गौर–चन्द्रनिगाहपुर सडक खण्डको दायाँबायाँ एक किमी सडक तथा गौर नगरपालिकाका सबै वडालाई अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएपछि मंगलबार साँझदेखि आन्दोलनकारी घर फर्किएको र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हाल गौरको अवस्था सामान्य रहेको र स्थितिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए। उनका अनुसार दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको अवस्थामा स्थानीय कविर चोकमा प्रदर्शनकारी भेला भएको र सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गामुढा प्रहार भएपछि बाध्य भएर गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । शव परीक्षणका लागि अहिले गौर अस्पतालमा राखिएको छ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा गरिएको विरोध प्रदर्शनका क्रममा एकको मृत्यु भएपछि सम्भावित ध्वंसात्मक कार्यप्रति संवेदनशील भई थप सतर्कता बढाइएको प्रजिअ मदन भुजेलले बताए। उनले जातीय सद्भाव भड्काउने र साम्प्रदायिक सद्भाव खलल पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन सवै पक्षलाई आग्रह गरे। रासस
प्रकाशित: ८ भाद्र २०७२ २०:३९ मंगलबार





