द ग्लास प्यालेस, द हंग्री टाइड, द कलकत्ता क्रोमोजम आदि उनका उत्कृष्ट उपन्यासमा दर्ज छन्। त्यस्तै गैरआख्यानमा पनि उनले छुट्टै छाप छोडेका छन्। डान्सिङ इन क्याम्बोडिया लगायत केही निबन्धका सँगाला छन्। समसामयिक अन्तर्राष्ट्रिय विषयवस्तुउपर उनका लेखरचना प्रतिष्ठित अखबार/म्यागजिनहरूमा प्रकाशित भइरहन्छन्। सन् १९९८ तिर उनले लिएको अन्तर्वार्ताका कारण पनि बौद्धिक वृत्तमा चर्चित बनेका थिए। भारतका पूर्व सेना प्रमुख भिपी मलिकदेखि पाकिस्तानी महिला अधिकारकी पैरवीकर्ता आश्मा जाहाङ्गिर लगायतसँग उनले लिएका अन्तर्वार्ता काउन्टडाउन पुस्तकमा पढ्न पाइन्छ। उनका थुप्रै पठन सामग्री भेटिन्छन्, डिजिटल आर्काइभमा समेत।
फ्लड अफ फायर अमिताभको नवीनतम कृति हो। खासमा यो उनको आइविस टि्रलोजीको अन्तिम उपन्यास हो। सि अफ पपिजबाट सुरु भएको यो टि्रलोजीको दोस्रो उपन्यास थियो रिभर अफ स्मोक। लागूपदार्थका विविध रूप र आयाममा फैलिएका छन्, टि्रलोजीका यी तीन खण्ड। टि्रलोजीको केन्द्रमा इस्ट इन्डिया कम्पनी र चीनबीचको अफिम युद्ध जेलिएको छ। यो लम्बेतान कहानी सन् १८४० वरपरको कालखण्डमा टेकेर निर्माण गरिएको हो। गाउँले किसान दीतिको सन्दर्भबाट सि अफ पपिज सुरु हुन्छ। आइविस पानीजहाजको बृहत् गाथा छ, यसमा। हिन्द महासागरबाट मौरिसस पुगेको आइविसले व्यापारी, समुद्रयात्री, जहाजकर्मी, कुल्ली र अपराध–आरोपितहरूको अलग–अलग झाँकी दिन्छ। आइविसको दुर्घटना रिभर अफ स्मोकले खुलाउँछ। नील, पौलेटजस्ता पात्र जिउँदै तैरिन्छन्। पारिवारिक जीवनबाट असन्तुष्ट दीति अफिम खेती, नातागोता, गाउँले सबै त्यागेर अछुत मानिएको कलुवासँग भाग्छे। पछि आइविसले नै दुवैलाई जिउने आधार दिन्छ। अनाहिता जहाजको मालिक बहराम मोदी र पश्चिमी व्यापारीहरू अफिम कारोबारका लागि चीनको क्यान्टोनमा ओइरिन्छन्। यहीँबाट सुरु हुन्छ अफिम युद्धको आधारशीला, रिभर अफ स्मोकका रूपमा।
अफिम युद्धको क्लाइमेक्ससँगै अघि बढ्छ, फ्लड अफ फायरको कथा। ब्रिटिश अधिनस्थ भारत, स्वतन्त्र चीन तथा दुवैको खिचातानीको चेपुवामा परेको हङकङका विविध भूगोलमा पोतिएको छ उपन्यासको क्यानभास। दिदीभाइको मार्मिक प्रसंगबाट खुल्छ यसको दैलो। हवल्दार केशरी सिंह अगाडिको खण्डमा देखिएकी दीतिको भाइ हुन्छ। भाइलाई सैनिकको नोकरीमा लगाउन दीतिकै भूमिका देखिन्छ। केशरीसँग जोडिएका पात्र र घटनाबाट सैनिक जीवनका भित्री–बाहिरी पाटा खुल्दै जान्छन्। बंगाल इन्फ्यान्ट्रीको सानो समूह सम्हाल्दै कप्तान नेभिल मीको नेतृत्वमा ऊ दलबलसहित चीनतर्फ बढिरहेको हुन्छ।
समुद्री यात्रामै बित्छ उपन्यासको लामो खण्ड। भारतीय व्यापारीका आइविस, अनाहिता, हिन्द, चिनियाँ पक्षका क्याम्ब्रिज अनि बेलायती पक्षका ब्लोन्ड, एलिगेटर, वेल्स्ली, मेल्भिल, ब्लेनहेमजस्ता पानीजहाजको लस्करले कथामा नयाँनयाँ सन्दर्भ जोड्दै जान्छन्। दुई बी अर्थात् बहराम र बर्नहाम पानी जहाजका मालिक अनि अफिमका अफैध कारोबारी हुन्छन्। यसमा ब्रिटिश इन्डियाका टप व्रास अफिसरसँगको मिलेमतो देखिन्छ। बर्नहाम वेगवान विजनेस टाइकुन बन्दै जान्छ। बहरामको सबैभन्दा प्यारो अनाहिता उसैले किनिलिन्छ। पानीजहाज चालक जाचारी रिड आइविसमाथिको आक्रमणको आरोपमा मुद्दा खेपिरहेको भेटिन्छ। पछि ऊ दोषमुक्त ठहरिन्छ तर बाँच्ने उपायको खोजीमा बर्नहामको पानीजहाज मर्मत गर्ने सिकर्मीको रूपमा जोतिन बाध्य हुन्छ। यसै क्रममा मिसेस बर्नहामबाट निःशुल्क सेक्सको भरपुर आनन्द उठाउँछ। समयक्रममा उनकै पति मिस्टर बर्नहामको प्रिय पात्रसमेत बन्न पुग्छ।
सिरिन अर्का समुद्री व्यापारी बहरामकी विधवा हुन्छिन्। उनी हङकङस्थित आफ्नो श्रीमान्को अन्त्येष्टि स्थलमा श्रद्धान्जली दिने र बेलायती दबाबले काम गरेमा चीनबाट नष्ट गरिएको अफिमको क्षतिपूर्तिसमेत बुझ्ने आशामा बम्बईबाट चीन पुग्छिन्। चीनमा भारतीय मूलको नौजवान नील चीन सरकारको अनुवादक बनेर जीविका चलाइरहेको भेटिन्छ। नीलमार्फत बहुप्रचारित अफिम युद्धमा चिनियाँ रणनीति, ब्रिटीश तयारीको तुलनामा चीनको कमजोरी, मकाउ युद्धमा चीनको हार र उसको हतास मनोबल आदि पक्ष उजागर हुन्छन्। यो चार दिशामा छिरलिएको कथालाई अन्ततः लेखक केन्द्रित गर्छन् हङकङ, भारत तथा चीनका विभिन्न ठाउँमा। त्यहीँ अफिम कारोबार र यसको बढ्दो प्रयोग र अफिम युद्धका दृश्य जेलिएका हुन्छन्। अफिमकै कारण हङकङमाथि ब्रिटिश इन्डिया कम्पनीको विजयका घटनासमेत जोडिन्छन्। यी चारै पक्ष र जोडिएका पात्रको साझा चासो र संलग्नतामा केन्द्रीय कथा बन्छ, अफिम संसार।
अफिमको अनौठो दुनियाँमा पानीजहाज, युद्धपोत, सैनिक डफ्फा, व्यापारी समूह सबै पुग्छन्। अफिमले नै लिन्छ बहराम र फ्रेडीको जीवन। अफिम कारोबारबाटै जाचारी उक्सिन्छ अनि यसैबाट अफिम संसारमा बर्नहाम र चानको आधिपत्य कायम रहन्छ। कोही बर्बाद हुन्छन् अफिमबाटै, कोही आवाद अनि कोही मालामाल। मुख्य पात्रजस्तै रहेको अफिमको व्यापकता उपन्यासका यी हरफमा छर्लङ्ग देखिन्छ— अफिम बेलायती सरकारको एकलौटी कारोबार हो। होटल, चर्च, सरकारी आवास, सबका सब अफिमबाटै सञ्चालित छन्।
हुन पनि हो, सेनाका लडाकुदेखि अफिसरसम्मका धेरै अफिम सेवनमा लठ्ठिएका हुन्छन्। युद्धको त्रास भगाएर सुरो बन्न होस् या घरपरिवारको विछोड र विरह भुल्न, या विगतको असफल प्रेमको पीडा भुल्न नै किन नहोस्; धेरै पात्र अफिमका अम्मली बनिसकेका हुन्छन्।
एकातिर बेलायती सरकारको नेतृत्वमा इस्ट इन्डिया कम्पनी चीनसँग युद्ध गर्छ र चीनले बरामद गरेको इस्ट इन्डिया कम्पनीका व्यापारीहरूको अफिमको क्षतिपूर्ति दिलाउन उसलाई बाध्य पार्छ। अन्तमा मिस्टर बर्नहाम, जाचारी रिड र चिनियाँ व्यापारी चानबीच व्यापारिक गठबन्धन बन्छ । अफिमको अफैध धन्दामा सरकार र राजनीतिका खेलाडीलाई व्यापारी घरानाहरूले कसरी कठपुतली बनाइरहेछन्, लोभ्याउने गरी पटाक्षेप भएको छ यो सम्बन्धको जालो। चिनीयाँ पक्षसँग संलग्न अर्को अनुवादक कोम्टनको यो भनाइ यहाँ सान्दर्भिक लाग्छ— 'सानादेखि ठूला व्यापारीले जब युद्ध हाँक्न थाल्छन् नि, घुसको लेनदेन नबढ्ने कुरै भएन। अनि कैयौं जीवन बर्बाद नहोस् पनि कसरी?'
उपन्यासमा तत्कालीन नेपाली सेनाको प्रसंग पनि आउँछ। तिब्बतमाथि नेपालले आक्रमण गरेपछि चीन नेपालमाथि जाइलाग्छ, नराम्ररी हार्छ नेपाल। विगतको यही कटुताले दुई देशबीच अविश्वास बढ्छ। पछि इस्ट इन्डिया कम्पनीविरुद्धको लडाइँमा नेपाली पक्षले राखेको सहयोगको प्रस्ताव चीन सरकारले अस्वीकार गर्छ। लामो समयसम्म चीनतर्फका उच्च पदस्थ सेनाका मान्छे आफ्नो सरकारको यो मूर्खताप्रति यसरी खेद र आक्रोश पोखिरहेका हुन्छन्— 'चीनले ब्रिटिश इन्डियाविरुद्धको लडाइँमा नेपालको प्रस्ताव मानेको भए फरक घटनाक्रमको विकास सम्भव थियो। विश्व मानचित्रमा चीनको उपस्थिति बेग्लै हुने थियो।' नतिजा, बेलायती उपनिवेशका झन्डा गाडिए विश्वका धेरै देशमा।
अफिम संसारमा अफिमको धुवाँमात्र कहाँ उड्छ र? प्रेम, पैसा र सम्बन्धको उतारचढाव पनि सँगसँगै देखिन्छ। यौनका खहरे खोला त कतिकति! प्रेम र यौनका सन्दर्भ पनि उपन्यासमा आएका छन्। कट्टर फारसी संस्कारकी विधवा सिरिन लामो समुद्री यात्रामा कसरी आफ्ना पतिका बफादार सहकर्मी जादिग वेसँग जीवन बिताउन राजी हुन्छिन्; यहाँ उत्कृष्ट प्रेमकलाको प्रदर्शन भएको छ। क्याप्टेन मीको असफल प्रेमकहानी बेग्लै छ। क्याथी (बिहेपछिकी मिसेस बर्नहाम) का प्रेमपत्र सुरक्षित छन्, उससँग। छातीमा तिनै प्रेमपत्र टाँसेर रणभूमिमा जानेगर्थ्यो कुनै बेला। त्यस्तै जाचारी रिड र मिसेस बर्नहामबीचका धारावाहिक यौन प्रसंगको उदात्त वर्णन छ। यौन फगत एक शारीरिक तुष्टिको माध्यम होइन, यो त एउटा कला हो र यसले सेलिब्रेसन (मिस्टिक लेखक नगरकोटीको भाषामा) माग्छ भन्ने तर्कको नजिक छन्, मिसेस बर्नहाम। यौनसंगी जाचारीले राखेको बिहेको प्रस्तावमा उनको व्यावहारिक जवाफ आउँछ— 'म तिम्रो काकीकै उमेरकी भइसकेँ। तिमी चाँडै मदेखि वाक्कदिक्क हुनेछौ। त्यसैले घर बसाउने कुरा छोडिदेऊ र अहिले जे जति मजा लिन सकिन्छ, लिऊँ।' यस्ता रमाइला सन्दर्भले स्पीड ब्रेकरको काम गर्छन्, ठाउँठाउँमा।
भाषा प्रयोगको दृष्टिले टि्रलोजीका अघिल्ला दुई अंकमा भन्दा अझ नयाँ कुरा भित्रिएका छन्, यहाँ। हिन्दी शब्द र वाक्यांशको रमाइलो उपस्थिति त छँदै छ। गुजराती, राजस्थानी, भोजपुरी, बंगाली आदि क्षेत्रीय भाषाका शब्द/वाक्य नियमित अन्तरालमा भेटिन्छन्। कतै फ्रेन्च त कतै चिनियाँ राष्ट्रिय भाषा, म्यान्ड्रिन मडारिएका छन्, पात्र र परिवेश सुहाउँदो। भाषाको मिसमास प्रयोगले झनै मनोरन्जन थप्छ।
केही प्रसंग, जाचारीसँगको यौन अभ्यासका क्रममा मिसेस बर्नहाम भन्छिन्— 'नाउ, इट्स माई टर्न टु बजाओ द घन्ट।' काम खोजिरहेको जाचारीलाई मिस्टर डोओटी सल्लाह दिन्छ— 'मिस्टर बर्नहामले एक जना मिस्त्री खोज्दैछ। तिमी इच्छुक छौ काम गर्न?' जहाज मर्मत गर्न जान्ने मिस्त्रीको खोजी भइरहेको हुन्छ। जाचारी भने चकित परेर सोध्छ, 'के भनेको? कस्तो रहस्य?' अर्थात् मिस्ट्री। मिस्त्री र मिस्ट्रीजस्ता थुप्रै सन्दर्भ चटनीका रूपमा आएका छन्।
केही पात्रको नामकरण पनि रोचक सुनिन्छ। बहराम–पत्नी सिरिनलाई कर्मचारीहरू बिबिजी भनी पुकार्छन्। यो सम्बोधनमा बहरामकी श्रीमती भन्ने सोझो अर्थ त छँदैछ। मौरी (बी) झैं भुनभुन गरिरहने आइमाईको रूपमा पनि बिबिजी प्रयुक्त हुन्छ। टि्रलोजीका अगाडिका दुई उपन्यासका धेरै पात्रको निरन्तर यात्रा छ यसमा। कुनै पात्रचाहिँ एक छिनमै हराउँछन्। कम स्पेस ओगटेका यस्ता पात्रको हठात् उपस्थितिले भने पाठकलाई केही अल्मलाउँछ। आह फात, सेराङ अली, कलुवाजस्ता अगाडिका दुई उपन्यासमा पानीजहाजका कामदार रहेकाहरू फेरि देखिँदा भने टि्रलोजीका अघिल्ला अंक पढ्न सकसक बनाउँछ पाठकलाई। टि्रलोजीको प्रारम्भमा मालुम जिक्रीको रूपमा देखिएको जाचारी प्रेमिका पौलेटसँग भन्छ— '(पानीजहाज) आइविसले हामीमाझ धेरै गोप्य कुरा छोडेको छ र ती सबै मसँग सुरक्षित छन्।' यो रहस्यको संकेतसँगै अनपेक्षित केही क्यामियो पात्र देखिँदा कथाले रमाइलो फन्को मार्न थाल्छ।
ऐतिहासिक विषयमा लेखिएको विशद खोजपूर्ण आख्यानको निरन्तरता हो, फ्लड अफ फायर। व्यापक परिधि, थुप्रै विषय र अनगिन्ती पात्रले यो महाआख्यानझैं लाग्छ। पुछारमा ऐतिहासिक सामग्रीहरूको लामो सूची छ। इतिहासमा पनि अफिम युद्धको नालीबेली थाहा भएको वास्तविक पात्र हो नील। उसको डायरी नै धेरै घटनावलीका दसीप्रमाण रहेको खुलाएका छन्, लेखकले। इतिहासको पुनर्लेखनझैं लाग्ने ६ सय पानामाथि उक्लेको औसतभन्दा ठूलो आकारको यो उपन्यास पढिभ्याउन धौ धौ पर्छ। तर पढेपछि मथिंगलमा तँछाडमँछाड गर्दै आउने विषयले भने छुटै आनन्द दिन्छन्। धेरैले सुक्खा, सपाट, एकतर्फी र नीरस मान्ने इतिहासलाई कसरी बुझ्ने र स्वादिलो किसिमले पस्कने? सायद अमिताभको आइविस टि्रलोजी एउटा राम्रो स्रोतसामग्री होला। साठीको सँघारमा छन्, यतिखेर अमिताभ। तर यति फराकिलो संसारको कथावस्तु समेटिएको उपन्यासबाट टि्रलोजी टुंग््याएका छन्। वासिङ्टन पोस्टले औंलाएझैं 'ग्लोबलाइजनको प्रारम्भिक युगको पीडा र सफलताप्रति लेखकले एकैसाथ दर्शाएको अभूतपूर्व सम्मान' पो हो कि फ्लड अफ फायर?
प्रकाशित: ५ भाद्र २०७२ ००:२५ शनिबार





