३० पुस २०८२ बुधबार
image/svg+xml
अन्य

साइकलमा राराताल

साइकल चढेर राराताल नपुगी स्वर्ग पुगिन्न भन्ने भूत सवार भयो हामीलाई। त्यसैले ०७१ चैत २० गते हामीले पोखरा छाड्यौं। बसमा कोहलपुर हुँदै सुर्खेत पुग्दा बिहानको ८ बज्यो।


त्यहाँ भेटिएका पुराना मित्र कुमार सापकोटाले बुलबुले तालको कथा सुनाए। तर, हाम्रो साइकल जुम्लाको सिञ्जा जाने बसमा लोड भइसकेका थिए।

केही बेरपछि बस जंगलबीचबाट अघि बढ्यो। बड्डिचौर बजारको सार्वजनिक शौचालयमा 'बाहिर फोहोर गर्नेलाई रु ५०० जरिवाना' भन्दै माइकिङ भइरहेको सुन्यौं। छिनभरमा साँघुरो र भीरको बाटो हुँदै बसअगाडि बढ्न थाल्यो। बसका कर्मचारीले केही दिनअघि १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनास्थल देखाए। उनले त्यो बस त झन् नयाँ बनाएर यही रूटमा चल्दै छ रे भन्दा झसङ्ग भयौं।

०६३ चैत ३० गते सञ्चालनमा आएको कर्नाली राजमार्गमा ०७१ चैत २ गतेभित्र मात्रै १५९ वटा सडक दुर्घटना भएको र २०९ जनाको ज्यान गएको रहेछ। सुन्दै आङ सिरिङ्ग भयो।

त्यसैले यसलाई मृत्युमार्ग भनिँदो रहेछ। हामी पात्लेखोला, स्याउली बजार हँुदै तल्लो ढुंगेश्वर दैलेखको चेकपोस्ट, असाराघाट सिस्ने हुँदै पहिलो रात बसमा बिते पनि दोस्रो रात राकम कर्णालीमा बस्यौं।

तेस्रो दिन राकमबाट खिडकीज्यूला हुँदै दैखोला पुग्यौं। जहाँबाट दैलेख र कालिकोटको बाटो छुट्टिँदो रहेछ। भर्ताको पुल अनि हिले बाटो विशाल चट्टान पार गर्दै मान्मा बजार पुगियो। मान्मा बजारसम्म पुग्दा बुद्धिसागरको उपन्यास 'कर्नाली ब्लुज'का घटनाक्रम दिमागमा सलबलाउन थाले। विशाल चट्टानहरूलाई लिएर कुनैकुनै घरले एकापट्टीको घरको गारो नै बनाएका भने कसैले गोठको रूपमा प्रयोग गरेका देख्यौं। करिब ३ घन्टापछि जुम्लाबजार जाने र मुगु जाने बाटो छुट्टिने नाग्मा बजार पुग्यौं। हाम्रो वास्तविक साइकल यात्रा त्यहीँबाट नै सुरु भयो।

हामी हिमा कर्णालीको तीरैतीर, ठाउँठाउँमा नदी पार गर्नको लागि बनाइएका ठूलाठूला काठका पुलहरू थिए, जसका दुवै किनारामा कुनैमा सैनिकहरू राजालाई पहरा दिएर बसेका, कुनैमा बेहुलाबेहुली र जन्तीका चित्र कुँदिएका थिए। बडकी गाविसका आचार्यहरूको धेरै बस्ती रहेकाले आचार्यलिही भएको त्यस ठाउँमा ०६९ वैशाख १ गते गाडी पुगेको रहेछ। गुरु चन्दनाथ भैरवनाथद्वारा भारतको जम्मु काश्मिरबाट बिउबिजन ल्याएर चैत १२ गते बिउ राखेकाले त्यही चलनअनुरूप चैत १२ गते बिउ बोरामा राखी खोलामा फ्याँकी ४ दिनपछि घरमा ल्याई त्यसलाई सुक्खा बनाई चैत १९ र २० गते छरिने र जेठ १२ बाट रोप्न सुरु गरिने चलन रहेछ।

सिञ्जाको धनुखानामा भने चैत ८ गते बिउ राख्ने चलन कनकासुन्दरी माईबाट भएको रहेछ। नेपाली भाषा जसलाई खस वा सिञ्जाली भाषा पनि भनिन्छ। त्यसको जन्मस्थल सिञ्जा उपत्यका हो। १२ देखि १४ औं शताब्दीमा मल्ल राजा नागराजको शासनकालमा कर्णाली क्षेत्रको राजधानी रहेको सिञ्जा उपत्यकाको अन्तिम गाउँ घाँसेओडार रहेछ। सुरुको गाउँ नाग्मा ओडार हो भनी जुम्लाको भैरव उच्च मावि नराकोटको कक्षा १० मा पढ्ने आत्माराम आचार्यले वर्णन गरे ।

आचार्यलिहीबाट झोलुंगे पुल तरेपछि हिलो बाटो हुँदै नराकोट हान्नियौं। त्यही हामी होटलमा बस्यौं।

चौथो दिन बिहान ६ः३० बजे साइकलमा हिमा नदी तीरैतीर कोटघर हुँदै गोठीज्यूलाको ओरालो हान्नियौं। त्यहाँ स्थानीय भन्दै थिए, 'तिम्रा भाँडो यहीँ राखिजाऊ र हिँडिगयौ भने ६ घन्टामा पुगिजान्छौं, नत्र कहिले हो कहिले।' त्यहाँको भाषा सुन्दा श्री ५ बडामहाराज पृथ्वी नारायण शाहको पालाको जस्तै लाग्यो।

त्यसपछि हामी मालिका बोताबाट गाडी चल्ने बाटो नगई गाउँबीचबाट स्थानीयले हिँड्ने बाटोबाट साइकल ठेल्न थाल्यौं। केटाकेटी हाम्रापछि लागे। पहरा ताछेर बनाइएको बाटो कटेपछि हामी ५ः३० बजे हिउँको थुप्रा भएको भुलभुले पुग्यौं। जति सक्यो उति कट्ने प्रयासमा थियौं। बाटैमा एक युवकले रोके 'अगाडि जानुभयो भने बस्नेखाने ठाउँ भेटनुहुन्न, तपार्इंहरू लेकको जंगलमा अलपत्र पर्नुहुन्छ, नजानू।'

हामी भुलभुले फर्किएर होटलमा बस्यौं। खासमा पानी भुलभुल गरी निस्कने ठाउँ भएकाले भुलभुले नाउँ रहेको रे। बाटो खनेपछि भने भुलभुल हराएछ। होटल मालिक धतुरे जसको एक खुट्टामा एउटा कम्पनीको र अर्कोमा अर्को कम्पनीको जुत्ता थियो। जतिजति रात छिप्पिँदै गयो, धतुरेको (खासमा नाम प्रेम भए पनि उसकी रामप्यारीले राखेकी थिइन्) र उनकी श्रीमती रामप्यारी (खासमा नाम लक्ष्मी भए पनि धतुरेले राखेको नाम) को कहानी अझ रमाइलो पो लाग्न थाल्यो।

रामप्यारी उनकी तेस्री उर्फ कान्छी श्रीमती रे। पहिली श्रीमतीलाई २० हजार तिरेर पारपाचुके गरेछन्। अनि दोस्रीचाहिँ उनले रामप्यारीलाई भगाएर लगेर १० दिनसम्म घर नआएपछि आफैं भागेकी रे। 'कान्छी भनेर त अहिले नै नभनम् बल्ल ३० वर्षको त भएँ,' धतुरेले फेरि बिहे गर्ने संकेत गरे।

त्यहाँ गाडीका स्टाफहरूले होटल भरिभराउ हुँदो रहेछ।

पाँचौं दिन बिहान ६ः१५ बजेदेखि भुलभुलेबाट साइकल कुदायौं। केही बेरमै चारैतिर हिउँ नै हिउँ भएको ४ हजार फिटमाथि सेनाको चेकपोस्ट पुग्यौं। बाटो छाडेर हिउँमा साइकल कुदाउन थाल्यौं। जंगलबीचमा राष्ट्रिय चरा डाँफे हेर्दै साइकल कुदायौं। हिउँले जमिन गलेकाले होला ठूलो पहिरोले बन्द बाटोमा साइकल काँधमा बोकेर पार गर्यौंष।

साइकल कुदाउँदै झयारी फेदी आयौं र उकालो चढ्यौं र तेर्पाया बाटो हुँदै ताल्चा विमानस्थल र मुगुको सदरमुकाम गमगढी जाने बाटो छोडी मोडबाट रारातालका लागि हान्नियौं। अलिमाथि के पुग्थ्यौं, एक्कासि मौसम बिग्रिएर अगाडिका डाँडा सेताम्मे भए भने हावाहुरी लागेर असिनापानी पर्न थाल्यो।

पर पुगेपछि धन्न चिया पसल भेटियो। चियाको चुस्कीपछि मौसममा थोरै परिवर्तन हुने संकेत देखियो। पानीको परबाह नगरी अघि बढ्यौं। जंगलको ग्रेँगर, हिलो, रूखका लेउ लागेर निस्केका जरा र ओरालो, भिरालो तथा चिप्लो खोल्सा खाल्सीमाथि बनाइएका काठका पुल पार गर्दै हामी राराताल पुग्यौं।

वाह! हाम्रो रारा!

गन्तव्यमा पुग्दा खुसीको सीमा रहेन। क्यामेरा खोल्यौं। शान्त वातावरण, हिमाल, निलो पानी, अनि पानीमा स्पष्ट खेलिरहेका देखिएका माछा, त्योभन्दा स्वर्ग कहाँ भेटिएला! राराताललाई ठ्याक्कै एक फन्को लगाएर होटल पुग्यौं। त्यहाँ महँगो गुठीच्याउको नमुना पनि देख्यौं। राराताल जसलाई पहिले रारा दह भनिन्थ्यो र राजा महेन्द्रको २०२० सालको भ्रमणपछि यसलाई महेन्द्र ताल भन्न थालियो।

रारा २,९९० मिटरको उचाइमा रहेको नेपालकै ठूलो ताल हो। यसको लम्बाइ ५ किलोमिटर, चौडाइ ३ किलोमिटर तथा गहिराइ १६७ मिटर छ। राजा महेन्द्रले राराको सुन्दरताबाट मन्त्रमुग्ध भएर 'सुन्दरताको भण्डार सहारा, के खनाया यसै रारामा राराकी अप्सरा' भनेर भनेका थिए।

रारा अन्तर्राष्ट्रिय महŒवको सिमसार क्षेत्र हो। १०६ वर्ग किमिमा फैलिएको रारा राष्ट्रिय निकुञ्जका रारा र छाप्रुबस्तीलाई बाँके जिल्लामा स्थानान्तरण गरिएको रहेछ। सौन्दर्यको खानी भए तापनि रारामा वर्षमा २ सय हाराहारीमात्रै पर्यटक पुग्दा रहेछन्। तालकिनारमा खान र बस्न एउटामात्र होटल छ, डाँफे होटल।

डाँफेमा १० कोठा छन्। आवश्यकताअनुसार टेन्टमा बस्न पाइन्छ। हामी सुत्ने बेलामा फेरि हिउँ पर्न थाल्यो।

छैटौं दिन बिहानी रारामा डुंगा चढ्ने भयौं। निकुञ्जलाई 'केही भवितव्य भएमा हामी स्वयं जिम्मेवार हुनेछौं' भन्ने व्यहोराको निवेदन दियौं। र, नेपाली सेनासहित र्या'फ्िटङ बोटमा लाइफ ज्याकेट लगाएर तालमा पस्यौं। रमाइलो भयो।

ताल घुमेपछि मुर्माबाट साइकल डोहोर्यानउँदै तल झर्यौं । साइकलकै लागि भनेर बनाइएको जस्तो सिंगल ट्र्याकको ठाउँठाउँमा ठूलाठूला रूख ढलेका थिए, पहिरो खसेको थियो। ती अवरोध पार गर्दै बाउपानी रातामाटे बस्तीमा साइकल र हामीलाई हेर्नकै स्थानीयको भिड लाग्यो। नदी र खोलामा पौडी खेल्दै गरेका बच्चाहरू साइकलकै पछिपछि दौडन थाले। एक जना बूढाबाले 'बाटो खराब छ, बिस्तारै जाऊ, नदीमा खसिजाऊला' भनेर सुझाए।

हामी कर्नाली तीरको सुकाढिक, झुलगा (मुगु र बाजुरा जिल्लाको सिमाना) को स्थानीय होटलमा बस्यौं। कोठामा बत्ती, सिरक र सिरानी थिएन। बेडमुनि हाँसहरुको गँुड थियो। होटलका भाइलाई 'पानी छैन?' भनेर सोधेको त, कर्नाली देखाउँदै भन्यो, 'ऊ त्यहाँ छ।'

सातौं दिन बिहान कर्नाली पुल तरी राँकेभीरतर्फ बढ्यौं, खच्चड हिँड्ने पहाडको बाटो। बाटोभरि हुम्लाका लागि खाद्यान्न बोकेका खच्चड, च्याङ्ग्रा र भेडाको अवरोध कहीँ ठेल्दै कहीँ बोक्दै २ घन्टामा राँकेभीर पार गर्यौंि। दसैंमा च्याङ्ग्रा किन्दा नुन बोकेकाको मासु मिठो हुन्न र चाम्रो हुन्छ भन्ने त सुनेकै हो यहाँ त सामान बोक्दै गरेका भेडा च्याङ्ग्रा पो देखियो!

अप्ठेरो बाटो सुक्खा नदीका गोला ढुंगा, बाटोभरि पानी नभेटिएको अवस्था, वरिपरि गाँजाका बिरुवा। प्रकृतिले धनी भए पनि, निकै बिकट र गरिबी भएकाले त्यहाँ भात माग्दै गरेका ३ जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएर उनीहरूको घर गमगढी बुझाउन लाँदै गरेको दृश्य पनि देखियो। लामो डोहोर्यािउने यात्रा ठाडो खोला पार गरेपछि टुंगियो र त्यही खोलाको पानी पियौं। ठूलो पहिरोको अवरोधलाई साइकल बोकेर पार गरेको केही घन्टामा विमानस्थल रहेको कोल्टी बजारसम्म पुग्यांै, जुन बाजुराको दोस्रो ठूलो बजार रहेछ। हामीले बल्लबल्ल नेपालगन्ज उड्ने टिकट पायौं। केही बेर थकानपछि हामी बजार घुम्न निस्कियौं। विमानस्थलको आडैमा प्रहरी चौकी, बाटोपारि खाद्य संस्थानको डिपो र डिपोमाथि सेनाको ब्यारेक रहेछ। ब्यारेक आडैको खहरे खोलामा बाढी आएर ०७१ जेठ २४ गते कोल्टी बजारका ५ घर बगाएको र ३ जनाको ज्यान गएको जानकारी पायौं। अलिपर बाजुराको सदरमुकाम मार्ताडी जाने बाटोतिर पुरानो र ठूलो बजार रहेछ। तर साँझ परेकाले होटलमा फर्किंयौं।

आठौं दिन बिहान ११ः३० मा बल्ल विमान आयो। विमानस्थल व्यवस्थापनले हातेब्यागको समेत पैसा असुल्यो। सबै साइकल जहाजमा नअट्ने अभिव्यक्ति मोलतोलमा मिल्दा अट्यो। मन खल्लो भो।

हामी साइकल यात्रीमा अन्तुमान गुभाजू, टोक्केल शेर्पा, अनिल शाक्य, अभिषेक कोइराला र अन्जान कोइराला थियौं। हामी नेपालगन्जमा बागेश्वरी मन्दिर घुम्यौं। एक रात त्यहाँ बसेर अर्को दिन पोखरा फर्कियौं।

प्रकाशित: ११ भाद्र २०७२ २१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App