपल्ट भेट्नुअघि मैले बनाएको उनको फ्रेम यहि हो।

पहाडबाट तराई झरेका बेला देवान किराती (छोरा) ले इटहरीस्थित उनको निवासमा जसराजसँग तीन घन्टासम्म भलाकुसारी गर्ने मेलो मिलाइदिए। घन्टौंसम्म गफिँदा मैले सोध्छु भनेर सोचेका कतिपय कुरा सोध्न बिर्सिएँ। बरु, मैले नसोचेका धेरै कुरा उनी आफैंले भने।

खोटाङको बुइँपा गाविसको गरिब किसान परिवारमा जन्मिए जसराज, २००२ सालमा। जेठो सन्तानका रूपमा जन्मिएका उनका चार बहिनी थपिए। उनका बुबाले खुबै कष्ट उठाएछन् जीवनमा। जन्मेको नौ महिनामै हजुरबुबा बिते। बुबा १८ महिनाको छँदा हजुरआमा अर्कैसँग हिँडिन्। बुबाको पालनपोषण फुपूले गरिन्। फुपूले नौ वर्षमै बुबाको बिहे गरिदिइन्। जेठीसँग घरबार भएन। तीन वर्षपछि दोस्रो बिहे गरे।

एक्लो छोरो उनका बुबा आँटी परेछन्। १९ वर्षको हुँदा गाउँकी मन परेकी अर्की केटी (जसराजकी आमा) घिस्याएरै ल्याएछन्। त्यो बेला कसैले बाटो, मेलापातमा कसैका छोरीचेली तानिदियो भने या घिस्यायो भने त्यो बिहे गरेसरह मानिन्थ्यो। धेरैको बिहे त्यसरी नै हुन्थ्यो। अझै पनि कतै–कतै यो परम्परा छ।

जसराजकी आमा खुबै मेहनती। लहानबाट लगेर सुर्तिको व्यापार गर्थिन्। बुबा धातुका व्यापारी। १४/१५ वर्षको हुँदा जसराजले पनि बोके– लहानबाट सुर्ति। काठमान्डूबाट भाँडाकुँडा। धेरैजसो बुबा काठमान्डू, पाटनबाट ल्याएर धातुको व्यापार गर्थे। त्यही पेशाबाट मनग्गे सम्पत्ति जोडे। खेतबारी थपे।

जसराजका दुःखका सिलसिला सानैबाट सुरु भए। त्यसबेला गाउँमा स्कुल थिएन। पढ्नुपर्छ भन्ने चेतना थिएन। तैपनि, आमाको सहयोगले गाउँमै कखरा पढे। उनका बुबा कडा परेछन्, कुनै तानशाहजस्तो। कतिसम्म भने बुबाले पढ्ने कुरामा कर्फ्यु नै लगाए। 'आप्पाले पढ्नै दिनुभएन,' हिटलरजस्ता दिवंगत बुबा सम्भि्कँदै उनी नमीठो अनुभूति सुनाउँछन्, 'नपढ् भनेर आप्पाले थुपै्रपल्ट कापी–किताब च्यातिदिनुभयो, जलाइदिनुभो।'

जिन्दगीको पाना कति चाँडै पल्टियो भने, उनी आफैंलाई हेक्का भएन। १२ वर्षकै उमेरमा बुबाले बिहे गरिदिए, आफूभन्दा तीन वर्ष जेठी केटीसँग। आठ वर्षपछि एक छोरी जन्मिइन्। अर्को साल पत्नी बितिन्। जीवनको यो छेउबाट जसराज दिवंगत पत्नीको अनुहार सम्भि्कन खोज्छन्। तर, आँखामा धमिलो झझल्को पनि आउँदैन। उनी कोही थिइनन्जस्तै लाग्ने।

जसरारज र बुबाको पटक्कै ग्रह नमिल्ने। कतिसम्म भने, जिन्दगीमा बाबुछोराले कहिल्यै सँगै बसेर भात खाएनन्। बुबा घरभित्र हुँदा उनी बाहिर हुनुपर्ने, बुबा बाहिर हुँदा उनी भित्र। थुप्रैपल्ट बुबाले यातना दिए। उनी बसेर रुन्थे। रुन आमाले सघाउँथिन्। बुबालाई धामी चढेपछि कोही घरमा बस्न नसक्ने। धेरै रात आमा–छोराले बारीमै रात बिताए। 'सानैदेखि आप्पाको डर र त्रासमा बाँच्नुपर्यो्,' उनी सुनाउँछन्, 'बुबाको छायाँ परेको ठाउँमा हिँड्न पनि डर लाग्थ्यो।'

चर्चित कलाकार रामेशका दाइ गोरखबहादुर श्रेष्ठ, उनको जीवनका एक आदर्श पात्र। गोरखबहादुरलाई उनी दाइ मान्थे। पढ्ने कुरामा उनलाई जसराजले बाचुन्जेल सम्भि्कँदा पनि नसकिने गुन लगाएछन्। स्कुलै नगएको केटोलाई सीधै कक्षा ८ मा भर्ना गराइदिए। पढ्ने उर्जा भरिदिए।

जसराज अंग्रेजी पटक्कै नजान्ने। परीक्षामा सबै विषयमा पास, अंग्रेजीमा जहिल्यै फेल। २०२२ सालमा एसएलसी दिए, अंग्रेजीले धोका दियो। अर्को साल झुन्डिएर पास गरे। विराटनगरबाट आइए पढे। उही हालत दोहोरियो, अंग्रेजीमै फेल। अर्कोपटक अझै मेहनत गरेर परीक्षा लेखे, अघिल्लो सालको भन्दा कम नम्बर आयो। त्यसपछि क्याम्पसको पढाइ– मुर्दावाद!

बिहेको मामिलामा जसराजले झन्डै बुबाको रेकर्ड तोडे। पहिलो पत्नी बितेकै साल उनले दोस्रो बिहे गरे। नयाँ बेहुली भिœयाएर दसैं मनाए। लगत्तै भागेर काठमाडौं लागे, एसएलसी दिन। नयाँ बेहुलीको मायाले उनलाई के छेक्थ्यो! तिहार बाटैमा मनाए। नौ दिन हिँडेर काठमान्डू पुगे।

उनले बुबालाई भेट्टाए, तेस्रो बिहे गरेर। भएछ के भने जेठी पत्नीपट्टिका ससुराले 'हामी ज्वाइँ गुमाउँदैनौं' भनेर अर्की छोरी भिडाइदिएछन्। साली भिœयाएपछि उनको थाप्लोमा दुईटा नाम्ला भए। प्रायः समाजमा जेठी मन नपरेर वा घरबार नचल्ने भएर कान्छी ल्याउने हो। तर, जसराजको हकमा त्यो भएन। सब कुरा ठीकठाक हुँदै उनले उनले कान्छी बिहे गरे।

काठमान्डू जाँदा एकपटक उनले बुबासँग पैसा भएका बेला अलिकति जमिन किनौं न भनेर ठूलै सल्लाह गर्न खोजेछन्। त्यसबेला बुबा चुप! फर्किएर सप्तकोसी आइपुगेपछि बुबाले 'जग्गा किन्न तेरो सम्पत्ति छ?' भनेर चुटेछन्। बुबाले काठमान्डूको रिस सप्तकोसी आइपुग्दा पोखे। 'आप्पाको चुटाइ कति खाइयो, हिसाबै छैन,' उनी पीडा सुनाउँछन्, 'त्यो दिनको चुटाइ सम्भि्कँदा आज पनि दुख्छ।'

अर्को साल काठमान्डू पुगेका बेला बुबाले 'तैंले मन पराएको जग्गा कहाँ पो केटा' भनेर सोधेेछन्। सहरको जग्गा उनैलाई पर्खेर के बस्थ्यो र! अर्कैले किनिसकेछ। त्यसबेला बुबाले उनलाई भनेछन्, 'के गर्छस् केटा, तेरो भाग्यमै रहेनछ।' किन हो कुन्नि! त्यस दिनदेखि उनलाई कर्म गरेर मात्रै नहुनेरहेछ, भाग्य पनि चाहिनेरहेछ भन्ने लाग्यो। जीवनमा बुबाको त्यही बोली उनका लागि महावाणी भएर खिपिएको छ, हृदयमा।

तीन पत्नीबाट जसराजका जम्मा १७ सन्तान जन्मिए। दुई जना बिते, बाँकी सबै छन्। छोराछोरी हुर्के–बढे, सबै लाखापाखा लागे। अहिले खोटाङको पुर्ख्यौली घरमा जेठी पत्नी र उनी मात्रै बस्छन्। कान्छी पत्नी काठमाडौं बस्छिन्। आज ७१ वर्षीय जसराजका बुबा छैनन्, उनलाई सबैभन्दा धेरै माया गर्ने आमा पनि छैनन्।

पढ्न नपाउनुको पीडा जसराजले नजिकैबाट भोगे। त्यही भएर पनि उनले सबै छोराछोरीलाई पढाए। कसैलाई विभेद गरेनन्। सबै केही न केही इलममा लागेका छन्। तीन छोरा त कवि नै छन्, देवान, अनिल र मिलन किराती। अनिल २३ वर्षमै अफिसर भए। उनी अहिले ओखलढुंगामा निर्वाचन कार्यालयमा हाकिम छन्। कान्छो छोरा मिलन पनि कविताकै बाटोमा निस्किएका छन्।

बुबा खुबै पियक्कड रहेछन्। तैपनि, खान–लाउन पुग्नेगरी जमिन जोडिदिए। जसराज एक्लो छोरो भएकाले बुबाको शेषपछि सबै सम्पत्ति उनकै भागमा आयो। उनले पुर्ख्यौली सम्पत्ति फाल्तु शीर्षकमा मासेनन्। छोराले खेतीपाती गरोस्, व्यापार गरोस्, पैसा कमाओस् भन्ने बुबाको इच्छा। जसराज बुबाको इच्छामा चलेनन्, कवि बने।

करिब २४ वर्षको हुँदा जसराज समाजमा उभिँदै थिए, कविको रूपमा। उनी नाटक खेल्थे, गीत गाउँथे। त्यसैबेलादेखि उनी भूमिगत रूपमा राल्फा आन्दलोलनसँग जोडिए। बुइँपा गाविस विचारको उद्गम स्थल। खुबै राजनीति चल्थ्यो, पञ्चायतविरुद्ध। त्यहाँका माड्साब हरिबोल भट्टराई साहै्र असल मान्छे थिए। उनी कांग्रेसी थिए, कामचाहिँ कम्युनिस्टका लागि गर्थे।

त्यसबेला अवस्था कस्तो रहेछ भने, प्रगतिशील भइहिँड्नचाहिँ छुट, कम्युनिस्ट नामधारी हुन नपाइने। पञ्चायलते थाहा पायो भने खोरमा पुर्या उँथ्यो। तैपनि, बुइँपामा कम्युनिष्ट थिए। तिनीहरू प्रगतिशीलको खोलमा खरा मार्क्सवादी थिए। चुनावमा पञ्चायतले मनग्गे पैसा बाँड्थ्यो। जसराजहरू पञ्चायतबाट पैसा बु‰थे र पञ्चायतकै विरुद्धमा अभियान चलाउँथे।

त्यसबेला पञ्चायतले जसराजलाई पञ्च बनाउन निकै फकाएछ। ठूल्ठूला प्रलोभन देखायो । तर, उनी लोभिएनन्। बरु, पञ्चायतका आँखा छल्दै कम्युनिष्टको जमात् बढाउनतिर लागे। त्यहींदेखि उनी प्रदीप नेपाल, निर्मल लामा, पारिजातसँग जोडिए। छोरो कवि भएको, पञ्चातविरुद्ध लागेको बुबालाई पचेन, वचनले घोचिरहन्थे। 'अरुले मलाई कवि भन्थे,' उनी बुबाको वितृष्णा सम्भि्कन्छन्, 'आप्पाले चाहिँ नेताजी भन्नुहुन्थ्यो।'

२५/२६ वर्षको हुँदा जसराज पारिजातसँग नजिक थिए। सँगै कविता लेख्थे, बहस गर्थे। उनका भनाइमा पारिजात बढी राजनीतिसँग जोडिइन्। उनलाई त्यो मन परेन। त्यसपछि पारिजातप्रतिको उनको आकर्षण स्वात्तै घट्यो। यतिसम्म कि उनले पारिजातका नाममा 'क्राओको कविता' शीर्षकमा कवितै लेखे।

नेपाली कवितामा जसराज कहाँनेर छन्? उनको रोत्रलक्रम कति हो? उनको तुलाना को–कोसँग गर्ने? यी प्रश्न मेरा लागि भारी पर्छन्। यत्ति हो, उनलाई छुटाइदिने हो भने हाम्रो कविता अपुरै हुन्छ, सीधा उभिन सक्दैन। उनी नेपाली कविताका खास मानक नहोलान्, तर उनी चानचुन कविको भीडमा पनि छैनन्। 'मेरो प्रतिस्पर्धा कसैसँग छैन,' उनी भन्छन्, 'मेरो प्रतिस्पर्धी म आफैं हुँ।'

केचाहिँ हो भने जसराजका पुस्ताका धेरैजसो कवि आज हाइ–प्रोफाइल भएका कविका रूपमा चिनिन्छन्। कविताको बजार उनीहरूका अगाडि नतमस्तक छ। गोष्ठी, विमोचन, मञ्चतिर तिनै अनुहार ओहोरदोहोर गरिरहन्छन्। जसराज त्यो भीडमा छैनन्।

गोरखबहादुर श्रेष्ठ खोटाङ–काठमान्डू आवतजावत गरिरहने। उनैले झोलाभरि पत्रपत्रिका बोकेर ल्याइदिन्थे। त्यसबेला 'रूपरेखा', 'रचना'जस्ता पत्रिका चलेका थिए। जसराजले सुरुमा रत्न शमशेरका कविता पढेछन्, खुबै आकर्षित भए। उनका दौंतरी शैलेन्द्र साकारले उनलाई 'तिमी कविता लेख्न सक्छौ, लेख' भनेर भनिरहन्थे। घरायासी पृष्ठभूमि साहित्यिक नभए पनि उनी बिस्तारै कविताकर्ममा लागे।

आधा शताब्दी पुरानो पति–पत्नीबीचको प्रेम ताजै लाग्छ। जसराज पत्नीलाई सम्मानपूर्वक 'तिमी' भन्छन्। सेतै फुलेकी मन्जु (७१) श्रीमान्लाई 'तिमी' नै भन्छिन्। भर्खर प्रेममा पर्दै गरेका मायालु जोडीको जस्तो मिलन, लोभै लाग्ने प्रेम। 'माया कहिल्यै पुरानो नहुनेरहेछ,' उनी भन्छन्, 'हामी एकअर्काका लागि अहिले पनि नयाँ नै छौंजस्तो लाग्छ।'

जसराज अब बुढ्यौलीतर्फ उक्लिरहेका छन्। रोगले च्याप्ने बेला भयो। तैपनि, शरीरमा खासै रोग छैन। बेला–बेला सास बढेजस्तो लाग्छ। बलको काम गर्न सक्दैनन्। गर्ने बेला पनि होइन। बरु, यो फुर्सदको समयमा उनी कविता लेख्छन्। अर्को सालतिर नयाँ कवितासंग्रह ल्याउने सोचमा छन् उनी।

अहिलेका कवि बढी हल्ला गर्छन्। उनीहरूलाई कविताभन्दा बढी हल्लाले टिकाएको छ। यो मामिलामा सहरमा 'होलटाइमर कवि'का रूपमा चिनिएका कवि अगाडि छन्। उनीहरू बिहान जरुक्क उठेर दूध हालेको चिया पिएदेखि राति अबेरसम्म मधुशालामा बसेर अन्तिम प्याला पिउँदासम्म पनि कविता लेख्छन्, कविता पिउँछन् र कवितै ओकल्छन्। यदि कवितामाथि खतरा छ भने त्यो उनीहरूबाटै छ। 'दोस्रो पुस्ताका कवि टिकाउभन्दा बिकाउ भए,' जसराज भन्छन्, 'के लेख्दा बिक्छ र बजारमा चर्चा हुन्छ, उनीहरू त्यही लेख्दैछन्।'

राईका छोरा जसराजले पुर्खाको पेशा थामेनन्। सरकारी जागिरे हुन उनले प्रयासै गरेनन्। बरु, एकपटक लाहुरे भइखाने सुर चल्यो। गल्लावालले छनौटमा पार्योे, बेलायो। २०१८ सालमा लाहुरे हुन हिँडे, घरबाट भागेर। उनी एक्लो छोरो, आमाले खुबै माया गर्ने। आमाको मन मानेनछ क्यारे, गाउँका दुई/चार जना केटा खटाइछिन्। उनको लाहुरेको भिसा लागेन, दुई दिनमै जसरालाई पोको पारेर घरमै ल्याएइपुर्या ए। त्यस दिनदेखि उनको दिमागबाट लाहुरे हुने भूत झर्योे।

जसराज परेछन् भूपि शेरचनका 'बिग फ्यान'। भूपिका कविता कति पढे कति! कतिपल्ट भूपिका कविता अगाडि राखेर कविता लेख्न बसे, क्यै गरे भूपिको जस्तो नहुने। तर, उनले कविता लेखेर कहिल्यै च्यातेनन्। अहिलेका नयाँ कवि चिया पसल र भट्टीमा बिहान कविता लेखर बेलुका च्यातेका किस्सा सुनाउँछन्। उनलाई सनक चढ्दोरहेछ। 'त्यसो भन्नेले त्यसो गरेकै हुँदैनन्,' उनी भन्छन्, 'त्यो उनीहरूको कवितामा दादागिरी मात्रै हो।'

कहिलेकाहीं जसराजलाई अंग्रेजी नजानेकोमा खुबै पीडाबोध हुँदोरहेछ। भाषा नजान्दा संसारका कतिपय महान् पंक्तिहरू पढ्न पाइँदैन। कति सत्यहरू छुट्छन्। अनुवाद साहित्यको उति भर हुँदैन। कति कवि अंग्रेजी मिसाएर कविता लेख्छन्, मञ्चमा अंग्रेजी साहित्यका तुक्का ओसारेर भाषण गर्छन्, उनलाई बु‰न कठिन पर्छ। तैपनि, उनी १८औं शताब्दीका दर्जनौं फ्रेन्च, रसियन कविका नाम र कविता सजिलै भट्याउँछन् उनी। अंग्रेजी जान्दिनँ भनेर पंक्तिकारलाई ढाँटेजस्तो लाग्ने।

नयाँ पुस्ताका कविमा लेख्ने हतारो छ। हतारको लेखनले रचनालाई गुन लाउँदैन, आयु घटाउँछ। तिनीहरू सम्झनलायक पनि हुँदैनन्। कति कवि बेलुका लेख्यो, भोलिपल्टै छाप्छन्। आज लेख्यो, भोलिपल्टै बजारमा पठाउँछन्, मञ्चमा सुनाउँछन्। 'कविता लेख्नु भनेको तपस्या गर्नु हो,' जसराज ओजपूर्ण विचार राख्छन्, 'कविताका निम्ति जीवन होइन, जीवनका निम्ति कविता लेखिनुपर्छ।'

जसराज आफूलाई एकथान चानचुने कविबाहेक केही ठान्दैनन्। उनमा चर्चा र प्रशंसाको भोक पनि छैन। कुनै बेला काठमान्डूको एक कार्यक्रममा दौंतरी कवि मञ्जुलले उनले मञ्चबाटै 'कविहरूका पनि कवि' भनेर सम्बोधन गरेछन्। सोझो राईको प्रेसर बढ्यो। बाहिर निस्केपछि मञ्जुललाई झपार्नुसम्म झपारेछन्, 'अघि मेरो सम्मान गरेको कि बेइज्जत?' जे होस्, उनी कवितामा पसिना बगाइरहेका एक कर्मठ कवि हुन्।

जसराजलाई माया गर्ने भाइ–भतिजाले पोहोर साल केही रकम बटुलेर उनको नाममा कोष राख्ने इच्छा जाहेर गरे। म हल्लाको भोको छैन भन्दै सुरुमा त उनले ठाडै अस्वीकार गरिदिएछन्। पछि डा. गोविन्दराज भट्टराई, अभि सुवेदीलायतले सातो लिएपछि उनी राजी भए। जसराजको नाममा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरियो। हरेक वर्ष एक स्रष्टालाई ५० हजारको थैलीसहित पुरस्कार दिने घोषण भयो, काठमान्डूबाटै।

दुई वर्षअघि जसराजले विराटनगरको गुरुकुलमा एकल प्रस्तुति दिए। त्यो क्षण उनका लागि सम्झनयोग्य भइदियो। सैयौं स्रोतासामु सार्वजनिक भएका त्यस दिनचाहिँ उनले पनि आफूलाई सानोतिनो कवि भएको अनुभूत गरेछन्। 'त्यो सानदार मञ्चमा घन्टौं अडिएर कविता सुनाएँ,' उनी भन्छन्, 'त्यो दिन मेरो मेरा ओठ खुले, खुसीले छाती चौडा भयो।' जे होस्, त्यसदिन दुर्लभ गाउँले कवि सहरमा पोखिए। मानुम कि, उनको कविको 'लाइसेन्स' नवीकरण भयो।

जसराजको परिवार गैरसाहित्यिक हो। बाबु–बाजे कोही कवि–कलाकार थिएनन्। बरु, अहिले उनको परिवार पूरै कवितामय छ। छोरा पुस्तामा कविताको विरासतै हुर्किंदैछ भन्दिँदा फरक पर्दैन। गजब! अहिले जसराजमात्रै होइन, छोरा देवान, अनिल र मिलन पनि पेशासँगै कविताको मोर्चा पनि सम्हालिरहेका छन्। टाउका नै गन्दा पनि घरमै चारजना कवि छन्। उस्तै पर्यो भने सानोतितो कवि गोष्ठी घरमै चल्छ। सानोतिनो कवि जुलुस घरबाटै निस्कन्छ।

दिवंगत कवि कृष्णभूषण बलले कवितै लेखे, काठमान्डू एक्लैले देश बोक्दैन भनेर। कवितामा बलले काठमान्डूको अहंमाथि निर्मम प्रहार गरेका छन्। जे होस्, काठमान्डूले आफूबाहेक अरु देख्दैन, सबथोक आफैं हुँ भन्छ। बाहिरका कवि उसका लागि 'बिनालाइसेन्सका कवि'जस्तै हुन्। 'काठमान्डू ठालु छ,' उनी भन्छन्, 'खासमा भन्ने हो उसको उचाइको मेरुदण्डै छैन।'

जसराजका रोल मोडल कवि कोही छैनन्। रुची राखेर पढेका कवि भूपि, पारिजात, रिमाल हुन्। उनमा भूपिको प्रभाव छ, उनी स्वीकार्छन्। कति कविलाई कसैले तेरो लेखनमा फलानोको प्रभाव छ भनेर भन्दियो भने ठाडै टोकौंलाझैं गर्छन्। कम्तीमा उनी त्यसमा इमान्दार रहेछन्। 'हो, म भूपिबाट प्रभावित छु,' उनी भन्छन्, 'भूपिको प्रभावबाट म अझै मुक्त हुन सकेको छैन।' नयाँ पुस्तामा उनलाई मनु मन्जिल, उपेन्द्र सुब्बा मन पर्ने कवि हुन्।

नेपाली साहित्यका पुरस्कारमाथि जसराजको खरो टिप्पणी छ। खासमा भन्ने हो भने हामीकहाँ दिइने र लिइने पुरस्कार, सम्मानमा न्यूनतम धर्मसम्म छैन। यहाँका पुरस्कारका मेरुदण्डै हुँदैनन्। 'यहाँ पुरस्कार दिने र लिने दुवै नातेदार हुन्छन्, आफन्ती हुन्छन्,' उनी भन्छन्, 'आफ्ना र नजिककालाई पुरस्कार दिलाउनकै लागि दाता जुट्छन् र गुठी चलाउँछन्।'

हुन पनि हो, हामीकहाँ एकाधबाहेक अधिकांश पुरस्कार प्रायः विवादमै पर्छन्। पुरस्कार राम्राले नपाउँदा खराबले हत्याउँछन्। यो प्रवृत्तिले साहित्यलाई सर्वथा नोक्सानी गर्दै आएको छ। एकप्रकारले यो रोगै बनिसक्यो।

जसराज मोफसलबाट उठेका कवि हुन्। काठमान्डू त उनका लागि ससुराली घरजस्तै हो, वर्षमा एकपल्ट पुग्ने। उनलाई काठमान्डूले न उचाइ दिएको छ, न थिचेको छ। काठमान्डूको उचाइबाट हेर्दा जसराज पुड्का देखिएलान्। ख्याउटे देखिएलान्। कतिले नदेख्लान्। तर, केचाहिँ साँचो हो भने यदि कोही नेपाली कविताको बाटो नाप्न हिँड्यो भने त्यो एकपटक जसराजको घरको आँगनसम्म जरुर पुग्छ।

प्रकाशित: ११ भाद्र २०७२ २१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App