४ माघ २०८२ आइतबार
image/svg+xml
अन्य

उ तार्ई शान, मञ्जुश्री र नेपाल

गत जुलाई ६ देखि १२ तारिखसम्म चीनको फ्रेन्डसिप एशोसिएसनको निमन्त्रणामा चीन भ्रमणको कार्यक्रम बन्यो। यो मेरो दोस्रो चीन भ्रमण भए पनि ऐतिहासिक तथा सांस्कृतिक स्थल उ (वु) तार्ई शानको चाहिँ पहिलो थियो। बेइजिङको टिबेटोलोजी सेन्टरमा तिब्बती बुद्ध धर्म विषय सेमिनार र उ तार्ई शानसमेत केही सांस्कृतिक महत्वका ठाउँको अवलोकन भ्रमणको मूल उद्देश्य थियो।अघिल्लो भ्रमण बेइजिङ विश्वविद्यालयमा सम्पन्न बौद्ध अध्ययनसँग सम्बन्धित आइसिसिआर समेतको तत्वावधानमा सम्पन्न अन्तर्राष्ट्रिय सेमिनार–सन्दर्भको थियो। त्यस बेला बेइजिङ सहर, स्थानीय संग्रहालय, ऐतिहासिक दरबार तथा आसपासका बौद्ध विहार र मन्दिरको अवलोकन गर्ने र बेइजिङ लाइब्रेरीमा नेपाल–चीन तिब्बत विषयका पुराना सामग्री हेर्ने काम भएकोले झन्डै तीन हप्ताको बसाइमा पनि उ ताई शान पुग्ने कार्यक्रम बन्न सकेको थिएन। यसपटक भने पहिलेदेखिको अभिलाषा पूरा भयो। मञ्जुश्रीको निवास तथा धार्मिक थलो मानिएको र बौद्ध जगत्ले पवित्र मानेको यो प्राचीन ठाउँको अवलोकन गर्ने। पूरै दुई दिनको बसाइ त उ तार्ई शानमा मात्र भयो। त्यहाँका बौद्ध मठमन्दिर, छोर्तेन, स्तूप, पुराना अभिलेख र कला कौशलका साथै त्यहाँको अत्यन्त आधुनिक विशाल थिएटरमा एक साँझ मञ्जुश्री विषयको बुद्ध धर्म, मानव जीवन र समाजको चित्रण गरिएको दुई घन्टाजतिको अत्यन्त चाखलाग्दो नाटक हेरियो। भिक्षुणीहरूले मात्र पढ्ने स्थानीय बौद्ध शास्त्रीय कलेजको अवलोकन र त्यहाँका तीन हजार विद्यार्थी र अध्यापकका साथ अत्यन्त अनुशासित र पूर्ण सात्विक दिवाभोजनको नौलो अनुभव पनि गर्न पाइएको थियो।

उ ताई शानको भूगोल

बेइजिङबाट आठ देखि १४ लेनसम्मको चौडाइयुक्त द्रुतगतिको राजमार्ग (हाई स्पीड सुपर हाइवे) मा झन्डै छ घन्टाको द्रुत गुडाइको दुरीमा शान्सी प्रोविन्सको उत्तरपूर्वी भागमा अवस्थित छ उ (वु) तार्ई शान अर्थात् पाँच उच्च पर्वतको पवित्र ठाउँ। यसलाई प्राचीनकालदेखि संस्कृतमा ...पञ्चशीर्ष पर्वत'को रूपमा चिनाइएको पाइन्छ। यसको अर्को चिनियाँ नाम छिङ्–लियाङ् (शीत पर्वत) अर्थात् ठन्डा हावापानी भएको पर्वत पनि हो। अवतंसकसूत्र नामक प्राचीन ग्रन्थमा यस पर्वत इलाकालाई वर्षा याममा पनि हिउँ पर्ने, बाह्रै महिना हिउँले ढाक्ने, गर्मी मौसम कहिले पनि नहुने भनेर चिनाइएको छ। हिजोआज यहाँ मे महिनामा मात्र हिउँ पग्लिएर सकिन्छ र अगस्तदेखि फेरि पर्न थाल्छ। छिनछिनमा वातावरण परिवर्तन भइरहने यस पर्वतीय इलाकामा आँधबेहरी, असिना–पानी परिरहन्छ। आकाश खुलेका बेला भने अति मनोरम देखिने यो हरीयालीपूर्ण पर्वतीय इलाकालाई थाइ–नै अर्थात् शिखरहरूले घेरिएको क्षेत्र पनि भानिन्छ।

पाँच पर्वतका अग्ला टुप्पाले युक्त ठाउँ भएकै कारण यस इलाकाको प्रशासकीय नामसमेत उ ताई राखिएको छ। यसो भए तापनि यस पर्वत शृंखलाको केही भागलाई शान–सि प्रदेशकै फान्–च्ही इलाका र केही भागलाई हो पेइ प्रदेशको फु पिङ् इलाकाअन्तर्गत पारिएको छ। यसलाई शि–थाइ र थोङ्–पु रेल्वेले पनि छिआङ् भन्ने नजिकैको बस्तीसम्म जोडेको छ। त्यहाँबाट स्थानीय साधनमा थुङ् येन सहर छिचोल्दै उ ताईको मुख्य सहर, थोउ बस्ती र चिन्–को नामक विहारको इलाका काटेपछि थाइ–हुआइ नगरीमा पुगिन्छ। यो नै यस उ ताई पर्वत इलाकाको मुख्य केन्द्र हो, जहाँ प्रसिद्ध सियान–थोङ् विहार र शरीर स्तूप (पगोडा) आदि अवस्थित छन्। यहाँको यो शरीर स्तूपको निर्माण नेपाली कलाकार तथा बौद्ध वास्तुका अनुभवी अ नि गेले (अरनिको) ले सन् १३०१ मा गरेका हुन् भन्ने प्रमाण पाइएका छन्।

यो उ ताई क्षेत्र पूर्वी र पश्चिमी गरेर दुई मुख्य पर्वत शृंखलायुक्त देखिन्छ। पूर्वी पर्वत शृंखला दक्षिणपूर्वी दिशातर्फ बढेको छ र गहिरा खोँच र ओराला हुँदै अनेक चट्टान काट्दै र छिचोल्दै बग्ने चिङ्–सुइ नदीले बीचबाट यस इलाकाको लगभग १२० माइलजति लामो उपत्यकालाई छुट्याइदिएको देखिन्छ भने पश्चिमी शृंखला फेरि पूर्व र पश्चिमतर्फ गरेर दुईतिर बाँडिएको देखिन्छ। पश्चिमतर्फको यो पर्वतमालाको पूर्वी भागका पर्वतहरू हु त्हो र छिङ् स्वेह नदीमा पानीढलो बनाएर फैलिएका देखिन्छन्। यो उ ता ई शान पर्वत इलाका चिनियाँ नापमा ५०० लि अर्थात् २,५०,००० मिटरको व्यासभित्र साना–ठूला असंख्य हरियाली अग्लाहोचा डाँडाकाँडा, खोलाखोल्सी, खोँच र टुप्पाहरूले भरिएको प्राकृतिक सुन्दरताले युक्त देखिन्छ। धुपीजस्ता उच्च लेकाली ठाउँमा पाइने वनस्पति पाइने यो पवित्र पर्वत इलाका निकै ठन्डा हावापानीले युक्त र शान्त छ। उ तार्ई पर्वतमालाका पाँच उच्च टाकुरामा हिउँदमा ४५ डिग्री सेल्सियससम्म तापक्रम झर्दछ।

यस पर्वत इलाकाका पाँच पवित्र उच्च टाकुरामध्ये दक्षिणी टाकुरोबाहेक सबै एक–अर्कोसँग जोडिएका छन्। दक्षिणी टाकुरोचाहिँ अलिपर अलग्गै ठडिएको देखिन्छ। यी पाँचै पर्वतका टुप्पाका छुट्टाछुट्टै नाम छन्। स्थानीय चिनियाँ भाषामा त्यहाँको मध्य वा बीचको टाकुरालाई सुइ–येन, उत्तरी लाई येह–थो, पूर्वीलाई वाङ्–हाई, पश्चिमीलाई कुआ–युएह र दक्षिणीलाई चिन्–सियु नामले चिनिन्छ। यी पाँच उच्च टाकुरामध्ये उत्तरी येह–तो पर्वत सबैभन्दा अग्लो छ।

मञ्जुश्रीको थलो

चीनका चार वटा प्रसिद्ध र पवित्र मानिएका बुद्ध धर्मसँग सम्बन्धित पहाडमध्ये विशेषगरी मञ्जुश्री (चिनियाँमा ...वोङ् सु फो सा') को निवास र धर्मथलोको रूपमा प्राचीनकालदेखि नै अत्यन्त सम्मान गरिँदै आएको ठाउँ हो— उ ताई पर्वत इलाका। मञ्जुश्रीको धार्मिक केन्द्रको रूपमा चिनिने यो पर्वत इलाकाभित्र चार दिशामा एकएक गरी चार र बीचमा एउटासमेत पाँच पर्वतका उच्च टाकुरा देखिन्छन्। हरेक टाकुराका टुप्पामा प्राचीनकालदेखि नै एकएक महाबुद्धका मूर्ति स्थापित छन्।

चिनियाँ भाषामा ह्वायान–चिङ् र संस्कृतमा अवतंशकसूत्र नामक प्राचीन बौद्ध ग्रन्थमा यस उ ताई शानलाई बुद्धको जन्म, ज्ञान प्राप्ति, पहिलो उपदेश (धर्मचक्र प्रवर्तन) र महापरिनिर्वाणका घटनासँग सम्बन्धित लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगरजस्ता अत्यन्त महŒवपूर्ण पवित्र बौद्ध तीर्थस्थलहरूकै पंक्तिमा राखेर वर्णन गरिएको पाइन्छ। यस्तो वर्णन गर्ने क्रममा यसलाई महायान शिक्षाको महŒवपूर्ण स्थलको रूपमा चिनाइएको देखिन्छ। अवतंशकसूत्रको थाङ् शासनकालमा चिनियाँ भाषामा उ ताई शानमा नै अनुवाद गरेर पठनपाठन समेत हुन थालेपछि यसको प्रसिद्धि विशेष रूपमा बढ्न थालेको बुझिएको छ। यस पुस्तकको ...बोधिसत्वको निवास' नामक परिच्छेदमा यो उ तार्ई शान पर्वत इलाका पूरै मन्जुश्री बोधिसत्वलाई चढाएको उल्लेख छ। यसमा उ ताईलाई छिङ्–लियाङ् अर्थात् शीत पर्वत भनेर चिनाइएको छ। मञ्जुश्री धर्मरत्नपिटक धारणसूत्र भन्ने एउटा अर्को शास्त्रीय ग्रन्थमा भने यस पर्वत इलाकालाई स्पष्ट रूपमा उ ताई नामले पहिलोपल्ट चिनाइएको देखिन्छ। अवतंशकसूत्रमा अघिअघि धरै बोधिसत्वहरू त्यस ठाउँमा आएर बस्ने गर्दथे र मञ्जुश्री पनि आफ्ना दस हजार बोधिसत्व शिष्यहरूका साथमा बौद्ध पठनपाठन तथा अभ्यास गरेर बस्दछन् भनेर उल्लेख गरिएको छ।

यस ठाउँलाई अवतंशकसूत्रमा वर्णितसहित अनेकौं स्थानीय परम्परामा मञ्जुश्रीको जन्मभूमिको रूपमा समेत चिनाइएको छ भने कतिपय स्रोतमा उनको निवास, धार्मिक कर्म र ध्यानको थलोको रूपमा मात्र। मञ्जुश्रीको जन्म र निर्वाण कहाँ भएको हो भन्ने विषयमा स्पष्ट प्रमाण नपाइए तापनि निर्वाणपछि उनको पाँच गाँठोयुक्त कपाल (केश) राखेर उ ताईमा एउटा स्तूप निर्माण गरिएको थियो र श्वेत स्तूपको वा श्वेत पगोडाको नामले प्रचलित उक्त स्तूप पुननिर्मित रूपमा अहिले पनि उ ताईमा देख्न सकिन्छ। फोकुआङ्, छिङ् लियाङ् र फु–थु (हालको स्यान–थोङ् विहार) नामका विहारहरू उ ताई शान पर्वत इलाकाका क्रमशः पहिलो, दोस्रो र तेस्रो हुन्, जसको निर्माण उत्तरी वे ई वंशका सम्राट जिआओ वेनको शासन काल (४७१–४९९) मा भएको हो। पछि उत्तरी छि वंशको समय सम्ममा त्यहाँ २०० भन्दा धेरै विहार र मन्दिरको संख्या पुगेको थियो।

टाढा–टाढादेखिका प्रसिद्ध बौद्ध विद्वान्, भिक्षु, उपासक आदि प्राचीनकालदेखि नै तीर्थयात्रा तथा धार्मिक पठनपाठनका उद्देश्यले यहाँ आउने र निश्चित अवधिका निम्ति बस्ने गर्दथे भन्ने उल्लेख विभिन्न स्रोतमा पाइन्छ। तीर्थयात्रीका निमित्त यहाँ अनेकौं धर्मशाला बनाइएका थिए। यहाँ प्रायः हान, मंगोल, मंचुरियाली, तिब्बती र थु जातिका भिक्षुहरू आवासीय रूपमा पठनपाठन र धार्मिक काम गरेर बसेका देखिन्छन्, यो परम्परा निकै पुरानो हो। त्यस पवित्र पर्वतको जंगल र वन–बुट्यानमा औषधिका जडिबुटी खोज्न पनि मानिसहरू आउने–जाने आउने गर्दथे भन्ने उल्लेख पाइएको छ। ताई–सुङ् बादशाहको शासनकाल (सन् ५९८–६४९) मा अमोघबज्र नामका विद्वान् भिक्षुले उ ताई पर्वत इलाकामा पुगेर त्यहाँ बुद्ध धर्मको प्रचारप्रसार तथा उत्थानका धेरै र महŒवपूर्ण काम गरेको उल्लेख पाइन्छ। सन् ६३६ मा सिल्ल देश (ग्रीस) का चिन–त्जु साङ् (चिनियाँले भन्ने), ६६७ मा सिंहल (श्रीलंका) का ९९ वर्षीय शाक्यमित्र नामका भिक्षु, ६७६ र ६७८ मा काश्मिरका विद्वान् भिक्षु बुद्ध पाल (दुईपटक), ७९४ मा कापिशाबाट भिक्षु प्रज्ञा, त्यसैताका नालन्दाका वास्तुविद् बौद्ध विद्वान् चुन्द, ९८८ मा उत्तर भारतका धर्मभद्र र धर्मदेव भन्ने दुई जना भिक्षुले उ ताईको धार्मिक यात्रा गरेको उल्लेख पुराना शास्त्रीय स्रोतमा पाइन्छ। त्यसैगरी भारतकै सुन्दरश्री नामका भिक्षुले छिन् वंशको समयमा र अमरश्री भन्नेले युआन वंश को समय (१२७९–१३६८) मा तथा श्रीशारीपुत्र र सहजश्री नामका नेपाली भिक्षुले मिङ् वंश (१३६८–१६४४) को समयमा यस पवित्रस्थलको तीर्थयात्रा गरेका प्रमाण पाइएका छन्। त्यस्तै जापानी प्रशिद्ध भिक्षुहरू रेइसेन, एन्निन, ऐउन, सोयी चोन्नेन, जाकुशो, जोजिन, शोगेन आदिले थाङ् (६१८–९०६), सुङ् (९६०–१२७९) तथा युआन वंश (१२७९–१३६८) को शासनकालमा उ ताईको भ्रमण गरेको उल्लेख छ।

नेपाल र उ ताई शान

नेपाल र उ ताई शानबीचको धार्मिक–सांस्कृतिक सम्बन्ध झन्डै उ ताईको बौद्ध इतिहासजति नै पुरानो हो। महाचीनबाट मञ्जुश्री नेपाल आएर काठमान्डू उपत्यका भएको ठाउँको तलाउको पानी चोभारको चट्टान काटेर बाहिर पठाई यहाँ बस्ती बसाएको र स्वयम्भूमा प्रार्थना आदि गरेको भन्ने कुराको उल्लेख स्वयम्भू पूराणलगायत स्रोत र एकथरी वंशावालीमा पाइन्छ। मञ्जुश्री र उनीसँग सम्बन्धित घटनालाई कुनै न कुनै रूपमा ऐतिहासिक मान्दा मञ्जुश्रीको निवास र मूल धार्मिक थलो उ ताईवाट नै सहयोगी शिष्यका साथमा नेपाल आएका थिए भनेर बु‰नुपर्दछ। मञ्जुश्रीको ऐतिहासिकता र समयका विषयमा भने धेरै मतभेद छ। यिनलाई कसैले अलौकिक र आध्यात्मिक कल्पना र मान्यताका बोधिसत्व पात्रमात्र हुन्, ऐतिहासिक व्यक्तित्व होइनन् भनेका छन् त कतिले ऐतिहासिक नै मानेका छन्। कसैकसैले अश्वघोष, नागार्जुन, असंग वा आर्यदेवजस्तै बौद्ध दार्शनिक विद्वान् मानेका छन्। यिनलाई माध्यमिक मत र शून्यवाद्का प्रतिपादक पनि मान्ने गरेको पाइन्छ। एकथरी मतमा मञ्जुश्री भारतका एक बौद्ध विद्वान् हुन् र नेपाल नपसीकन चीनको उ ताई शान इलाका पुगेर महायान बौद्ध परम्पराको पठनपाठन, प्रार्थना, ध्यान आदिमा संलग्न भएर पछि धर्मकै प्रचार र तीर्थ यात्राका निम्ति तिब्बत हुँदै दोलखाको बाटो यहाँ काठमाडौं उपत्यका आइपुगेका थिए। जे होस्, मञ्जुश्रीको इतिहास नेपाल र उ ताई शानबीचको सम्बन्धको पहिलो उदाहरणको रूपमा रहेको छ।

यस धार्मिक सम्बन्धको इतिहासमा कलाकार अरनिकोको नाम त्यसपछि आउँछ। चीनको युआन वंशको इतिवृतिमा र अरू स्रोतमा समेत नेपालका कलाकार तथा बौद्ध वास्तुका अनुभवी ज्ञाता अरनिकोलाई अ नि गे भनेर चिनाइएको पाइन्छ। उनलाई तिब्बतका साक्या विहारका विद्वान् मठाधीश लामा फाग्पामार्फत तिब्बत हुँदै चीन दरबारमा पुर्या।इएको र उनले त्यहाँ कला वास्तुकलासँग सम्बन्धित अनेकौं उल्लेखनीय काम गरेको वर्णन पाइन्छ। उनी चीनको शाही कला विभागको प्रमुखसम्म पनि बन्न सफल भएका थिए। नेपालमा भने उनका बारेमा उल्लेख भएका अहिलेसम्म कुनै पनि ऐतिहासिक स्रोत पाइएका छैनन्। त्यसैले उनको खास नेपाली नाम के हो भन्ने कुरा अस्पष्ट नै छ।

पटकपटक गरेर अ नि गे ले उ ताई शानमा लगभग दस वर्ष बिताएको उल्लेख पाइन्छ। बौद्ध स्तूप, मन्दिर, विहार, मूर्ति, चित्र आदिको निर्माण र धार्मिक प्रार्थना र ध्यानमा उनको यो समय बितेको थियो। उ ताई पर्वतस्थित वान–शेङ् हु गुओ मन्दिर र विहार, शरीर पगोडा भनेर प्रसिद्ध रूपमा चिनिने विशाल चैत्य (सन् १३०१ मा), उत्तरी पर्वत स्थित झाओ–ति धार्मिक–सांस्कृतिक इलाका र त्यहीँ शि–फाङ् जेन नामको मन्दिर र विहार (अहिलेको पु–जी वा बि–शान मन्दिर र विहार), मञ्जुश्रीको नामको श्वेत स्तूप आदिको निर्माणको काम अ नि गे को सुपरिवेक्षण र नेतृत्वमा भएको थियो। यहाँको प्रसिद्ध वान–शेङ् हु गुओ बौद्ध मन्दिर र विहार आदिको निर्माण अ नि गेले सन् १२९५ र १२९७ बीचमा सम्पन्न गरेका थिए। त्यस मन्दिर र विहारको वास्तु, कालिगडी आदिको सुन्दरता तथा विशिष्टता देखेर सम्राट चेङ् झोङ्की आमाले ५० ग्राम प्लटिनम् उपहारसहित अ नि गे को प्रशंसासमेत गरेकी थिइन्।

सन् १३०१ मा शरीर स्तूप निर्माणका निम्ति उ ताई जाँदा अ नि गे उनका धर्मगुरु तिब्बतको सक्या मठका मठाधीश फाग्पा लोडो ग्याल्छेन्का साथमा गएका थिए भन्ने उल्लेख छ। झाओ ति इलाका र त्यहाँका विहार, मन्दिर, मूर्ति, चित्र आदि शृंगारको काममा मात्र उनले लगभग चार वर्षको समय (१३०२–१३०५) बिताएका थिए। यो उनको अन्तिम काम थियो र यो सम्पन्न भएपछि पूर्ण अवकाश लिने भनेर उनले पहिले नै घोषणा गरेका थिए। अ नि गे १९०६ मा दिवंगत भए। दिवंगत हुनुभन्दा एक वर्षअघि लेखिएको ...अ नि गेका असल गुणहरू' भन्ने पुस्तकमा उनले गरेका प्रशंसनीय काम र उनले पाएका उपहार र उपाधिका विषयमा चर्चा गरिएको पाइन्छ।

अ नि गे पछि मिङ् वंशको समयमा चौधौं–पन्„ौं शताब्दीमा नेपालका श्रीशारिपुत्र (१३३५–१४२६) र सहजश्री नामका दुई जना भिक्षुले यस ठाउँको तीर्थयात्रा गरेको उल्लेख छ। यीमध्ये शारिपुत्रले लामो समय धार्मिक काम र शिक्षामा बिताएर निर्वाणसमेत त्यहीँ प्राप्त गरेको बुझिएको छ। त्यसै हुनाले यी प्रसिद्ध विद्वान् भिक्षुको सम्मानमा उनको शरीरको अवशेष राखेर उ ताईमा एउटा स्तूप नै निर्माण गरिएको थियो, जुन पुननिर्मित रूपमा अहिले पनि छँदैछ। यस स्तूपलाई युआन–जाओ वा अशोक स्तूपको रूपमा चिनिन्छ।

पछिल्लो राणाकालमा सन् १९२४ मा धर्मलोक महास्थावीरले उ ताईको तीर्थयात्रा गरेर मञ्जुश्रीको दर्शनसहितको विवरणयुक्त पुस्तिका तयार गरेका थिए। सन् १९६२ मा अरनिको समाजको सक्रियतामा नेपालका तर्फबाट सुवर्ण मोलाम्बासहित दुई मिटर उचाइको मञ्जुश्रीको मूर्ति उ तार्ईमा स्थापना गरिएको छ।

उ तार्ई शानका बौद्ध धरोहरहरू सांस्कृतिक क्रान्तिका समयमा नराम्रोसँग ध्वस्त पारिएको थियो तर एक–दुई दशकदेखि जीर्णोद्धार तथा पुनर्निर्माण जोडका साथ हुँदै गरेको देखिन्छ। अहिले फेरि विहार तथा मन्दिरको संख्या ४४ पुगेको आँकडा छ।

प्रकाशित: ११ भाद्र २०७२ २०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App